तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
तनहुँ । तनहुँ जिल्ला गण्डकी प्रदेशको तेस्रो पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेसँगै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । यसअघि गण्डकी प्रदेशको लमजुङ र पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेका छन् । जिल्लाका सबै स्थानीय तहमा रहेका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका बमोजिम १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाइसकेको सुनिश्चिततासहित पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।
स्वास्थ्य कार्यालय तनहुँले बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा राष्ट्रिय वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङले जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेका हुन् । कार्यक्रममा उनले पूर्ण खोप सुनिश्चिततालाई घोषणामा सिमित नराखी आगामी दिनमा दिगोपना दिनुपर्नेमा जोड दिए । गुरुङले घोषणा मात्रै ठूलो कुरा नभएको भन्दै यसको निरन्तरता प्रमुख चुनौती रहेको उल्लेख गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलगायत पूर्ण खोप सुनिश्चिततालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका थिए । जिल्लाका दशवटै पालिकाका ८५ वडाका बालबालिकाले पूर्ण रूपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
शुक्लागण्डकी नगरपालिकाका १२, घिरिङ गाउँपालिकाका पाँच, व्यास नगरपालिकाका १४, भीमाद नगरपालिकाका नौ, म्याग्दे गाउँपालिकाका सात, आँबुखैरेनी गाउँपालिकाका छ, बन्दीपुर गाउँपालिकाका छ, ऋषिङ गाउँपालिकाका आठ, देवघाट गाउँपालिकाका पाँच र भानु नगरपालिकाका १३ वटै वडाका खोप पाउनुपर्ने उमेर समूहका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र पूर्ण खोप पाएका छन् ।
व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले चैतभरी सबै वडाको प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीको उपस्थितिमा बालबालिकाको सर्वेक्षण गरी अघिल्लो खोप कार्यक्रममा छुटेका बालबालिकाको खोजी गरिएको जानकारी दिए । उनले भने, “वैशाखमा ‘खोज र खोप’ अभियान सञ्चालन गरी छुटेका बालबालिकालाई पुनः खोप दिएपछि पूर्ण खोप घोषणा गरिएको हो ।” उनका अनुसार नगरपालिकाभित्र ५९ महिना उमेर समूहका तीन हजार चार सय १९ बालबालिका रहेकामा ३८ जना खोप लगाउनबाट छुटेकामा सबैलाई खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख सोतीले जानकारी दिए ।
म्याग्दे गाउँपालिकाका एक हजार ४० बालबालिकालाई पूर्ण खोप लगाइएको छ । वडा नं १ मा एक सय ६६, वडा नम्बर २ मा एक सय ५०, वडा नम्बर ३ मा एक सय ३७, वडा नम्बर ४ मा एक सय ६०, वडा नम्बर ५ मा एक सय २९, वडा नम्बर ६ मा एक सय १५ र वडा नम्बर ७ मा एक सय ८३ लाई पूर्णखोप लगाइएको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिए ।
गाउँपालिकाले विसं २०७९ फागुन १८ देखि चैत मसान्तसम्म हरेक वडामा बालबालिकाले खोप पाए÷नपाएको जाँच गर्न घरधुरी सर्वेक्षण गरेको थियो । आँबुखैरेनी गाउँपालिका छ वटै वडाका छ सय ९९ बालबालिकाले पूर्ण खोप पाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए । उनका अनुसार खोप पाएरनपाएको सम्बन्धमा घरघरमै पुगेर सर्वेक्षण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीका सफ्टवेयरमा ‘लक सिस्टम’ लागू गरिँदै, कोशीमा १९ कम्पनी सूचीकृत
-
पोखरा महानगरले हटाएका कर्मचारी अदालतमा, दिएन अन्तरिम आदेश
-
विदेशी मुद्रा सहित एक जना पक्राउ
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)