बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
४२ दिन बाँकी

प्रचार र पुरस्कारमा पछि परेको महिला विश्वकप

बिहीबार, २५ जेठ २०८०, ०८ : ३२
बिहीबार, २५ जेठ २०८०

 

काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) ले यसै वर्ष अस्ट्रेलिया र न्युजिल्यान्डमा महिला विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिता आगामी जुलाई २० देखि अगस्त २० तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगिता सुरु हुन अब ४२ दिनमात्र बाँकी छ ।

तर, महिला विश्वकपको खासै चर्चा भएको पाइँदैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि आक्कल झुक्कलमात्र समाचार आएको पाइन्छ । जबकि पुरुष फुटबल सुरु हुनुभन्दा निकै अघिदेखि त्यसको चर्चा परिचर्चा सुरु हुन्छ । 

पुरुष विश्वकप सुरु हुनुअघि नै त्यसले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमदेखि समर्थकहरूमाझ समेत व्यापक चर्चा पाउँछ । सहभागी टोली र उपाधि जित्ने सम्भावनाको बारेमा विभिन्न तरिकाले विश्लेषण सुरु हुन्छ । खेलाडीको प्रदर्शन र उनीहरूको स्वास्थ्य अवस्थाको बारेमा समेत विभिन्न आँकलन गरिन्छ ।

तर, महिला विश्वकप सँघारमै आइपुग्दा पनि त्यसको बारेमा खासै चर्चा छैन । उसो त पुरुष विश्वकपको तुलनामा महिला विश्वकपको इतिहास पनि खासै पुरानो छैन । भर्खरै महिला विश्वकपको नवौँ संस्करण आयोजना हुन लागेको हो ।

जबकि पुरुष विश्वकपको २२औँ संस्करण अघिल्लो वर्ष कतारमा आयोजना भएको थियो । फिफाले महिला विश्वकपको पहिलो संस्करण सन् १९९१ मा आयोजना गरेको थियो । त्यसयता हालसम्म आठवटा संस्करण सम्पन्न भएका छन् । पुरुष विश्वकप भने सन् १९३० देखि प्रारम्भ भएको हो ।

महिला विश्वकपको इतिहासमा हालसम्म सातवटा राष्ट्रले मात्र सबै संस्करणमा सहभागिता जनाएका छन् । अमेरिका, जर्मनी, नर्वे, स्विडेन, ब्राजिल, जापान र नाइजेरियाले मात्र हालसम्म सबै संस्करणमा भाग लिएका छन् । 

पहिलो संस्करण

महिला विश्वकपको पहिलो संस्करण चीनले आयोजना गरेको थियो । पहिलो संस्करण सन् १९९१ को नोभेम्बर १६ देखि ३० तारिखसम्म खेलाइएको थियो । प्रतियोगिताका खेलहरू ६ वटा रङ्गशालामा खेलाइएको थियो । 

पहिलो संस्करणमा १२ वटा राष्ट्रले सहभागिता जनाएका थिए । चीन, नर्वे, डेनमार्क, न्युजिल्यान्ड, अमेरिका, स्विडेन, ब्राजिल, जापान, जर्मनी, इटाली, चाइनिज ताइपेई र नाइजेरियाले प्रतियोगितामा भाग लिएका थिए । 

Tianhe_Stadium

प्रतियोगिताको फाइनलमा अमेरिकाले नर्वेलाई २—१ गोलले हराएको थियो । प्रतियोगितामा स्विडेन तेस्रो र जर्मनी चौथो भएका थिए । अमेरिकाकी मिचेल एकर्स सर्वाधिक गोल गर्ने खेलाडी बनेकी थिइन् । उनले प्रतियोगिता अवधिभरमा कुल १० गोल गरेकी थिइन् । उनले ‘गोल्डेन सु’ जितेकी थिइन् । 

अमेरिकाकी क्यारिन जेनिङ्सले गोल्डेन बल पाएकी थिइन् । ‘फिफा फेयर प्ले अवार्ड’ भने जर्मनीले पाएको थियो । पहिलो विश्वकपमा कुल २६ खेल भएको थियो । प्रतियोगिता अवधिभरमा कुल ९९ गोल भएको थियो । 

दोस्रो संस्करण

महिला विश्वकपको दोस्रो संस्करण सन् १९९५ मा स्विडेनमा आयोजना भएको थियो । जुन ५ तारिखमा सुरु भएको विश्वकप जुन १८ तारिखमा सकिएको थियो । प्रतियोगितामा १२ राष्ट्रले सहभागिता जनाएका थिए । 

दोस्रो संस्करणका खेलहरू पाँचवटा रङ्गशालामा खेलिइएको थियो । प्रतियोगिताको फाइनलमा नर्वेले जर्मनीलाई २—० गोलले हराउँदै उपाधि चुमेको थियो । प्रतियोगितामा अमेरिका तेस्रो र चीन चौथो भएका थिए । चौथो स्थानका लागि भएको खेलमा अमेरिकाले चीनलाई २—० गोलले हराएको थियो ।

4454

प्रतियोगिता अवधिभरमा कुल २६ खेल भएको थियो । दोस्रो संस्करणमा कुल ९९ गोल भएको थियो । प्रतियोगितामा नर्वेकी एन क्रिस्टिन एरोनेसले सर्वाधिक ६ गोल गरेकी थिइन् । उनले ‘गोल्डेन सु’ पाएकी थिइन् । नर्वेकै हेज रिल्सेले सर्वोत्कृष्ट खेलाडीका रूपमा ‘गोल्डेन बल’ पाइन् । ‘फिफा फेयर प्ले अवार्ड’ भने स्विडेनले पाएको थियो ।

तेस्रो संस्करण

महिला विश्वकप फुटबलको तेस्रो संस्करण सन् १९९९ मा अमेरिकाले आयोजना गरेको थियो । तेस्रो संस्करण जुन १९ देखि जुलाई १० तारिखसम्म सञ्चालन भएको थियो । तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या बढाएर १२ बाट १६ पुर्‍याइएको थियो ।

तेस्रो संस्करणका खेलहरू अमेरिकाका आठवटा रङ्गशालामा खेलाइएको थियो । प्रतियोगिताको फाइनलमा अमेरिकाले चीनलाई पेनाल्टी सुटआउटमा ५—४ गोलले हराउँदै उपाधि चुमेको थियो । निर्धारित र थप गरिएको समय खेल गोलरहित बराबरीमा सकिएको थियो । 

2157889318001_4790499685001_4772692305001-vsjpg

महिला विश्वकपमा अमेरिकाले जितेको यो दोस्रो उपाधि थियो । तेस्रो संस्करणमा ब्राजिल तेस्रो र नर्वे चौथो भएका थिए । तेस्रो स्थानका लागि खेलाइएको खेलको निर्णय पनि पेनाल्टी सुटआउटबाटै भएको थियो । पेनाल्टी सुटआउटमा ब्राजिल ५—४ गोलले विजयी भएको थियो । 

प्रतियोगिताका क्रममा कुल ३२ खेल भएको थियो । सहभागी टोलीले प्रतियोगिता अवधिभर कुल एक सय २३ वटा गोल गरेका थिए । उक्त विश्वकपमा ब्राजिलकी सिसी र चीनकी सन वेन संयुक्त रूपमा सर्वाधिक गोलकर्ता बने । 

ब्राजिलकी सिसी र चीनकी सन वेनले प्रतियोगितामा सात÷सात गोल गरेका थिए । दुवै खेलाडीले संयुक्त रूपमा ‘गोल्डेन सु’ पुरस्कार पाए । तेस्रो महिला विश्वकपमा चीनकी सन वेन सर्वोत्कृष्ट खेलाडी पनि घोषित भइन् । उनले ‘गोल्डेन बल’ पनि पाइन् । ‘फिफा फेयर प्ले अवार्ड’ भने चीनले पाएको थियो । 

