कांग्रेसलाई यसरी गरिँदैछ अपडेट, महामन्त्रीद्वयले बनाए खाका
काठमाडौं । नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसको सांगठनिक र व्यवस्थापकीय पाटो ‘अपडेट’को तयारी भइरहेको छ । आगामी केन्द्रीय कार्यसमिति बैठकपछि पार्टीको सांगठनिक र व्यवस्थापकीय पक्ष चुस्तदुस्त बनाइने भएको हो ।
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा यसका लागि पछिल्लो समय पार्टी कार्यालय सानेपामा गृहकार्यमा व्यस्त छन् ।अब पार्टीको काम कारबाहीमा रूपान्तरण गरी नवीन ढंगले अगाडि बढ्ने गृहकार्य भइरहेको महामन्त्री विश्वप्रकाश शर्माले बताए । पछिल्लो समय यता महामन्त्रीद्वयले पार्टी संरचनाको पूर्णताका लागि सभापति शेरबहादुर देउवामाथि दबाब बढाएका छन् ।
२०७८ मंसिर २७ मा १४ औँ महाधिवेशन गरेको कांग्रेसले अहिलेसम्म पार्टी संरचनालाई पूर्णता दिएकोे छैन । जबकि कांग्रेसको विधानमा महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र सांगठनिक संरचनालाई पूर्णता दिनुपर्ने बाध्यात्मक व्यवस्था छ । तर, कांग्रेसमा पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्डसमेत अपुरो छ । १४ सदस्यीय पदाधिकारीमा कोषाध्यक्ष मनोनीत गर्नै बाँकी छ भने १६८ सदस्यीय केन्द्रीय समितिमा १५६ जना सदस्यमात्र छन् । सभापतिले १२ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ ।
पार्टी विधानअनुसार ४६ सदस्यीय कार्यसम्पादन समिति हुनुपर्नेमा अहिले ३६ सदस्यमा सीमित छ । २५ सदस्यीय संसदीय बोर्डमा पदाधिकारीमात्र छन् । यस्तै २८ वटा विभागमध्ये प्रचार विभाग मात्र गठन भएको छ ।बाँकी विभागआगामी केन्द्रीय समिति बैठक अघि गठन गर्ने देउवाको तयारी छ । विभागसँगै लथालिङ्ग अवस्थामा रहेको भ्रातृसंस्थामा पनि सुधार ल्याउन गृहकार्य भइरहेको छ ।
२०७८ फागुन ३ मा बसेको केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भ्रातृसंस्थाको कार्यसमिति भङ्ग गरेको थियो । साथै, बैठकले सोही फागुन मसान्तभित्र केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार सभापति देउवालाई दिएको थियो । सभापति देउवाद्वारा गत वर्ष फागुन ९ मा नेविसंघ, तरुण दल, असार १० मा नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ र साउन २६ मा नेपाल महिला संघमा सभापति मनोनीत गरिए पनि बाँकी भ्रातृसंस्थामा नेतृत्वसमेत आएको छैन ।
तदर्थ समितिलाई तीन तहको निर्वाचनको अन्तिम परिणाम आएको तीन महिनाभित्र अधिवेशन गर्नुपर्ने म्यान्डेट दिइएको थियो । गत मंसिरमा आमनिर्वाचन सम्पन्न भएकाले तदर्थ समितिले फागुनसम्म महाधिवेशन गरिसक्नुपर्ने थियो । तर, नेतृत्व पाएका भ्रातृसंस्थाले पूर्णतासम्म नपाएको अवस्था छ ।
यता नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल थारू संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाल भूतपूर्व सैनिक संघमा १५ महिनादेखि नेतृत्वसमेत छैन ।
यस्तै,कांग्रेस संसदीय दलमा उपनेता र सचेतक चयन हुन पनि बाँकी छ । उपनेतामा पूर्णबहादुर खड्का र सचेतकमा ईश्वरी न्यौपानेलाई मनोनीत गर्ने देउवाको तयारी छ । औपचारिक जिम्मेवारी नपाए पनि न्यौपानेले सचेतकको भूमिका निर्वाह गर्दै आएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।
कांग्रेसले संसदीय कार्यसमिति गठनको तयारी पनि थालेको छ । पार्टी संरचनालाई पूर्णता दिएर नीति तथा कार्यक्रमका साथ राष्ट्रिय जागरणको अभियान लिएर जनतामाझ जाने महामन्त्री शर्माको भनाइ छ ।
नीति अधिवेशनको तयारी
२०७८ मंसिरमा पार्टीको १४ औं महाधिवेशन गरेर नेतृत्व चुनेको कांग्रेसले १७ महिनापछि नीति तय गर्ने अधिवेशनको तयारी गरेको छ । कांग्रेसले भदौमा नीति अधिवेशन गर्ने गरी काम भइरहेको महामन्त्री थापाले बताए । उनका अनुसार आगामी केन्द्रीय कार्यसमिति बैठकले नीति अधिवेशनको मिति र स्थान तय गर्नेछ ।उनले भने, ‘नीति अधिवेशनअघि पार्टीलाई सांगठनिक रुपमा चुस्तदुरुस्त बनाउँछौं । अनि नीति अधिवेशनले कांग्रेसको आगामी कार्यदिशा पनि प्रस्ट पार्छ ।’
नीति अधिवेशनबाट टिकट वितरणको विधि बदल्ने सम्भवना छ । महामन्त्रीद्वय थापा र शर्मा पार्टीमा टिकट वितरणमा नयाँ विधिको मस्यौदा तयार पारिसकेका छन् । महामन्त्री थापाले भने, ‘कांग्रेसमा टिकट दिने काम केन्द्रमा केही नेता बसेर गरिँदै आएको छ । यसलाई परिवर्तन गरेर पार्टीका क्रियाशील सदस्यले उम्मेदवार छान्ने विधि बनाउने गरी नीति अधिवेशनमा एजेण्डा लैजान्छौं ।’
बैठकको नियमित तालिका
कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकको नियमित तालिका बनाउने भएको छ । महामन्त्रीथापाका अनुसार कुन महिनाको कति गते बैठक बस्ने भन्ने वार्षिक तालिका बन्नेछ ।
सभापति शेरबहादुर देउवाले करिब दश महिनासम्म पनि केन्द्रीय समिति बैठक नबोलाएपछि महामन्त्रीहरुले वार्षिक तालिका बनाएर बाँध्न थालेको देखिन्छ । सभापति देउवाले रुचि नदेखाउँदा गत भदौ ५ यता केन्द्रीय समिति बैठक बस्न सकेको छैन ।
नक्कली शरणार्थी प्रकरणमा न्यायिक हिरासतमा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाणको मुद्दा किनारा नलागी बैठक नबोलाउने देउवाको योजना छ । एक–दुई हप्ता खाणको मुद्दाको टुंगो लाग्ने भएकाले त्यसपछि मात्र केन्द्रीय समिति बैठक बोलाउने देउवाको तयारी छ ।उक्त बैठकबाट वर्षभर कुन महिनाको कति गते केन्द्रीय समिति बैठक हुने भन्ने तालिका बन्नेछ ।
‘त्यो बैठकले कांग्रेस केन्द्रीय समिति कुन महिनाको कति गते बस्ने भनेर वर्ष भरको तिथिमिति पनि निर्धारण गर्नेछ । केन्द्रीय समिति बैठक बसेन भन्ने गुनासा अब हट्छ,’ महामन्त्री थापाले भने । कांग्रेस विधानअनुसार हरेक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने व्यवस्था छ ।
पार्टीले मनाउनुपर्ने दिवसलाई संरचना अनुसारको मासिक क्यालेण्डरको निर्माण गर्ने तयारी गरिएको छ । महामन्त्री थापाका अनुसार पार्टीले मनाउनुपर्ने दिवसलगायतका विषयलाई क्यालेण्डरमा उल्लेख गरिने भएको छ । तीन–तीन महिनामा प्रकाशन हुने बुलेटिनमा समसामयिक, तीन तहका सरकारमा कांग्रेसको भूमिका, सांगठानिक विषय लगायतलाई समावेश गरिएको उनको भनाइ छ ।
महामन्त्री थापाका अनुसार जनगुनासो र जनसरोकारका विषय सुन्नका लागि छुट्टै डेस्कको स्थापना गरिनेछ । सामाजिक न्यायका लागि गरिएको आन्दोलनरत व्यक्ति वा पक्षले आफ्नो मुद्दाका विषयमा सोही डेस्कमार्फत् जानकारी गराउन सक्नेछन् ।
यस्तै,महामन्त्रीद्वयले कार्यालय सञ्चालन कार्यविधि र कर्मचारी विनियमावलीको मस्यौदा तयार गरिरहेका छन् । ‘कार्यालयमा आवश्यक कर्मचारी संख्या, कर्मचारीको नियुक्ति प्रक्रिया, पारिश्रमिक, सेवा/सुविधा लगायतका विषय समेटेर नियमावली तयार हुँदैछ,’ महामन्त्री थापा भन्छन्, ‘जागिर छोड्न चाहनेलाई उपदानको व्यवस्थासहित आर्थिक विनयमावली अन्तिम तयारीमा छ ।’
विनियमावलीमा काममा निरन्तरता दिन इच्छुकका लागि वृत्तिविकास, तलबमा पुनरावलोकन, विदा लगायतका विषय पनि समेटिने उनले बताए । उनका अनुसार दुई÷दुई वर्षमा तलब बढ्ने गरी विनियमावलीमा प्रस्ताव गरिएको छ ।
कर्मचारीका सेवा सुविधासम्बन्धी आर्थिक नियमावलीमा समावेश गर्नुपर्ने विषयहरुमा महामन्त्रीहरुले कार्यालयका कर्मचारीसँग छलफल गरेका थिए । महामन्त्री थापाले कार्यालय सञ्चालनका लागि निर्देशिका बनाउने प्रक्रिया पनि अघि बढेको बताए । ‘अभिलेखीकरणलाई डिजिटल गरिनेछ । तल्लो संरचनासँग सम्पर्कमा रहने केन्द्रीय कार्यालयमा छुट्टाछुट्टै कक्षको व्यवस्था गरिनेछ,’ महामन्त्री थापाले भने, ‘सातै प्रदेशलाई समन्वय गर्ने छुट्टै च्यानल बनाइने गरी काम भइरहेको छ ।’
यस्तै तीन तहका सरकारसँग समन्वय गर्ने डेस्क स्थापना हुनेछ । संसदीय समिति र पार्टीबीच समन्वय गर्ने ती निकायको अभिलेखीकरण गर्ने छुट्टै व्यवस्था गरिनेछ । भ्रातृ, शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिसम्बन्धीछुट्टै शाखा बनाइने छ ।
केन्द्रीय कार्यालयमा सातवटा शाखा हुने गरी कार्यालय सञ्चालन कार्यविधि बनेको छ । सात शाखामा अभिलेख तथा अनुसन्धान, सूचना, सञ्चार तथा प्रेस, प्रशासन, कार्यक्रम व्यवस्थापन र स्टोर, कानुन तथा अन्तर्राष्ट्रिय समन्वय र अनुगमन व्यवस्थापन शाखा रहेका छन् ।
कार्यालय सञ्चालनलाई व्यवस्थित बनाउन आर्थिक र खरिद कार्यविधि पनि बनेको छ । आगामी केन्द्रीय कार्यसमिति बैठकममा केन्द्रीय समितिबैठकले उक्त कार्यविधि प्रस्ताव गर्ने महामन्त्रीद्वयको तयारी छ। केन्द्रीय समितिले उक्त प्रस्ताव पारित गरेपछि कांग्रेसमा सांगठनिक र व्यवस्थापकीय सुधार देखिने महामन्त्रीहरुको दाबी छ ।
महामन्त्री शर्माका अनुसार पार्टीपंक्तिलाई प्रशिक्षण दिने, नयाँ पुस्तासँग संवाद गर्ने र पार्टीले सुरु गरेको डिजिटलाइजेसनलाई अझ प्रभावकारी रूपमा अघि बढाउने गरी काम भइरहेको छ ।
संगठन सुदृढीकरणका लागि केन्द्रीय तहका नेतालाई नै जिल्लामा पठाउने तयारी छ । कांग्रेसले केन्द्रीय र प्रदेश मन्त्री, स्थानीय तहमा कांग्रेसका प्रमुख र उपप्रमुखका कामको मूल्याङ्कन गर्ने नीति बनाउने छ ।
स्थानीय निर्वाचनको घोषणापत्र निर्माणको नेतृत्व गरेका महामन्त्री थापाले स्थानीय तहका प्रमुख र उपप्रमुखका कामको मूल्याङ्कन गर्नेछन् भने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको घोषणापत्र निर्माणको नेतृत्व गरेका अर्का महामन्त्री शर्माले संघका मन्त्री र प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीको मूल्याङ्कन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग यात्रा बलियो पार्दै मोनाको
-
मोदीका अतिप्रिय अडानीमाथि अमेरिकाले कारबाहीको डण्डा चलाएपछि...
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल