नेपाली खेलकुद : न दक्ष प्रशिक्षक न त आधुनिक प्रशिक्षण शैली !
काठमाडौँ । विश्व खेलकुदमा एउटा भनाइ निकै चर्चित छ, ‘हरेक खेलाडीले जित्ने पदकमा एउटा दक्ष प्रशिक्षकको छायाँ प्रतिविम्बित हुन्छ ।’ यसको अर्थ हो, खेलाडीको हरेक सफलता वा असफलतासँग उसको प्रशिक्षक अभिन्न रुपमा जोडिएको हुन्छ ।
खेलाडीलाई खेल कौशल सिकाउने, उनीहरूको कमजोरी पत्ता लगाएर त्यसमा सुधार ल्याउने, उपयुक्त पोजिसनमा सही खेलाडीलाई खेलाउने, खेलाडीको स्वास्थ्यमा विशेष ध्यान दिने, खेलाडीको व्यवस्थित खानपिनमा ध्यान पु¥याउने अनि, बेलाबखत विश्व खेलकुदमा परिवर्तन भइरहने खेलका नियमहरुबारे खेलाडीलाई अवगत गराउनेजस्ता विभिन्न भूमिकामा सक्रिय रहन्छन्, प्रशिक्षक ।
खेलाडी काँचो माटो हुन् भने प्रशिक्षक कुशल मूर्तिकार । विश्व खेलमञ्चमा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेर पदक जितेको सबैले देख्छ । अब्बल प्रदर्शन गरेपछि एउटा खेलाडीले हजारौँ/लाखौँ समर्थकको प्रसंशा पाउँछ । देशको प्रतिष्ठा बढाएकोमा खेलाडी पुरस्कृत पनि हुन्छ । विश्व खेलकुदमा यो नियमित प्रक्रिया पनि हो ।
पक्कै पनि, खेल मैदानमा प्रतिस्पर्धा गरेर पदक जित्ने खेलाडीले नै हो । तर, प्रत्येक सफल खेलाडीको पछाडि एउटा क्षमतावान् प्रशिक्षकको हात रहेको हुन्छ । सायद त्यसैले नै दक्ष र प्रतिभाशाली खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रशिक्षकलाई ‘पर्दा पछाडिको नायक’ भनिएको होला । त्यसैले विश्व खेलकुदमा प्रशिक्षकको भूमिका महत्त्वपूर्ण रहन्छ । नेपाली खेलकुद पनि यसको अपवाद रहन सक्दैन । तर, नेपाली खेलकुदमा विगतदेखि नै प्रशिक्षकको भूमिकालाई खासै महत्त्व दिने गरेको पाइँदैन ।
तुलनात्मक रुपमा विगतमा नेपाली खेलकुदमा क्षमतावान् प्रशिक्षकको बाहुल्य थियो । खेलाडीहरुले पनि अनुभवी र दक्ष प्रशिक्षकको रेखदेखमा प्रशिक्षित हुने अवसर पाएका थिए । कुनै समय नेपाली खेलकुदमा भारतको पटियाला (नेताजी सुभाष राष्ट्रिय क्रीडा संस्थान), जर्मनी, रुसलगायतका स्थानबाट प्रशिक्षण कोर्स गरेर आएका प्रशिक्षकको दबदबा थियो ।
खेलकुद व्यवस्थापनले आफ्ना प्रशिक्षकहरुलाई नियमित रूपमा वैदेशिक प्रशिक्षणमा पठाएर उनीहरूको सीप तिखार्ने काम गथ्र्यो । त्यसैको प्रत्यक्ष प्रभाव विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको प्रदर्शनमा झल्किन्थ्यो ।
खेलाडी धेरै, प्रशिक्षक निकै कम
अघिल्लो वर्ष असोजमा गण्डकी प्रदेशका विभिन्न जिल्लामा वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भयो । प्रतियोगितामा विभिन्न ११ वटा टोलीका खेलाडी सहभागी थिए । पुरुषतर्फ तीन हजार चार सय १४ र महिलातर्फ दुई हजार सात सय १३ गरी कुल ६ हजार एक सय २७ जना खेलाडीले उक्त वृहत राष्ट्रिय खेलकुदमा सहभागिता जनाएका थिए ।
नेपाली खेलकुदमा विगतदेखि नै प्रशिक्षकको भूमिकालाई खासै महत्त्व दिने गरेको पाइँदैन ।
त्यसअघि वृहत राष्ट्रिय खेलकुदका लागि सातवटै प्रदेशमा छनोट प्रतियोगिता आयोजना भएको थियो । प्रदेशस्तरीय छनोट प्रतियोगितामा पनि हजारौँ खेलाडीले भाग लिएका थिए । गण्डकीमा भएको छनोट प्रतियोगितामा मात्र करिब तीन हजार पाँच सय खेलाडी सहभागी भएका थिए । अन्य प्रदेशमा पनि यही हाराहारीमा खेलाडीले भाग लिएका थिए ।
प्रदेशस्तरीय छनोटअघि देशका ७७ वटै जिल्लामा पनि छनोट प्रतियोगिता आयोजना भएका थिए । जिल्लास्तरीय छनोट प्रतियोगितामा पनि निकै ठूलो संख्यामा खेलाडीले सहभागिता जनाएका थिए । यसको अर्थ, देशभर लाखौँको संख्यामा सक्रिय खेलाडी छन् ।
तर, यति ठूलो संख्यामा रहेका खेलाडीको क्षमता तिखार्ने प्रशिक्षकको संख्या भने अत्यन्तै कम छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पछिल्लो तथ्याङ्क अनुसार, हाल राखेपमा तीन सय ३७ जनामात्र स्थायी प्रशिक्षक छन् ।
पछिल्लो ३४ वर्षको अवधिमा राखेपमा कार्यरत दक्ष स्थायी प्रशिक्षकहरु निरन्तर घट्नेक्रममा छन् ।
यसका अतिरिक्त राखेपसँग ८३ जना करारका प्रशिक्षक छन् । यही चार सय २० जना प्रशिक्षकले अहिले देशभरको खेलकुदलाई चलायमान बनाउनु पर्ने बाध्यता छ । यही प्रशिक्षकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दक्ष खेलाडी उत्पादन गर्नुपर्ने हुन्छ ।
राखेपको यो तथ्याङ्कलाई हेर्दा पछिल्लो समय नेपाली खेलकुदमा दक्ष र अनुभवी प्रशिक्षको अभाव खड्कँदै गएको देखिन्छ । लामो समयदेखि प्रशिक्षकलाई वैदेशिक प्रशिक्षणमा पठाउने कार्य अवरुद्ध भएको छ । त्यसैले पनि नेपाली खेलकुदमा दक्ष प्रशिक्षक तयार हुन सकिरहेका छैनन् ।
कसरी हुन्छ खेलाडी उत्पादन ?
खासगरी २०४६ सालको राजनीतिक परिवर्तनपछि प्रशिक्षकलाई वैदेशिक प्रशिक्षणमा पठाउने कार्यमा कमी आउन थालेको देखिन्छ । पछिल्लो ३४ वर्षको अवधिमा राखेपमा कार्यरत दक्ष स्थायी प्रशिक्षकहरु निरन्तर घट्नेक्रममा छन् ।
निकैअघि विदेशमा प्रशिक्षण कोर्स गरेर आएका प्रशिक्षकहरु राखेपबाट सेवानिवृत्त हुने क्रम बढेपछि त्यसको प्रत्यक्ष असर खेलाडी उत्पादनमा परेको छ । एकातिर पुराना प्रशिक्षक क्रमशः सेवानिवृत्त हुँदै जाने, अर्कोतिर नयाँ प्रशिक्षक उत्पादन प्रक्रिया अवरुद्ध हुने स्थिति आएपछि नेपाली खेलकुदमा दक्ष प्रशिक्षकको अभाव देखिन थालेको हो ।
दक्षिण एसियाली खेलकुद (साग)जस्ता क्षेत्रीय प्रतियोगिताहरुमा नेपालको उपस्थिति सन्तोषजनक नै छ । तर, एसियाली खेलकुदमा सहभागिताको ७२ वर्ष बितिसक्दा पनि नेपालले पदक तालिकामा स्वर्ण पदकको यात्रा तय गर्न सकेको छैन ।
एकातिर देशभित्रै अहिलेसम्म दक्ष प्रशिक्षक उत्पादन गर्ने क्षमता विकास हुन सकेको छैन ।
ओलम्पिक, विश्व च्याम्पियनसिपजस्ता ठूलो प्रतियोगितामा पदक जित्नु त नेपालका लागि अझै पनि ‘एकादेशको कथा’ नै सावित हुँदै आएको छ । ओलम्पिक खेलकुदमा त अपबादलाई छाड्ने हो भने अझै पनि नेपालको सहभागिता ‘वाइल्ड कार्ड’ कै आशमा टिकेको छ । तेक्वान्दो खेलाडीले छनोट चरण पार गरेर ओलम्पिक खेलेको पनि लामै समय बितिसकेको छ ।
खेलाडीले ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा सन्तोषजनक प्रदर्शन गर्न नसक्नुको प्रमुख कारण भनेको दक्ष प्रशिक्षकको कमी र आधुनिक प्रशिक्षण शैलीको अभाव नै हो । एकातिर देशभित्रै अहिलेसम्म दक्ष प्रशिक्षक उत्पादन गर्ने क्षमता विकास हुन सकेको छैन भने अर्कोतिर लामो समयसम्म प्रशिक्षकलाई वैदेशिक प्रशिक्षणमा पठाउने प्रक्रिया अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष मार खेलाडीको प्रदर्शनमा पर्नु स्वभाविक हो ।
विश्व खेलकुदमा वैज्ञानिक प्रशिक्षण प्रणाली भित्रिएको लामै समय बितिसकेको छ । विभिन्न खेलका प्रशिक्षकले प्रशिक्षणका लागि नयाँ/नयाँ शैली अनपाउँछन् । नियमित अभ्यास, शारीरिक अवस्थादेखि लिएर खेलाडीको खानपिनसम्ममा विभिन्न अनुशन्धान हुन्छन् । सोही अनुसार, खेलाडीको प्रशिक्षण अगाडि बढाइन्छ ।
कुनै समय राखेपमा ६ सय ६० जना प्रशिक्षक कार्यरत थिए । त्यति बेला खेलाडीको संख्या पनि निकै कम थियो ।
तर, नेपाली खेलकुदमा यसका लागि न दक्ष प्रशिक्षक छन् न त आधुनिक शैलीको प्रशिक्षणका लागि आवश्यक पूर्वाधार नै । स्वभाविक रुपमा, प्रशिक्षक जति दक्ष बन्यो, उसले उत्पादन गर्ने खेलाडी पनि त्यत्तिकै प्रतिभाशाली हुन्छन् । क्षमतावान् प्रशिक्षकको अनुपस्थितिमा ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले सफलता हात पारेको उदाहरण विश्व खेलकुदमा पाउन मुश्किल छ ।
अझ खेलकुदलाई उच्च प्राथमिकतामा राखिने देशहरुमा त खेलाडीहरुले आफ्नो छुट्टै प्रशिक्षक राख्ने प्रचलन पनि छ । खासगरी व्यक्तिगत रुपमा खेलिने खेलका खेलाडीले आफ्नै लगानीमा क्षमतावान प्रशिक्षकहरु नियुक्त गरेका हुन्छन् । तर, चरम आर्थिक समस्यासँग जुध्न बाध्य नेपाली खेलाडीका लागि त यो ‘आकाशको फल’ बराबर छ ।
कुनै समय राखेपमा ६ सय ६० जना प्रशिक्षक कार्यरत थिए । त्यति बेला खेलाडीको संख्या पनि निकै कम थियो । पछिल्लो समय देशव्यापी रूपमा खेलाडीको संख्या बढेको छ । व्यावसायिक बन्ने क्रममा अग्रसर नेपाली खेलकुदमा आफ्ना सन्तानको भविष्य उज्ज्वल देख्ने अभिभावकको संख्या पनि क्रमशः बढ्दो छ ।
तर, अर्कोतिर राखेपमा कार्यरत प्रशिक्षकको संख्या भने निरन्तर घट्दो छ । हाल राखेपमा भएका प्रशिक्षकमध्ये पनि विदेशमा प्रशिक्षणको कोर्स गरेर फर्किएकाभन्दा खेलाडीको भूमिकाबाट अनुभवका आधारमा प्रशिक्षक बनेकाहरूको संख्या अधिक छ । विदेशमा छुट्टै प्रशिक्षणको कोर्ष गरेर फर्किएका प्रशिक्षकको संख्या निकै कम छ । अवस्था यस्तै रहने हो भने अबको केही वर्षभित्रै राखेपमा वैदेशिक प्रशिक्षण गरेर फर्कने प्रशिक्षकको संख्या एक अंकमा घट्ने अवस्था देखिन्छ ।
खेलाडी उत्पादन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी तयार पार्ने जिम्मेबारी राखेपअन्तर्गतको तालिम तथा प्रशिक्षण विभागले निर्वाह गर्नुपर्ने हुन्छ । तर, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा प्रशिक्षकको संख्या निरन्तर घट्दै गएकोमा चिन्तित देखिन्छन् ।
‘प्रतिभाशाली खेलाडी उत्पादन गर्ने भनेको प्रशिक्षकले नै हो । कुनै समय राखेपमा ६ सय ६० जना प्रशिक्षक थिए तर, अहिले प्रशिक्षकको संख्या निकै कम छ,’ शर्मा भन्छन्, ‘सिमित प्रशिक्षकबाट देशभरका खेलाडीको प्रशिक्षण धान्नु पर्ने अवस्था छ ।’
देशभरबाट विभिन्न खेलका प्रशिक्षकको माग भए पनि भनेको समयमा प्रशिक्षक उपलब्ध गराउन नसकिएको बताउँछन् । ‘नियमित रुपमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पनि प्रशिक्षण सञ्चालन गर्नुपर्ने हुन्छ । देशभरबाट प्रशिक्षकको माग हुन्छ तर, भनेको समयमा प्रशिक्षक उपलब्ध गराउन सकिंदैन,’ निर्देशक शर्मा भन्छन् । उनी यस्तो अवस्थामा सम्बन्धित खेलका संघहरु अझ बढी जिम्मेबार बन्नुपर्ने धारणा ब्यक्त गर्छन् ।
छैनन् प्रथम श्रेणीका प्रशिक्षक, दोस्रो श्रेणी पनि रित्तिदै
क्षमतावान प्राविधिक जनशक्तिका रूपमा चिनिने प्रथम श्रेणीका प्रशिक्षक कुनै समय राखेपमा २२ जना थिए । तर, अहिले राखेपसँग एकजना पनि प्रथम श्रेणीका प्रशिक्षक छैनन् । राखेपअन्तर्गतको तालिम तथा प्रशिक्षण विभागका पूर्वउपनिर्देशक नवीन उप्रेती र जयन्तकुमार शर्मा सेवा निवृत्त भएसँगै राखेपमा प्रथम श्रेणीका प्रशिक्षक रित्तिएका हुन् ।
यसैगरी, हाल राखेपमा दोस्रो श्रेणीका प्राविधिक १८ जनामात्र छन् । दुई वर्षअघिसम्म राखेपमा दोस्रो श्रेणीका प्रशिक्षकको संख्या ४९ थियो । दुई वर्षको अवधिमा दोस्रो श्रेणीका ३१ जना प्रशिक्षक सेवा निवृत्त भइसकेका छन् ।
यसैगरी हाल राखेपमा तेस्रो श्रेणीका ६३ जना प्रशिक्षक बाँकी छन् । दुई वर्षअघिसम्म राखेपमा ९४ जना तृतीय श्रेणीका प्रशिक्षक कार्यरत थिए । दुई वर्षको अवधिमा तृतीय श्रेणीका ३१ जना प्रशिक्षक सेवा निवृत्त भएका छन् । यसरी निरन्तर रुपमा दक्ष प्रशिक्षणहरु सेवा निवृत्त भए पनि त्यो स्थानमा नयाँ प्रतिभाशाली प्रशिक्षक ल्याउन राखेप नेतृत्व उदासिन देखिन्छ ।
खेलाडी जीवनबाट सन्यास लिएका पूर्वखेलाडीलाई तीन महिनाको सामान्य प्रशिक्षण दिनेबाहेक राखेपसँग प्रशिक्षक उत्पादनको कुनै ठोस योजना पनि छैन ।
यसैगरी हाल राखेपमा दुई सय ५६ जना प्रथम श्रेणीका सहायक प्रशिक्षक कार्यरत छन् । पछिल्लो तथ्याङ्कलाई हेर्दा अबको केही वर्षभित्रै नेपाली खेलकुदले प्रशिक्षकको थप अभाव झेल्नुपर्ने निश्चित देखिन्छ ।
१८६ खेल संघ, ३० खेलका मात्र प्रशिक्षक
राखेपमा हाल करिब दुई सयको हाराहारीमा खेल संघहरु दर्ता रहेका छन् । तर, राखेपसँग अहिले ३० खेलका मात्रै प्रशिक्षक छन् । प्रतिभाशाली खेलाडी तयार पार्ने मुख्य आधारका रूपमा रहेका दक्ष प्रशिक्षक उत्पादनमा राखेपले लामो समयदेखि कुनै लगानी गरेको छैन ।
खेलाडी जीवनबाट सन्यास लिएका पूर्वखेलाडीलाई तीन महिनाको सामान्य प्रशिक्षण दिनेबाहेक राखेपसँग प्रशिक्षक उत्पादनको कुनै ठोस योजना पनि छैन । अर्कोतिर राखेपमा दरबन्दीको विषयलाई लिएर पनि लामो समयदेखि अन्यौल देखिन्छ ।
एकातिर प्राविधिक कर्मचारी घट्दै गएका छन् भने अर्कोतिर रिक्त रहेको स्थानमा नयाँ कर्मचारी नियुक्त हुन सकेका छैनन् । एकातिर खेलाडीको चाप बढ्दै जाने अर्कोतिर प्रशिक्षकको दरबन्दी बढाउनुको सट्टा अझ घट्दै जाने प्रवृत्ति खेलकुद विकासका लागि अर्को बाधक बन्न पुगेको छ ।
सोही कारणले राखेपमा २०६१ सालपछि राखेपमा स्थायी नियुक्त हुन सकेको छैन । २०६४ सालदेखि नियमित बढुवा प्रक्रिया पनि अवरुद्ध छ । प्रशिक्षकको अभावकै कारण अधिकांश जिल्लामा खेलाडी उत्पादनको कामसमेत अवरुद्ध बनेको छ । अहिले पनि थुप्रै जिल्लामा खेलअनुरूप प्रशिक्षक छैनन् ।
कुन खेलका कति प्रशिक्षक ?
हाल राखेपसँग स्थायी र करारका गरी कुल चार सय २० जना प्रशिक्षक छन् । त्यसमध्ये तीन सय ३७ जना स्थायी प्रशिक्षक हुन् । राखेपसँग प्रथम श्रेणीका एकजना पनि प्रशिक्षक छैनन् । द्वितीय श्रेणीका १८ र तृतीय श्रेणका ६३ जना प्रशिक्षक छन् । स्थायीतर्फ प्रथम श्रेणीका सहायक प्रशिक्षक दुई सय ५६ जना छन् । राखेपसँग करारका ८३ जना प्रशिक्षक छन् ।
स्थायी र करार गरी सबैभन्दा बढी प्रशिक्षक करातेका छन् । करातेमा एक सय २१ स्थायी र १६ करार गरी कुल एक सय ३७ जना प्रशिक्षक कार्यरत छन् । स्थायीमध्ये द्वितीय श्रेणीका चार, तृतीय श्रेणीका नौ र सहायक प्रशिक्षक एक सय आठजना छन् ।
यसैगरी करातेपछि बढी प्रशिक्षक तेक्वान्दोमा छन् । तेक्वान्दोमा स्थायी ८४ र करार ११ गरी कुल ९५ जना प्रशिक्षक कार्यरत छन् । तेक्वान्दोका स्थायी प्रशिक्षकमध्ये द्वितीय श्रेणीका दुई, तृतीय श्रेणीका चार र सहायक प्रशिक्षक ७८ जना छन् ।
यसैगरी विश्व खेलकुदको चर्चित खेलको हो, एथ्लेटिक्स । ओलम्पिकजस्ता ठूला प्रतियोगितामा एथ्लेटिक्स खेललाई अनिवार्य मानिन्छ । कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा बढी स्पर्धा हुने खेलमध्ये पनि एक हो, एथ्लेटिक्स ।
एथ्लेटिक्सका हरेक स्पर्धाका लागि छुट्टछुट्टै प्रशिक्षकको आवयश्क्ता पर्छ । दौडको स्पर्धामा विज्ञता हासिल गरेको प्रशिक्षकले ज्याभ्लिन थ्रो वा हाइजम्पको प्रशिक्षण गराउन सक्दैनन् । लङ्जम्पको प्रशिक्षण गराउने प्रशिक्षकलाई सटपुटको प्रशिक्षण गराउन कठिन हुन्छ ।
यति धेरै स्पर्धा भएको एथ्लेटिक्स सिकाउन राखेपसँग केवल १९ जना प्रशिक्षक छन् । यिनै १९ जना प्रशिक्षकले देशभरका एथ्लेटिक्स खेलाडीलाई प्रशिक्षित गर्नुपर्ने हुन्छ । हरेक जिल्लालाई एथलेटिक्सको एक/एक प्रशिक्षक दिने हो भने पनि १९ वटा जिल्लालाई मात्र पुग्ने अवस्था छ ।
एथ्लेटिक्सका कुल प्रशिक्षकमध्ये ११ जना स्थायी र आठ जना करारका हुन् । स्थायी प्रशिक्षकमध्ये द्वितीय श्रेणीका एक, तृतीय श्रेणीका पाँच र सहायक प्रशिक्षक पाँचजना छन् । पक्कै पनि नेपाली खेलकुदका लागि यो दूर्भाग्यपूर्ण अवस्था हो ।
यसैगरी नेपालको राष्ट्रिय खेल हो, भलिबल । पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भलिबल टोलीले उत्कृष्ट प्रदर्शन पनि गर्दै आएको छ । खासगरी अन्तर्राष्ट्रिय खेलमञ्चमा नेपाली महिला भलिबल टोलीको प्रदर्शन आशालाग्दो छ ।
तर, राखेपसँग भलिबल सिकाउने प्रशिक्षक भने केवल १४ जना छन् । प्राविधिक रुपमा भन्नु पर्दा यही १४ जना प्रशिक्षकले देशभरबाट भलिबलको कुशल खेलाडी उत्पादन गर्नुपर्ने हुन्छ । भलिबलको १४ जना प्रशिक्षक नै स्थायी हुन् । भलिबलका प्रशिक्षकमध्ये द्वितीय श्रेणीका एक, तृतीय श्रेणीका चार र सहायक प्रशिक्षक नौजना रहेका छन् ।
यसैगरी विश्वभर लोकप्रिय खेल हो, फुटबल । नेपालमा पनि फुटबलका थुप्रै खेलाडी र समर्थक छन्, नेपालमा पनि । तर, राखेपसँग देशभर फुटबल सिकाउने प्रशिक्षकको संख्या केवल १३ जना छ । फुटबलका प्रशिक्षकमध्ये स्थायी १० जना र करारका तीनजना हुन् । स्थायीमध्ये तृतीय श्रेणीका पाँच र सहायक प्रशिक्षक पाँचजना हुन् ।
पछिल्लो समय ब्याडमिन्टन खेलमा पनि नेपालले प्रगति गर्दै गएको छ । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ब्याडमिन्टन खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । तर, राखेपसँग देशभर ब्याडमिन्टन सिकाउन केवल पाँचजना प्रशिक्षक छन् । पाँचैजना स्थायी प्रशिक्षक हुन् । ब्याडमिन्टनमा तृतीय श्रेणीका चार र सहायक प्रशिक्षक एकजना छन् ।
यसैगरी राखेपसँग कबड्डीमा स्थायी चार र करार एक गरी पाँचजना प्रशिक्षक छन् । स्थायीमध्ये चारैजना सहायक प्रशिक्षक हुन् । लन टेनिसमा स्थायी एक र करारका दुई गरी देशभरका लागि केवल तीनजना प्रशिक्षक छन् । एकमात्र स्थायी प्रशिक्षक तृतीय श्रेणीका हुन् । सिनजिन कराते र सफ्ट टेनिसमा राखेपसँग एकजना पनि प्रशिक्षक छैनन् ।
पौडी पनि विश्व खेलकुदको लोकप्रिय खेल हो । ओलम्पिक खेलकुदमा अनिवार्य मानिने दुई खेलमध्ये पौडी पनि एक हो । तर, देशभर पौडी प्रशिक्षणको भार धान्न राखेपसँग एक स्थायी र दुई करारका गरी कुल तीनजना प्रशिक्षकमात्र छन् । स्थायी एकजना पनि सहायक प्रशिक्षक हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रदर्शन लोभलाग्दो छ । पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता हात पार्दै लगेको छ । नेपाली क्रिकेटमा समर्थकको संख्या पनि निकै बढेको छ । तर विश्वास नलाग्न सक्छ, राखेपसँग देशभर क्रिकेट सिकाउने प्रशिक्षकको संख्या ६ जनामात्र छ । क्रिकेटका सबै प्रशिक्षक स्थायी हुन् । क्रिकेटमा दुईजना तृतीय श्रेणीका र चारजना सहायक प्रशिक्षक छन् ।
यसैगरी कुस्तीमा स्थायी ६ र करारका दुई गरी कुल आठजना प्रशिक्षक छन् । स्थायीमध्ये दुईजना तृतीय श्रेणीका र चारजना सहायक प्रशिक्षक हुन् । बक्सिङमा राखेपसँग स्थायी १२ र करारका पाँच गरी कुल १७ जना प्रशिक्षक छन् । बक्सिङका स्थायी प्रशिक्षकमध्ये द्वितीय श्रेणीका चार, तृतीय श्रेणीका चार र सहायक प्रथम स्तरका चारजना हुन् ।
सुटिङमा स्थायी चार र करारका एक गरी कुल पाँचजना प्रशिक्षक राखेपमा छन् । स्थायी चारैजना प्रशिक्षक तृतीय श्रेणीका हुन् । ह्याण्डबलमा स्थायी एक र करारका एक गरी दुईजना प्रशिक्षक छन् । ह्याण्डबलका एकमात्र स्थायी प्रशिक्षक सहायक प्रथम श्रेणीका हुन् । हक्कीमा भन् सातजना प्रशिक्षक छन् । सातैजना स्थायी प्रशिक्षक हुन् । हक्कीका प्रशिक्षकमध्ये तृतीय श्रेणीका दुई र सहायक प्रथम श्रेणीका पाँचजना हुन् ।
यसैगरी जिम्न्याष्टिकका नौजना प्रशिक्षक छन् । सबै प्रशिक्षक स्थायी हुन् । द्वितीय श्रेणीका दुई, तृतीय श्रेणीका पाँच र सहायक प्रथम श्रेणीका दुईजना प्रशिक्षक जिम्न्याष्टिकमा छन् । टेबलटेनिसमा स्थायी आठ र करारका दुई गरी कुल १० जना प्रशिक्षक छन् । स्थायीमध्ये द्वितीय श्रेणीका एक, तृतीय श्रेणीका चार र सहायक प्रथम श्रेणीका दुईजना हुन् । उसुमा स्थायी २० र करारका आठ गरी कुल २८ जना प्रशिक्षक राखेपमा कार्यरत छन् । स्थायी प्रशिक्षकमध्ये तृतीय श्रेणीका दुई र सहायक प्रथम श्रेणीका १८ जना हुन् ।
शारीरिक सुगठनमा भने राखेपसँग स्थायी तीनजना प्रशिक्षक छन् । एकजना तृतीय श्रेणी र दुईजना सहायक प्रथम श्रेणीका हुन् । जुडोमा स्थायी तीन र करारका एक गरी कुल तीनजना प्रशिक्षक छन् । स्थायीमध्ये तृतीय श्रेणीका दुई र सहायक प्रथम श्रेणीका एकजना हुन् । भारोत्तोलनमा स्थायी आठ र करारका दुई गरी कुल १० जना प्रशिक्षक छन् । स्थायीमध्ये द्वितीय श्रेणीका तीन, तृतीय श्रेणीका तीन र सहायक प्रथम श्रेणीका दुईजना हुन् ।
यसैगरी बास्केटबलमा करारका पाँचजना प्रशिक्षक छन् भने राखेपसँग स्क्वासमा करारका एकजना प्रशिक्षक छन् । आर्चरी र फुल कन्ट्याक्ट करातेमा पनि करारका एक/एकजना प्रशिक्षक छन् । क्युकोसिन करातेमा करारका दुईजना, सिन क्युकोसिन करातेमा करारका चारजना, गोजुरियो करातेमा करारका दुईजना, क्युकोसिन बुदोकैदो करातेमा करारका एकजना र बुदोकैदो करातेमा करारका एकजना प्रशिक्षक राखेपमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
-
रविलाई बिहानै पुर्याइयो अदालत, छवि पनि साथमै
-
धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया : अन्तर्वार्ताका लागि दुईजना मात्रै उपस्थित
-
‘परालको आगो’मा सुहाना
-
आप्रवासी गीतकारहरूको बृहत् भेला अमेरिकामा हुने
-
ललितपुर महानगरपालिकाको यी स्थानमा सवारी साधन पार्किङ निषेध