राजनीतिक चेत भरिएको कृति
काठमाडौँ । पुरुषोत्तम दाहाल नेपाली राजनीति, पत्रकारिता र साहित्यमा समान रूपमा कलम चलाउने सुपरिचत लेखक हुन् । उनका साँध, प्रक्षेपण, शान्ता, अन्धकारको यात्री, शिरवृत्त, मेरो पत्रकारिता, शान्ता, मानव अधिकार, केही कवि केही कविता जस्ता कृतिहरू यसअघि नै प्रकाशित भइसकेका छन् । उनको पछिल्लो कृति हो कला बालममा उज्याला पाइला कविता सङ्ग्रह हो । यस सङ्ग्रहमा ऊ मुस्कुराउँदा, समुद्रको किनारबाट रातो सधैँ सुन्दर कहाँ हुन्छ र ?, बगैँचाबाट नालीमा पुगेको फूल, शुभकामना र समवेदनामा व्यस्त हातहरू, जुनेली रातको प्रतीक्षामा लगायत ४० वटा कविता सङ्कलित छन् ।
यस कविता सङ्ग्रहमा नेपाली राजनीतिको सूक्ष्म विश्लेषण गरी त्यसप्रति गहिरो व्यङ्ग्य प्रहार गरेका छन्
प्राडा कुमारप्रसाद कोइरालाका अनुसार यस कविता कृतिमा मूलतः समकालीन नेपाली राजनीतिका विविध पक्षको चित्रण भएको छ । सर्वप्रथम दलीय गठबन्धनकै कुरा गरौं, दलहरूले सत्ता सञ्चालनका लागि गरेको सिद्धान्तहीन, आदर्शरहित, स्वार्थप्रेरित, निहित स्वार्थ पूरा गर्न, सत्ता र शक्ति प्रयोग गरी देशको दोहन गरिरहन चाहने गठबन्धनप्रति लगनगाँठो कवितामा तीव्र आक्रोश व्यक्त गरिएको छ ।
शिखा बुक्सले बजारमा ल्याएको यस कृतिमा १६० पृष्ठमा समेटिएको छ । प्रस्तुत छ दाहालको यस कृतिमा समेटिएको एक कविता :
खोरभित्रका बाँदरहरू
पुरुषोत्तम दाहाल
एक हुल बाँदरहरूको
खोर छ
केही भाले
र पोथीहरूको
जोरविजोर छ
खोरको मालिकले
दिनरात
भोजन
पानीको व्यवस्था गरेपछि
खानका लागि सङ्घर्ष छ
आफ्नो घरपरिवारभित्रै
पोथी कब्जा गर्ने
भालेभीड चलिरहन्छ
ढेडु
बाँदरको हुकुम चल्छ
सिङ्गो बाँदरजमात
खोरभित्रका
सडक
गल्लीहरूमा
उसकै नक्कल गरिरहेका हुन्छन्
भाले
आफ्नी पत्नीलाई
काखी च्याप्छ
छाउरीलाई
पिठमा बोक्छ
छाउरोलाई
काँधमा झुन्ड्याउँछ
अरू कोही
नातापाता
आफन्त भएमा
उनीहरूलाई जोडेर
आसन
र रासन
कब्जामा जुटिरहेको हुन्छ
रात परेपछि
कसको गुणमा को पस्छ ?
अन्धकारमा
जसको हात जहाँ पुग्छ
त्यसैलाई च्यापेर
मस्त निदाउँछ
खोरभित्र थुन्यो
साँझ
बिहान
र दिउँसो
टम्म खानपान
र मानसमेत दिएर
उसले
निदाएको
झगडा गरेको,
लुछाचुँडी
अंशवण्डा गरेको हेर्नुपर्ने
मलमूत्र त्याग गरेको
सोहोर्दाको हैरानी छँदै छ
यो खोरमा
जति अराजक छ
बाहिर त झन् यसको
उपद्रव सहनुपर्छ
श्रम
र पसिनाको फल
बालीनाली
सबै सबै सखाप पार्छ
त्यसले कतै
हलो
कोदालो गर्नु पर्दैन
जुवाजोतारो भिर्नु पर्दैन
बेहोर्नु पदैन
धुलो हिलो
पसिना
र श्रम के हो
त्यसलाई थाहा छैन
अरूकै कमाइमा
मखन खाएर
बस्न पाएको
बाँदरको हुल
सुविधाका सबै
सामानले भरिपूर्ण खोरमा
भनेको
पटक्कै मान्दैन
मनाउने
र नचाउने कला भएको
अर्को कुनै
मदारीको आवश्यकता पर्छ
छन्
यसलाई
मदारीले पायो भने
प्वाल भित्र
खोर बाहिर
जता पनि नचाउन सक्छ
बाँदरका यी हुलहरू
जङगल पसे पनि
सुख हुँदैन
खुला छाडे पनि
सन्तुष्ट रहदैनन्
खोरमा छन्
तैपनि
मालिकलाई सुख दिँदैनन्
भनिन्छ
बाँदरले
आफ्नो घर पनि बनाउँदैन
अरूको घर पनि
भत्काउने गर्छ ।
खै के गर्नु
खोरका
रङ्गीबिरङ्गी बाँदरहरू
बाहिर राखौँ
घर भत्काई दिन्छन्
भित्र राखौँ
देशको मन दुखाइरहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले विधान महाधिवेशन : ७० वर्षे उमेर हद वैधानिक रूपमै हट्ने
-
पशुपति विकास कोष र ट्रान्सफर्मरको दुई ठुला भ्रष्टाचार मुद्दा पेसीमा
-
वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व सङ्कलन
-
दुई जिल्लाले धानेको सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र
-
कपिल शर्मा, राजपाल यादव, सुगन्ध मिश्रा र रेमो डिसुजालाई ज्यान मार्ने धम्की
-
जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राष्ट्रपति पौडेल