नेतृत्व हस्तान्तरणमा अनुदार देखिन्छन् कम्युनिस्ट
काठमाडौँ । नेकपा एमालेले पार्टीको कार्यकारी भूमिकाका लागि ७० वर्षे उमेर हद हटाउने निर्णयले दशकौँदेखि नेतृत्वमा रहेका अन्य कम्युनिस्ट नेताहरूलाई पनि ढाडस दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीबाट आएका मुकुन्द न्यौपानेलाई भित्र्याउन ७० वर्षे उमेर हद हटाउने निर्णय गरेको प्रस्टीकरण दिए ।
तर, खास ओली आफै ७० वर्ष पूरा भइसकेकाले उक्त प्रावधानका कारण तेस्रो कार्यकाल पार्टी नेतृत्वमा आउन अड्चन थियो । तर अझै पार्टीको नेतृत्वमा रहने आकाङ्क्षाका कारण ओलीले एउटा बहाना बनाएर सो प्रावधान हटाएको टिप्पणी पनि भइरहेको छ ।
पार्टी अध्यक्षका रूपमा ओलीको यो दोस्रो कार्यकाल हो । उमेरले ७० वर्ष पूरा भइसकेकाले यथास्थितिमा उनी अर्को कार्यकाल अध्यक्ष पदमा कायम रहन मिल्दैन । त्यसैले उमेर हद सम्बन्धी प्रावधान हटाएर उनी आफ्नो लागिसमेत मैदान खाली गराउन चाहन्छन् ।
एमालेको उक्त निर्णयले दशकौँदेखि पार्टीको नेतृत्वमा रहँदै आएका अन्य कम्युनिस्ट नेतालाई समेत टेवा पुग्ने देखिन्छ । एउटै व्यक्ति लामो समय नेतृत्वमा बस्दा पुस्तान्तरण र नेतृत्वको विकास प्रक्रिया समेत रोकिने गर्दछ ।
एमालेको ७० वर्षे उमेर हद हटाउने निर्णयले कम्युनिस्ट मात्रै होइन, गैर कम्युनिस्ट पार्टीका नेतामा समेत नेतृत्व हस्तान्तरण नगर्न मनोबल बढाउने निश्चित छ ।
एमालेको निर्णयले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, नेकपा मालेका महासचिव सिपी मैनालीलाई पनि नेतृत्व परिवर्तनप्रति उदार नहुन उक्साउने निश्चित छ । यी नेताहरू दशकौँदेखि पार्टीको नेतृत्वमा कायम छन् ।
माओवादीबाट अलग भएका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्य ‘किरण’, वैद्य समूहबाट अलग भई आफ्नै नेतृत्वमा नेकपा गठन गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतमा पनि नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने मानसिकता देखिएको छैन । आफूलाई कम्युनिस्ट भन्न नरुचाउने नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई समेत लामो समयदेखि नेतृत्वमै छन् ।
प्रचण्ड ३५ वर्षदेखि पार्टी नेतृत्वमा
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड विगत ३५ वर्षदेखि पार्टी नेतृत्वमा छन् । पार्टीको नाम फरक फरक भए पनि नेतृत्वमा भने उनी निरन्तर रहँदै आएका छन् ।
प्रचण्ड नेतृत्वमा आउनु एउटा संयोगजस्तै हुन पुगेको नेता कार्यकर्ता बताउँछन् । तत्कालीन मशालका कार्यकर्ताले सशस्त्र विद्रोहको बिगुल फुक्दै २०४५ साल चैत १९ गते काठमाडौँको त्रिपुरेश्वर चोकमा राजा त्रिभुवनको सालिकमा कालो मासो दलेका थिए । उनीहरुले केही प्रहरी पोस्ट तोडफोडसमेत गरे ।
त्यस ‘सेक्टर काण्ड’मा मुछिएका नेता कार्यकर्तामाथि प्रहरीले चर्को दमन ग¥यो । कतिपय नेताले पार्टीकै कारण कमजोरी भएको निष्कर्ष निकाल्दै मोहन वैद्य सहित अधिकांश नेताहरूको एक तह पद घटुवा गरियो ।
त्यो बेला प्रचण्ड उपत्यका बाहिर भएकाले घटनाबाट उन्मुक्ति पाए । त्यसपछि उनी पार्टी नेतृत्वमा पुग्न सफल भए । २०४५ सालदेखि पार्टी नेतृत्वमा उक्लिएका प्रचण्ड कहिल्यै तल झर्नु परेन ।
२०४७ सालमा एकता केन्द्र हुँदै उनले १० वर्षे जनयुद्धमा माओवादीको अध्यक्ष भई जिम्मेवारी सम्हालेका थिए । शान्ति प्रक्रियामा आएपछि पार्टी एकता गरी उनी एकीकृत माओवादीको अध्यक्ष हुन सफल भए ।
२०६९ सालमा हेटौँडामा सातौँ महाधिवेशन गरेर प्रचण्ड पुनः अध्यक्षमा निर्वाचित भए । २०७३ सालमा उनी दश माओवादी घटकबीच एकतापछि बनेको माओवादी केन्द्रको अध्यक्ष हुन सफल भए ।
एमाले र माओवादी एकतापछि नेकपाका दुई अध्यक्षमध्ये प्रचण्ड एक अध्यक्ष थिए । नेकपा खारेजपछि भएको माओवादीको आठौँ महाधिवेशनबाट प्रचण्ड फेरि सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भए । आठौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि प्रचण्डले अध्यक्षमा अब नदोहोरिने घोषणा गरे ।
माओवादीको अब हुने नवौँ महाधिवेशनमा उमेरले ६९ वर्ष पुगेका प्रचण्ड दोहोरिन्छन् कि दोहोरिँदैनन्, त्यो भने हेर्न बाँकी नै छ ।
संसदीय मोर्चाबाट बिदा भएका बिजुक्छे पार्टी नेतृत्वमा पाँच दशकदेखि निरन्तर
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे पछिल्लो समय संसदीय राजनीतिबाट बिदा लिएका छन् । यद्यपि पाँच दशकदेखि उनी निरन्तर पार्टीको नेतृत्वमा छन् ।
उनले आफ्नो २६ वर्षे संसदीय राजनीतिबाट बिदा हुँदै २०७४ सालको चुनावमा आफ्नो निर्वाचन क्षेत्रबाट प्रेम सुवाललाई अघि सारे । त्यस यता भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट सुवाल प्रतिनिधिसभा सदस्यमा निरन्तर छन् ।
बिजुक्छे उमेरले ८४ वर्षका भए । २०१४ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनले आफ्नै नेतृत्वमा २०३१ सालमा पार्टी गठन गरे ।
विगत ४९ वर्षदेखि पार्टीको नेतृत्व गर्दै आएका बिजुक्छेको कुनै समय काठमाडौँ उपत्यकामात्र होइन, दैलेख, जुम्ला, कालिकोट, सुर्खेत, बाँके, सर्लाही, बारा, चितवन लगायतका जिल्लामा राम्रो पकड थियो ।
तर पछिल्लो समय उनको पार्टी भक्तपुर, त्यसमा पनि निर्वाचन क्षेत्र नम्बर १ मा मात्र पकड जमाउन सफल छ । अन्यत्र नेमकिपाको प्रभाव खासै देखिँदैन ।
पार्टीमा युवा नेतृत्वलाई अघि सार्न नसक्दा पनि पार्टी यसरी खुम्चिएको कतिपयको भनाइ छ । पार्टीमा नेतृत्व परिवर्तन नहुँदा युवा पुस्तालाई आकर्षित गर्न नसकिने जानकारहरू बताउँछन् ।
पार्टीमा युवालाई नेतृत्वमा ल्याउन नसक्दा ८४ वर्षका बिजुक्छेको आलोचना हुने गरेको छ । पार्टी नेतृत्व छाड्न नचाहने मानसिकता उनमा पनि गहिरो देखिन्छ ।
मोहनविक्रम ४९ वर्ष र जनमोर्चाका केसी २८ वर्षदेखि नेतृत्वमा
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह २०३१ सालदेखि निरन्तर नेतृत्वमा छन् । २०२८ सालमा केन्द्रीय न्यूक्लियसका संस्थापक महामन्त्री मनमोहन अधिकारी हुँदा सिंह पार्टीको मुख्य भूमिकामै थिए । अधिकारीसँग मतभेद भएपछि सिंहले २०३१ साल भदौमा नेकपा चौथो महाधिवेशन गठन गरेर नेतृत्वमा पुगेका हुन् ।
पार्टी अनेक टुटफुट र विभाजन हुँदै अघि बढिरह्यो । तर, सिंह अर्धभूमिगत भएर निरन्तर ४९ वर्षदेखि नेतृत्वमा छन् ।
वि.सं १९९२ वैशाख ३ गते प्युठान जिल्लाको ओखरकोटको कुलिन परिवारमा जन्मिएका सिंह उमेरले ८८ वर्ष पुगिसकेका छन् । अर्थशास्त्रमा एमए गरेका सिंह सुरुमा कांग्रेसी राजनीतितिर ढल्किएका थिए । २००७ सालदेखि कांग्रेस राजनीतिमा सहभागी भएका सिंह २०१० सालदेखि कम्युनिस्ट पार्टीको सदस्यता लिई नेपाल कम्युनिस्ट पार्टीको राजनीतिमा होमिए ।
कम्युनिस्ट विचारधाराबाट प्रभावित हुँदै विद्यार्थी राजनीतिबाट २०१४ सालको दोस्रो महाधिवेशनमा उनी पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । २०१५ सालको संसदीय निर्वाचनमा प्युठानबाट उम्मेदवार भएका सिंहले २०१८ सालमा राजद्रोहको मुद्दा खेपे । २०२७ साल चैतमा उनी जेलबाट रिहा भए ।
पार्टीकै अर्को खुला मोर्चा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी २०५२ सालदेखि नेतृत्वमा छन् । केसी २८ वर्षदेखि अध्यक्ष रहेका केसीको विकल्पमा अरू कोही अघि सर्न सकेका छैनन् ।
संसदीय राजनीतिमा २०५६ सालमा बाग्लुङबाट निर्वाचित उनी पहिलो संविधानसभा चुनावमा प्रत्यक्ष निर्वाचित भए । उनी दोस्रो संविधानसभा चुनावमा समानुपातिक सांसद भएका थिए ।
२०७४ सालको चुनावमा उमेरको कारण देखाउँदै विश्राम लिएका उनी २०७९ सालको चुनावमा पुनः बाग्लुङ–२ बाट निर्वाचित भएका छन् ।
पार्टीमा महामन्त्री सिंह र अध्यक्ष केसीले निरन्तर पकड बनाउँदा अन्य नेताहरू नेतृत्वमा स्थापित हुन सकेका छैनन् । ‘विगतमा नेताहरूको त्याग र बलिदानको कथा सुनेर संगठित भयौँ । लामो समय राजनीतिमै जीवन व्यतीत गरियो,’ जनमोर्चाका एक नेताले भने, ‘नेताहरूमा व्यक्तिवाद, परिवारवाद र अवसरवाद धेरै रहेछ । अवसर आउँदा आफू बाहेक अरूलाई नदेख्ने प्रवृत्ति रहेछ ।’
सिंहको पार्टी केन्द्रीय न्यूक्लियस हुँदै चौथो महाधिवेशन, नेकपा मसाल, एकता केन्द्र, मसाल हुँदै पुनः नेकपा मसाल भयो । पार्टी सधैँ भूमिगत नै रहँदै आएको छ । पार्टीमा कति जना पोलिटब्यूरो छन्, कति जना केन्द्रीय सदस्य छन्, जिल्ला कमिटीमा को को छन् भन्ने सार्वजनिक छैन ।
खुला मोर्चामा रहेको राष्ट्रिय जनमोर्चाले नेकपा मसालबाटै आफ्ना नीति तथा विचार अख्तियार गर्दै आएको छ ।
विगत २५ वर्षदेखि सीपी मैनाली नेतृत्वमा
२०३५ सालमा मालेका महासचिव हुँदा सीपी मैनाली २८ वर्षका मात्रै थिए । युवा अवस्थामा महासचिव हुँदा उनको व्यक्तित्व ह्वात्तै बढ्यो ।
पार्टी महासचिव भएको ४ वर्ष पुग्दा नपुग्दै पार्टीभित्रको अन्तरद्वन्द्वका कारण मैनालीले २०३९ साल मालेको महासचिवबाट राजीनामा थिए । पार्टी महासचिवबाट राजीनामा दिएपछि पार्टी नेतृत्वमा उक्लिन उनलाई निकै सकस भयो ।
२०५४ सालमा एमाले विभाजन भई माले गठन भएपछि पार्टी स्थायी समिति सदस्य हुन उनी सफल भए । पार्टीका तत्कालीन महासचिव बामदेव गौतमसहितको ठुलो हिस्सा एमालेमा फर्किएपछि २०५८ सालमा मैनाली मालेको महासचिव बने ।
२०५८ सालदेखि पार्टी महासचिव भएका मैनाली त्यस यता निरन्तर नेतृत्वमा छन् । उमेरले ७० वर्ष नाघ्दा समेत मैनालीले पार्टी नेतृत्व छोड्ने सङ्केत गरेका छैनन् ।
तत्कालीन एमाले र मालेबाट गरी मैनाली चार पटक सांसद भए दुई पटक मन्त्री भए । तत्कालीन एमालेबाट २०४८ सालमा झापा क्षेत्र नम्बर ५ बाट र २०५१ सालमा झापा क्षेत्र नम्बर २ बाट उनी सांसद निर्वाचित भए ।
यस्तै पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचनबाट मैनाली सभासद् भए । उनी २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा स्थानीय विकास र २०७२ साल केपी ओली नेतृत्वको सरकारको उपप्रधानमन्त्री सहित महिला बालबालिका तथा समाजकल्याण मन्त्री भएका थिए ।
बाबुराम, वैद्य, विप्लवको समेत उस्तै हालत
नेसपा अध्यक्ष बाबुराम भट्टराई २०७२ सालदेखि पार्टी नेतृत्वमा छन् । यद्यपि जसपासँगको एकतापछि नेतृत्वमा उपेन्द्र यादव थिए भने दोस्रो वरीयतामा रहँदै संघीय परिषद् अध्यक्षमा भट्टराई थिए । २०७२ सालदेखि कुनै न कुनै रूपमा भट्टराई निरन्तर नेतृत्वमा छन् ।
संसदीय राजनीतिबाट २०७९ सालको चुनावमा पूर्ण विराम लगाए पनि उनले पार्टी नेतृत्व छोडेका छैनन् । उमेरले ६९ वर्ष पुगेका भट्टराई नेतृत्व गर्ने गरी युवा अगाडि आए आफू छोड्न तयार भएको बताउने गर्दछन् ।
यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टीका संयोजक मोहन वैद्य २०६९ सालदेखि निरन्तर नेतृत्वमा छन् । पार्टीमा त्यतिबेला विप्लव नेतृत्वमा आउँदा खोज्दा समेत उनलाई छोड्न तयार भएनन् । उमेरले ७७ वर्ष पुगेका वैद्यले बेलाबेला पार्टी नेतृत्व छोड्ने बताउने गरे पनि अहिलेसम्म त्यस्तो ठोस पहल गरेका छैनन् ।
विप्लवले २०७१ सालमा आफ्नो नेतृत्वमा पार्टी गठन गरेका थिए । विप्लव समेत पार्टी नेतृत्वमा आएको ९ वर्ष पुगिसकेको छ । उमेरले झण्डै ६० नजिक पुगेका उनी पनि पार्टी नेतृत्व हस्तान्तरणमा अनुदार बन्ने सङ्केत देखिएको छ । पार्टीभित्र अन्तरविरोध हुँदा उनी नेतृत्व हस्तान्तरणका लागि उदार भइदिएको भए पार्टी विभाजन हुँदैनथ्यो भन्नेहरू पनि प्रशस्त छन् ।