धरातलविहीन धनी मान्छे
तिमी धनाढ्य छौ
विशाल घर होला, तर यसो नियाल्दा तिमीमा
एउटा भित्री आँखाको कमी भयो
जुन धन तिमी आफूलाई हो
जुन घर तिमी आफूलाई हो
फगत तिम्रो घमण्ड देखेर त्यो आँखा कति लजाउँदो हो !
तिम्रोजस्तो विशाल गृह
विश्वको नमुना स्थान
अनि अति नै धनाढ्यको अहं देखाउन
यो जुनीमा नपरोस्
त्यसैले धनको उन्मादले भरिएको विषाक्त नयनमा
गरिब भनिन मै ठिक छु,
भ्रम छरिएको दुनियाँमा जाती हुनलाई
भौतिक मोहसँग गाँसिएर देखावटी धनी बन्नुछैन मलाई
म लोभी नै ठिक छु ।
धनको उन्मादले तिमीलाई
गरिबको पसिना गन्हाउँछ
फाटेको कपडा सुहाउँदैन
तिम्रो नीच दृष्टिकोणलाई
शान्त–शीतल जन्मभूमिको माटो मन पर्दैन
र त रोजेर बस्न सकेका छौ
संसार जित्ने सहरको धनी महलमा
किन हाँस्छौ अर्काको विवेक नबुझी
र भन्छौ गरिब
म गरिब र लोभी हुँला तिम्रो नजरमा
जसले अरुको जीवन अस्तित्व बुझ्न सक्दैन
आफ्नो पसिना र दुःखले बाँचेको मान्छेलाई होच्याएर
कहाँको धनी भयौ तिमी ?
साँच्चै धनी बन्नु छ भने
अर्काको व्यक्तिगत जीवन नबुझी तर्क गर्न छाडिदेऊ
अरुको यथार्थ धरातललाई गिज्याउने तिम्रो जिब्रोलाई
बिर्को लगाऊ
देखावटी आवरण होइन
भित्री हृदयलाई शान्त स्थिर बनाऊ
ताकि दुःखी पीडितको मनलाई शान्ति दिने
एउटा शब्द निकाल्ने गर
अनि पो तिमी वास्तविक धनी हुनेछौ ।
मानिस गरिब मात्र भएर प्रिय हुने पनि होइन रहेछ
मान्छे धनी मात्र भएर साँच्चै सुन्दर हुने पनि होइन रहेछ
देखावटी आवरणलाई ढाक्ने तिम्रा खोक्रा चित्रहरू
मलाई कदापि स्वीकार्य हुँदैनन्
जसले अर्काको अस्तित्वको खिल्ली उडाएर मृत्यु शय्याको धरातल बिर्सन्छ ।
तिमी धनी भएर मलाई के ग¥यौ ?
जतिखेर भेट्यौ उतिखेर
नियमहरूको वर्षात् गरायौ,
सच्चा कर्मलाई खोट लगाउन लाञ्छनाको बिज रोप्यौ
आफ्नो कर्मलाई संसार सम्झेको मानिसलाई
विवेकहीन तरिकाले संस्कारको पगरी गुथायौ
जुन तिम्रो सन्तानका निम्ति तिमी सोच्न समेत सक्दैनौ ।
निम्छरो कमजोर देखेर मेरो खिल्ली उडायौ,
फाटेको चप्पलमा
पोलेको पैतालामा
तिम्रा धारिलो शब्दको बाणले खोप्यौ
हरपल मेरो शिर गिराउने प्रयत्न गरिरह्यौ
हजारौँ जीवनका ठक्करसँग लडेको मलाई
पुनः लडाउन लाख प्रयत्न ग¥यौ
तर ईश्वरको हिसाबबाट तिमी अछुतो रहने छैनौ,
जुन दिन बिनाकारण मेरो आँखाबाट अश्रु वर्षात् गरायौ !
त्यसैले प्रायस्चित गर
आफ्नो नीच व्यवहारको
आफ्नो अभीष्ट पूरा गराउन राखेका नियमहरूको
आफ्नो इष्र्या ओकल्न लगाएका आरोपहरूको
आफ्नो मन शीतल गराउन गरेका दोसारोपणहरूको
बल्ल बुझ्नेछौ—
धनी को, गरिब को !
अनि लोभी को !
(दोलखा, हाल ः भक्तपुर)