शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
कृषि

बारीले नै दिन्छ विदेशको कमाइ

आइतबार, २८ जेठ २०८०, १४ : १०
आइतबार, २८ जेठ २०८०

दाङ । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यता छ गाउँघरमा । स्वदेशमा रोजगारीका अवसर निकै कम भएपछि अदक्ष कामदारहरु विदेश जान तम्सिने गर्दछन् । तर बंगलाचुली गाउँपालिका वडा नं. ४, जिम्लेपानीका बिनाराम थापा भने वैदेशिक रोजगारीको अनुभव बटुलेर अचेल घरबारीमै विदेशको सरह कमाइ गर्न थालेका छन् ।

उनको बारीमा सिमीको हरियो झाल छ । झालमा लटरम्म सिमी फलेका छन् । सिमी स्याहार्न, टिप्न र बजार पुर्‍याउन उनलाई भ्याईनभ्याई छ ।

जेठ मासको चर्काे गर्मीमा पसिनाले जिउ पूरै भिजेको छ । उमेरले भर्खर ३५ वर्ष टेकेका थापा भने वैदेशक रोजगारीका क्रममा खेपेको दुःख–सास्ती सम्झिएर आफ्नो घरबारीमै पसिना बगाउनु निको मान्छन् ।

तीनवर्ष अघि गरिवीका कारण वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका थापा गाउँ फर्किएपछि आफ्नै बारीमा गरिबीको भारी बिसाउने प्रयासमा छन् । उनले भने, ‘विदेशको त्यो दुःखले आफ्नै खेतीबारीमा पसिना चुहाउने चेत खुलायो । अहिले विदेशको दुःख सम्झिएर आफ्नै बारीमा मेहनत गरिरहेको छु ।’

सामान्य लेखपढ गरेका थापाको हातमा खास सिप केही पनि थिएन । गरिबीका कारण उनले पढ्नलेख्न पनि पाएनन् । आफ्नो त्यो पीडा सम्झदै छोराछोरीलाई धेरै पढाउने र मिठो मसिनो खुवाउने सपना बुनेर उनी वैदेशिक रोजगारमा गए ।

तर वैदेशिक रोजगारको त्यो दुःखले आफ्नै खेतबारी सम्झाएपछि गाउँ फर्किएर व्यावसायिक तरकारी खेती सुरु गरेको उनले सुनाए । उनले थपे, ‘यहाँ (नेपालमै) बस्दासम्म न काम पाए, न चेत आयो । उता (मलेसिया) पुगेपछि दुःख पनि पाएँ, चेत पनि आयो । अहिले पैसा आफ्नै बारीमा फलेका छन् ।’
करिब १ कट्ठा बारीबाट सुरु गरेको तरकारी खेती अहिले करिब ८÷१० कट्ठासम्म विस्तार गरिसकेको उनले सुनाए । तरकारी खेतीमै उनले आफ्नो छोराछोरी पालनपोषणदेखि पढाइ खर्चको गर्जाे टारिरहेका छन् । थोरै जमिनमा पनि बेमौसमी तरकारी खेती गरी ५ जनाको परिवारलाई राम्रैसँग खानलाउन र केही बचत गर्न सफल भएको उनको भनाइ छ ।

थापाले भने, ‘अहिले गर्मी छ । बजारमा हरियो तरकारीको माग छ । मूल्य र माग बजारमा दुवै छ । तर माग अनुरुप तरकारी पुर्‍याउन सकेको छैन । यति भएपछि मेरै बारीमा विदेश भएन र ?’

करिब दुई लाख ५० हजार रुपैयाँ खर्च गरेर मलेसिया पुगेका थापाले मलेसियाबाट फर्किएर करिब एक लाखको लगानीबाट तरकारी खेती सुरु गरेका थिए । अहिले त्यही खेतीबाट उनले एउटा सिजनमा एक÷डेढलाख रुपैयाँ आम्दानी गर्दै आइरहेका छन् ।

उनले भने, ‘गरे यहीँ हुँदो रहेछ भन्ने गलितो प्रमाण मेरो यही तरकारी बारी छ ।’ तरकारी खेतीले घर परिवारसँग साथमै रहेर बिहान–साँझको दुई टार्नेमात्र होइन, दुईचार पैसा आम्दानी समेत दिएको उनले सुनाए ।

तर उत्पादित तरकारी बजार पुर्‍याउन भने केही समस्या भएको उनले सुनाए । उनले भने, ‘पहाडको उत्पादन बजारमा राम्रै खोजी हुन्छ । तर यहाँबाट दाङका बजारमा पुर्‍याउन समस्या छ ।’

‘सरकारले किसानलाई हेरे हुन्थ्यो’

वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक तरकारी खेतीमा लागेका थापाले खेतीका लागि ऋणकर्जा नखोजी आफैँले थोरै लगानीबाट सुरु गरेका हुन् । हरेक पटकको खेतीमा लगानी र जमिन बढाउँदै लगे । एक कट्ठाबाट सुरु भएको खेती अहिले करिव ८÷१० कट्ठा पुगेको छ ।

५० हजारको लगानी पनि बढेर करिब ४÷५ लाखसम्म पुगेको छ । तरकारी खेतीका लागि उनी जमिन र लगानी दुवै बढाउने सोचमा छन् । तर त्यो बढाउने सक्ने ताकत उनमा छैन । राज्यले सहयोग गरे त्यो सपना पनि पूरा गर्ने उनको सोच छ ।

उनले भने, ‘विदेशको दुःखले यतिसम्म गर्न सक्ने ताकत दियो । अब राज्यले सहयोग गरे गाउँमै कृषिमा रोजगार उत्पादन गर्ने सोच छ ।’

राज्यले वैदेशिक रोजगारीबाट फर्किएर केही गर्ने उद्देश्यका साथ काम गरिरहेका युवालाई प्रोत्साहन गर्न सके वैदेशिक रोजगारका लागि बाहिरिने जनशक्ति यहीँ केही गर्न सक्ने अवस्थामा पुग्ने उनको भनाइ छ ।

कृषि र किसानलाई सहयोग

बंगलाचुली गाउँपालिका दाङको पहाडी क्षेत्रमा पर्दछ । यो गाउँपालिकाका अधिकांश बासिन्दा कृषि क्षेत्रमा आश्रित छन् ।

त्यसैले पनि कृषि र किसानमाथि लगानी गाउँपालिकाको प्राथामिकताको विषय बनेको पालिका अध्यक्ष तुलसीराम पुन बताउँछन् ।

पहाडी क्षेत्रमा सिँचाइ र बजारको समस्या रहेकाले सिँचाइलाई पहिलो प्राथमिकतामा राख्दै किसानलाई राहत दिने योजना गाउँपालिकाले बनाएको उनले बताए । अब कृषि क्षेत्रको अनुदान र योजनाका कामलाई स्थानीय सरकारले प्राथामिकता दिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप