माइकल फराडे र सरकारी कर्मचारी
१७९१ सेप्टम्बर २२ का दिन इङ्ल्यान्डमा जन्मेका सर माइकल फराडे विश्वप्रसिद्ध वैज्ञानिक हुन् । इलेक्ट्रिसिटीका आविष्कारक यी वैज्ञानिक जति प्रसिद्ध थिए, व्यक्तिगत जीवनमा त्यति नै साधारण थिए । शारीरिक व्यक्तित्वलाई भन्दा कर्मवादी व्यक्तित्वमा जोड दिने फराडेको व्यवहार, खानपान तथा रहनसहन साधारण थियो । झट्ट हेर्दा कसैलाई पनि उनी त्यति ठूला वैज्ञानिक हुन् भन्ने नै लाग्दैनथ्यो ।
एक समय उनी कुनै एक रोयल सोसाइटीमा काम गर्थे । त्यतिबेला देश–विदेशमा ख्याति पाइसकेका भए पनि उनमा त्यसको घमण्ड र अहङ्कार कति थिएन । आफूलाई सो स्थान कर्मले दिएको भन्ने ठान्थे र कर्ममै व्यस्त रहने गर्थे । आफ्नै सादापनमा रमाउँथे र यसैबाट आफ्नो पहिचान कायम राख्न चाहन्थे ।
यत्तिकैमा एक दिन उनलाई भेट्नका लागि कुनै एक सरकारी कार्यालयका उच्च अधिकृत रोयल सोसाइटी आएका थिए, तर उनले त्यसअघि फराडेलाई नदेखेका हुनाले चिन्न सकेनन् र त्यहीँका एक सुरक्षाकर्मीसँग आफ्नो परिचय दिँदै सोधे–
‘भाइ ! माइकल फराडेलाई भेट्नका लागि आएको हुँ । यति बेला उहाँ कहाँ हुनुहुन्छ बताउन सक्छौ ?’
गार्डले आफ्नै पारामा भने– ‘सक्छु हजुर, किन नसक्ने ? बिहानै आइसक्नुभएको छ । सायद अहिले प्रयोगशालामा व्यस्त हुनुहुन्छ होला ।’
आगन्तुक अधिकारी खुसी हुँदै भने– ‘जाती भयो । के उहाँसम्म मेरो खबर लगिदिन सक्छौ ?’
गार्डले आश्चर्य मान्दै भन्यो– ‘लाग्छ, यहाँ उहाँको स्वभावसित परिचित हुनुहुन्न । उहाँलाई भेट्न खबर गरिरहनैपर्दैन । जसले पनि सोझै भेट्न सक्छन् । त्यसमाथि तपाईं त झन् सरकारी कर्मचारी । निःसङ्कोच सिधै प्रयोगशालामा गएर आफ्नो भनाइ राख्न सक्नुहुन्छ ।’
त्यसपछि उनी सरासर प्रयोगशालामा पुगे तर फराडेलाई कतै देखेनन् । उनले सोचेका थिए, त्यति ठूला वैज्ञानिक त्यस्तै रवाफ र लवाइमा होलान् भन्ने तर त्यहाँ त्यस्ता व्यक्ति कोही थिएनन् । त्यसैले गार्डले आफूलाई झुक्याएछ भन्ने ठानी रिसाउँदै फर्कन के लागेका थिए, त्यसैको छेउको सानो कोठामा सामान्य पोशाक लगाएर उभिएको वृद्धलाई देखे, जो त्यतिबेला बोतल सफा गरिरहेका थिए ।
झट्ट हेर्दा ती व्यक्ति त्यहीँका सफाइ कर्मचारी जस्ता थिए । ती आगुन्तकले उनलाई नजिक बोलाएर सोधे– ‘बुढा बा ! तिमी यहीँ काम गर्छाै होइन ?’
वृद्धले सहज भावमा भने– ‘हो हजुर ! म यहीँको कर्मचारी हुँ । विगत केही वर्षदेखि यतै छु ।’
उनको कुरा सुनेर सरकारी अधिकारीले बडप्पन देखाउँदै भने– ‘वैज्ञानिक फराडेलाई भेट्न भनेर आएको थिएँ, तर उहाँ कतै पनि देखिनुभएन । तल गार्ड भाइले त प्रयोगशालामै हुनुहुन्छ भनेका थिए । के तिमी बताउन सक्छौ, उहाँ कहाँ हुनुहुन्छ ?’
वृद्ध मानिसले चस्मा फुकालेर आगन्तुक अधिकारीलाई एकपटक तलदेखि माथिसम्म हेरे र मुसुक्क हाँस्दै भने– ‘हो हजुर ! गार्ड भाइले ठीकै भनेका हुन् । उनी अहिले पनि यही प्रयोगशालामै छन् ।’
वृद्धको कुरा सुनेर आगन्तुक अधिकारीले आश्चर्य मान्दै भने– ‘यहीँ छन् रे ? खोइ मैले त देखेको छैन ?’
अधिकारीको कुरा सुनेपछि वृद्ध मानिसले मुस्कुराउँदै भने– ‘मै हुँ तपार्ईंले खोज्नुभएको माइकल फराडे । भन्नुस् कति कामले आउनुभएको हो ?’
उनको कुरा सुनेर सरकारी अधिकारी अक्क न बक्क भए । वास्तविकता नै नबुझी त्यति ठूला वैज्ञानिमाथि तुच्छ शब्द बोलेकोप्रति ग्लानिबोध गरे तर के गर्ने जे हुनु भइसकेको थियो । त्यसैले लाजले रातोपीरो हुँदै फराडेसित माफी मागेर हिँडे ।
प्रायः संसारका मानिस भए–नभएको विशेषण जोडेर आफ्नो परिचय दिँदै हिँड्ने गर्छन् तर माइकल फराडे त्यसको विपरीत थिए । उनी कामलाई भगवान् र कर्मलाई पूजा ठान्थे र कार्ममै ध्यान दिन्थे । उनलाई कसले के भन्यो र के ग¥यो भन्ने कुराको अर्थ थिएन । अर्थ थियो त केवल आफूले के गरेको छु र के बोलेको छु भन्ने । त्यसैले त उनको नाम अहिलेसम्म दुनियाँले सम्मानपूर्व लिइरहेका छन् ।
प्रस्तुति : कमल रिजाल