सरकारले कहिले बुझ्ला ज्यानको बाजी लगाउने गोताखोरको महत्त्व ?
काठमाडौँ । शुक्रबार भक्तपुरबाट खोटाङ जाने क्रममा प्रदेश नम्बर ३–०१–००२ झ ४९८५ नम्बरको स्कार्पियो गाडी घुर्मी–खुर्कोट सडकखण्ड अन्तर्गत सुनकोशी नदीमा खस्यो ।
गाडीमा सवार थिए, सीटीईभीटीका प्रशासन शाखाका निर्देशक ५७ वर्षीय कृष्ण केसी, सिटीभीटीकै योजना महाशाखाका निर्देशक यमप्रसाद भुर्तेल, विद्युत् प्रशिक्षक भानु पौडेल र सवारी चालक कृष्ण चौधरी ।
चौधरी जसोतसो पौडिएर बाँच्न सफल भए । बेपत्तामध्ये केसी र पौडेलको शव पाँच दिनपछि सशस्त्र प्रहरीको गोताखोर (डिप वाटर ड्राइभ) टोलीले नदीबाट निकाल्यो ।
तीव्र पानीको बहाव भएको सुनकोसी नदीमा लगातार गोताखोर प्रवेश गरेर खोजतलास गर्दा मंगलबार स्कार्पियो फेला पर्यो । केसी र पौडेल स्कार्पियोभित्रै सिटमा मृत अवस्थामा भेटिए भने भुर्तेल अझै बेपत्ता छन् ।
घटनास्थलमा खटिएका सशस्त्र प्रहरीका निरीक्षक सुवास थापाका अनुसार शुक्रबारको घटनामा शनिबार मात्रै गोताखोर नदीमा प्रवेश गरेको थियो । उनका अनुसार पहिला गाडी कहाँबाट नदीभित्र छिर्यो भन्ने पत्ता लगाउन समय लाग्यो । धेरै गहिरो र नदीको बहाव तीव्र भएकाले गहिराइमा छिर्न तत्काल सम्भव भएन ।
पानीको बहाव तितरबितर पारेपछि मात्रै गोताखोर नदीभित्र प्रवेश गर्न सक्यो । गोताखोरले लगातार नदीभित्र प्रवेश गरेर खोजतलास गर्दा मंगलबार गाडी भेटिएको निरीक्षक थापाले बताए ।
गोताखोरले डेढ सय देखि दुई सय मिटर आसपासलाई केन्द्रविन्दु बनाएर गाडी र बेपत्ताहरूको खोजी गरेको थियो । सशस्त्र प्रहरी बलको नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट निरीक्षक थापाको कमान्डमा गोताखोरहरू क्रमशः जवान अम्बर गुरुङ र आकाश राई खटिएका थिए ।
सुनकोशीमा गाडीसहित बेपत्ता भएकाका परिवार र आफन्तले शव भेटिनेमा लगभग आश मारिसकेको अवस्थामा सशस्त्रको गोताखोरले पाँच दिन लगाएर भएपनि दुई जनाको शव फेला पार्न सक्यो । यो एउटा प्रतिनिधिमूलक घटना मात्रै हो ।
पछिल्लो समय यस्ता घटनाले गोताखोरको आवश्यकता सँगै महत्त्व बढेको छ । काठमाडौँकै कीर्तिपुर नगरपालिका–६ चोभारस्थित जलविनायक पुलनजिकै कार दुर्घटना हुँदा बागमती नदीमा खसेर बेपत्ता भएका राजकुमार खत्रीको शव पनि सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको थियो ।
गत माघ २ गते भएको दुर्घटनामा बेपत्ता भएका खत्रीको शव गोताखोरले तीन दिनपछि बागमती नदी भित्रबाट फेला पारेको थियो ।
जल उत्पन्न प्रकोपको दृष्टिकोणले अति नै संकटासन्न मुलुकमा पर्ने नेपालमा वर्षेनी जल उत्पन्न प्रकोपमा परेर धेरै धनजनको क्षति हुँदै आएको छ ।
उद्धारका लागि सधैँ अनुकूल परिस्थिति रहन्छ भन्ने हुँदैन । नदीको साँघुरो घाँटी र गहिरो खोचमा पनि उद्धार कार्य गर्नुपर्ने हुन्छ । नदी, ताल तलैयाको गहिराइमा डुबेका मानिसलाई तुरुन्तै फेला पार्न सकिन्छ भन्ने पनि हुँदैन ।
सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले गोताखोरकै सहयोगमा नेपालमा भएका ठुला सडक दुर्घटनामा नदीभित्र बेपत्ता शव पत्ता लगाउन सफल भएको बताए । उनले भने,‘अहिले भएका गोताखोरलाई मात्रै पनि स्रोतसाधन सम्पन्न बनाउन सकियो भने राम्रो हुन्थ्यो । यसका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको छ ।’
बंगलादेशमा तालिम लिनेहरू अब्बल
नेपालमा वर्षेनी जल उत्पन्न प्रकोपबाट ठुलो धनजनको क्षति हुने देखिएपछि सशस्त्र प्रहरीले विदेशी दाताको सहयोगमा २०६९ वैशाखमा २५ जनालाई बंगलादेशको ढाकामा गोताखोर तालिमका लागि पठाइएको थियो ।
वैशाख ३१ देखि असार १४ सम्म चलेको तालिमपछि फर्किएर २०७६ देखि तालिम लिएकाले नै तालिम दिन थाले । एउटा तालिम सम्पन्न गर्दा ३५ देखि ४० लाख रुपैयाँ लाग्ने गरेको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । अहिले सशस्त्र प्रहरीमा ७४ जना गोताखोर छन् । उनीहरूलाई आवश्यक स्रोतसाधन भने धेरै महँगो हुन्छ ।
अहिले सशस्त्र प्रहरीसँग भएको केही स्रोत साधनकै भरमा गोताखोर परिचालित हुँदै आएका छन् । काठमाडौँको सिनामंगल, चितवनको कुरिनटार, कास्कीको पोखरा र सुनसरीको इटहरीमा अहिले गोताखोर तयारी अवस्थामा राखिएको छ ।
तर, स्रोतसाधन अभावमा अन्य जिल्लामा गोताखोर पठाउनुपर्ने अवस्था आएमा यिनै कार्यालयहरूबाट समान लिएर जानुपर्ने अवस्था रहेको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र श्रेष्ठ बताउँछन् ।
मृत्युसँग डराउने गोताखोर बन्दैन
नरेन्द्र सिंह भण्डारी, सशस्त्र प्रहरी वरिष्ठ हवल्दार
सुरुमा सरकारले बंगलादेशको ढाकामा गोताखोर तालिममा पठाउँदा म पनि गएको थिएँ । ढाकाको सीतगाउँ भन्ने ठाउँमा हाइड्रोपावरको ड्याममा तालिम दिइएको थियो । पानीको गहिराई हेर्दा त मनभित्र चिसो पनि पस्यो । किन तालिम लिन आएको होला भन्ने लाग्यो ।
तर, पानीभित्र पनि घण्टौँसम्म अडिरहने तालिमको कला थियो, मलाई धेरै खुसी लाग्यो । अब नेपाल फर्केर आफ्नै देशमा हुँदै आएको जल उत्पन्न प्रकोप र नदीमा डुबेकालाई उद्धार गर्न सक्छु भन्ने प्रण गरियो ।
सीतगाउँमा हामीले १६० फिट गहिराइमा पुगेर तालिम लियौँ । तर, त्यहाँ भित्रको पानीमा भिजिबिलिटी थियो । पानीभित्र छिर्ने र बाहिर बसेर गाइड गर्नेको लागि एउटा कम्युनिकेसन सेट हुन्छ । पानीभित्र छिर्ने गोताखोरले बोलेको बाहिरकोले सुन्छ । बाहिरबाट बोलेको भित्रबाट सुनिन्छ । पानीको बहाव धेरै गतिमा छ भने उद्धारको लागि धेरै कठिनाइ हुन्छ ।
नेपालमा त झन् तीव्र करेन्टमा बग्ने नदी छन् । अधिकांश नदीको भिजिबिलिटी छैन । छामेरै नदीभित्र छिर्नुपर्छ । त्यतिबेला कम्युनिकेसन टुट्यो भने ज्यानै पनि जान सक्छ । बगेको पानीमा उद्धार गर्न नदीको करेन्टसँगै बग्ने हो । तर, तालमा छामेरै पत्ता लगाउनु पर्छ ।
नेपालका भोटेकोशी, सुनकोशी र भेरीमा पानीको भिजिबिलिटी छ, अन्यमा छैन । अहिले भइरहेको जति पनि उद्धार वा शव पत्ता लगाउने कार्यमा गोताखोरले छामेकै भरमा गर्ने हो ।
२०७४ कात्तिकमा गजुरीस्थित त्रिशूली नदीमा बस खसेको थियो । हामीले छामेकै आधारमा नदीभित्र छिरेर २८ वटा शव निकाल्यौँ । नदीको पानीको करेन्ट धेरै थियो । माथि बसेर कमाण्ड गरेको र कम्युनिकेसन सिग्नलकै आधारमा छामेर शव पत्ता लगायौँ ।
धादिङको बेनीघाटस्थित त्रिशूली नदीमा २०७४ माघमा सिँचाई मन्त्रालयका सचिव रामानन्द यादव सवार जीप दुर्घटना भई खसेको सूचना आएपछि हामी गयौँ । मसँग वरिष्ठ हवल्दार तारानाथ चपाइँ हुनुहुन्थ्यो । प्रायः हामी दुवै बंगलादेशबाटै तालिम लिएर आएका थियौं ।
पानीभित्र छिरेपछि जीप फेला पर्यो । मैले चपाईलाई जीपको ढोकातिरै बस्नुस् भनेको थिएँ । एकाएक सम्पर्क टुट्यो । उहाँ त बेहोस अवस्थामा पुगिसक्नु भएको रहेछ । मैले फेरि माथि ल्याएँ । सीपीआरको माध्यमबाट उहाँलाई बचाउन सकियो । गोताखोरको काम सामान्य होइन । मर्न डराउनेले यो तालिम लिन सक्दैन ।
गृहमा प्रस्ताव लैजाँदै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सातवटै प्रदेशमा स्रोतसाधन सम्पन्न हुने गरी गोताखोर टोली राख्ने प्रस्ताव गृह मन्त्रालयमा लैजाने तयारी गरेको छ ।
अहिले चितवनको कुरिनटार, पोखराको कास्की, सुनसरीको इटहरी र काठमाडौँमा मात्रै गोताखोर टोली छ । तर, स्रोतसाधन कुरिनटार र काठमाडौँमा मात्रै छ । कतै विपद्मा उद्धार गर्न जानु पर्यो भने सामान मगाएर मात्रै टोली जाने गरेका छन् ।
सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी राजेन्द्र खड्काका अनुसार गोताखोरको तालिम महँगो हुने र सामग्री पनि विदेशबाटै मगाउनुपर्ने हुँदा गृह मन्त्रालयमा बजेट निकासा हुने गरी प्रस्ताव लैजाने विषयमा छलफल भइरहेको छ । यसबारे उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि सकारात्मक रहेको बुझाई सशस्त्र मुख्यालयको छ ।
केही दिन अघि मात्रै कुरिनटारमा भएको तालिम पनि गण्डकी प्रदेश सरकारको सहयोगमा भएको थियो । एसएसपी खड्काका अनुसार गोताखोरलाई छुट्टै ‘स्क्वाड’ कै रूपमा विकसित गर्ने गरी योजना बनाइँदैछ ।
उनले नेपालमा हुने प्राकृतिक विपत्तिसँगै अन्य दुर्घटनामा गोताखोर उपयोगी हुने भएकाले अहिले भइरहेका ७६ जनालाई पनि स्रोत साधन सम्पन्न बनाउने विषयमा सरकारको ध्यानाकर्षण गराई सकेको बताए ।
गोताखोरले गरेका उद्धारको मुख्य घटनाको विवरण
– २०७१ मङ्सिर ४ मा जाजरकोटको भूतचौरस्थित भेरी नदीमा बस खस्दा बेपत्ता ३१ जनाको शव निकालेको ।
– २०७४ कात्तिक ११ मा धादिङको गजुरी गाउँपालिका–२ स्थित त्रिशूली नदीमा बस खस्दा बेपत्ता २८ शव निकालेको ।
– २०७५ साउन ९ मा सोलुखुम्बुको खुम्बु पासाङ्गल्हामु गाउँपालिका–४ स्थित गोकियो तालबाट १ जनाको शव निकालेको ।
– २०७६ जेठ ५ मा गजुरी गाउँपालिका– ६ बन्छेटारमा त्रिशूली नदीबाट गाडी खस्दा बेपत्ता भएका ४ जनाको शव निकालेको ।
– २०७६ साउन २४ मा धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशूली नदीमा बस खस्दा बेपत्तामध्ये ६ जनाको शव निकालेको ।
– बझाङको बुङ्गल नगरपालिका–१ स्थित दारिमगार्डमा कालङ्गा हाइड्रो पावरको निर्माणाधीन सुरुङमा बेपत्ता भएका ४ जनाको शव निकालेको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एउटै शृंखलामा भिभियन रिचर्डसलाई पटक–पटक आउट गर्ने पाकिस्तानी क्रिकेटरको निधन
-
कमजोरी सच्याउन एमाले तयार छ : शङ्कर पोखरेल
-
सरकारमा रहेको पार्टीले सभा र र्याली गरेको भन्नेहरूलाई दरबारमार्गबाट फर्कायो एमालेले जवाफ
-
क्रेडिट रेटिङको प्रत्यक्ष फाइदा बैंकलाई, विदेशी ऋणमा डेढ प्रतिशतसम्म घट्ने
-
दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
-
सहकारी पीडितद्वारा मानव अधिकार आयोगको कार्यालय घेराऊ, तस्बिरमा हेर्नुहोस्