चौथो संस्करण

महिला विश्वकपको चौथो संस्करण पनि सन् २००३ मा अमेरिकामै आयोजना भएको थियो । त्यसैले अमेरिका लगातार दुई पटक महिला विश्वकप आयोजना गर्ने राष्ट्र पनि बनेको थियो । चौथो संस्करण सेप्टेम्बर २० देखि अक्टोबर १२ तारिखसम्म खेलाइएको थियो ।

चौथो संस्करणमा पनि १६ वटा राष्ट्रले सहभागिता जनाएका थिए । चौथो संस्करणका खेलहरू अमेरिकाका ६ वटा रङ्गशालामा खेलाइएको थियो । प्रतियोगिताको उपाधि भने जर्मनीले जितेको थियो । जर्मनीले फाइनलमा स्विडेनलाई अतिरिक्त समयमा २—१ गोलले हराएको थियो । 

निर्धारित समयको खेल १—१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । प्रतियोगितामा अमेरिका तेस्रो भएको थियो । तेस्रो स्थानका लागि खेलाइएको खेलमा अमेरिकीले क्यानडालाई ३—१ गोलले हराएको थियो । 

72337742_2631324996910348_906884749732085760_n

प्रतियोगिताका क्रममा कुल ३२ खेल भएको थियो । सहभागी टोलीले प्रतियोगिता अवधिभर कुल एक सय सात गोल गरेका थिए । प्रतियोगितामा जर्मनीकी बिर्गिट प्रिन्जले सर्वाधिक सात गोल गरिन् । उनले पाँच गोलका लागि पास पनि उपलब्ध गराएकी थिइन् । उनले ‘गोल्डेन सु’ पुरस्कार पाइन् ।

चौथो महिला विश्वकपमा जर्मनीकी प्रिन्ज नै सर्वोत्कृष्ट खेलाडी पनि घोषित भएकी थिइन् । त्यसैले ‘गोल्डेन बल’ पुरस्कार पनि उनकै भागमा परेको थियो । ‘फिफ फेयर प्ले अवार्ड’ भने चीनले पाएको थियो । 

चौथो संस्करणदेखि दुईवटा पुरस्कार थप गरिएको थियो । पहिलो पटक प्रदान गरिएको सर्वोत्कृष्ट गोलरक्षकको पुरस्कार जर्मनीकी सिल्की रोटेनबर्गले पाएकी थिइन् । पहिलो पटक नै प्रदान गरिएको ‘मोस्ट इन्टरटेनिङ टिम’ को पुरस्कार पनि जर्मनीले नै पाएको थियो ।

पाँचौँ संस्करण

महिला विश्वकप फुटबलको पाँचौँ संस्करण सन् २००७ मा पुनः चीनमा फर्किएको थियो । यसअघि चीनले पहिलो संस्करण पनि आयोजना गरेको थियो । पाँचौँ संस्करणका खेलहरू सेप्टेम्बर १० देखि ३० तारिखसम्म खेलिइएको थियो । 

यस पटक पनि प्रतियोगितामा १६ वटा राष्ट्रले नै सहभागिता जनाएका थिए । प्रतियोगिताका खेलहरू चीनका विभिन्न पाँचवटा सहरमा खेलाइएको थियो । पाँचौँ संस्करणको उपाधि जर्मनीले जितेको थियो । जर्मनीले दोस्रो पटक महिला विश्वकपको उपाधि हात पारेको थियो ।

lzq7via7iznpidetpxek

प्रतियोगिताको फाइनलमा जर्मनीले ब्राजिललाई २—० गोलले हराएको थियो । जर्मनीले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । प्रतियोगितामा अमेरिका तेस्रो भएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा अमेरिकाले नर्वेलाई ४—१ गोलले हराएको थियो ।

प्रतियोगिता अवधिभरमा कुल ३२ खेल भएको थियो । सहभागी टोलीहरूले प्रतियोगितामा कुल एक सय ११ गोल गरेका थिए । पाँचौँ विश्वकपमा ब्राजिलकी मार्टा सर्वाधिक गोलकर्ता बनेकी थिइन् । उनले कुल सात गोल गरेकी थिइन् । उनले ‘गोल्डेन सु’ पुरस्कार पाइन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले पाउने ‘गोल्डेन बल’ पुरस्कार पनि मार्टाले नै हात पारिन् । ‘फिफ फेयर प्ले अवार्ड’ भने नर्वेले पायो । जर्मनीकी नदाइन एन्जेरर सर्वोत्कृष्ट गोलरक्षक बनिन् । ‘मोस्ट इन्टरटेनिङ टिम’ को पुरस्कार ब्राजिलले पायो । 

उपाधि जर्मनीले जिते पनि अधिकांश पुरस्कारमा भने ब्राजिलले कब्जा जमाएको थियो । यो संस्करणमा एउटा थप पुरस्कार पनि दिइएको थियो । त्यो पुरस्कार थियो, ‘गोल अफ दि टुर्नामेन्ट’ अर्थात् प्रतियोगिताकै सबैभन्दा उत्कृष्ट गोल । त्यो पुरस्कार ब्राजिलकी मार्टाले पाएकी थिइन् । उनले सेमिफाइनलमा अमेरिकाविरुद्ध ७९औँ मिनेटमा गरेको गोललाई उक्त पुरस्कार प्रदान गरिएको थियो । 

छैटौँ संस्करण

महिला विश्वकपको छैटौँ संस्करण सन् २०११ मा जर्मनीमा आयोजना भएको थियो । दुई पटक उपाधि जितिसके पनि जर्मनीले त्यसअघि महिला विश्वकप आयोजनाको अधिकार पाएको थिएन । छैटौँ संस्करणका खेलहरू जुन २६ देखि जुलाई १७ तारिखसम्म खेलाइएको थियो ।

छैटौँ संस्कारमा पनि सहभागी टोलीको सङ्ख्या भने १६ नै थियो । प्रतियोगिताका खेलहरू जर्मनीका विभिन्न नौवटा सहरमा खेलाइएको थियो । यति धेरै सहरमा महिला विश्वकप आयोजना गरिएको यो नै पहिलो पटक थियो ।

प्रतियोगिताको उपाधि भने जापानले जितेको थियो । एसियाली राष्ट्रले महिला विश्वकपको उपाधि जितेको यो पहिलो पटक थियो । प्रतियोगिताको फाइनलमा जापानले अमेरिकालाई पेनाल्टी सुटआउटमा ३—१ गोलले हराएको थियो । निर्धारित र अतिरिक्त समयको खेल २—२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

प्रतियोगितामा स्विडेन तेस्रो भएको थियो । तेस्रो स्थानका लागि खेलाइएको खेलमा स्विडेनले फ्रान्सलाई २—१ गोलले पाखा लगाएको थियो । प्रतियोगितामा कुल ३२ खेल खेलाइएको थियो भने सहभागी टोलीले कुल ८६ गोल गरेका थिए । 

Japan-Women-s-World-Cup-2011-Win-Getty

प्रतियोगितामा जापानकी होमारे सावा सर्वाधिक गोलकर्ता बनेकी थिइन् । उनले पाँच गोल गरेकी थिइन् भने एक गोलका लागि पास उपलब्ध गराएकी थिइन् । उनले ‘गोल्डेन बल’ पुरस्कार पाइन् । यो संस्करणदेखि ‘गोल्डेन सु’ लाई ‘गोल्डेन बुट’ पुरस्कार नाम दिइएको थियो ।

सर्वोत्कृष्ट खेलाडीका रूपमा ‘गोल्डेन बल’ पुरस्कार पनि जापानकी होमारे सावाले नै पाएकी थिइन् । सर्वोत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने ‘गोल्डेन ग्लोभ’ पुरस्कार भने अमेरिकाकी होप सोलोले पाएकी थिइन् । अस्ट्रेलियाकी क्याट्लिन फुर्ड सर्वोत्कृष्ट युवा खेलाडी घोषित भइन् । 

यसैगरी ‘फिफा फेयर प्ले अवार्ड’ जापानले पायो । ‘गोल अफ दि टुर्नामेन्ट’ को पुरस्कार अमेरिकाकी एबी वाम्बाचले पाइन् । उनले ब्राजिलविरुद्घको क्वार्टरफाइनल खेलमा अतिरिक्त समयमा गरेको गोललाई उक्त पुरस्कार प्रदान गरिएको थियो ।

सातौँ संस्करण

महिला विश्वकपको सातौँ संस्करण सन् २०१५ मा क्यानडामा आयोजना भएको थियो । प्रतियोगिता जुन ६ देखि जुलाई ५ तारिखसम्म खेलाइएको थियो । यो संस्करणदेखि टोलीको सङ्ख्या बढाएर २४ पु¥याइएको थियो । यसअघि महिला विश्वकपमा १६ टोलीले मात्र सहभागिता जनाउँथे ।

प्रतियोगिताका खेलहरू क्यानडाका ६ वटा सहरमा खेलाइएको थियो । सातौँ संस्करणको उपाधि अमेरिकाले जितेको थियो । अमेरिकाले महिला विश्वकपको उपाधि चुमेको यो तेस्रो पटक थियो । फाइनलमा अमेरिकाले जापानलाई ५—२ गोलको फराकिलो अन्तरले हराएको थियो । 

प्रतियोगितामा इङ्ल्यान्डले तेस्रो स्थान हासिल गरेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा इङ्ल्यान्डले जर्मनीलाई १—० गोलले हराएको थियो । प्रतियोगिता अवधिभरमा कुल ५२ खेल भएको थियो । सहभागी टोलीहरूले कुल एक सय ४६ गोल गरेका थिए । 

women_celebrate_070515_800x500

जर्मनीकी सेलिया सासिच र अमेरिकाकी कार्ली लोयडले सर्वाधिक ६÷६ गोल गरेका थिए । सेलिया सासिचले ‘गोल्डेन बुट’ र कार्ली लोयडले ‘सिल्भर बुट’ पुरस्कार पाए । अमेरिकाकी कार्ली लोयड प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले ‘गोल्डेन बल’ पुरस्कार पाइन् । 

सर्वोत्कृष्ट गोलरक्षकका रूपमा अमेरिकाकी होप सोलोले ‘गोल्डेन ग्लोभ’ पुरस्कार पाइन् । ‘फिफा फेयर प्ले अवार्ड’ फ्रान्सले पायो । सर्वोत्कृष्ट युवा खेलाडीको पुरस्कार क्यानडाकी कादिसा बुचाननले पाइन् । अमेरिकाकी कार्ली लोयडले गरेको गोलले उत्कृष्ट गोलको पुरस्कार पायो । उनले जापानविरुद्घको फाइनल खेलको १६औँ मिनेटमा गरेको गोललाई उक्त पुरस्कार प्रदान गरिएको थियो ।

महिला विश्वकपको यो संस्करणमा एउटा गजबको कीर्तिमान पनि बनेको थियो । महिला विश्वकपको यो संस्करणले दर्शकको कीर्तिमान बनाएको थियो । फिफाले आयोजना गर्ने कुनै पनि विश्वकपका खेलहरू त्यति धेरै दर्शकले हेरेका थिएनन् । उक्त विश्वकप कुल १३ लाख ५३ हजार पाँच सय ६ जना दर्शकले हेरेका थिए । प्रत्येक खेल हेर्ने दर्शकको सङ्ख्या औसतमा २६ हजार २९ रहेको थियो ।

आठौँ संस्करण

महिला विश्वकपको आठौँ संस्करण सन् २०१९ मा फ्रान्सले आयोजना गरेको थियो । फ्रान्सले पहिलो पटक महिला विश्वकप आयोजनाको अधिकार पाएको थियो । प्रतियोगिताका खेलहरू जुन ७ देखि जुलाई ७ तारिखसम्म खेलाइएको थियो । 

अघिल्लो संस्करणमा जस्तै यो संस्करणमा पनि २४ वटा टोली सहभागी भएका थिए । प्रतियोगिताका खेलहरू फ्रान्सका नौवटा सहरमा खेलाइएको थियो । आठौँ संस्करणको उपाधि पनि अमेरिकाले नै चुमेको थियो । महिला विश्वकपमा अमेरिकाले जितेको यो चौथो उपाधि थियो ।

अमेरिकाले फाइनलमा नेदरल्यान्ड्सलाई २—० गोलले हराएको थियो । प्रतियोगितामा स्विडेनले तेस्रो स्थान हासिल गरेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा स्विडेनले इङ्ल्यान्डलाई २—१ गोलले हराएको थियो । 

usa-wins-world-cup

प्रतियोगितामा कुल ५२ खेल खेलाइएको थियो । प्रतियोगिता अवधिभर कुल एक सय ४६ गोल भएको थियो । अमेरिकाकी मेगन रापिनो, अमेरिकाकै एलेक्स मोर्गन र इङ्ल्यान्डकी एलिन ह्वाइट संयुक्त रूपमा सर्वाधिक गोलकर्ता बनेका थिए । उनीहरूले ६÷६ गोल गरेका थिए ।

मेगन रापिनोले ‘गोल्डेन बुट’, एलेक्स मोर्गनले ‘सिल्भर बुट’ र एलिन ह्वाइटले ‘ब्रोन्ज बुट’ पुरस्कार पाएका थिए । अमेरिकाकी मेगन रापिनोले सर्वोत्कृष्ट खेलाडीका रूपमा ‘गोल्डेन बल’ पुरस्कार पनि पाएकी थिइन् । नेदरल्यान्ड्सकी सारी भान भिनेन्दलले सर्वोत्कृष्ट गोलरक्षकका रूपमा ‘गोल्डेन ग्लोभ’ पुरस्कार हात पारिन् । 

जर्मनीकी जिउलिया जिविन प्रतियोगिताको सर्वोत्कृष्ट युवा खेलाडी घोषित भइन् । फ्रान्सले ‘फिफा फेयर प्ले अवार्ड’ पायो । ब्राजिलकी क्रिस्टिनले गरेको गोललाई उत्कृष्ट गोलको पुरस्कार प्रदान गरिएको थियो । क्रिस्टिनले समूहगत चरणमा अस्ट्रेलियाविरुद्घको खेलको ३८औँ मिनेटमा गरेको गोललाई उक्त पुरस्कार प्रदान गरिएको थियो । 

सर्वाधिक गोलकर्ता मार्टा

महिला विश्वकपको इतिहासमा हालसम्म सबैभन्दा बढी गोल गर्ने खेलाडी ब्राजिलकी मार्टा हुन् । उनले हालसम्म विश्वकपमा १७ गोल गरेकी छन् । जर्मनीकी बिर्गिट प्रिन्ज र अमेरिकाकी एबी वाम्बाचले १४÷१४ गोल गरेका छन् । अमेरिकाकी मिचेल एकर्सले १२ गोल गरेकी छन् । ब्राजिलकी क्रिस्टिन, चीनकी सन वेन र जर्मनीकी बेटिना विगम्यानले ११÷११ गोल गरेका छन् । 

marta

यसै गरी हालसम्म महिला विश्वकपमा सर्वाधिक गोल गर्ने राष्ट्र अमेरिका हो । अमेरिकाले हालसम्म एक सय ३८ गोल गरेको छ । जर्मनीले एक सय २१ र नर्वेले ९३ गोल गरेका छन् । स्विडेनले ७१ र ब्राजिलले ६६ गोल गरेका छन् । चीनले भने ५३ गोल गरेको छ ।

महिला विश्वकपको समाप्तिपछि विभिन्न टोलीका खेलाडीको प्रदर्शनलाई आधार मानेर पाँचवटा महत्वपूर्ण पुरस्कार प्रदान गरिन्छ । प्रतियोगितामा सर्वोत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘गोल्डेन बल’ प्रदान गरिन्छ भने सर्वाधिक गोल गर्ने खेलाडीलाई ‘गोल्डेन बुट’ प्रदान गरिन्छ । 

यसै गरी सर्वोत्कृष्ट गोलरक्षकलाई ‘गोल्डेन ग्लोभ’, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २१ वर्षभन्दा कम उमेरका खेलाडीलाई ‘फिफा यङ् प्लेयर अवार्ड’ र प्रतियोगिता अवधिभर अनुशासित खेल खेल्ने टोलीलाई ‘फिफा फेयर प्ले ट्रफी’ प्रदान गरिन्छ ।

पुरस्कार राशिमा विभेद

फ्रान्समा सन् २०१९ मा भएको आठौँ संस्करणसम्म महिला विश्वकपको विजेतालाई ४० लाख अमेरिकी डलर (करिब ५२ करोड नेपाली रुपैयाँ) पुरस्कार प्रदान गरिएको थियो । महिला विश्वकपको विजेतालाई दिइने उक्त पुरस्कारको निर्णय सन् २०१८ को अक्टोबरमा गरिएको थियो । 

आठौँ संस्करणको उपविजेता हुने टोलीलाई २६ लाख अमेरिकी डलर (करिब ३४ करोड नेपाली) पुरस्कार प्रदान गरिएको थियो । तेस्रो हुने टोलीलाई २० लाख अमेरिकी डलर (करिब २६ करोड नेपाली) पुरस्कार प्रदान गरिएको थियो ।

1160605213.jpg

यसै गरी चौथो हुने टोलीलाई १६ लाख अमेरिकी डलर पुरस्कार प्रदान गरिएको थियो । पाँचौँदेखि आठौँ स्थानसम्म आउने टोली प्रत्येकलाई १४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार दिइएको थियो । नवौँदेखि १६औँ स्थानसम्म आउने प्रत्येक टोलीले १० लाख अमेरिकी डलर पुरस्कार पाएका थिए । १७औँ देखि २४औँ स्थानसम्म आउने प्रत्येक टोलीले सात लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाएका थिए । 

तर, केही समयअघि सम्पन्न विश्व फुटबल महासंघ (फिफा)को ७३औँ बोर्ड बैठकले महिला विश्वकपको पुरस्कार राशि बढाउने निर्णय गरेको थियो । बैठकले महिला विश्वकपको कुल पुरस्कार राशिमा तीन गुनाले वृद्धि गर्ने निर्णय गरेको थियो । 

पुरुष विश्वकपको तुलनामा महिला विश्वकपमा प्रदान गरिने पुरस्कार राशि कम भएको भन्दा त्यसको विरोध हुँदै आएको थियो । गत वर्ष कतारमा सम्पन्न पुरुष विश्वकपका लागि फिफाले ४४ करोड अमेरिकी डलर कुल पुरस्कार राशि छुट्याएको थियो । जबकि महिला विश्वकपको आठौँ संस्करणमा पाँच करोड अमेरिकी डलर कुल पुरस्कार राशि पनि छुट्याइएको थिएन ।

धेरै अर्थमा फरक नवौँ संस्करण

महिला विश्वकपको नवौँ संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गर्दैछन् । प्रतियोगिता आगामी जुलाई २० देखि अगस्त २० तारिखसम्म आयोजना हुनेछ । कुनै पनि दुई राष्ट्रले संयुक्त रूपमा महिला विश्वकप आयोजना गर्न लागेको यो पहिलो पटक हो ।

यसका अतिरिक्त दुई छुट्टाछुट्टै क्षेत्रीय महासंघले विश्वकप फुटबल आयोजना गर्न लागेको पनि यो पहिलो पटक हो । यसअघि पुरुष विश्वकप पनि दुई छुट्टाछुट्टै क्षेत्रीय फुटबल महासंघले आयोजना गरेका छैनन् । अस्ट्रेलियन एसियाली फुटबल महासंघको सदस्य हो भने न्युजिल्यान्ड ओसेनिया फुटबल महासंघको सदस्य हो । 

यसै गरी महिला विश्वकपको नवौँ संस्करणमा सहभागी टोलीको सङ्ख्या पनि बढाइएको छ । अघिल्लो महिला विश्वकपमा २४ वटा राष्ट्रले भाग लिएका थिए । नवौँ संस्करणमा भने सहभागी टोलीको सङ्ख्या बढाएर ३२ पु¥याइएको छ । 

महिला विश्वकपको नवौँ संस्करणमा एसियाबाट ६ राष्ट्र सहभागी छन् भने अफ्रिकाबाट चार राष्ट्र छनोट भएका छन् । उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट चार राष्ट्र सहभागी हुनेछन् । दक्षिण अमेरिकाबाट तीन, ओसेनियाबाट एक र युरोपबाट ११ राष्ट्र सहभागी हुँदैछन् । थप तीन राष्ट्रको टुङ्गो भने इन्टर कन्फिड्रेसन प्ले अफ प्रतियोगिताबाट लागेको हो । 

नवौँ विश्वकपको समूह ‘ए’ मा न्युजिल्यान्ड, नर्वे, फिलिपिन्स र स्विट्जरल्यान्ड छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, आयरल्यान्ड, नाइजेरिया र क्यानडा रहेका छन् । समूह ‘सी’ मा स्पेन, कोस्टारिका, जाम्बिया र जापान परेका छन् । समूह ‘डी’ मा इङ्ल्यान्ड, हाइटी, डेनमार्क र चीन छन् । 

यसै गरी समूह ‘ई’ मा अमेरिका, भियतनाम, नेदरल्यान्ड्स र पोर्चुगल छन् । समूह ‘एफ’ मा फ्रान्स, जमैका, ब्राजिल र पानामा रहेका छन् । समूह ‘जी’ मा स्विडेन, दक्षिण अफ्रिका, इटाली र अर्जेन्टिना रहेका छन् । समूह ‘एच’ मा जर्मनी, मोरक्को, कोलम्बिया र दक्षिण कोरिया रहेका छन् । 

समूहगत चरणपछि नकआउट चरणको खेल हुनेछ । पहिलो चरणको खेलपछि प्रत्येक समूहबाट दुई÷दुई टोली प्रिक्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । प्रिक्वार्टरफाइनलबाट आठ टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि क्रमशः सेमिफाइनल र फाइनल खेल हुनेछ । 

नवौँ संस्करणमा विजेताहरूले पाउने पुरस्कार राशिमा पनि उल्लेख्य वृद्धि गरिने फिफाले जनाएको छ । नवौँ संस्करणका खेलहरू अस्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न १२ वटा सहरमा खेलाइने भएको छ । यसअघि महिला विश्वकपका खेलहरू यति धेरै सहरमा खेलाइएको थिएन । 

यस पटक रुसलाई भने छनोट प्रतियोगिता नै खेल्न दिइएन । सन् २०२२ को डिसेम्बरमा रुसमाथि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरी लगाइएको प्रतिबन्ध हटाइएको थियो । त्यसअघि प्रतिबन्धित औषधि प्रयोग गरेका कारण रुसमाथि प्रतिबन्ध लगाइएको थियो । तर, प्रतिबन्ध हटाइएपछि पनि रुसलाई महिला विश्वकपको छनोट खेल्न दिइएन । रुसले युक्रेनमाथि आक्रमण गरेको भन्दा युरोपेली फुटबल महासंघ (यूईएफए) ले रुसलाई विश्वकप छनोट खेल्न नदिएको हो ।

महिला विश्वकपको नवौँ संस्करणको उद्घाटन खेल जुलाई २० तारिखमा आयोजक न्युजिल्यान्ड र नर्वेबीच अकल्यान्डमा खेलिने छ । प्रतियोगिताको फाइनल खेल भने अस्ट्रेलियाको सिड्नीस्थित ओलम्पिक रंगशालामा खेलाउने कार्यक्रम रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप