सानु भण्डारीको ‘हरियो डायरी’ले तानिए हाइप्रोफाइल तर, वकिल भन्छन्–डायरी प्रहरीले भर्यो
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सानु भण्डारीको घरबाट बरामद डायरीमा लेखिएको हिसाबका कारण पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, डा.इन्द्रजित राई र सन्दीप रायमाझी थुनामा छन् ।
तर, शरणार्थी प्रकरणमा थुनछेक बहस गर्दा कानुन व्यवसायीहरुले डायरीको आधिकारिकताबारे प्रश्न उठाएका छन् । शुक्रबार जिल्ला अदालत काठमाडौँस्थित न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता रमेश बडालले भने, ‘सानु भण्डारीसँग प्रहरीले लिएको बयान अनुसार टोपबहादुरलाई उनले ४ पटक रकम दिएको डायरीमा उल्लेख गरेको देखिन्छ ।’
भण्डारीले डायरीमा ‘टोप मामा’ उल्लेख गर्दै २०७३ फागुन १० मा, २०७४ जेठ १० मा र २०७४ असार ९ मा समेत चार पटक रकम दिएको हिसाब उल्लेख गरेको भेटिएको छ । भण्डारीले डायरीमा रायमाझीलाई ‘टोप मामा’ सम्बोधन गरेका छन् ।
२०७४ असार ९ मा रायमाझीलाई रकम दिएको हिसाब राखेको दिन स्थानीय तहको दोस्रो चरणको चुनाव भइरहेको थियो ।
अदालतमा बयान गर्दा भण्डारीले सो डायरी आफ्नो नभएको जिकिर गरेका छन् । नेकपा एमालेका निलम्बित सचिव रायमाझीका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता बडालले डायरी प्रहरीले नै सिर्जना गरेको जिकिर गरे । इजलासमा बडालले भने, ‘डायरी प्रहरीले नै भरेर ल्याएको छ, अनुसन्धान गर्नेहरुले नै सहीछाप गरेका छन् ।’
इजलासमा डायरी माग्दै बडालले भने, ‘श्रीमान्, डायरी पाउँ ।’ इजलास अधिकृतले डायरी दिएपछि बडालले डायरीमा लेखिएको रकमबारे उल्लेख गरेर सो रकम ‘झुटो विवरण’ रहेको जिकिर गरेका हुन् ।
प्रहरीले आफ्नो कुरा प्रमाणित गर्न प्रेमराज पन्थीको नाममा जाहेरी दर्ता गराएको बडालले आरोप लगाए । ‘रायमाझी विरुद्ध प्रहरीले लेखेको जाहेरीमा प्रेमराम पन्थीलाई हस्ताक्षर गराइएको छ,’ बडालले भने, ‘अनुसन्धान अधिकृतहरूको सूचनाको आधारमा सो जाहेरी तयार गरिएको छ ।’
वरिष्ठ अधिवक्ता बडालले डायरीमा ‘मैया’, ‘मामा’ र ‘भाञ्जा’को नाम रहेछ भन्दै त्यसको विश्वसनीयतामा प्रश्न गरे ।
रायमाझी पक्राउ परेपछि उनी विरुद्ध जाहेरी दर्ता गरिएको थियो । गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मी सहितका पीडितले दिएको जाहेरीमा रायमाझीको नाम उल्लेख छैन ।
बेइमानीमा पनि इमानदारिता चाहिने उल्लेख गर्दै बडालले २०७६ मंसिरमा कार्यदलको प्रतिवेदन मन्त्रिपरिषद्मा गएपछि किन पीडितहरुसँग पैसा उठाइयो भनेर प्रश्न गरे ।
वेटरको बयान हास्यास्पद !
ललितपुरको एउटा होटलमा शरणार्थी प्रकरणमा मुछिएकाहरु आउजाउ गर्ने र त्यहाँबाट ‘डबल ब्ल्याक लेबल’ मदिरा खरिद गर्ने गरेको वेटरको बयान कागजमा वरिष्ठ अधिवक्ता बडालले प्रश्न उठाए ।
‘रोज खत्री र प्रवीण कार्की वेटर हुन्, उनीहरुले कागज गरेका रहेछन्,’ बडालले भने, ‘त्यहाँबाट डबल ब्ल्याक लेबल मदिरा किनेर आरोपीहरु रामबहादुर थापा र प्रतिक थापाकहाँ जान्छौं भनेर हिँड्ने कागज गराइएको छ ।’
बडालले प्रश्न गरे, ‘४ वर्षअघि मदिरा किन्दा ग्राहकले भनेका कुराको रेकर्ड राख्ने वेटर पनि यही मुद्दामा भेटिए श्रीमान् ।’
शुक्रबार रायमाझीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, अधिवक्ताहरु परशुराम कोइराला र धर्मराज रेग्मी लगायतले बहस गरेका छन् ।