एमालेले देखेको पार्टीभित्रका समस्या र चुनौती : संगठनात्मक अराजकतादेखि दोहोरो जिम्मेवारीसम्म !
काठमाडौँ । नेकपा एमालेले पार्टीभित्रका चुनौती र समस्या पहिचान गरेको छ । सो पार्टीले गत २०७९ फागुन ५ देखि २०८० वैशाख ९ गतेसम्म सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) मार्फत पार्टीका समस्या र चुनौतीहरू पहिचान गरेको हो ।
गत मंसिरमा सम्पन्न निर्वाचनमा अपेक्षित नतिजा नआएपछि २०७९ माघ २५ गते सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकबाट दुई महिने ‘मिसन ग्रासरुट’ सञ्चालन गर्ने निर्णय गर्दै एमाले नेताहरू फागुनदेखि वैशाखसम्म वडा तहसम्म पुगेर समस्या पहिचान गरेका थिए ।
‘मिसनग्रास रुट’ अभियानका लागि ७ उद्देश्य तय गरेको एमालेले देशभरका सबै पालिकाहरूमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई १२ वटा कार्यादेश दिएको थियो । कार्यादेशअनुसार केन्द्रीय सचिवको नेतृत्वमा प्रत्येक प्रदेशमा टोलदेखि प्रदेशसम्म पुगेर गरिएका रिपोर्टका आधारमा पार्टीभित्रका बढेका समस्या र चुनौती पहिचान गरेको एमालेले जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ २३ गते मंगलबार जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी–७) मा पार्टी भित्र देखिएका समस्या र सम्बोधनका उपायहरू समावेश छन् । पहिलो चरणको ‘मिसन ग्रासरुट’ अभियानबाट उत्साहित एमालेले पार्टी र नेता कार्यकर्तालाई चलायमान बनाउन सहयोग पुगेको निष्कर्षसहित सोही प्रकृतिको कार्यक्रमलाई निरन्तरता दिने निर्णय समेत गरेको छ । त्यस अन्तर्गत एमालेले सबै केन्द्रीय नेताहरूको जिम्मेवारीमा समेत हेरफेर गरेर पार्टीलाई आगामी निर्वाचनमा फिप्टीवान प्लसमा पुर्याउने उद्देश्य राखेको छ ।
सैद्धान्तिक र वैचारिक समस्या
एमालेले पहिचान गरेको समस्याअन्तर्गत सैद्धान्तिक र वैचारिक समस्या पहिलो छ । जस अन्तर्गत पार्टी नेता कार्यकर्ताहरूमा विचारधारात्मक काममा कमी देखिन्छ भने कतिपय नेता÷कार्यकर्ताहरूमा पार्टीका विचार र सिद्धान्तमा चासो नै नरहेको पनि पाइएको छ । कतिपय पार्टी कमिटीहरूमा प्रशिक्षणहरू यथोचित नभएको र पार्टीपङ्क्तिमा संगठनात्मक अराजकता बढेको एमालेको अन्तरपार्टी निर्देशनमा उल्लेख छ ।
घात–अन्तर्घातको समस्या
एमालेले आफ्नै पार्टीबाट निर्वाचित कतिपय जनप्रतिनिधिहरूको कामकारबाही समेत सन्तोषजनक नरहेको निष्कर्ष निकालेको छ ।
‘समाजवादको आधार निर्माण गर्ने पार्टीको राजनीतिक कार्यदिशासँग जनप्रतिनिधिको भूमिकालाई जोड्न नसकिएको, जसका कारण विगतमा जितेका पालिकाहरूमा पनि पराजय व्यहोर्नु परेको छ’, एमालेले जारी गरेको निर्देशनमा भनिएको छ । ‘निर्वाचनमा उम्मेदवारी छनोटका आधारहरूबारे कार्यकर्तामा प्रष्टता नभएको, निर्वाचनमा आफ्नै पार्टीको बागी उम्मेदवार बन्ने र घात–अन्तर्घात गर्ने समस्या देखापरेको, आफू उम्मेदवार भए पार्टीको उम्मेदवार, अरू भए नातावाद कृपावादबाट उम्मेदवारी पाएको जस्ता आरोप लगाउने प्रवृत्ति र व्यक्तिवादी–अहङ्कारी सोच देखापरेको छ’, एमालेले भनेको छ । साथै पार्टी प्रवेशको महत्त्व बुझ्ने र प्रवेशीहरुलाई जिम्मेवारी दिने कुरामा सङ्कीर्णता देखापरेको र पुराना कार्यकर्ता र नवप्रवेशीहरुको जिम्मेवारीमा सन्तुलन मिलाउने कुरामा कमी आएको एमालेको ठहर छ ।
सांगठानिक कामकै छैन अभिलेख
सामान्य बुझाइमा नेपालका राजनीतिक पार्टीहरूमध्ये व्यवस्थित पार्टीका रूपमा एमालेलाई लिने गरिन्छ । तर एमालेले सांगठानिक समस्या यथावत् रहेको निष्कर्ष निकालेको छ ।
‘साङ्गठानिक क्षेत्रमा नयाँ सदस्यता वितरण, नवीकरण, लेबी सङ्कलन, भेला प्रशिक्षणजस्ता कामहरूमा शिथिलता आएको एमालेले जनाएको छ ।
‘सदस्यताको महत्त्व बुझ्ने बुझाउने कुरामा कमी, पार्टी सदस्यताको फारम भरेको लामो समयसम्म पनि त्यससम्बन्धी प्रक्रिया पुरा नहुने, सदस्यता कार्ड प्राप्त नहुनेजस्ता कारणले नयाँ फाराम भर्नेहरूमा उत्साह नदेखिएको’, एमालेले समस्या पहिचान गर्दै भनेको छ । साथै यस्ता विषयहरूको व्यवस्थित अभिलेख नभएको, कतिपय जनप्रतिनिधि पार्टी कमिटीको मातहत हुन नचाहने र कतिपय निर्वाचित प्रतिनिधिले पार्टीका कार्यकारी पद समेतको दोहोरो भूमिकामा रहने कुराले पार्टी कमिटी र जनप्रतिनिधिबीच दूरी बढेको, पार्टी र जनसङ्गठनका विभिन्न कमिटीमा दोहोरो जिम्मेवारी लिने तर दुवैतिर जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति बढेको पनि एमालेले जनाएको छ ।
एमालेले कतिपय स्थानमा कमिटी सदस्यबीच आन्तरिक एकता, विश्वासको कमी र गुटगत व्यवहार देखापरेको भन्दै केही कमिटीहरू गठनका क्रममा विधानको व्यवस्थालाई नाघ्ने काम समेत गरिएको जनाएको छ । कतिपय स्थानमा नियमित पार्टी काम (बैठक, छलफल, अधिवेशन) नहुने, केही कमिटीमा बैठक बस्न कोरम नै नपुग्ने स्थिति, वडा कमिटीका बैठकहरू नियमित नभएको, वडा तथा टोलमा बैठकका एजेन्डा बनाउने कुरामा अन्योल, पार्टीमा युवा सहभागिता न्यून हुँदै गएको, माथिल्लो कमिटीबाट अतिथि बन्नेको सङ्ख्या अधिक हुँदा आसनग्रहणको लिस्ट लामो र पट्यारलाग्दो हुने देखिएको एमालेले जनाएको छ ।
एमालेका कतिपय नेतामा लामो भाषण गरेर हिँडिहाल्ने प्रवृत्तिको पनि एमालेले कमजोरी ठानेको छ । स्थानीय कमिटीमै पनि सदस्यहरू पूरा अवधि बैठकमा नबस्ने प्रवृत्ति देखिएको, नेताहरूको सामाजिक अभियानहरू र काममा संलग्नता घट्दै गरेको, पार्टी नेता र जनताबीचको सम्बन्ध पातलो बन्दै गएको अवस्थालाई एमालेले कमजोरी ठानेको छ ।
अधिवेशनदेखि अधिवेशनमा सीमित !
उपत्यका आसपासका भूगोल कमिटीमा आबद्ध कतिपय नेताहरूमा एउटा बैठकदेखि अर्को बैठकसम्म र एउटा अधिवेशनदेखि अर्को अधिवेशनमा मात्र भूगोलमा उपस्थिति रहने गरेको एमालेको ठहर छ । ‘सम्भावनायुक्त नेताहरूको खोजी (लिडरसीप हन्ट) गर्न र त्यस्ता व्यक्तिहरूलाई योजनाबद्ध रूपमा नेतृत्वमा विकास गर्न समुचित ध्यान नपुगेको, भूगोलका पार्टी कमिटी र सम्पर्क, विशेष प्रदेश या जनसङ्गठनको कामको क्षेत्रबीच समुचित समन्वयको अभाव देखापरेको, महिला, दलित, जनजाति, मधेसी, दुर्गम क्षेत्र, अपाङ्गता भएका व्यक्तिलगायतलाई नेतृत्वमा विकास गर्न समुचित ध्यान पुर्याउन नसकिएको’, एमालेको अन्तरपार्टी निर्देशनमा औल्याइएको छ ।
प्रवृत्तिगत समस्या : नेतामा रुखो व्यवहार
एमालेले कतिपय नेता कार्यकर्ताहरूमा रुखो व्यवहार देखाउने प्रवृत्तिगत समस्या रहेको जनाएको छ ।
त्यसका कारण पार्टीभित्र देखा पर्न सक्ने अन्तर्विरोधको समाधानमा समुचित ध्यान नपुगेको र जनसङ्गठनहरुलाई सङ्गठनात्मक स्वायत्तता र पार्टीको वैचारिक नेतृत्वका आधारमा सञ्चालन गर्ने कुरामा कमी पनि कमी रहेको एमालेले जनाएको छ ।
‘दक्षिणपन्थी अवसरवाद, सङ्कीर्णतावाद, व्यक्तिवाद र अवसरवाद विरुद्धको सङ्घर्ष आवश्यक मात्रामा सशक्त बन्न नसकेको, विचार, शैली र आचरणमा जनमुखी परिवर्तन गर्न पर्याप्त काम हुन नसकेको’, एमालेले भनेको छ, ‘कतिपय नेताहरू सरल र व्यवहारिक नभएका, कार्यकर्तासँग रुखो व्यवहार देखाउने, आफूले सम्मान खोज्ने तर अरुलाई उचित सम्मान नगनर्,े परिणाम होइन मञ्च मात्र खोज्ने प्रवृति देखिएको ।’
...अन्य समस्या
यी बाहेक एमालेले पार्टीभित्र अन्य समस्या पनि पहिचान गरेको छ । जसमा सामाजिक सत्तामा पार्टीको वर्चस्व कायम हुन नसकेको, जनजीविकाका सवालमा पर्याप्त सक्रियता र संवेदनशीलता नदेखिएको, कतिपय सदस्यहरूले आफ्नो विज्ञता र क्षमताअनुरूप उपयुक्त जिम्मेवारी नपाएको, निर्वाचन प्रणाली अत्यन्त खर्चिलो भएको, सामान्य कार्यकर्ताले धान्नै नसक्ने स्थिति बनेको र अधिकांश उम्मेदवारहरू ऋणमा रहेको एमालेको भनाइ छ । साथै निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने सुझाव आएको र निर्वाचनमा गरिएको प्रतिबद्धता कार्यान्वयन हुननसकेको जनगुनासो उठ्ने गरेको एमालेले जनाएको छ ।
मिसन ग्रासरुट अभियानमा केन्द्रीय जिम्मेवारी पाएका केही नेताहरूले नै तोकिएका जिम्मेवारी र काम पूर्णरुपमा सम्पन्न गर्न नगरेको समेत पाइएको एमालेले जनाएको छ । ‘प्रदेश र जिल्ला तहबाट नेतृत्व लिने केही कमरेडहरू कार्यक्षेत्र पुग्न नसकेको समेत पाइयो’, एमालेले भनेको छ, ‘एकैव्यक्तिले संसदीय फाँट र पार्टीको सङ्गठन सञ्चालन गर्न खोज्दा कठिनाइ भएको देखियो ।’
साथै एमालेको सो अभियानमा युवाहरूको उपस्थिति कतिपय ठाउँमा नगन्य रहेको र पार्टी सङ्गठनमा समेत युवा सहभागिता न्यून भएकाले युवालाई पार्टीमा सङ्गठित गर्ने, परिचालित गर्ने र जिम्मेवारी दिनुपर्ने निर्णय पनि एमालेले गरेको छ ।
अब के गर्छ त एमाले ?
एमालेले पहिचान गरेका समस्याहरूलाई समाधान गर्दै अगाडी बढ्नुपर्ने निष्कर्ष निकालेको छ । त्यसो गर्दा नेकपा (एमाले)लाई बलियो र बहुमत प्राप्त पहिलो शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य हासिल गर्न सकिने एमालेको विश्वास छ । समस्या समाधान गर्न एमालेले पहिचान भएका समस्यामाथि आधारित रहेर वार्षिक कार्ययोजना निर्माण गरेको जनाएको छ । ‘अभियानका क्रममा जनतासँग प्रत्यक्ष सरोकार राख्ने अनेकौँ मुद्दाहरूको पहिचान भएको छ, जसका आधारमा हामीले आगामी दिनमा सदन र सडकबाट सशक्त जनदबाब सिर्जना गर्नेछौँ’, एमालेले भनेको छ ।
सदस्यता शुद्धीकरणमा निर्मम
एमालेले एक वडामा सदस्यको अनुपात कम्तीमा ३ प्रतिशत’ कार्यक्रम चलाउने भएको छ । जसमा सदस्यता शुद्धीकरण, नवीकरण, विस्तार र तथ्याङ्क शुद्धीकरणलाई तीव्रता दिने भएको छ । त्यसका लागि प्रदेशमा कारणवश नवीकरण छुटेकाहरूको आवेदनमाथि असार १५ सम्म जिल्ला कमिटीले आवश्यक निर्णय गरिसक्नेछ । ‘नयाँ निर्णय भएका सदस्य, नवीकृत सदस्य र नयाँ सदस्यसहित सम्पूर्ण सदस्यहरूको विवरण प्रदेशमार्फत असार मसान्तसम्म केन्द्रीय संगठन विभागमा पठाउने । संगठन विभागले यथाशीघ्र सदस्यता अद्यावधिक गरी प्रमाणीकरण गर्ने’, एमालेले भनेको छ, ‘विवरणको ढाँचा पहिले नै पठाइ सकिएको छ ।’
एमालेले आगामी निर्वाचनमा ‘मिसन–१५०’ पुरा गर्न प्रदेश÷प्रदेशमा कूल मतदाताको ६∞ र प्रत्येक वडा २ काम गर्नेलाई ‘प्रोत्साहन’ र गर्न नसक्नेलाई ‘सम्मानसहित बिदा’ योजना पनि अघि सारेको छ ।
लगातार तीन बैठकमा नआए बिदाबारी
सूचना पाएर पनि बिना कारण लगातार ३ बैठकमा अनुपस्थित हुनेहरूलाई एमालेले सम्बन्धित कमिटीबाट बिदा गर्ने भएको छ । त्यस्तै भद्दा कमिटीलाई छरितो तुल्याउन पदाधिकारीबाहेकका रिक्त स्थानमा सकेसम्म नयाँ सदस्य नथप्ने भएको छ । ‘बैठकदेखि बैठकसम्म’ मात्र आफ्नो उपस्थिति जनाउने तर काममा नजुट्ने सदस्यहरूलाई सक्रिय हुन समय तोक्ने र तोकिएको जिम्मेवारी पूरा नगरे सचेत गराउने, स्पष्टीकरण माग्ने र कमिटीबाट स–सम्मान बिदा गर्ने योजना अघि सारेको छ । काम ‘गर्नेलाई प्रोत्साहित’ र काम ‘गर्न नसक्नेलाई सम्मानसहित जिम्मेवारीबाट बिदा गर्ने’ परिपाटीलाई क्रमशः बलियो बनाउँदै लैजाने एमालेले जनाएको छ ।
अधिवेशन आयोजक कमिटी गठन
प्रणालीअनुरूप कमिटी सञ्चालन गर्न र विद्यमान भद्दा कमिटीमा गुणात्मक सुधार गर्न एमालेले अधिवेशनहरू आयोजना गर्ने भएको छ । त्यसका लागि प्रदेश अधिवेशनको व्यवस्थापनको जिम्मेवारी पदाधिकारीहरू र जिल्ला अध्यक्षलाई प्रदान गर्ने भएको छ । संगठन कमिटी भएकाले प्रदेश कमिटीका सदस्यहरू समेत प्रतिनिधिमा चुनिएर आउने व्यवस्था गर्ने र सदस्यता प्रमाणीकरणको काम सम्पन्न भएसँगै अधिवेशनको तयारी सुरु थाल्ने एमालेले जनाएको छ । ‘सबै प्रदेश अधिवेशन आगामी भदौ महिनाभित्र आयोजना गर्ने’, एमालेले निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी