सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

राजनीतिमा युवाहरुमा वितृष्णा देखिएको छ : मन्त्री मोक्तान

शुक्रबार, २६ जेठ २०८०, १९ : ४६
शुक्रबार, २६ जेठ २०८०

मकवानपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पछिल्लो समय युवाहरुमा राजनीतिप्रति वितृष्णा पैदा भएको बताएकी छन् ।

शुक्रबार हेटौंडामा प्रदेश युवा नमुना संसद्को समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले राजनीतिक दलहरुको क्रियाकलापका कारण युवाहरुमा वितृष्णा पैदा भएको बताइन् ।

‘राजनीति र राजनीतिक दलहरु प्रति युवाहरुमा वितृष्णा देखिएको छ । यो हाम्रो क्रियाकलापका कारणले भएको हो,’ उनले भनिन्, ‘हामी नेतृत्वदायी भूमिकामा रहेकाहरुले यसलाई सुधार गरेर युवाहरुका लागि स्थान बनाउन जरुरी छ । राजनीतिमा युवा आकर्षण बनाएर उनीहरुको नेतृत्व क्षमता विकासका लागि कार्यक्रम ल्याउनु आजको आवश्यकता हो ।’

उनले त्यसलाई सुधार गरेर युवाहरुलाई राजनीतितर्फ आकर्षित गर्न आवश्यक रहेको औँल्याइन् । उनले सामाजिक रुपान्तरणमा युवाहरुको भूमिका महत्त्वपूर्ण हुने बताइन् । राजनीतिक दलको नेतृत्वका लागि युवाहरुले आफूलाई तयार गर्नुपर्ने मन्त्री मोक्तानको भनाइ छ ।

उनले युवाहरुले नेतृत्वदायी भूमिका निर्वाह गरेर समग्र देशलाई नै विकासको बाटोमा डो¥याउनुपर्ने बताइन् । विगतको तुलनामा युवाहरु नेतृत्वदायी भूमिकामा अग्रसर भइरहेकाले राजनीतिक दलहरुले पनि सोही अनुसार स्थान निर्माण गरेर अघि बढ्नुपर्ने बताइन् ।

2

‘विगतमा हामीले नेतृत्वका विषयमा केही सिक्न नै पाएका थिएनौं । हामीले पनि नेतृत्वका विषयमा केही सिक्न पाएको भए अझै राम्रा काम गर्न सक्थ्यौं होला जस्तो लाग्छ,’ उनले भनिन्, ‘हामीले नेतृत्वमा आउन धेरै समस्या सामना गर्नुपरेको थियो । अब त्यस्तो अवस्था छैन । मैले पनि नेतृत्वका विषयमा बुझ्दै गर्दा ३ पटक चुनाव जितेर सांसद भएँ । २ पटक मन्त्री नै बनिसकेँ । अब पुग्यो । अब पालो तपाईँहरूको हो ।’

मन्त्री मोक्तानले युवाहरुको क्षमता विकास र विस्तारका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम मार्फत् बजेट विनियोजन गरेको बताइन् । प्रदेश सरकारले युवाहरुको क्षमता विकासको लागि पालिकास्तरमै तालिमको व्यवस्था गर्ने गरी कार्य योजना बनाएको उनको भनाइ छ ।

‘पालिकालाई बलियो बनाएर कार्यक्रमहरु कार्यान्वयन गर्नु पर्छ । त्यो आजको आवश्यकता पनि हो,’ मन्त्री मोक्तानले भनिन् ।

मन्त्री मोक्तानका अनुसार समाजमा विद्यमान विकास, रुपान्तरणका मोडलहरु पनि फेरर अघि बढ्नुपर्ने अवस्था छ । परम्परागत मोडललाई आत्मसात् गर्दा विकासका प्रयासहरु प्रभावकारी नहुने देखिएकाले उक्त मोडललाई परिष्कृत गरी अघि बढ्न जरुरी रहेको उनले बताइन् ।

3

युवा नेतृत्व तथा विकासमा सहयोग गर्न, युवाको सिप विकास तथा व्यक्तित्व विकासका लागि गत मंगलबारबाट हेटौंडामा सुरु भएको उक्त नमुना युवा संसद कार्यक्रममा १३ जिल्लाका ३८ जना युवा सहभागी थिए ।

प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजनामा भएको कार्यक्रममा संसद्को नियमावलीमा आधारित भएर उनीहरुले संसदीय भूमिकाको अभ्यास गरेका थिए । नमुना युवा संसदमा सरकार निर्माण, बजेट, विधेयक प्रस्तुति तथा ऐन निर्माणका लागि विधेयक पारित प्रक्रिया लगायतका विषयमा अभ्यास गराइएको थियो ।

कार्यक्रममा नमुना युवा सरकार अन्तर्गत ८ जना मन्त्री बनाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप