आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
परम्परा

खडेरी लागेपछि नेपालमा हुन्छ पानी पार्न अनेक प्रयोग

भ्यागुतोको पूजादेखि अर्काको घरमा दिसा फ्याल्नेसम्म
शुक्रबार, २६ जेठ २०८०, १५ : २९
शुक्रबार, २६ जेठ २०८०

काठमाडौँ । ‘उपरोक्त सम्बन्धमा हामी दुई जोडी भ्यागुतो वैवाहिक बन्धनमा जबरजस्ती बाँधिएको दिनदेखि अविरल वर्षा भइरहेको छ, जसले गर्दा देशमा बाढी पहिरोको उच्च जोखिम भएकाले गर्दा आज मिति २०७६ असार ३० गतेबाट सम्बन्ध विच्छेद गरी अविरल वर्षा रोक्नका लागि मोरङ जिल्ला बुढीगंगा गाउँपालिका वडा नम्बर २ बस्ने प्रकाश बानियाँको रोहबरमा हामी दुई भाले र पोथी भ्यागुतो सम्बन्ध विच्छेद गर्न राजी छौँ ।’

२०७६ असारमा दुई वटा भ्यागुतोको बिहे गराइएकै कारण धेरै पानी पर्‍यो भन्दै सम्बन्ध विच्छेदका लागि औँठा छापसहितको पत्र त्यतिबेला निकै चर्चामा आएको थियो ।

मोरङको संसारी माई मन्दिरमा किसानले भाले र पोथी भ्यागुतोको विवाह गराएका थिए । मन्दिरमा विधिवत् रुपमा विवाह सम्पन्न भएको थियो । भ्यागुताको विवाह भएको केही दिनपछि भारी वर्षा भयो भने जनधनको ठुलै क्षति भयो । त्यसपछि ती भ्यागुतो जोडीबिच सम्बन्ध विच्छेद गराइएको थियो ।

अहिले धान खेतीको समय हुन थालेको छ । तर पानी परेको छैन । खेतमा धानको ब्याड सुक्न लागेको छ । सिँचाइ सुविधा नभएका क्षेत्रका किसान आकाशे पानीको पर्खाइमा छन् । पानी नपरेका कारण किसानलाई खेतीको चिन्ता मात्र होइन, सर्वसाधारण गर्मीले हैरान भएका छन् ।

bhagute..................

तराई मधेसतिर ‘लु’ लाग्न थालेको छ । मनसुन ढिलोगरी भित्रिने र अझ केही दिन गर्मी बढ्न सक्ने मौसमविद्हरू बताउँछन् ।

तर नेपालमा पानी नपरेपछि विभिन्न धार्मिक, सांस्कृतिक तथा वैदिक उपाय अपनाउने गरेको उदाहरण पनि प्रशस्त छन् । लामो समय पानी नपरेर खडेरी हुन लागेपछि भ्यागुतोको बिहे, इन्द्रको पूजा, जट जटिन नृत्य, माई पूजा, लोकदोहोरी जस्ता माध्यमबाट वर्षाको कामनासहित प्रचलनमा आएको देख्न पाइन्छ ।

लामो समय पानी नपरेका कारण यही जेठ २३ गते सिन्धुलीका किसानले भ्यागुतोको बिहे गराएको तस्बिर भाइरल भएको थियो । दुधौली नगरपालिका–४ मा स्थानीयले भ्यागुताको बिहे गराएका थिए । २५–३० जनाको समूहमा गएर पुरोहितले वैदिक मन्त्र पाठ, रुद्री पूजासहित धूमधामका साथ भ्यागुताको विवाह गराए पनि अझै पानी परेको छैन ।

दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी भन्छन्, ‘बिहे गरेको चार दिन भइसक्यो तर बिहे गरेको ठाउँमा पानी परेको छैन, सिन्धुलीभन्दा तल थोरै पानी परेको छ । अब यसलाई के भन्ने ? यो जनविश्वास हो, परम्परादेखि चल्दै आएको हो, यसमाथि विश्वास गर्न वा नगर्न पनि सकिन्छ ।’

यसरी पूजा गर्दा पानी पर्छ भन्नेमा आफूलाई विश्वास नलागेको उनको भनाइ छ । तर भ्यागुताको विवाह गराउँदा पानी पर्छ भन्ने जनविश्वास अझै कायम रहेको बताए ।

भ्यागुतोको बिहे भएको चार दिन भइसक्दा पनि पानी परेको छैन तर बिहे गराउनेहरु अझै भन्छन्– ‘पानी पर्छ, यो जनविश्वास हो ।’

इन्द्र भागवानको पूजा

इन्द्र भगवानलाई वर्षाको देवता पनि भनिन्छ । गाउँ देहातमा मात्र होइन, शहर बजारतिर पनि पानी नपरेपछि इन्द्र भगवानको पूजा गर्ने र यसका लागि चन्दा माग्ने चलनसमेत छ ।

पर्सा भिखमपुरका किसान सञ्जय यादव भन्छन्, ‘पानी नपरेका कारण किसानहरू छटपटिएका छन्, ब्याडमै धानको बिउ सुक्न थालेको छ । हामी आकासे पानीको आसमा बसेका छौँ ।’ गत वर्ष आफूहरूले इन्द्र भगवानको पूजा गरेको बताउँदै उनले त्यही दिन पानी नपरे पनि एक हप्तापछि वर्षा भएको र बल्ल खेती गर्न पाएको बताए ।

इन्द्र भगवानको पूजा गर्न महिलाहरूले त्यतिबेला पाँच वटा गाउँबाट चन्दा (भिख) मागेर ल्याएको र सोही रकमबाट पूजा गरेको यादवले बताए । ‘इन्द्र भगवानको पूजा गरेकै कारण पानी परेको भन्न अलि गाह्रो छ तर गाउँघरतिर अझै त्यसप्रति विश्वास कायम छ,’ उनले भने ।

पानी नपरेपछि गाउँघरमा महिलाहरू जाग्राम बसेर इन्द्र भगवानलाई पुकार्दै (बोलाउँदै) गीत गाउने गर्दछन् । महिलाहरूले गीत गाएर इन्द्र भगवानलाई खुसी पारेपछि पानी पर्ने किम्बदन्ती अझै सुन्न पाइन्छ ।

वर्षाको कामनासहित जनप्रतिनिधिलाई बाँध्ने चलन

कतै स्थानीय जनप्रतिनिधिलाई बाँधेर गाउँ डुलाएपछि पानी पर्छ भन्ने मान्यता रहँदै आएको छ । गत वर्ष पश्चिम नवलपरासीका सरावाल गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षहरूलाई बाँधेर गाउँ डुलाउँदै इन्द्र भगवानको पूजा गरिएको थियो ।

सरावाल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले गत वर्ष आफूसहित दुई जना वडा अध्यक्ष र दुई जना वडा सदस्यलाई गाउँका महिलाहरूले बाँधेर गाउँ डुलाएको बताए । त्यसको दुई÷तीन दिनमा पानी परेको पनि उनले जनाए ।

‘यो वैज्ञानिक युगमा यस्ता कुरामा विश्वास गर्ने कि नगर्ने भन्ने कुरा आफ्नो ठाउँमा छ तर परम्परादेखि चल्दै आएको कुरा अहिले पनि चलनमा आइरहेको छ,’ उनले भने ।

गत वर्ष रोपाईँको समयमा पानी नपरेका कारण बाध्य भएर त्यस्तो विधि गरेको बताउँदै उनले अहिले पानी नपरे पनि त्यत्रो हाहाकार नभएकाले जनप्रतिनिधिलाई बाँधेर घुमाउनुपर्ने अवस्था आइनसकेको बताए । ‘आवश्यकता परेमा महिलाहरूले यसपाली पनि त्यसरी पूजा गर्न सक्छन् तर अहिले बेला भएको छैन,’ उनले भने ।

bandhes ko

पानीका लागि माई पूजा

पानी नपरेपछि भ्यागुतोको बिहे, इन्द्रको पूजा जस्तै पश्चिमतिर माई पूजा गर्ने चलन पनि छ । गाउँका महिलाहरूले गाउँ बाहिर गएर पानीका गीत गाउँदै गर्ने पूजा हो यो । खडेरी पर्न थालेपछि प्रत्येक वर्ष गाउँघरमा यस्ता पूजाहरू हुने गरेको नवलपरासीका वीरबहादुर चौधरीले बताए ।

उनले भने, ‘पूजा गर्ने बित्तिकै पानी पर्छ भन्ने होइन, यो एउटा जनविश्वास हो । कहिले पर्छ, कहिले पर्दैन । तर ग्रामीण भेगमा यसप्रतिको विश्वास टुटेको छैन ।’

पानीका लागि दोहोरी

खडेरी लागेपछि वर्षाको अपेक्षासहित गरिने अर्को उपाय दोहोरी पनि हो । गाउँघरका महिला तथा पुरुषले दोहोरी गाएर इन्द्र भगवानलाई मनाउने प्रचलन पनि कतैकतै पाइन्छ । यो चलन सुदूरपश्चिमतिर थारु समुदायमा देखिन्छ ।

महिलाले पुरुषको र पुरुषले महिलाको लुगा लगाएर गाउँमा मान्छेहरू भेला गरेर दोहोरी गाउने चलन छ । एउटा समूहले अर्काको घरमा गएर हलो लुकाएर आउँथ्यो र त्यो हलो लिनका लागि अर्को समूह गीत गाउँदै जाने र हलो खोसाखोस गर्ने चलन थियो ।

तर पछिल्लो समय मान्छे नै उठाएर ल्याउने र दोहोरी गाउँदै अर्को समूहले त्यो मान्छे छोडाउने गर्दा इन्द्र भगवान् खुसी भएर पानी दिने किम्बदन्ती छ ।

अर्काको घर आँगनमा दिसा फ्याल्ने

पूर्वी तराईतिर यो चलन बढी देखिएको छ । माटोको भाँडोमा दिसा गराई त्यसमा भ्यागुतो राखेर महिलाहरूले लुकीछिपी अर्काको घर आँगनमा फ्याल्ने गर्दछन् । यसो गर्दा घरधनीले गाली गर्छन् । गाली दिने क्रम घटेपछि ती महिलाहरू पुनः गीत गाउँदै त्यो घरमा पुग्ने र विभिन्न क्रियाकलाप गरी घरधनीलाई जिस्काउँछन् । जसले पुनः जोडतोडले घरधनीले ती महिलालाई गाली गर्छन् ।

दिसा गरिएको भाँडो आँगनमा फ्यालेपछि घरधनीले जोडले गाली गर्नैपर्ने हुन्छ । यदि गाली गरेन भने पानी पर्दैन भन्ने मान्यता छ ।

bhyaguto

सिरहा, औरही–५ का रामकुमार यादव भन्छन्, ‘यो चलन अहिले हराइसकेको छ, अब त्यो अवस्था पनि रहेन । पहिलाको जस्तो अहिले कसैको आँगनमा दिसापिसाब फ्यालियो भने कुटाकुट हुन्छ । कसैले सहन सक्दैन । त्यसैले पनि होला, यो चलन हराउँदै गइरहेको छ ।’

महादेव, पार्वती बनाएर गाउँमा डुलाउने र ‘हर हर महादेव’को नारा लगाउनाले पानी पर्छ भन्ने मान्यता थियो । तर त्यो प्रचलन पनि अहिले लोप भइसकेको छ ।

यादवले भने, ‘भ्यागुतो, दिसा पिसाब, गोबर फ्यालेपछि कहिले पानी पर्थ्यो, कहिले पर्दैनथ्यो तर गाउँघरमा त्यस्तो पनि चलन थियो ।’

अन्धविश्वास र परम्पराका कारण पानीको अपेक्षासहित यस्ता क्रियाकलाप हुने गरेको उनको भनाइ छ । ‘भ्यागुताको बिहे होस् या कसैको घरमा दिसापिसाब फ्यालेपछि केही दिनमा पानी परेको खण्डमा मानिसमा त्यस्ता परम्परामाथि विश्वास बढ्ने र त्यसले निरन्तरता पाउने गरेको हो,’ उनले भने ।

अचेल मानिसलाई यस्ता कामका लागि फुर्सद नहुने उनले सुनाए ।

पानीका लागि जट–जटिन नाच

समयमा पानी नपरेपछि गाउँघरमा जट–जटिन नृत्य गरेर इन्द्र भगवानलाई खुसी गर्ने चलन पनि छ । जट–जटिन लोक नृत्य हेरेर इन्द्र भगवान् खुसी भएपछि पानी पार्ने जनविश्वास रहेको विराटनगरका जयराम यादवले बताए ।

जसपाका केन्द्रीय सदस्य समेत रहेका यादवले भने, ‘पानी नपरेपछि गाउँका महिलाहरूले राति जट जटिनको गीत तथा नृत्य गरेर भगवान् इन्द्रलाई खुसी पार्ने चलन छ, त्यो नृत्य र गीतबाट भगवान् खुसी भएपछि पानी पार्ने आम बुझाई छ ।’

असार, साउन र भदौ महिनामा खेती गर्ने कृषक जब पानीको अभावमा हुन्छन्, आकाशमा हाम्रा पुर्खाहरूको गुहारमा बल प्रदान गर्न एउटा लोकविधि अपनाइ इन्द्रलाई प्रेम वा दबाबले प्रभावित पार्ने अनुष्ठानका रुपमा जट–जटिन गीत नृत्य गरिने संस्कृति विज्ञ रामभरोस कापडी (जनकपुर) बताउँछन् ।

उनले भने, ‘जट–जटिन गीति नाट्यको प्रारम्भ गर्नुभन्दा अगाडि भ्यागुतो कुटेर एउटा घैँटोमा गोबर, मलमूत्र सँगै हालेर कुनै झगडालु महिलाको आँगनमा फ्याँक्ने विधि सम्पन्न गरिन्छ । त्यसपछि ती महिलाले जति ठुलो आवाजमा गाली गर्छिन्, इन्द्रदेव त्यति नै प्रसन्न भएर वर्षाको आदेश दिन्छन् भन्ने विश्वास छ ।’

झापातिर राजवंशीहरू पनि पानीका लागि गीत तथा नृत्य गर्ने चलन छ । ‘झोल मका झोल पानी बर्सोल’ भन्दै उनीहरू गाउँघरमा डुल्छन् र घर आँगनमा गएर पानी पोख्दै हिलो बनाएर त्यसमा लतपत भएर मनोरञ्जन गरेपछि पानी पर्छ भन्ने मान्यता रहेको जसपाका नेता जयराम यादवले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप