मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष १० समाचार

आइतबार, २८ जेठ २०८०, २० : ५५
आइतबार, २८ जेठ २०८०

आज २०८० जेठ २८ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा बजेटबारे सत्ता पक्षकै असन्तुष्टि; अर्थमन्त्रीले भोलि जवाफ दिने, नक्कली भुटानी शरणार्थी प्रकरण ः यस्तो छ प्रतिवादी पक्षका वकिलको तर्क, प्रधानमन्त्री प्रचण्ड, डा. बाबुराम भट्टराई लगायतविरुद्ध मुद्दा दर्ता, अचाक्ली बढ्यो गर्मी, देउवा र शेखरबीच कसरी बढ्यो निकटता ?, अखण्ड भारत नक्साबारे नेपालले कुरा गर्नुपर्ने नेसपाको धारणा, कोशीमा पहिचानवादी आन्दोलन र एमाले आमनेसामने लगायत छन् ।

१. बजेटबारे सत्ता पक्षकै असन्तुष्टि; अर्थमन्त्रीले भोलि जवाफ दिने 
आगामी आर्थिक वर्षको बजेटबारे सत्ता पक्षकै सांसदहरुले असन्तुष्टि पोखेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विपक्षी दलका मात्र नभएर सत्ता पक्षकै सांसदहरुले समेत बजेटप्रति असन्तुष्टि जनाएका हुन् । बजेटका बारेमा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार दिने भएका छन् ।


२. नक्कली भुटानी शरणार्थी प्रकरण : यस्तो छ प्रतिवादी पक्षका वकिलको तर्क
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी छ । यसै क्रममा प्रतिवादी पक्षका कानुन व्यवसायीहरुले बहस गरिरहेका छन् । उनीहरुले भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन सरकारी नभएको जिकिर गरेका छन् । पूर्व गृह सचिव टेकनारायण पाण्डे पक्षका वकिलले पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले तयार गरेको प्रतिवेदन सरकारी नै नभएको जिकिर गरेका हुन् ।

३. प्रधानमन्त्री प्रचण्ड, डा. बाबुराम भट्टराई लगायतविरुद्ध मुद्दा दर्ता
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई लगायतविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । पूर्व बालसेना तथा बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्ट, बहिर्गमित जनमुक्ति सेनाकै संस्थापक संयोजक कृष्णप्रसाद दंगाल लगायतले मुद्दा दायर गरेका हुन् ।

४. अचाक्ली बढ्यो गर्मी
केही दिनयता देशभर गर्मी बढेको छ । मनसुन भित्रिन ढिलाइ हुँदा देशभरको तापक्रमले रेकर्ड ब्रेक गरिरहेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार राजधानी काठमाडौँकै अधिकतम तापक्रम ३३ डिग्रीसम्म पुगेको छ । गर्मी छल्न राजधानीका मानिसहरूले विभिन्न उपाय अपनाइरहेका छन् ।

५. देउवा र शेखरबीच कसरी बढ्यो निकटता ?
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीचको निकटता अहिले चर्चामा छ । देउवाले लामो समयदेखि कोइरालाको अस्तित्व अस्वीकार गरेको देखिए पनि अहिले उनीहरुको ट्युनिङ मिलेको देखिन्छ । जबकि देउवा कांग्रेसको सभापतिमा आएदेखि आफूमाथि निरन्तर अपमान गरिएको कोइरालाको बुझाइ थियो ।

६. अखण्ड भारत नक्साबारे नेपालले कुरा गर्नुपर्ने नेसपाको धारणा
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले भारतीय संसदमा ‘अखण्ड भारतको’ आपत्तिजनक नक्सा राखेको भन्दै त्यसबारे नेपाल सरकारले भारतको ध्यानाकर्षण गराउनुपर्ने बताएको छ । सो पार्टीको जेठ २५ र २६ गते सम्पन्न केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले विभिन्न समसामयिक प्रस्ताव पारित गर्दै भारतले राखेको उक्त नक्साबारे कूटनीतिक पहलबाट समस्याको हल खोज्न पनि सरकारसँग माग गरेको छ ।

७. कोशीमा पहिचानवादी आन्दोलन र एमाले आमनेसामने
कोशी प्रदेश नामकरण विवाद अहिले एमाले र पहिचानवादीबीच केन्द्रित भएजस्तै बन्दै गएको छ । नेकपा एमालेका नेता, सांसद तथा मन्त्रीप्रति अनुदार बन्दै पहिचान पक्षधरहरुले विभिन्न आक्रमण र विरोधका कार्यक्रम गरिरहेका छन् । त्यसपछि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २६ गते पहिचान पक्षधरलाई आतङ्ककारीको संज्ञा दिँदै रुखो टिप्पणी गरे ।

८. गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै सुदूरपश्चिम बन्द
कैलालीको गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतबार सुदूरपश्चिम प्रदेशमा आमहड्ताल गरिएको छ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले आमहड्ताल घोषणा गरेको हो ।

९. सेयर बजारमा उत्साह
सेयर बजारमा उत्साह छाएको छ । साताको पहिलो कारोबार दिन आइतबार नै नेप्से सूचक ४०.४८ अंकले बढ्दै १९ सय ८०.०९ विन्दुमा उक्लिएको हो । यस्तै आज कारोबारमा समेत उच्चता आउँदै ३ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ बराबरको ९५ लाख २८ हजार कित्ता बराबरको सेयर कारोबार भएको छ ।

१०. बैंकमा निक्षेप बढ्यो, लगानी निराशाजनक
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता (लगानीयोग्य पुँजी) थुप्रिन थालेको छ । केही महिना अघिसम्म तरलतालाई नै देखाउँदै बैंकहरुले कर्जा रोकेका थिए । तर, यतिखेर निक्षेप ह्वात्तै बढ्न थालेपछि बैंकमा पैसा थुप्रिन पुगेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप