शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एउटै कम्पनीको विमान : आइतबार इरानमा, सोमबार नेपालमा दुर्घटना

मङ्गलबार, २९ फागुन २०७४, १३ : ३४
मङ्गलबार, २९ फागुन २०७४

काठमाडौं–सोमबार नेपालमा यू.एस.–बङ्लाको विमान अवतरणको क्रममा दुर्घटना भयो । उक्त विमान दुर्घटनामा २२ नेपालीसहित ४९ जनाको ज्यान गयो । यस्तै २२ जना घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  

दुर्घटनाग्रस्त विमान क्यानडाको मोन्ट्रियलस्थित बम्बार्डिएर इन्कले बनाएको हो । 

यसो त सोही कम्पनीको बम्बार्डिएर च्यालेन्जर ६०४ निजी जेट विमान अघिल्लो दिन इरानमा पनि दुर्घटना भएको थियो । सो  दुर्घटनामा विमानमा सवार सबै ११ जनाको मृत्यु भएको थियो । 

इरानमा दुर्घटना भएको जेट विमान टर्किस व्यापारी हुसेन बसरनको थियो । विमानमा उनकी छोरी र साथीहरू थिए । अर्को महिना विवाह हुन लागेको हुसेनकी २८ वर्षे छोरी मिना विवाहअघिको पार्टीमा सहभागी भएर फर्कंदै थिइन् । विमानमा रहेका उनका सात जना साथीहरू सबैको निधन भएको छ । 

नेपालमा दुर्घटनाग्रस्त विमान

विमान इरानको राजधानी तेहरानबाट ३७० किलोमिटर टाढा रहेको जाग्रोस पहाडमा ठोक्किएको थियो । प्रत्यक्षदर्शीले पहाडमा ठोक्किनुअघि विमानमा आगो लागेको देखेको बताएका छन् । विमानको दुर्घटनाको कारण हालसम्म पत्ता लागेको छैन । सोमबार इरानका अधिकारीहरूले विमानको “ब्लाक बक्स” भेटेका छन् । 

इरानमा दुर्घटनाग्रस्त विमान

विमान निर्माताको प्रतिक्रिया
दुई दिनभित्र आफ्नो कम्पनीका दुई विमान दुर्घटना परेपछि बम्बार्डिएर इन्कले दुर्घटनाको अनुसन्धान गर्ने भएको छ । बम्बार्डिएर कम्पनीले एक फिल्ड सर्विस प्रतिनिधिलाई मङ्गलबार बिहानै नेपाल पठाउन लागेको बम्बार्डिएरकी प्रवक्ता नटाली सिफेन्ग्फेटले क्यानडाको समाचारपत्र स्टारलाई बताइन् ।

बम्बार्डिएरका सञ्चार निर्देशक मार्क मास्लुचले एकपछि अर्को दुर्घटना हुनु ‘दुभाग्यपूर्ण संयोग’ भएको बताए ।

 साथै उनले तत्कालै यी दुईमा सम्बन्ध देखाउनु ‘अनुपयुक्त’ भएको बताए । उनले नेपालमा दुर्घटना भएको क्यू ४०० शृङ्खला आफूहरूले बनाएको ‘सबैभन्दा बलियो र भरपर्दो विमान’ भएको बताए ।

बम्बार्डिएर क्यू ४०० को खराब विगत
आफ्नो वेबसाइटमा बम्बार्डिएरले सन् १९९२ मा विमान निर्माता ‘डी हाभिल्यान्ड क्यानडा’ किनेपछि उक्त कम्पनीले बनाइरहेको विमानमा आफ्नो नाम दिन थालेको उल्लेख गरेको छ ।

सो अधिग्रहणपछि प्लेनमा धेरै पटक प्राविधिक गढबढी देखिएका छन्, विशेष अवतरण गियरमा । दुई दुर्घटना भने प्राणघातक सावित भए । सन् २००९ मा न्युयोर्कमा क्यु ४०० विमान दुर्घटना हुँदा ५० जनाको मृत्यु भएको थियो । सो विमान दुर्घटनाको कारणमा पाइलटको गल्तीलाई कारण मानिएको थियो । साथै यसको आंशिक कारणमा विमानको चेतावनी दिने प्रणालीमा पनि गल्ती पाइएको थियो । सो प्रणालीले प्लेन ढिलो उडिरहेको सचेत नगराउँदा विमान अवतरण गराउँदा एयरपोर्ट छेउको घरमा ठोक्किएको थियो ।

मिना र उनका साथीहरु

सन् २००७ मा जापानमा, त्यसको एक हप्तापछि जापानमै बम्बार्डिएरको क्यु ४०० को विमान दुवैमा ल्यान्डिङ गर्दा गियरमा समस्या आएको थियो । त्यस्तै सन् २००७ मै डेनमार्कमा स्क्यान्डेभियन एयरलाइनको क्यू ४०० कै विमानको अवतरण गियरमा समस्या आएपछि आकस्मिक अवतरण गराइएको थियो । यस क्रममा ५ मानिसलाई सामान्य चोट लगेको थियो । सो दुर्घटनापछि स्क्यान्डेभियन एयरलाइनले क्यू ४०० विमान प्रयोग गर्न बन्द गरेको थियो ।

विमान दुर्घटनाका विवरण राख्ने संस्था उड्डयन सुरक्षा सञ्जालका अनुसार सन् २००७ मा दक्षिण कोरियामा पनि बम्बबार्डिएर क्यु ४०० को विमानको रडर गढबढी आएपछि विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर छेउको नालीमा पुगेको थियो । केही यात्रुहरू सामान्य घाइते भए पनि दुर्घटनामा मानिसको ज्यान भने गएन । 

त्यस्तै सन् २०१५ सेप्टेम्बर ४ मा पनि बम्बार्डिएर क्यु ४०२ विमान बङ्लादेशको सैदपुर विमानस्थलमा अवतरणको समय ल्यान्डिङ गियरमा समस्या आएको थियो । यस दुर्घटनामा पनि सामान्य चोटपटक मात्र पुगेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रवण उप्रेती
श्रवण उप्रेती
लेखकबाट थप