एकपछि अर्को सांसदले बोलेका कुरा संसदको रेकर्डबाट ‘डिलिट’
काठमाडौँ । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद्लाई हल्का रुपमा प्रस्तुत गर्न खोजिएको भन्दै संसदमा छलफल हुनुपर्ने विषय रेकर्डबाट हटाउने परम्परा अन्त्य गर्न माग गरे ।
उनले महालेखाले प्रतिवेदनमा उल्लेख भएको ‘सुनको जलहरीमा भ्रष्टाचार’ भएको कुरा संसदमा उठाउँदा त्यसलाई रेकर्डबाट हटाइएकोमा आपत्ति जनाए ।
सांसद खतिवडाले भने, ‘कसैको सत्ता आवेग, सत्ता पाउने वा नपाउने आवेगको केन्द्र संसद् नबनोस् । संसदमा छलफल हुने विषयवस्तु रेकर्डबाट हटाउने परम्परा अन्त्य होस् । हामी संसद्लाई सार्वभौम सत्ता सम्पन्न बनाउन चाहन्छौँ ।’
उनले अगाडि भने, ‘महालेखाको प्रतिवेदनमा सुनको जलहरी निर्माण प्रक्रियामा १०७ किलो ९२४ ग्राम सुन प्रयोग गर्ने उल्लेख गरिएको हुन्छ त्यसमध्ये ९६ किलो ८ सय २२ ग्राममात्र प्रयोग गरिएको र १० किलो ९ सय ७६ ग्राम सुन बेपत्ता भएको उल्लेख छ । त्यो कुरा संसदमा बोल्न महालेखाको प्रतिवेदनले हामीलाई दिएको हो । त्यो कुरा बोल्दाखेरी संसदको रेकर्डबाट हटाउने कुराको म विरुद्धमा छु । यी कुरा उठाउँदा ३ चोटी, ४ चोटी संसदबाट डिलिट हुन्छ भने पनि जनताको मनबाट डिलिट हुन सक्दैन । यो विषय संसदमा छलफल हुनुपर्छ ।’
माओवादी केन्द्रका सांसदले उठाएको यो विषय संसदको रेकर्डबाट हटेको २ सातापछि सांसद खतिवडाले प्रतिनिधिसभाको बैठकमा चर्चा गरेका थिए । प्रतिनिधिसभाको बैठकहरुमा एक सांसदले बोलेका कुरामा अर्को सांसदले नियमापत्ति जनाउने र सभामुखले रेकर्डबाट हटाउने क्रम पछिल्लो समय बढेको छ ।
पशुपतिनाथ मन्दिरमा सुनको जलहरीबारे विवादमा सांसद दाहालको भनाइ डिलिट
गत जेठ १० गते बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पशुपतिनाथ मन्दिरमा सुनको भन्दै पित्तलको जलहरी लगाएको र महालेखाको प्रतिवेदनले भ्रष्टाचार भएको औँल्याएको विषय उठाएका थिए । उनले कोरोनाकालमा स्वास्थ्य सामग्री खरिदमा २ अर्बको भ्रष्टाचार भएको कुरा संसदमा राखेका थिए ।
सांसद दाहालले ओली प्रधानमन्त्री हुँदा नेपालको ७ खर्ब रहेको वैदेशिक ऋण कसरी १७ खर्ब पुग्यो भन्दै प्रश्नसमेत उठाएका थिए ।
सांसद दाहालले सो दिन बोल्दा एमालेले उनको भनाइलाई ख्याल गरेन वा ख्याल गरेर पनि महत्त्व दिएन । तर त्यसको दुई दिनपछि अर्थात् जेठ १२ गते बसेको प्रतिनिधिसभाको बैठकको सुरुवातमै एमालेले दाहालको अभिव्यक्तिलाई लिएर हङ्गामा मच्चायो । गत मंसिरमा सम्पन्न निर्वाचनले गठन गरेको प्रतिनिधिसभामा पहिलो पटक एमालेले रोष्टम घेराउ ग¥यो ।
एमालेले सांसद दाहालका भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने र पशुपतिको जलहरी सुनको हो वा पित्तलको हो भन्नेबारेमा प्रधानमन्त्रीको जवाफ माग गरेर संसद् अवरुद्ध ग¥यो । बजेट प्रस्तुत गर्ने पूर्वसन्ध्यामा प्रमुख प्रतिपक्षी दल संसदमा आक्रामक रुपमा प्रस्तुत भएपछि प्रधानमन्त्री प्रचण्ड लचिलो बने ।
प्रचण्ड, केपी ओली र शेरबहादुर देउवाबीच संसद् सुचारु गर्ने विषयमा भएको सहमति अनुसार जेठ १३ गते बसेको प्रतिनिधिसभा बैठकमा प्रचण्डले पशुपतिमा सुनको जलहरी रहेको प्रस्टिकरण दिए भने सांसद दाहालको भनाइ हटाउन सभामुख देवराज घिमिरेले निर्देशन दिए ।
सभामुख घिमिरेले भनेका थिए, ‘मिति २०८० जेठ १० गते सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा माननीय सदस्य श्री लेखनाथ दाहालले प्रयोग गर्नु भएको विचारहरु भित्र स्वास्थ्य सामग्रीको २ अर्बको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरु भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन म संसद् सचिवालयलाई निर्देशन गर्दछु ।’
यस्तै जेठ २२ गतेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले बोलेको अभिव्यक्तिले अर्को हङ्गामा मच्चिएको थियो । प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्ने क्रममा उनले भारत भ्रमणबाट भैँसी चढेर आएको भन्ने अभिव्यक्ति दिएपछि वादविवाद सिर्जना भएको थियो । सो अभिव्यक्ति संसद्को रेर्कडबाट हटाइएपछि संसद्को वातावरण शान्त बनेको थियो ।
विनोद चौधरीको ‘उखान’पनि डिलिट
जेठ २५ गते प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद विनोद चौधरी आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै थिए । चौधरीले बोल्दा गडबड होला भनेर लिखित मन्तव्य नै ल्याई वाचन गरिरहेका बेला अचानक एमाले सांसद दीपा शर्माले उठेर नियमापत्ति गरेपछि चौधरी चकित भए ।
किन नियमापत्ति भयो भनेर छक्क पर्दै चस्मा फुकालेर चौधरीले सांसद शर्मातिर हेरे ।
बजेटमाथि बोल्ने क्रममा चौधरीले नेपाली उखान ‘जब प¥यो राति तब बुढी ताती’ भन्ने शब्द प्रयोग गरेका थिए । सांसद शर्माले प्रतिनिधिसभा नियमावलीको २१ को ‘घ’ मा संसदमा कसैलाई अपमान गर्न नपाइने लेखेको बताउँदै सो उखानले नेपाली महिलामाथि आक्रमण गरेको टिप्पणी गरिन् ।
उनले भनिन्, ‘यो कुरा कहिलेदेखि अन्त्य हुन्छ म सोध्न चाहन्छु । जहिले पनि उखान टुक्का गर्दा महिलामाथि नै यो सदनमा बोलिनुपर्ने ? कहिलेदेखि नेपालको यो समाजलाई सुसंस्कृत, समान खालको बनाउने ? यो शब्द आपत्तिजनक छ । जब प¥यो राति अनि बुढी ताती भन्ने उखान धेरै माननीयज्यूका मुखबाट सुनिरहेका छौँ । आजको दिनदेखि कुनै पनि माननीय सांसदहरुले विगतमा महिलामाथि बोलिने त्यस्ता शब्द नबोल्न आग्रह गर्दछु ।’
त्यसपछि सभामुख देवराज घिमिरेले सो उखान लैङ्गिक मैत्री नभएको भन्दै संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए ।
सांसद चौधरीले धान रोप्ने बेला भएपछि मात्र सरकार रासायनिक मल खोज्न हतारिने गरेको भन्दै सो प्रसंगमा सरकारलाई व्यङ्ग्य गर्दै ‘जब प¥यो राति तब बुढी ताती’ भन्ने उखान प्रयोग गरेका थिए ।
सांसद पन्तको उखान पनि रेकर्डबाट हट्यो
जेठ २५ गतेकै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सांसद डिल्लीराज पन्तको भनाइप्रति नियमापत्ति जनाए । आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि धारणा राख्ने क्रममा पन्तले ‘अन्धो मामा हुनुभन्दा कानो मामा बेस’ भनेपछि ढकालले नियमापत्ति जनाएका थिए ।
सांसद पन्तले देश आर्थिक संकटमा परेको बेला अर्थमन्त्रीले छोटो समयमा बजेट ल्याएको तर बजेट पूर्ण नभएकोले ‘अन्धो मामा हुनुभन्दा कानो मामा बेस’ भन्दै आफूले समर्थन गरेको बताएका थिए ।
सांसद पन्तले सो उखान भनेपछि सांसद ढकालले फरक क्षमता भएका व्यक्तिलाई असर पर्ने शब्द संसदमा बोलिएको भन्दै नियमापत्ति जनाए । ढकालको नियमापत्तिपछि सभाको अध्यक्षता गरिरहेकी उपसभामुख इन्दिरा रानाले उनको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिइन् ।
पूर्व सभामुख दमननाथ ढुङ्गाना भन्छन्– संसद्लाई दिशाहीन बाटोमा लाने काम
पूर्वसभामुख दमननाथ ढुङ्गानाले संसदमा जनताका जनप्रतिनिधिको रुपमा पुगेर सांसदले बोलेका विषय रेकर्डबाट हटाउने कार्यले संसद् दिशाहीन बाटोमा जाने टिप्पणी गरेका छन् । उनले संसदमा साह्रै आपत्तिजनक कुरा भएमात्र सभामुखले स्वविवेकले हटाउन सक्ने तर भ्रष्टाचारका कुरा उठाउँदा अर्को पक्षलाई मन नपर्दैमा हटाउनु नपर्ने बताए ।
रातोपाटीसँग कुरा गर्दै पूर्वसभामुख ढुङ्गानाले भने, ‘यस्तो कामलाई नियमन नगर्ने हो भने संसद्लाई नै यसले दिशाहीन बाटोमा लैजान्छ । किनभने संसद् नीतिगत कुराहरु, राज्यका सरोकारका कुराहरुमा, जनताका दैनिक जीवनका सवालहरुमा छलफल गर्ने ठाउँ हो । संसदमा सांसदहरुका लागि विशिष्ट किसिमको स्वतन्त्रता हुन्छ त्यसैले सांसदले बोलेका कुरा काट्ने वा हटाउने भन्ने कुरा नै अपवाद हुन्छ । अत्यन्तै अपवादजन्य कुरा र अत्यन्तै आपत्तिजनक कुरामा मात्रै संसद्को रेकर्डबाट हटाउने भन्ने कुरा हुन्छ ।’
उनले सांसदले कुनै कुरा हटाउन भन्नेबित्तिकै सभामुखले मानिहाल्नु पर्छ भन्ने पनि नभएको बताउँदै के कुरा हटाउने वा के कुरा नहटाउने भन्ने सभामुखको तजविजको कुरा भएको बताए ।
उनले भने, ‘कुनै कुरा हटाउन कसैलाई मन लागेर पनि हुँदैन, त्यस्ता विषयमा छलफल पनि हुनुपर्छ । त्यसलाई कार्यव्यवस्था परामर्श समितिमा पनि लैजानुपर्ने हुन्छ । उखान टुक्का भनेको आधारमा पनि काट्ने आदेश दिन थालेपछि त त्यसले संसदमा बोल्न पाउने कुरालाई ध्वंश गर्छ । यस्तो कामले संसद्लाई अमर्यादित बनाउँछ । राष्ट्रको नीति बनाउन र राष्ट्रिय सवालहरुमा सांसदले ज्वलन्त रुपमा बहस गर्ने ठाउँ संसद् हो । अझ त्यसमा पनि संघीय संसदमा बोलेका कुनै पनि कुरा त्यसै संसदबाट हटाउन भन्न मिल्दैन । त्यसका लागि आधारभूत कारण हुनुपर्छ ।’
पूर्व सभामुख ढुङ्गानाले संसदमा भ्रष्टाचारको विषयमा जुन सांसदले जतिसुकै कडा रुपमा भने पनि उसले गलत भनेको भए बोल्ने मान्छेले त्यसको जिम्मेवारी लिने बताए । संसदमा कसैले कसैलाई आक्षेपित ग¥यो भन्दैमा त्यसलाई रेकर्डबाट हटाउनैपर्छ भन्ने नहुने बताउँदै उनले एउटाले कुनै विषय प्रवेश गरायो भने अर्कोले खण्डन गर्न पाउने बताए ।
उनले भने, ‘कसैले केही बोल्यो भने अर्को पार्टीका तर्फबाट पदाधिकारीले खण्डन गर्न पाइहाल्छन् । सांसद सदस्यले पनि खण्डन गर्न पाउँछन् । मुख्य कुरा के हो भने खण्डन गर्न चाहनेलाई खण्डन गर्न दिनुपर्छ ।’
उनले जनताले नीति बनाउन र बोल्नका लागि पठाएको संसदमा सांसदले बोल्न पाउने कुरालाई रोक्न र हटाउन नहुनेमा जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
-
४१ स्थानमा हुने उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक, कहाँको मतपत्र कस्तो ?
-
लाओसमा विषाक्त रक्सी पिउँदा मर्ने पर्यटकको सङ्ख्या ६ पुग्यो
-
रश्मिका मन्दनाले गरेकी हुन् इन्गेजमेन्ट ?
-
बिहीबार युक्रेन हमलामा प्रयोग भएको मिसाइलबारे पुटिनको खुलासा
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन