जौवाः किशोरका आँखाले देखेको संसार
नारायणी नदी किनार नजिकको नवलपुर, परासी र सुनवल सम्मको भौगोलिक सांस्कृतिक परिवेशमा बुनिएको सामाजिक यथार्थका कोरा कथा र व्यथाको सँगालो हो विष्णु ढकालको ‘जौवा’ उपन्यास ।
हालको नवलपरासी जिल्लालाई चुरे पहाडले दुई भागमा बाँडेको छ । परासी बजार, रजहर, दुम्कौली, चोरमारा आदि व्यापारिक केन्द्र रहेको नवलपरासीलाई पूर्वमा नारायणी नदीले छुट्याएको छ ।
मध्यपश्चिम तराई, भित्री मधेस र केही पहाडी खण्डको सांस्कृतिक वस्तुमा टेकेको कथा मूलतः पहाडे ब्राह्मण किशोरले आफ्नो गाउँ इटौरामा घटिरहने मसिना घटनालाई जौवा उपन्यासको पृष्ठाधार बनाइएको छ ।
मूल थारू बस्तीमा पाल्पा, स्याङ्जा, प्युठान, तनहुँ, अर्घाखाँची आदि जिल्लाबाट आएका अन्य जातीय क्लस्टरका मानिस पनि नवलपरासी आएर बसोबास गरेका देखिन्छन् । तराई माइग्रेसनको चर्को लहरसँगै उपन्यासको प्रमुख न्यारेटर म पात्रको परिवार पनि इटौरा गाउँमा आई त्यहीँको परिवेशमा राम्रैसित अन्तर्घुलित भैसकेको देखिन्छ । उपन्यासभित्र विभिन्न शीर्षकमुनि छोटामीठा कथा छिरोलिएका छन् । उपन्यासको काया मध्यम स्तरको छ । पहिलो पटक किताब पढ्न सुरु गर्न लागेको पाठक यो कुनै कथासङ्ग्रह रहेछ भनी झुक्किन सक्छ । अपितु जौवा नामक यो पुस्तक उपन्यासकै संरचनामा बुनिएको छ ।
अहिले साहित्यमा विधा मिश्रणका धेरै प्रयोगहरू चलिरहेका छन् । जौवाले कथा र उपन्यासको भिन्नतालाई ज्यादै झिनो गरी मात्र छोपेको छ । जौवाको कथाशिल्पमा औपन्यासिकताको औपचारिकता निभाइएको छ भने उपन्यासको बान्कीमा कथावाचनको शिल्प घोलिएको छ । किन्तु लेखकको यो एक्सपेरिमेन्ट वास्तवमा धेरै सफल भएको मान्न सकिन्छ ।
जौवा शब्दको अर्थ नेपाली शब्दकोशमा भेटिन्न । यो शब्द सायद नवलपरासीको इटौरामा बोलिँदो हो । इटौरा गाउँ वास्तविक हो वा होइन, पुस्तकमा ठिकसँग खुलाइएको छैन । उपन्यासमा नन्द भाउजू तालको प्रसङ्ग आइरहन्छ तर भौगोलिक अवस्थितिका दृष्टिले यो ताल चितवनमा पर्दछ ।
पुस्तकको पछिल्लो भागमा जौवाको अर्थ फटाहा खालको, नपढ्ने र बदमासी गर्ने मान्छे भनी बताइएको छ । किशोरावस्थाको उत्सुकता, कौतुहल र बदमासीका अनेक घटना र दुर्घटनाका सिलसिलालाई शिला खोजेर एउटा टड्कारो जीवन छाम्न खोजेका उपन्यासकार ढकाल समाज जस्तो छ, त्यस्तै देखाउन निपूर्ण देखिएका छन् ।
उपन्यासको मूल कथा बुन्न राखिएका शीर्षकै पिच्छेका भिन्न भिन्न कथा आफैँमा परिपूर्ण कथा हुन् । यद्यपि यी कथाहरू कुनै न कुनै रूपमा मूल कथासँग पनि जोडिएका छन् । पाठकले यिनै शीर्षकका कुनै कथामात्र पढे पनि कथाको परिपूर्णताले उनीहरू तृप्त हुन सक्छन् । मूल कथासँग सम्बन्ध गाँसेर पनि प्रत्येक कथा स्वतन्त्र राख्न सक्नु लेखकको विशेष शिल्प मान्न सकिन्छ ।
भर्खरै ल्यान्डलाइन फोन आउन सुरु गरेको, लङ्गुरबुर्जाको रोमाञ्चकता कायम रहेको, रङ्गीन टेलिभिजन घरमा हुनु प्रतिष्ठाको विषय हो भन्ने सामाजिक मनोविज्ञान बोकेको, कालो चस्मा र कालो जुत्ता शानका प्रतीक बनेको अनि भर्खरै बिजुली बत्ती आउन थालेको गाउँ हो इटौरा । यहाँ थारू र ब्राह्मण क्लस्टरको सांस्कृतिक इन्द्रेनीजस्तो देखिए पनि त्यहाँ आफ्नै जातीय श्रेष्ठताका अहङ्कार र अन्धविश्वास पनि राम्रैसँग जरा गाडेर बसेको देखिन्छ ।
जजमानी गर्ने कुनै बाहुन बाजेको किशोर छोरो तुले भनिने तुलसीप्रसाद ढकालले प्रथम पुरुष दृष्टिबिन्दुबाट आफ्ना गाउँमा घट्ने नानाथरी घटनालाई नियालिरहन्छ । अनि, त्यसप्रति आफ्नै सोचको भारी बिसाइरहन्छ ।
उपन्यासकार ढकालले तुलेद्वारा बताइएका सारा घटनाक्रमलाई फिक्सनलाइज गरेका छन् । नरम उत्तराधुनिकताको सिन्दुरे साँझमा लेखक कहिले पाठकलाई राँकेभूतको दर्शन गराउँछन् त कहिले बूढीनदीको भेलमा पौडी खेलाउँछन् ।
कथाभित्रका उपकथाहरू सगरको जून छेउका सहस्र ताराहरूजस्तै खिलखिलाइ रहन्छन् । मिठास थपिँदै जान्छ । आँगन उज्यालिदै जान्छ । फेरि पनि धरतीमा जूनकीरीहरू चम्किरहन्छन् ।
उपन्यास पढिरहँदा कुनै पनि पाठक कथानकको जटिल सन्जालमा पटक्कै बेरिँदैन । हेमन्त ऋतुको नारायणी जस्तै कथाको मूल नदी अविरल बगिरहन्छ । रहस्यमय, तिलस्मी र अलौकिकजस्ता उडन्ते साहित्यिक एलिमेन्टहरूबाट सर्वथा दूर रहेको जौवा कतिपय प्रसङ्गमा भने पलिटिकली करेक्ट ल्याङ्वेज प्रयोग गर्न चुकेको अनुभूति हुन्छ ।
थारू समाजमा बोलिने कतिपय शब्दको सान्दर्भिक मिठासले हामी मक्ख त पर्छौँ । अपितु कतिपय प्रसङ्गहरू अलि नग्न भएका हुन् कि भन्ने पनि लाग्न सक्छ । एउटा किशोरका रूपमा अनेकौँ बदमासी गरिरहने किशोर तुले र उसको जिग्री ईश्वरी गाउँसमाजका अन्याय र अमिल्दा कुराहरूमा भने मौन विरोध गरिरहन्छन् ।
उपन्यासमा धेरै पात्र छन् । तुलेका बाआमा, दिदी, ईश्वरी, डम्मरे, हेडसर, क्याप्टेन बा, रामु दाजी, खुसिया, उल्टे, ध्रुबे दाइ, बड्का थारू, चौकीदार, दाने, छोटी दिदी, मोहन, रुबी, बसन्ती आदि । यद्यपि उपन्यासमा बसन्ती र तुलेकी दिदीको कथा धेरै छैन । धेरै कथानकको पाटो तुले र ईश्वरीकै वरिपरि तन्किएका छन् । यिनै दुई केटाहरूको बदमासी, छलछम चकचक र उपद्रोको घनत्वमा अन्य सहायक कथा सँगालिएका छन् ।
इटौरा गाउँमा अभाव छ । अन्याय र अतिचार छ । मुखिया प्रथा छ । शोषण र कुरीति छन् । महिलाप्रतिको सोच र व्यवहार निम्न स्तरको छ । धाक छ । धम्की छ । गरिबी र रिन छ ।
यद्यपि पर्वहरू पनि छन् । रसरङ छ । विवाह, भोज र तमासाहरू छन् । हाँसो छ । रहरहरू छन् । उत्तेजना छ । रिस र डाह पनि छ । अनि छ रोमाञ्चकता र रङ्गीन सपना देख्ने आँखाहरू ! त्यस्तै, ठग र धूर्तहरू छन् ।
चोरी चकारी र बेइमानीहरूबीच पनि अटल आस्था र विश्वासकी देवी नन्दभाउजू ताल इटैरियाहरूकी आँखामा बसेकी छन् । तुलेले गर्ने बदमासीका कथा भनीसाध्य छैनन् । बुढेसकालमा जन्मेको, त्यो पनि अनेक भाकल गरेर । गाउँमा पुँजीवादी विलासिता पस्दै गर्दा तुले जस्ताहरूको रहरको वृक्ष झाँगिदै जान्छन् । तुले तन्नम बाउको खल्तीबाट धेरैथोरै पैसा झिकिरहन्छ ।
तुलेकी दिदीको नाममा परेको रङ्गीन टिभीको चिट्ठा परेर पनि लिन नपाएको पिरोलो मन हुँडल्ने खालको छ । किशोर वयमा सुरु हुने विपरीत लिङ्गीय आकर्षणको तीव्रताले तुले कहिले रेडियोमार्फत् पत्रमित्रता गर्छ, कहिले आफूभन्दा धेरै उमेरकी रुबीलाई बेस्सरी मन पराउँछ । तुलेको हरपलको साथी ईश्वरी उसलाई हरदम साथ दिइरहन्छ ।
पढ्न लेख्न खासै मन नगर्ने तुले र उसको थारू साथी ईश्वरी जति बदमास हुन् भन्ने ठानिए पनि गाउँघरमा भैपरी आउने बेठिक नियाँनिसाफका प्रति भने मौन रूपमै सही असहमति जनाइरहेका हुन्छन् ।
रहस्यको गर्भमा लुकाइएको तर पलप्रतिपल चोट र अपमानमा पिल्सिरहनुपर्ने खुसियाको पीडा देखेर तुले र ईश्वरी हुनसम्म दुःखी हुन्छन् । तर, निरुपाय बस्छन् । किनभने उनीहरू त केटाकेटी नै हुन्छन् ।
खुसियाजस्ती बहादुर र आँटिली केटीले पेट बोकेपछि वा भनौँ बोकाइएपछि छिनोफानो गर्न बसेको समाजले खुसियाप्रति गरेको अन्यायले सीमा नाघ्छ तर समाजको मुखिया प्रथाको अगाडि कसैको केही लाग्दैन ।
चटपटे बेच्ने दानेको पुस्तकप्रेम र निडरपनाले तुलेलाई पनि साहसको सञ्चार गरिरहन्छ । गाउँघरको रीतिरिवाजहरूप्रति सदा आलोचनात्मक चेत राख्ने दानेले आखिरमा एकदिन खुसियालाई त्यो हालमा पुर्याउने मान्छे पहिचान गर्छ । ऊ त तुलेहरूकै स्कुलको हेडसर भएको थाहा पाएपछि भने पाठकहरू तीनछक्क पर्छन् । तर, हेडसर पक्राउ पर्नु धेरै अघि नै खुसियाले आत्महत्या गरी सकेकी हुन्छे ।
हाकाहाकी शीर्षकमा राखिएको ब्लु फिल्म भित्रको कथाले नेपाली समाजमा भित्रिएको पुँजीवादी विकृतिलाई प्रकट गरेको छ । बूढीनदी शीर्षकको कथानकले दिएको हाँसो, चिट्ठी र चिट्ठाभित्रको मोहनीमय वर्णनात्मकता, तालु सरको मस्ती र डर, उल्टेको तुरी च्यापिँदाको रुन्चे हाँसो, सायरीको सर्को, बठिनियाँहरूको छालेपन, पताकाको सांस्कृतिकता, नाङ्गो देख्ने चस्माले नदेखेको विकृति र छल आदि सबै शीर्षकमा इटौरा गाउँको छायाँछवि राम्रैसँग देख्न सकिन्छ ।
कथा भन्ने वर्णनात्मक शिल्पलाई प्रशस्त निखारेका लेखक ढकालले जौवा उपन्यासमा धेरै मसिना घटना र क्रियाकलापलाई पनि टिप्न भ्याएका छन् । उनको टिपाइ अचाक्ली बोरिङ त छैन, अपितु यसमा केही परिमार्जन र परिष्कार आवश्यक छ भन्ने ठानिएको छ ।
कथाको आरम्भ, विकास र उत्कर्षमा पाठकलाई पुर्याइरहँदा लेखकले तिनको रोमाञ्चकताको तीव्रतामा पनि ध्यान पुर्याउँदा जाती हुन्छ । शब्द छनौटमा पनि सामाजिक सीमाभित्रकै सौम्य साहित्यिक परम्परालाई अँगाल्नु श्रेयष्कर हुन्छ भन्ने भद्र सुझाव दिन मन लागेको छ ।