आज मिति २०६० साल जेठ महिनाको २६ गते शुक्रबार आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–
तापक्रम निरन्तर वृद्धि
पूर्व उपप्रधानमन्त्री तथा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीका वकिलले टेकनाथ रिजालको विषयमा अनौठो बहस गरेका छन् । पूर्वमहान्याधिवक्ता समेत भइरहेका रमेश बडालले जिल्ला अदालत काठमाडौँमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीको पक्षमा बहस गर्दै भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयानलाई पत्याउन नमिल्ने जिकिर गरेका हुन् ।
प्रेम प्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बयानका क्रममा अधिवक्ता रमेश बडालले रिजालको माइन्ड कन्ट्रोल भएकाले उनले दिएको बयान पत्याउने नमिल्ने जिकिर गरेका हुन् ।
ओलीलाई जनार्दनको जवाफ
नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विगत १० वर्षमा प्रस्तुत भएका बजेट आयोग बनाएर समीक्षा गर्न चुनौती दिएका छन् । आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसद शर्माले राजनीतिक पूर्वाग्रह राखेर ओलीले चालू बजेटलाई शून्य अंक दिएको बताए । बजेटबारे आज अन्य सदस्यहरुले पनि आ-आफ्नो धारणा राखे ।
जिल्ला निर्वाचन कार्यालय हटाउने विवाद
निर्वाचन आयोगले आफ्नो कार्यसम्पादनका लागि आवश्यक पर्ने कर्मचारी, स्रोत, साधन एवम् भौतिक संरचना नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनु पर्ने संवैधानिक दायित्वबाट पछि नहट्न सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसहित सरोकारवालहरूसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयले आयोगका कामकारबाहीमा प्रतिकूल असर पर्ने बताउँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सर्वोच्चको आदेश
तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको कपी मगाउन सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरणको कपी मगाउने आदेश दिएको हो । सर्वोच्चले राष्ट्रपतिबाट भएको प्रमाणीकरणको कपी मगाउने र अन्तरिम आदेश दिनु पर्ने कि नपर्ने भन्ने सम्बन्धमा छलफलका लागि जेठ ३० गते मंगलबारको पेसी तोक्ने आदेश गरेको छ ।
नेसपाको निर्णय
पाल समाजवादी पार्टी (नेसपा)ले नेकपा माओवादी केन्द्रलगायत विचार र राजनीतिक एजेण्डा मिल्ने पार्टीहरुसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने निर्णय गरेको छ ।
यस्तो छ देशको आर्थिक चित्र
चालु आर्थिक वर्षको १० महिनासम्म आइपुग्दा मुलुकको शोधनान्तर स्थिति सवाँ २ खर्ब हाराहारी बचतमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार वैशाख मसान्तसम्म मुलुकको ब्यालेन्स अफ पेमेन्ट (बीओपी) २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको हो ।
सेयर बजार
अघिल्लो साता झन्डै ९३ अङ्कले बढ्दै १८ सय ६६ अङ्कको विन्दुमा उक्लिएको नेप्से सूचकमा यो साता थप ७३ अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार यो साता नेप्से सूचक ७३.२७ अङ्कले बढ्दै १९३९.६१ अङ्कको विन्दुमा उक्लिएको हो । अघिल्ला साताको अन्तिम कारोबार दिन बिहीबार अर्थात् जेठ १८ गते नेप्से सूचक १८ सय ६६.३४ अङ्कको विन्दुमा रहेको थियो भने यो साताको बिहीबार १९ सय ३९.६१ अङ्कको विन्दुमा पुगेको छ ।
यो पनि
तनावपूर्ण खेलमा च्याम्पियन चर्च ब्वाईजसँग स्तब्ध खुमलटार युथ क्लब सहिद स्मारक ए डिभजिन लिगको रेलिगेशनमा पर्दा अर्को खेलमा फ्रेण्ड्सले विभागीय टोली एपिएफ क्लबलाई पराजित गर्दै रेलिगेशन संकट टारेको छ ।
गोकर्णेश्वर नगरपालिका–९ जोभो कदम्पा विद्यालयका ४ चार जना बालबालिकामा दादुरा संङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अराजकताले सीमा नाघिसकेकाले इनफ इज इनफ भन्नुपर्ने अवस्था आइसकेको बताएका छन् ।
वैदेशिक रोजगारीका लागि रोमानिया र माल्टा लगायतका देशमा कामदार पठाउन खोज्ने एक कन्सल्टेन्सीमा छापा मारेको छ । वैदेशिक रोजगार विभागको टोलीले सामाजिक सञ्जालमा गरिएको विज्ञापनको आधारमा छापा मारेको हो ।
६ भदौ २०७९ मा नेपाल सरकार र बेलायत सरकारबीच श्रम सम्झौता (एमओयू) भएको थियो । बेलायतमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारीका लागि अवसर दिने विषयमा भएको उक्त सम्झौता सन् २०२३ देखि कार्यान्वयनमा जाने भन्ने थियो । उक्त सम्झौता भएको ९ महिना बितिसक्दा पनि त्यसका लागि आवश्यक पर्ने प्रोटोकल तयार हुन सकेको छैन ।
थप सामग्री
प्रतिक्रिया