हाम्रा फिल्म प्रचार आक्रामक भए पनि परम्परागत छ : दयाहाङ राई
अहिलेका सबैभन्दा व्यस्त कलाकार हुन् अभिनेता दयाहाङ राई । उनी एकपछि अर्को गर्दै फिल्ममा निरन्तर अभिनय गरिरहेका छन् । त्यसैले उनलाई धेरै फिल्म निर्माण गर्ने चक्करमा गुणस्तरमा ध्यान दिन छोडेको आरोपसमेत लाग्दै आएको छ । तर उनी उक्त आरोप मान्न तयार छैनन् । छायाङ्कनका लागि उनको डेट कुर्ने फिल्मको सङ्ख्या थुप्रै छ ।
यो वर्ष अर्थात् गत वैशाखदेखि अहिलेसम्म उनका दुई फिल्म रिलिज भइसके । शुक्रबारदेखि नयाँ फिल्म ‘नीरफूल’ रिलिजमा आएको छ । ‘नीरफूल’ उनले आफूलाई अहिलेसम्मकै प्रिय फिल्म बताएका छन् । यही फिल्मका अभिनेता दयाहाङ राईसँग ‘नीरफूल’ र अभिनयको विषयमा रातोपाटीले गरेको कुराकानी-
–दयाहाङलाई अभिनयको व्यस्तताले सास फेर्ने फुर्सद छैन भनिन्छ नि ?
फिल्म ‘दिमाग खराब’ को सुटिङ चलिहरको छ भने मेरै फिल्म ‘नीरफूल’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । सुटिङबाट मिलेको फुर्सदको समय प्रचार प्रसारको दौडधुपमा छु । मेरो काम नै अभिनय हो । त्यसैले फिल्ममा व्यस्त त हुनै पर्यो नि । केही अगाडि मैले ६, ७ महिना काम गरिनँ । त्यसैले अहिले काम गरिरहेको छु ।
–धेरै फिल्म खेलिसक्नुभएको छ । के छोड्न मन लागेन, कथा कि पैसा ?
दुई वटै कुरो भनौँ । पहिलो कुरो त फिल्म अभिनय गर्न कथाले आकर्षित गर्नुपर्छ । त्यसपछि पैसाको कुरो पनि आउँछ । मैले पनि बाँच्नुपर्यो, जीवन चलाउनुपर्यो । हामी कलाकारको पेन्सन पनि छैन । भोलिका लागि पनि जोहो गर्नुपर्यो । कथा, निर्देशकलगायत सबै पक्ष हेरेर चित्त बुझेपछि मात्र काम गर्छु ।
–अभिनयको व्यस्तताले फिल्मको प्रचारमा समय दिन नभ्याएको देखिन्छ, त्यो रिलिज फिल्मप्रति अन्याय होइन ?
यो कुरो सत्य हो । हाम्रो काम मैदानमा हुन्छ । सुटिङलाई नै हामीले महत्त्व दिनुपर्छ । प्रमोसन पनि महत्त्वपूर्ण कुरा हो । त्यसैले मिलेसम्म समय दिएको छु । हामी निर्माणका क्रममा भूगोल, वातावरण, परिवेशलगायतलाई चुनौती दिँदै काम गरिरहेका हुन्छौँ । सुटिङमा म मात्र होइन ६०–७० जनाको टिम हुन्छ । सबैको तारतम्य मिलाउनुपर्यो । त्यसको कारणले समय दिने इच्छा हुँदाहुँदै दिन सकिन्न ।
–अहिले एकै समय सुटिङ र प्रमोसनको भाग दौड छ, अनुभव कस्तो रह्यो ?
‘नीरफूल’ यो वर्षयता रिजिल हुन लागेको मेरो तेस्रो फिल्म हो । सबै फिल्मको रिलिज र प्रचारको समय मेरो सुटिङ चलिरहेको छ । सुटिङ नजिक भयो भने प्रचारमा हिँड्न सहज हुँदो रहेछ । अहिले सुटिङ काभ्रेमा चलेकाले म समय मिलाएर हिँडिरहेको छु । प्लेन वा ५, ६ घण्टाको मोटरबाटो हिँड्नुपर्ने भए गाह्रो हुन्थ्यो होला । सुटिङ र प्रचार एकसाथ गर्न कठिन नै हुन्छ ।
–अभिनेताको अभिनयबाहेक दायित्व के हुन्छ ?
अभिनय मेरो व्यवसाय, पेसा हो । त्यो सँगसँगै मेरो आफ्नो परिवार छ । व्यक्तिगत काम, पारिवारिक, सामाजिक जिम्मेवारी हुन्छ । सबै दायित्व पूरा गर्नुपर्छ । पेसा भएकाले बढी महत्त्व भने फिल्मलाई दिनुपर्छ ।
–तपाईंका धेरै फिल्म फ्लप छन्, सङ्ख्या धेरै भएर हो कि ?
मलाई त्यस्तो लाग्दैन, त्यो होइन पनि । फिल्म टिमवर्क हो ।
‘नीरफूल’ को खासै प्रचार छैन, किन ?
फिल्मको प्रचारप्रसारमा निर्माण युनिटका आ-आफ्नै तरिका हुन्छन् । जसरी पनि फिल्मलाई मासमा पुर्याउने हो । टार्गेट अनुसार निर्माण युनिटले गरिरहेको छ । हाम्रा फिल्म प्रचार जति नै आक्रामक भए पनि परम्परागत छ ।
कलाकारले मिडियासँग सामान्य कुराकानी गर्छन् । मिडियाले फिल्म हेरेको हुँदैन, प्रचार गरिएका सामान्य सामग्रीका आधारमा प्रश्न सोध्नुपर्छ ।
प्रचारका लागि अब विकल्प र नयाँ सोच राख्नुपर्छ । मलाई लाग्छ प्रचारका लागि मिडियामा कलाकार पठाउनु र पुग्नु अगाडि मिडियालाई कन्टेन्टको जानकारी दिनुपर्छ । त्यसले मिडियालाई प्रश्न गर्न सजिलो हुन्छ र हामीले मिडियासँग धेरैभन्दा धेरै कुरा राख्न सक्छौँ । अहिले डिजिटल मिडिया पनि विस्तार भएको छ । दर्शकलाई हलसम्म ल्याउन आकर्षक प्रचार गर्नै पर्छ ।
–‘नीरफूल’ के हो त ?
‘नीरफूल’ गणेश हिमाल वरपर फुल्ने एउटा नीलो फूल हो । भनिन्छ, ‘त्यो भगवानलाई पनि चढ्दैन रे’ । एक परिवारको माया, प्रेम र बिछोडको कथालाई प्रतीकात्मक रूपमा फूलको नाम दिइएको हो । विभिन्न समाजको आआफ्ना कथा होलान् । नीलो फूल भगवानलाई नचढ्नुको पनि आफ्नो कथा होला ।
–यो फिल्ममा तपाईँलाई कस्तो भूमिकामा देख्न सकिन्छ ?
मेरो भूमिका एक परिवारभित्रको पिताको छ । परिवारमा एक छोरी र श्रीमती, जसको परम्परागत भेडी गोठ व्यवसाय छ । त्यो भन्दा अर्को तरिकाले जीवन जिउने सपना पलाउँछ । सपना पछ्याउँदै जाँदा उसको जीवन र परिवारमा उतारचढाव आउँछ । मेरो चरित्र एक जिम्मेवार अभिभावकको छ ।
–फिल्म विशेष छ भन्नुभएको रहेछ, के छ त्यस्तो ?
कलाकारलाई अभिनयका क्रममा त्यस्ता केही स्क्रिप्ट, स्टोरी मात्र हात पर्छ, जुन प्रिय लाग्छ । त्यो बर्सौँ वर्षपछि पनि हेरियोस् भन्ने लोभ हुन्छ । त्यस्तो कथामा हो ‘नीरफूल’ । यो फिल्म वर्षाैंपछि हेर्दा पनि ताजकी भेटिन्छ । अहिलेसम्म मेरा जति पनि फिल्म बनेका छन्, कथाको हिसाबले टप सेभेनभित्र पर्छन् ।
–फिल्मले भूकम्प सम्झाउँछ भनिन्छ, त्यो कसरी ?
कुनै पनि स्थानमा प्राकृतिक प्रकोप होस् वा अन्य केही घटना भएपछि मानिसमा सामाजिक, राजनीतिक, मानसिक, आर्थिकलगायत थुप्रै किसिमको असर पर्छ । भूकम्प पछाडि हामीमा कस्तो किसिमको विचलन, स्वर्थपन, जीवन चलाउन कठिन भयो फिल्मले देखाउँछ ।
–तपाईंमाथि आफ्नो समुदायबाहेकका फिल्मलाई महत्त्व नदिएको आरोप लाग्छ त ?
यो झुट हो । म राई भएकाले मेरो अनुहार लिम्बु, मगर समुदायसँग मिल्छ । त्यही अनुसार कथा लेखिन्छ । राई समुदायसँग म अलि नजिक छु । त्यो मेरो जन्म, विश्वास, मूल्यमान्यता, म जहाँ हुर्कें, बढेँ त्यो सजिलो छ । लिम्बु समुदायमा मैले जारी अभिनय गरेँ । त्यहाँ सिक्ने मौका मिल्यो । मैले कहिले थकाली, कहिले गुरुङ, कहिले तामाङ, कहिले राई समुदायको काम गर्ने मौका पाएँ । त्योबाट मैले सिक्ने मौका पाइरहेको छु ।
–दयाहाङको पात्र र चरित्र फेरिन्छ, अभिनय पुरानै छन् नि ?
फ्याक्ट कुरो के हो भने हाम्रो आवरण मात्र हेरिन्छ । ऊभित्र मनमा के चलिरहेको छ, कस्तो इमोसनमा छ, त्यो हेरिन्न । त्यो जर्ज गर्नुपर्छ । कतिपय ठाउँमा मैले नसकेर पनि अभिनय दोहोरिएका होलान् ।
–फिल्म नचल्नुको दोष कसले लिन्छ ?
त्यो दोष पूरै टिमको हो । कतिपय सफलतालाई व्यवसायसँग जोड्छन् । म सफल फिल्म महत्त्वपूर्ण हुन्छ भन्ने म मान्दिनँ । मेरो विचारमा वर्षौंपछि हेर्दा पनि आनन्द दिन्छ भने त्यो सफल फिल्म हो ।
–अभिनय गर्न मन भएको तर गर्न नपाएको चरित्र छ कि ?
अहिलेसम्म त्यस्तो छैन । अहिले अफर आएका चरित्र बुझ्ने काम गरिरहेको छु । चरित्र भन्नाले त्यो समाज पनि आउँछ । त्यो बुझ्ने प्रयास गर्दैछु ।
–निर्देशनमा आउन मन लागेको छैन ?
निर्देशन गर्छु, मेरो फिल्ममा आउनुको पहिलो सोच नै निर्देशन थियो । अहिले अभिनय सिक्दैछु, निर्देशन पनि अब सिक्नुपर्ला ।
–दर्शकलाई केही भन्नु छ कि ?
फूलमान बलद्वारा निर्देशित फिल्म ‘नीरफूल’ मलाई आनन्द लागेको कथा हो । तपाईँ हेर्नुस्, निराश पर्ने छैन ।