जसले उपन्यासको रोयल्टीबाटै कोटेश्वरमा घडेरी किने
काठमाडौँ । नेपाली साहित्य क्षेत्रमा अहिले धेरैजसो साहित्यकार सोखका लागि लेख्छन् भन्दा गलत हुँदैन । धेरै साहित्यकारले दिनरात मिहिनेत गरेर तयार पारेका कृति आफैँ प्रचार–प्रचार गरेर बेच्नुपर्ने स्थिति छ । कतिपयको त कृतिको छपाइ र विमोचन खर्च पनि धान्न सक्ने गरी बिक्री–वितरण हुँदैन ।
आजभन्दा ३६ वर्षअघि उपन्यासकार शङ्कर भारतीले उपन्यासको रोयल्टीबाटै कोटेश्वरमा घडेरी किनेर दिन फेरेका रहेछन् ।
उपन्यास दशकमा बजार कब्जा
२०४० देखि २०५० को दशकलाई साहित्यकारहरू उपन्यास दशक भन्छन् । यो समय मनोरञ्जन र सञ्चारका साधन एकदमै कम थिए । पाठकहरू हिन्दी उपन्यास खोजीखोजी अध्ययन गर्थे । ‘त्यो बेला सबै मानिसले उपन्यास नै पढ्थे, मानिसले कहाँ टेलिभिजन हेर्थे र ?’ भारती भन्छन्, ‘त्यो बेला हिन्दीका प्रकाश कोविद, गुल्सन नन्दा, रानु र सुवास घिसिङका उपन्यासले नेपाली बजारमा कब्जा जमाएका थिए, उनीहरूका उपन्यास भाडामा लिएर समेत पढ्थ्यौँ हामी ।’
त्यही खडेरीका बिचमा उनले २०४० सालमा ‘अर्को जुनीमा’ उपन्यास प्रकाशित गरे । त्यो उपन्यास अत्यन्त चर्चित भयो । २०४६ सालसम्म यो उपन्यासका पाँचौँ संस्करण प्रकाशित भयो । किनभने हिन्दी भाषामा पहुँच कम भएका पाठकलाई उनका उपन्यासले बढी आकर्षित गर्यो । त्यसपछि २०४१ मा उनले अर्को उपन्यास ‘प्रेम तपस्या’ प्रकाशित गरे । त्यो पनि अत्यधिक बिक्री भयो । यिनै दुई पुस्तकबाट हो, उनले अत्यधिक पैसा कमाएका । उनले उपन्यास बिक्रीबाट त्यही समय (२०४४) मा करिब ११ हजार रुपैयाँ हात पारे । सो पैसामध्ये करिब सात हजार रुपैयाँमा कोटेश्वरमा घडेरी किने । किताब बेचेरै उनी घडेरी किन्न सफल भए । त्यही घडेरीको खेलोफड्को गर्दै उनले अत्यधिक पैसा कमाए ।
त्यो समयमा उपन्यासबाट आम्दानी गर्ने उनी मात्र थिएनन् । इन्द्र शमशेर थापा, युधिर थापा, श्रीधर खनाल लगायत उपन्यास खुब बिक्री हुन्थे, उनीहरूले पनि राम्रै आम्दानी गरे । किनकि त्यो उपन्यासको युग थियो, त्यतिबेला उनका यी दुई कृतिले राम्रो बजार पाए अनि राम्रो आम्दानी पनि भयो ।
भारतीले अहिलेसम्म पाँचवटा उपन्यास प्रकाशित गरिसकेका छन् । ‘अर्को जुनीमा, तपस्या, अनुपम देवता, महापुरुषको सन्तान, अग्निपरीक्षा प्रकाशित भइसकेका छन्,’ उनी भन्छन्, ‘अहिले छैठौँ उपन्यास ब्रह्मान्ड र मानव प्रकाशनको तयारी गर्दैछु ।’
उनले निकै मिहिनेत गरेर लेखेको विधा भनेको उपन्यास नै हो, तर साहित्यिक क्षेत्रमा समर्पित साथीभाइले आफ्नो पत्रिकालाई एउटा कविता लेखिदिनुस् भनेर आग्रह गर्दा उनी अस्वीकार गर्न धक मान्छन् । ‘त्यस्तो अवस्थामा कनीकुथी लेख्ने गरेको छु,’ उनी भन्छन्, ‘कवि क्षमता ममा कम भए पनि लेखेर दिने गरेको छु ।’ यस्ता अनुरोधमा लेखेका कविता सङ्कलन गर्दा झन्डै सङ्ग्रहलाई नै पुग्ने जति प्रकाशित भइसकेका छन्, तर आफूलाई साहित्यकार साथीहरूले उपन्यासकार नै भनेर चिन्ने उनी बताउँछन् । कवि वा अन्य विधाको सर्जक भनेर चिन्दैनन् ।
उपन्यास मात्र होइन उनले अनाथ र प्रेम तपस्या चलचित्रमा पटकथा समेत लेखेका छन् ।
उपन्यास समाजको अध्यक्ष
भारती अरू विधाभन्दा बढी उपन्यास मात्र लेख्थे, तर सबै साहित्यिक कार्यक्रममा पुग्थे । उपन्यासबाट चर्चा कमाएका भारतीलाई २०६४ सालमा बिडी साहित्यकार पुरस्कारबाट सम्मान गरिने भयो । बार एसोसिएसनको सभाहलमा आयोजित कार्यक्रममा भारतीको भेट डाइमन्ड शमशेरसँग भयो । पहिलेदेखि नै उनी डायमन्ड शमशेरका फ्यान थिए, त्यसैले उनलाई भेट्न खोजेका थिए । सोही कार्यक्रममा उनको डाइमन्ड शमशेर राणासँग मेरो भेट भयो । ‘एउटै मञ्चमा बसेका बेला उहाँसँग कुराकानी भएको थियो,’ भारती भन्छन्, ‘त्यस क्रममा मैले उहाँसँग उपन्यास लेख्नेहरूको एउटा संस्था खोल्न आवश्यक देखियो भनेँ ।’ भारतीको त्यो प्रस्तावलाई राणाले सहर्ष स्वीकार गरे ।
त्यसपछि राणाले उनलाई आफ्नै घरमा बोलाए । त्यहाँ उपन्यास समाज गठन गर्ने विषयमा विस्तृत चर्चा–परिचर्चा भयो । त्यसपछि उपन्यास समाजको गठन भएको थियो । ‘उहाँलाई अध्यक्ष बनाएर हामीले २०६४ तिरै यो संस्था खोल्यौँ, संस्थापक सदस्य नौजना थिए,’ भारती भन्छन्, ‘अध्यक्ष डाइमन्ड शमशेर थिए, उपाध्यक्ष वियोगी बुढाथोकी, म महासचिव, सदस्यहरूमा बेञ्जु शर्मा, गीता केशरी लगायत हुनुहुन्थ्यो ।’
यो कार्यको प्रशंसा गर्दै बेलाबेला साहित्यिक कार्यक्रममा उपन्यास समाज गठनका लागि सबै गर्ने शङ्कर भारती हुन् । आफूले केही पनि गरेको होइन भन्थे राणा । २०६७ सालमा राणाको देहान्त भयो । त्यसपछि भारती उपन्यास समाजको अध्यक्ष सम्हाल्दै आएका छन् ।
यो संस्थाले उपन्यासकारहरूलाई समेट्ने, उनीहरूका कृति सङ्कलन गर्ने, उपन्यास लेखकहरूको कृति विमोचन गरिदिने, पुराना पुराना उपन्यासको बारे अन्तक्र्रिया, समीक्षाका कार्यक्रम गर्छ । ‘यसले स्रष्टा साँझ अमेरिकासँग मिलेर उपन्यास चर्चा परिचर्चा गर्दै आएका छौँ,’ भारती भन्छन्, ‘हरेक महिना एक दिन यो कार्यक्रम गर्ने गरेका छौँ ।’ यस संस्थाले सुरुमा विमोचन कार्यक्रम तथा चर्चा परिचर्चा मात्र गर्यो । त्यस क्रममा समाजले ६०–७० वटा नेपाली उपन्यास विमोचन र परिचर्चा गरिसकेको छ ।
समाजका पहिलो अध्यक्ष डाइमन्ड शमशेरका सेतो बाघ, वसन्ती, गृह प्रवेश आदि उपन्यास प्रकाशित छन् । यस्तै भारतीका करिब पाँच वटा उपन्यास प्रकाशित छन्, तर यस विधामा सबैभन्दा बढी उपन्यास लेख्ने भने ध्रुवचन्द्र गौतम हुन् ।
सङ्घर्षका ती अँध्यारा दिन
शङ्कर भारती सम्पन्न परिवारका सन्तान हुन् । उनी नेपालको पहिलो वैज्ञानिक नरबहादुर भारतीका नाति हुन् । नरबहादुर पहिलो त्रिभुवन पुरस्कार पनि पाउने व्यक्ति समेत हुन् । उनकै जेठो छोराका कान्छा सन्तान हुन्, उपन्यासकार शङ्कर भारती ।
आमा मिश्रीदेवी र बुवा श्रीप्रसाद भारतीको कोखबाट २०१३ पुसमा काठमाडौँको डिल्लीबजारमा शङ्कर भारतीको जन्म भएको हो । उनका बुवाका दुईवटा परिवार थिए भने उनकी आमा कान्छी थिइन् । ‘तर मेरो बुवा र आमाको २५ वर्षको एज डिफ्रेन्स थियो,’ भारती भन्छन्, ‘मेरो बुवाको ६९ वर्षको उमेरमा २०२५ सालमा डेथ हुँदा आमा भर्खर ४४ वर्षको हुनुहुन्थ्यो ।’ बुवाको देहान्त भएपछि भारतीको जीवन आँधीमा परेको जहाजजस्तै भयो । उनको सगोलको असाध्यै पुरानो घर पनि भत्कियो ।
उनका जेठी आमापट्टिका दाजुहरू आमाभन्दा १०–१२ वर्ष जेठा थिए । तीन–तीनजना सौतेनी छोराहरूले घरबाट निकाल्ने प्रयास गरेपछि आमासँगै भारती पनि सडकमै पुगेका थिए । उनी भन्छन्, ‘बहिनीलाई भक्तपुर मामाघर, आमा सिनामङ्गल र म भक्तपुरमै अर्को मामाघरमै गएर बसेँ, तीन जना तीनतिर भइयो ।’ बुवाको देहान्त हुँदा उनी १२ वर्षका मात्र थिए ।
त्यसपछि आफैँ काम खोज्न थाले
२०२६ सालमा काठमाडौँको रिङरोड बन्न भर्खरै सर्भे हुन सुरु भएको थियो । एक दिन बिहानै उनी रिङरोड बनाउँदै गरेको ठाउँमा पुगेर एक चाइनिज ठेकेदारसँग काम गर्छु भने । भर्खर १३ वर्ष मात्र पुगेका उनको शारीरिक अवस्था देखेर ती चाइनिज एकछिन हाँसे । अनि यस्तो सानो उमेरको मान्छे यस्तो सिस्नो घारी फाँड्ने, बाटो खन्ने र बालुवा बोक्ने काम कसरी सक्छौ भनेर प्रश्न गरे, अनि काम पनि दिएका थिए ।
त्यो समयमा उपत्यकामा त्यति धेरै घर बनिसकेका थिएनन् । रिङरोड वरिपरि सबै सिस्नोघारी र जङ्गल मात्र थियो । त्यहाँ उनले रोडा बोक्ने सिस्नो फाँड्ने काम गर्न थाले । ‘कट्टु लगाएको हुन्थेँ, पूरा लुगा हुँदैनथ्यो, सिस्नोले पोल्थ्यो,’ उनी भन्छन्, ‘रिङरोड सर्वेक्षण सीमित प्रोजेक्ट थियो, ६ महिनापछि सकियो । फेरि बेरोजगार भइयो,’ फेरि उनी अन्य काम खोज्न थाले ।
त्यही क्रममा एक दिन उनले एयरपोर्टमा विदेशीलाई नेपालीले फकाउँदै होटलसम्म लगेको देखे । यो देखेपछि उनले त्यही सिको गर्दै पर्यटक र उनीहरूका सामान बोकेर होटलसम्म पुर्याउन सुरु गरे । हरेक दिनजसो टुरिस्टलाई होटलमा पुर्याउँथे र होटलवालाहरूले केही पैसा दिन्थे । त्यस क्रममा उनले अङ्ग्रेजी भाषा पनि राम्ररी सिके । ‘अनि त्यो बेला आमालाई लगेर २० रुपैयाँ पैसा दिएँ,’ रमाउँदै उनी भन्छन्, ‘त्यो रकम निकै ठूलो थियो ।’ एयरपोर्टमा मात्र होइन, अहिलेको पुरानो बसपार्कमा उपत्यका बाहिरबाट आएका मानिसलाई होटलसम्म पुर्याउने काम पनि गरे । ‘होटलमा पुर्याएबापत एक रातको लजको पैसा होटलवालाले मलाई दिन्थे,’ उनी भन्छन्, ‘त्यसपछि सबै होटलवालाहरूले मन पराउन थाले ।’ अनि उनलाई साहुहरूले नै मासिक रूपमा काम दिन थाले ।
उपन्यास लेखनको पृष्ठभूमि
आफूले दैनिक जीवनमा भोगेका यिनै दुःखका क्षणहरू घरमा आएर कापीमा उतार्थे । पारिवारिक पीडाहरू सबै लेख्थेँ । सम्पन्न आफ्ना मान्छे हुँदाहुँदै पनि उनको त्यो अवस्थालाई कसैले वास्ता गरेनन् । यी कुराहरू पनि उनले लेखेँ । जीवनका यी भोगाइ लेख्दालेख्दै पहिलो उपन्यास तयार भइसकेको थियो, तर उनले विधागत रूपमा सचेत भई पहिलो प्रकाशित उपन्यास भने ‘अर्को जुनीमा’ (२०४०) हुन पुग्यो । यो उपन्यास पाँचौँ संस्करणसम्म प्रकाशित भयो । त्यसपछि ‘प्रेमतपस्या’ लेखे । त्यो प्रकाशित भएपछि खुब बिक्री भयो । त्यसको पनि चौथो संस्करण प्रकाशन भयो । त्यसपछि अनुपम देवता, महापुरुषको सन्तान उपन्यास प्रकाशित भए, तर उनका पहिला निस्किएका दुई उपन्यास अत्यन्त चर्चित बने । ब्रह्माण्ड र मानव उनको छैटौँ उपन्यास हो । अनुपम देवता उपन्यासको तेस्रो संस्करण प्रकाशन हुँदैछ ।
सबै अध्ययन निःशुल्क
भारतीले कक्षा १ देखि ४ सम्म विजय मेमोरियलमा अध्ययन गरे । कक्षा ४ पछि उनले अध्ययन गर्न सकेनन् । घरमै स्वअध्ययन गरे । केही समयपछि फेरि उनले कक्षा ७ मा पद्मोदयमा भर्ना भए । त्यहाँ अध्ययन गर्दा पनि शिक्षकहरूले उनलाई निःशुल्क पढाए । किनभने त्यतिबेला उनी कुल्लीको काम गर्दै पद्मोदयमा अध्ययन गर्न जान्थे ।
पद्मोदयबाटै एसएलसीको तयारी गरे तर उनीसँग फर्म भर्ने पैसा भएन । टोल, छिमेक र आफन्त सबैसँग हारगुहार गरे, तर उनको त्यो अनुनय–विनय कसैले सुनेनन् । पछि उनले पहिले काम गरेका होटल साहु विजयरत्न तुलाधरकहाँ पुगे अनि मुख फोरेरै भने । विजयरत्नले उनको आशालाई निराश बनाएनन् । पैसा दिए । त्यहीँबाट उनले २०३२ सालमा दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरे । त्यसपछि उनको आत्मविश्वास बढ्दै गयो । पछि उनी आइकम अध्ययनका लागि सरस्वती क्याम्पसमा भर्ना भए । उनी भन्छन्, ‘पद्मोदयमा मात्र होइन, सरस्वती क्याम्पसमा आइकम र बिकम पनि स्कलरसिपमै पढेको हुँ ।’ २०३९ सालमा बिकम उत्तीर्ण गरेपछि आफैँ बिजनेस सुरु गरे ।
सरकारी सेवामा प्रवेश
आइकम उत्तीर्ण गरेपछि उनले २०३७ सालमा सरकारी सेवामा नाम निकाले । उनी खरदारमै भए पनि सिंहदरबारभित्र छिरे । उनी पहिलोपटक जलस्रोत मन्त्रालयमा नियुक्ति पाए । करिब ३२ वर्ष सरकारी सेवा गरी अबका लिए । यो बिचमा उनले ट्राभल एजेन्सीहरू खोले, व्यापारहरू गरे ।
पैसा नभएका बेला ‘अर्को जुनीमा’ र ‘प्रेम तपस्या’ उपन्यासले त्राण दियो । ‘११ हजार रुपैयाँ यी दुई पुस्तकको बिक्रीबाट पाएको थिएँ । त्यो पैसाबाट ६५ सयमा ३ आना जग्गा कोटेश्वरमा किनेको थिएँ,’ उनी भन्छन्, ‘त्यसैलाई बिक्री गरेर अर्को ठाउँमा किनेँ । त्यसले धेरै भरथेग गरेको हो ।’