‘बाजा मानिसको साथी हो, सारङ्गी–मादल वा जुनसुकै बाजा सिक्नुस्’
काठमाडौँ । ‘हामी कहिले उदास त कहिले खुसी हुन पुग्छौँ । मलाई लाग्छ– यस्तो उदासीनता वा खुसीलाई शब्दको माध्यमबाट व्यक्त गर्न नसकेको वा नपाएको बेला बाजा हाम्रो सहारा र साथी बन्न सक्छ,’ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले भनिन्, ‘मलाई गायन, नृत्य र अभिनय आउँछ, तर एउटा बाजा बजाउन नआएकामा दुःख छ । सारङ्गी, मादल, बाँसुरी वा जुनसुकै होस्, कुनै एउटा बाजा बजाउन सिकियो भने त्यो सीप आफूलाई व्यक्त गर्ने माध्यम बन्छ ।’
मादल र सारङ्गीका प्रशिक्षार्थीलाई प्रेरित गर्न उनले बाजा र मानिसको सम्बन्ध केलाएकी थिइन् । उनले अझ जोड दिँदै भनिन्, ‘अहिले पनि मलाई लाग्छ– कुनै एउटा बाजा मैले सिक्नुपर्छ । अब त मेरो उमेर पनि गइसक्यो !’
एउटा रंगमञ्च बनाएर नृत्य र संगीतसम्बन्धी विविध प्रशिक्षण दिने सोच रहेको पनि उनले बताइन् ।
कुलपति शर्माले भनेजस्तै मानिस बाजासँग जोडिँदै आएको छ– संस्कृति, सोख वा सीपका रूपमा । हाम्रा कतिपय जातजाति तथा समुदायका लागि कुनै बाजा संस्कृति बनेको छ । जस्तो : सारङ्गी गन्धर्व जातिसँग जोडिँदै आएको छ ।
प्रतिष्ठानको संगीत विभागबाट आयोजित दशदिने (जेठ १९–२८) मादल र सारङ्गी वादन प्रशिक्षण कार्यक्रमको समापन समारोहमा कुलपति निशा शर्मा, उपकुलपति शम्भु राई, संगीतकार बीबी अनुरागी लगायत उपस्थित थिए ।
लोकबाजालाई परिष्कृत गर्ने बहस
कार्यक्रममा संगीतकार बीबी अनुरागीले नेपाली लोकबाजालाई परिष्कृत गर्न आवश्यक भएकाले यसका लागि अनुसन्धान कार्य थाल्न प्रतिष्ठानसँग अनुरोध गरे ।
‘हामीकहाँ पर्फम गर्ने बेला बाजालाई ठोक्न र तान्न थालिन्छ । यसले डिस्टर्ब गर्छ । कहिलेकाहीँ सारङ्गी बजाउँदा बजाउँदै रोकेर सुर मिलाउनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसैले यो समस्या हल गर्न प्रतिष्ठानले अनुसन्धान गर्न सक्छ । अनुसन्धानबाट यसमा कस्ता प्रविधि जोड्ने भन्ने निष्कर्ष निस्किएला । मैले यहाँ उपस्थित कुलपति, उपकुलपतिसँग यही निवेदन गर्छु ।’
यस सम्बन्धमा कुलपति शर्माले श्याम नेपालीको उदाहरण पेस गरिन्, जसले अमेरिका बसेर सारङ्गीलाई विश्वमा चिनाउने काम गरिरहेका छन् । उनले अगाडि भनिन्, ‘हामीकहाँ नोटेसनको कमी छ र यसमा अध्ययन–अनुसन्धान आवश्यक छ । अनुसन्धानको काम प्रतिष्ठानको भएकाले नोटेसन लेख्नेहरूलाई खोजी गरिरहेका छौँ ।’
संगीतकार अनुरागीको अनुरोधलाई सम्बोधन गर्न उपकुलपति शम्भु राईले आफ्नो विगत सम्झिए । ‘म पहिले सारङ्गी बजाउँथेँ, मेरो सांगीतिक यात्रा नै सारङ्गीबाट भएको हो,’ उनले भने, ‘यसलाई एकपटक सुर मिलाएपछि त्यसलाई फिक्स राखिराख्न के गर्ने भन्ने सम्बन्धमा मैले पनि अनुसन्धान गर्न खोजेँ । मैले सारङ्गीमा गितारको जस्तै नट जोडेर सुर मिलाउन सकिन्छ कि भनेर हेरेको थिएँ, तर यसमा प्रयोग हुने छाला कहिले फुक्ने र कहिले खुम्चने हुँदा समस्या हुँदो रहेछ ।’
संगीतकार अनुरागीको अनुरोधलाई आफूले जिम्मेवारीको रूपमा लिएको उपकुलपति राईको भनाइ थियो ।
नेपाली लोकबाजालाई परिष्कृत गर्ने बहस हामीकहाँ खासगरी नेपाली बाजा तथा संगीतका अन्वेषक रामशरण दर्नालले उठाएका हुन् । २०६१ सालमा प्रकाशित उनको पुस्तक ‘नेपाली बाजा’मा उनले लेखेका छन्, वैज्ञानिक किसिमले सारङ्गीलाई परिष्कृत गर्ने हो भने यी तीनै प्रकारका सारङ्गीलाई मन्द, मध्य र तार सप्तकका स्वरमा कायम गर्न सकिन्छ । नेपाली सारङ्गीमा पहिले–पहिले चारैवटा तार नहरका जडिन्थे । आजकाल पहिलो तार फलाम वा स्टिलको राख्न थालिएको छ । यो तार लगाउँदा सारङ्गीको स्वरमा कृत्रिमता आएको जस्तो लाग्छ । यसैले नेपाली सारङ्गीको शुद्ध स्वरका लागि नहरकै तारहरू सारङ्गीमा जडिनु उत्तम हुनेछ ।’
प्रशिक्षण किन ?
प्रतिष्ठानको संगीत विभाग प्रमुख तथा प्राज्ञ कर्णबहादुर गौतमको संयोजकत्वमा भएको मादल र सारङ्गी वादन प्रशिक्षण कार्यक्रममा ४५ प्रशिक्षार्थी (मादल सिक्ने : २९ र सारङ्गी सिक्ने : ३१) सहभागी थिए ।
प्रतिष्ठानले विभिन्न लोकधुन, लोकबाजा, लोकगीत र लोकसंस्कृतिको खोज–अनुसन्धान, विकास–प्रवद्र्धन र प्रचार गर्दै आइरहेको शृंखलामा आफूहरूले यस कार्यक्रम आयोजना गरेको प्राज्ञ गौतमको भनाइ थियो ।
‘हिजो सारङ्गी र मादल निश्चित जात वा समुदाय विशेषको थियो । आज यो विश्वव्यापी वा साझा बाजा र धुन भएर स्थापित भएको छ । सारङ्गी नेपालको पहिचान हो,’ प्राज्ञ गौतमले भने, ‘अब चोक र कलेजमा गिटार मात्र होइन, सारङ्गी र टुङ्गना बोकेर बजाउन थाल्नुपर्छ । अनि मात्र हामीले हाम्रो मौलिक संगीतको महिमा बुझ्न र स्थापित गर्न सक्छौँ । त्यसैले यस्ता प्रशिक्षण कार्यक्रम आवश्यक छ ।’
कला र जीवनलाई जोडेर लैजानुपर्ने उनको भनाइ थियो ।
सारङ्गीको धुनले आकर्षित गर्यो : कामना ओली
यही कार्यक्रममा सारङ्गी बजाउन सिकेकी लोकदोहोरी गायिका कामना ओलीको स्वरमा अहिलेसम्म ४० वटा जति गीत रेकर्ड भएका छन् । गायिका ओलीले सानैदेखि गन्दर्भहरू सारङ्गी बजाउँदै आफ्नो गाउँ (रोल्पाको रामकोट)मा डुलेको देखेकी हुन् । त्यतिबेलै उनलाई सारङ्गीको धुनले आकर्षित गरेको हो । लकडाउनअघि उनले १० हजार रुपैयाँमा सारङ्गी किनेकी थिइन् । लकडाउनमा घरमै बस्नुपर्दा सारङ्गी रेट्न थालिन्, तर गुरुबिना मेसो आएन । त्यसपछि उनले खड्ग गन्दर्भलाई केही समय गुरु बनाइन् ।
‘अहिले यस दशदिने तालिममा सरगमसँगै केही गीतका धुन बजाउन सिकेकी छु,’ उनले भनिन्, ‘भविष्यमा गायिकासँगै व्यावसायिक सारङ्गी वादक बन्ने चाहना छ ।’
४५ प्रशिक्षार्थीमध्ये दुईजना मात्रै महिला थिए । वाद्यवादनमा महिलाको उपस्थिति कम भएकाले आफूलाई वरिष्ठ संगीतकर्मीले प्रेरित गरिरहेको गायिका ओलीको भनाइ थियो ।
कार्यक्रममा संगीतकार अनुरागीले वाद्यवादकहरूले अवसर पाउन वाद्यवादन प्रयोग गरिएका स्टेज पर्फम धेरै गरिनुपर्ने र ट्र्याकमा गाउने चलनलाई निरुत्साहित गर्नुपर्ने र यसमा प्रतिष्ठान नै लाग्नुपर्ने बताएका थिए ।
सुनील बर्देवाले मादलको प्रशिक्षण र कमल विकले सारङ्गीको प्रशिक्षण दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी