मनसुनबाट १२ लाख ५४ हजार नागरिक जोगाउन यस्तो छ सरकारी तयारी

काठमाडौँ । सरकारले यस वर्षको मनसुनबाट १२ लाख ५४ हजार भन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरेको छ । विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मनसुनजन्य विपद्बाट नागरिकलाई जोगाउन आवश्यक तयारी भइरहेको बताए ।
उनका अनुसार कोशी प्रदेशमा ३,०१,१४३ घरधुरीका ६८,९११ नागरिक प्रभावित हुने अनुमान छ । यस्तै मधेस प्रदेशमा४,०३,१८० घरधुरीका ९२,२६१, बागमती प्रदेशमा ९६,८५८ घरधुरीका २२,३९३ नागरिक प्रभावित हुने अनुमान छ ।
यस्तै गण्डकी प्रदेशमा ६९,७४४ घरधुरीका १५,९६०, लुम्बिनी प्रदेशमा १,९९,८६ घरधुरीका ४५,७३५, कर्णाली प्रदेशमा ३५,३३३ घरधुरीका ८,०८५ र सुदूरपश्चिम प्रदेशमा १,४७,०६० नागरिक प्रभावित हुने प्राधिकरणको अनुमान रहेको उनले बताए ।
नेपालमा सामान्यतया जेठ अन्तिम साताबाट मनसुन प्रवेश गर्दछ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशीले यस वर्षको मनसुन जेठ ३१ वा ३२ गते पूर्वबाट प्रवेश गर्ने सम्भावना रहेको बताए । नेपालमा मनसुन सरदर एक सय दिन क्रियाशील हुने गरेको छ ।
नेपालमा बाढी, पहिरो र भारी वर्षा प्रमुख मनसुनजन्य विपद् हुन् । यसका साथै मनुसनको अवधिमा झाडापखाला, हैजा जस्ता पानीजन्य रोग, सर्पदंश, डेंगु, मलेरियाजस्ता किटजन्य प्रकोप बढ्ने गर्छन् । नेपालमा मनसुनजन्य विपद्ले नै धेरै नागरिकलाई प्रभावित गर्छ र सबैभन्दा धेरै आर्थिक क्षति पनि निम्त्याउँछ ।
पहिरो र बाढीको जोखिममा यी जिल्ला
विगतका तथ्यांकअनुसार मनसुनबाट पहिरोको उच्च जोखिममा रहेका जिल्लाहरूमा इलाम, पाँचथर, धनकुटा, तेह्र्थुम, ओखलढुंगा, ललितपर, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान, रोल्पा, रुकुम पश्चिम, दैलेख, अछाम र बैतडी छन् ।
त्यसैगरी, बारम्बार बाढीबाट प्रभावित हुने जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनषुा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, परासी, रूपन्देही, कपिलवस्तु, दाङ्, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर छन् ।
मनसुनजन्य विपद् जोखिमको प्रभावकारी प्रतिकार्यका लागि सबै सुरक्षा निकाय अन्तर्गतका खोज उद्धार जनशक्ति र विभिन्न निकाय अन्तर्गत रहेका विपद् उद्धार तथा राहतसँग सम्बन्धित स्रोत साधन यन्त्र उपकरण सातवटै प्रदेशमा तयारी अवस्थामा राखिएको छ ।
पोखरेलका अनुसार पूर्व सूचना तथा पूर्व कार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपद् सामूहिक उद्धार सवारी तथा ए क्लास एम्बुलेन्सहरु खरिद गरी सातवटै प्रदेश र काठमाडौँ उपत्यकामा एक एकवटा एम्बुलेन्स रहने व्यवस्था मिलाइएको छ ।
त्यसैगरी भण्डारण गरिएका आपतकालीन उपकरण र सामग्रीको जानकारी उपलब्ध हुने गोदाम स्रोत व्यवस्थापन प्रणाली र खोज तथा उद्दारमा संलग्न हुने स्वयंसेवकहरुको विवरण उपलब्ध हुने स्वयंसेवक व्यवस्थापन प्रणाली पनि बनाइएको छ। स्वयंसेवक प्रणालीमा हालसम्म एक लाख ४२२ जना स्वयंसेवक सूचीकृत भइसकेको प्राधिकरणले जनाएको छ।
यसैबीच आइतबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८० स्वीकृत गरेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा प्राधिकरणको सभाहलमा बसेको बैठकले कार्ययोजना स्वीकृत गरेको हो ।
स्वीकृत कार्ययोजनामा मनसुनजन्य जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आंकलनका साथै विभिन्न मन्त्रालय तथा विषयगत क्षेत्र, निजी क्षेत्र र मानवीय क्षेत्रमा काम गर्ने नेपाल रेडक्रसलगायत गैरसरकारी संस्थाहरुको जिम्मेवारीका साथै खोज, उद्धार तथा राहत सामग्रीहरुको मौज्दातीको विवरण समेटिएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठले उपलब्ध साधन स्रोतको अधिकतम परिचालन गरी विपद् जोखिम न्यूनीकरण गर्नतिर ध्यान दिन र विगत वर्षहरुका कमजोरी तथा असावधानी पुनरावृति हुन नदिई कार्ययोजनाको ठोस कार्यान्वयन गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले व्यवस्थित कार्ययोजना बनाउँदा नागरिकको तहबाट पनि सहयोग प्राप्त हुने अनुभव सुनाउँदै कार्ययोजना कार्यन्यवनमा सक्रियाताका साथ सहयोग गर्ने प्रतिबद्धता गरे ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको मनसुनमा देशैभरि कम पानी पर्ने प्रक्षेपण गरिएको छ । सरदरभन्दा कम पानी पर्ने भएकोले विगत भन्दा न्यून तापक्रम हुने अनुमान पनि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिक र अशक्तका लागि निःशुल्क घरदैलो स्वास्थ्य सेवा
-
रातोपाटी ब्रिफिङ : पाथीभरा क्षेत्र फेरि अशान्तदेखि सशस्त्रका तीन एसएसपी डीआइजी बढुवाका लागि सिफारिससम्म
-
रिंकु सदा मृत्यु प्रकरण : बलात्कार र मिलापत्र आरोपमा ८ जनामाथि मुद्दा
-
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : राष्ट्रपति लुला
-
धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीको अस्थायी जुक्ति