शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कथा : ओखती

शनिबार, २७ जेठ २०८०, १२ : ५०
शनिबार, २७ जेठ २०८०

विष्णु सरको आँखाको सम्बन्धमा हिजोआज विद्यालयका अधिकांश विद्यार्थीमाझ खासखुस चलिरहेको छ । अधिकांश समय एउटा आँखा चिम्रा पारी हेर्ने हुँदा आँखामा ठूलै समस्या भएको आँकलन विद्यार्थीहरू गरिरहेका थिए । कोही काल्पनिक कथाहरू बुन्ने क्रममा विष्णु सर सानो छँदा उनका बाआमाले एकापट्टिको आँखा मात्र ब्लेडले चिरेर बनाएको र अर्काेतर्फको चिम्रा आँखा चिरेर बनाउने बेलामा ठुलो पानी आएर बिस्कुन उठाउन जाँदा छुटेको छुट्यै भएको भन्दै मनगढन्ते कुरा सुनाउँथे भने कोही गाउँठाउँकै परिवेशबमोजिम वनको सिकारी (अदृश्य शक्ति)ले आँखामा धनुशकाँड चलाउँदा एउटा आँखा चिम्रा भएको र सो घटना आफ्ना हजुरबाले देखेको अरे भन्दै डिङ हाँक्थे ।

सबै विद्यार्थीका फुर्सदका समयमा विद्यालय परिसरमा यस्तै यस्तै गफगाफ चलिरहन्थे । सबैले समस्या यस कारण भएको भनेर बताइरहँदा त्यतिन्जेल समाधान भने पत्ता लगाउन सकेका थिएनन् । अरू सबै १०‐११ वर्षका उमेर  समूहका विद्यार्थीहरू हुँदा मालती भने १५ वर्ष पुगिसकेकी थिई । अरूभन्दा ठूली र केही सोच्न सक्ने अवस्थामा पुगिसकेकी मालतीले आफ्नो प्रभुत्व जमाउने योभन्दा उपयुक्त मौका अरू हुनै सक्दैनथ्यो । घरधन्दा गर्दा, ढिकीजाँतो गर्दा केही दिनयता दिमागको अधिकतम उपयोग गर्दै चिम्रा आँखा उघार्ने उपाय सोचिरहेकी थिई । सञ्चार माध्ययमको नाममा रेडियो मात्र रहेको अवस्थामा त्यो पनि नसुनेकी होइन तर उपाय पत्ता लागिरहेको थिएन ।

संयोगले तराईबाट नरेश काका मालतीका घरमा आइपुगे । तराईबाट आइपुगेको भनेपछि उनको चालचलन हेर्ने, उनका सरसामान हेर्ने, उनका गफ सुन्ने र कल्पनामा डुब्ने बालसुलभ क्रियाकलाप नै हुन् । मालती उनका चालचलनलाई हेर्दै उनका गफ सुन्नमा चाख दिइरहेकी थिई ।

एक दिन उनै नरेश काकाले १ रुपैयाँको ढक जस्तै आकारको रातो बट्टा खोलेर त्यहाँ औँला चोबेर निधार र आँखा मास्तिरको डिलमा दले । अहो ! अचम्म उनले त दुवै आँखा चिम्रा पारे ।

यी सबै गतिविधि नियालिरहेकी मालतीले त्यसबखत त सोध्न सकिन तर अनुकूल पारेर बेलुकी काकालाई दिउँसोको बट्टाका बारेमा सोध्दा उनले त्यो त भिक्स भन्ने जिनिस हो भनेर अथ्र्याए ।

गाउँमा हतपत्त नपाइने त्यो अचम्मको जिनिस देखेर मालती अचम्ममा परेकी थिई । केही दिन त्यसै गरी बिते । अब भने केही फुरेछ क्यार ! विद्यालयको टिफिनमा अरू विद्यार्थी भेला पार्दै आफूसँग विष्णु सरको आँखा ठीक पार्ने उपाय भएको बताई । सबै विद्यार्थीले समस्या यस कारण भएको बताएको भए पनि समाधानको उपाय सोच्न सक्ने क्षमता नभएको कारण मालतीका कुरा सुनेर छक्क पर्नु स्वाभाविक थियो । मालती भन्दै गई, औँसीका दिन भिक्स भन्ने जिनिस लगेर विष्णु सरका आँखामा कन्या राशि भएकी केटीले दलिदिएमा चिम्रा आँखा ठीक हुन्छ ।

अब ठूलो समस्या खडा भयोस ‘भिक्स र कन्या राशिकी केटी’ कहाँ खोज्ने ?

यी सबै कुरा ध्यानपूर्वक सुनिरहेको टङ्केले मुख खोल्यो– भिक्स भन्ने जिनिस त मेरा बासँग छ । तर त्यो चाहिन्छ भने मलाई चुइगम दिनुपर्छ । चुइगमसँग भिक्स साट्न ऊ तयार भयो । आफूले बजार जाँदा किनेको चुइगम दिन रीता तयार भई । भिक्सको जोहो त भयो, अब कन्या राशिकी केटीको आवश्यक पर्याे ।

त्यहाँ उपस्थित केटीहरूमध्ये दुईवटी कन्या राशिका थिए तर दुवै काँतर । कोही पनि विष्णु सरको आँखामा भिक्स दल्न जान तयार थिएनन् ।

मालतीले दिमाग दौडाई । आफ्नै बडाबाकी छोरी पूर्णमाया कन्या राशिकी हो भन्ने निक्र्याैल गरी सबैका अगाडि उभिएर नाके स्वरमा भन्न थाली– हेर ! भोलि औँसी पनि हो, म भिक्स दल्ने कन्या राशिकी केटी लिएर आउँछु । टङ्के भिक्स लिएर आइज र रीता पनि चुइगम लिएर आइज । भोलि विष्णुसरको आँखा निको बनाउने हो ।

मालती अरू बेला खासै नजाने बडाबाको घरमा हस्याङफस्याङ गर्दै पुगी र पूर्णमायालाई ईशाराले घरपछाडि बोलाई र भन्न थाली– हेर न कान्छी, हाम्रा विष्णु सरको एउटा चिम्रा आँखा ठीक पार्ने उपाय मसँग छ तर त्यहाँ बत्तिस लक्षण भएकी केटीको खाँचो पर्याे । तँभन्दा लच्छिनकी केटी यो गाउँमै कोही छैनन्, त्यसैले तँलाई भन्न आएकी के भन्छेस् ?

पूर्णमाया– (गम्भीर हुँदै र केही गमक्क पर्दै) अँ ! आमाले पनि त्यसै भन्नुहुन्छ । मेरा त दाहिने हातमा सूर्य, देब्रे हातमा चन्द्रमाका डाम थिए अरे जन्मेका बेलामा ।

मालती– अँ त ! मैले पनि सुनेको हाम्रा बाको मुखबाट ।

उसो भए भोलि तँ ढिला नगरी स्कुल आइज है त । भोलि सल्लाह गरौँला ।

भोलिपल्ट सबैजना स्कुल पुगे । मालतीले टङके, रीता, पूर्णमायालाई एकान्तमा लगेर योजना सुनाउन थाली– टङ्केले दिएको यो भिक्स लगेर पश्चिम फर्केर चिम्रा आँखामा लपक्क लाग्ने गरी पूर्णमायाले दलिदिनु र फनक्क फर्किंदै देवीथानतिर फर्केर तीन पटक ढोग्नू । अरूले थप्पडी बजाउँदै हरेराम भन्नू ! 

उनीहरू तयार भए ।

यी सबै कुरा डिलमुन्तिरबाट चियो गरेर विद्यालयकै छुल्याहा विद्यार्थी वीरेन्द्रले सुनिरहेको थियो । उफ्रिँदै तलबाट करायो, म विष्णुसरलाई भन्दिन्छु । पख !

मालती मास्तिरबाट बुङ्ग हाम्फाल्दै तल पुगी र च्याप्प समात्दै खेतमा वीरेन्द्रको मुन्टो जोत्दै भन्न लागी– यी सबै गोप्य कुरा हुन् । औषधीका बारेमा भन्यो भने औषधीले काम गर्दैन ।

वीरेन्द्रले कुरा चुहाउने खतराले उनीहरूले दाम्लोले वीरेन्द्रलाई नजिकैको उत्तीसको रूखमा बाँधे । 

अब तयारी भयो । पूर्णमाया हातमा भिक्स बोकेर तयार थिई भने अरू हरेराम भन्न तयार थिए । यी सबै कुरामा अनभिज्ञ विष्णुसर आँखा चिम्रा पार्दै विद्यार्थीलाई परेड खेलाउने उद्देश्यले कसरत सुरु गर्नतर्फ लागे । अरूलाई उफ्रिन तयार होओ ! भन्दै आफू कुर्सीमा बसेर सिटी फुक्न थाले । पूर्णमाया पछाडिबाट सुस्तरी आई र हातमा भिक्स कोट्याएर बसिरहेका विष्णुसरको आँखामा लपक्क लाग्ने गरी दलिदिई र फनक्क फर्केर तीन पटक नजिकैको देवीथानतिर फर्केर ढोगी र केही पर उभिएर हेर्न थाली । 

यता अरू विद्यार्थी चर्काे स्वरमा हरेराम जप्न थाले ।

विष्णु सर आँखा पोलेर छट्पटाउँदै चिच्याउन थाले तर उनको आवाजलाई विद्यार्थीको हरेराम जपले दबाइरह्यो ।

विद्यालयमा होहल्ला सुनेर अरू सरहरू कोठाबाट निस्केर हेर्दा सबै विद्यार्थी हरेराम जप्दै थिए भने विष्णुसर आँखा माड्दै छट्पटाउँदै थिए । हस्याङ फस्याङ गर्दै एक जग पानी ल्याएर सुरेन्द्र सरले आँखा पखालिदिए ।

अचम्म !  विष्णु सरले त दुवै आँखा खोलेर पो पूर्णमायालाई हेरे ।

सबै घटनाक्रम थाहा पाइसकेपछि पूर्णमायालाई कारबाही गर्न स्कुलमा सरहरूको मिटिङ बसिरहेको थियो भने यता बाहिर आफ्नो औषधीले काम गरेको भन्दै मालती मक्ख र पूर्णमाया आफ्ना लच्छिनका हातले आँखामा दलेको औषधीले असर गरेको ठानेर दङ्ग परिरहेकी थिई ।

कारबाहीभन्दा पनि औषधीले काम गरेको ठानेर उनीहरू खुसी देखिन्थे ।

विराटनगर महानगरपालिका, मोरङ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सौगात भट्टराई
सौगात भट्टराई
लेखकबाट थप