जब ‘लयर’ ‘लायर’ बने, ... अनि भयो बाल विवाह ‘बलात्कार’मा परिणत
काठमाडौँ । कानुनी सल्लाहकार अर्थात् अधिवक्ता, जो आफ्ना ग्राहक वा सेवाग्राहीको वृहत्तर हितका लागि वकालत वा बहस गर्छन् । कुनै मुद्दामा वादी वा प्रतिवादीको पक्षबाट बहस गर्दा आफ्नो पक्ष के कति आधारमा सही छन् भनेर बहस गर्ने गर्छन् र आफ्नो पक्षको हितका लागि काम गर्छन् । त्यही अधिवक्तालाई अङ्ग्रेजीमा ‘लयर’ भनिन्छ ।
अङ्ग्रेजीमा उस्तै लाग्ने अर्को शब्द पनि छ– ‘लायर’ । ‘लयर’ र ‘लायर’ शब्द सुन्नमा उस्तै लागे पनि यसको अर्थमा भने व्यापक भिन्नता छ । ‘लयर’ भनेको अधिवक्ता वा कानुन व्यवसायी हो भने ‘लायर’ भनेको झुट बोल्ने व्यक्ति भन्ने बुझाउँछ ।
‘लयर’ले कानुनको पालना गर्दै कानुन कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने गरिन्छ । आफ्नो पक्ष सही हुँदा पक्षको वृहत्तर हितका लागि तथ्य, प्रमाण र कानुन पेस गर्नुपर्छ भने आफ्नो पक्ष गलत हो भन्ने लाग्दा पनि न्यूनतम सजायमात्रै दिलाइ पाउन माग गर्नुपर्छ । तर जब कानुन व्यवसायी (लयर) नै झुटो बोल्ने व्यक्ति (लायर) बनेको खण्डमा के हुन्छ ?
‘लयर’ नै ‘लायर’ बनिदिँदा स्याङ्जामा एक जोडी २६ महिना छुट्टिएर बस्नुपर्यो । ‘लयर’ले सिकाएको कुरा अदालतमा जस्ताको त्यस्तै भन्दा एक युवक बलात्कारी ठहर भयो र १२ वर्षको जेल सजाय तोकियो । वास्तविक घटना एउटा भए पनि वकिलले अर्कै कुरा सिकाएपछि स्याङ्जाका विपिन सुनार बलात्कारको आरोपमा २६ महिना जेलमा बसे ।
प्रेम गरेर विवाह गरेकी श्रीमतीबाट छोरीको जन्म भइसकेपछि श्रीमतीको परिवारबाट दर्ता गरिएको बलात्कारको जाहेरी र सोही जाहेरीको आधारमा स्याङ्जा जिल्ला अदालतमा चलेको मुद्दामा दोषी ठहर भएपछि विपिन सुनार जेल जानुपर्यो । ६ महिनाकी सुत्केरी श्रीमती र छोरी विपिनको घरमा संघर्ष गर्दैगर्दा विपिन भने ‘बलात्कारी’ बन्दै जेल गए ।
उच्च अदालत पोखराबाट केही समयअघि कसुर ‘बालविवाह’ मा परिवर्तन भई सजायमा केही राहत मिलेपछि रातोपाटीसँग कुरा गर्दै विपिनले भने, ‘सुरुमा वकिलले गलत सिकाइदिए । छोरी जन्मिसकेको अवस्थामा पनि दुवैजनालाई एक अर्कालाई चिनेको छैन भनेर अदालतमा भन्नुपर्छ भनेर सिकाए । चिनेको छैन भनेमा तिमीहरु छुट्छौ भनेपछि होला त भनेर हामीले अदालतमा बयान गर्दा चिनेको छैन नै भन्यौँ । तर बलात्कारको कसुर ठहर भएपछि पो थाहा भयो, वकिलले गलत सिकाएका रहेछन् ।’
भएको के थियो ?
२०७६ साल असोज १८ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जामा एउटा जाहेरी पर्यो, बलात्कारको । ‘पुतलीबजार क’ नाम दिइएकी किशोरीको काकीको नामबाट स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, रैतेका विपिन सुनारविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भयो । जाहेरी दरखास्तमा आफ्नो जेठाजुकी छोरी (भतिजी)लाई जबरजस्ती करणी गरिएको ब्यहोरा उल्लेख गरिएको थियो । किशोरीको उमेर १४ वर्ष भएको उल्लेख गरी जाहेरी दरखास्त आयो ।
जाहेरीमा भनिएको थियो, ‘परिवर्तित नाम पुतलीबजार (क) मेरो ठूलो जेठाजुको एक मात्र छोरी, मेरो भतिजी हुन्, निज भतिजी वालिङ बहुमुखी क्याम्पसमा कक्षा ११ मा अध्ययन गर्दै आइरहेकी थिइन् । निजले मिति २०७६।०६।१७ गते मेरो कोठामा आई चिनजानका विपिन सुनारले पोखरा घुम्न बोलाई विवाह गर्छु भनी कोठामा लगी राखी मिति २०७६।०६।११ गते घर लैजान्छु भनी पोखराबाट परिवर्तित जिल्ला ४० स्थित लगि विवाह गर्छु भनी ललाई फकाई विश्वासमा पारी करणी गरी छाडी गएको भनी बताएकी र नाबालिगसमेत भएकी हुँदा कानुनबमोजिम कारबाही गरी पाउँ ।’
त्यसपछि प्रहरीले घटनास्थल मुचुल्का तयार पार्छ । मुचुल्कामा भनिन्छ,
‘जिल्ला स्याङ्जा, पुतलीबजार नगरपालिका वडा नं. १३ सिस्नेरीस्थित पूर्वमा आँधीखोला, पश्चिममा यम नारायण तिवारीको खेत, उत्तर तथा दक्षिणमा लामपाटा सातुपसल आउने जाने बाटो, यति चार किल्लाभित्र रहेको लामपाटा सातुपसल आउने जाने बाटोको १५ मिटर उत्तरतर्फको सिसौघारीको चौरमा मिति २०७६।०६।११ गते अन्दाजी १८ः४५ बजेको समयमा प्रतिवादी विपिन सुनारले परिवर्तित नाम पुतलीबजार (क) लाई जबरजस्ती करणी गरेको ।’
घटनास्थल मुचुल्कासँगै प्रहरीले बलात्कारमा परेकी भनेकी किशोरीको पनि घटना विवरण कागज तयार पार्छ । घटना विवरण कागज तयार पारेर किशोरीको काका र काकीको दबाबमा हस्ताक्षर गर्न लगाइन्छ । घटना विवरण कागजमा पनि प्रहरीमा बुझाएको जाहेरीमा जस्तै विवरण तयार हुन्छ र किशोरीलाई प्रहरी हवल्दारसमेत रहेका आफ्नै काकाले जबरजस्ती हस्ताक्षर गर्न लगाउँछन् । घटना विवरण कागज तयार पारेको अवस्थामा मात्रै किशोरीले विपिन सुनारविरुद्ध बलात्कारको कसुरमा जाहेरी दिइएको थाहा पाउँछिन् ।
प्रहरीमा जाहेरी दरखास्त दिएपछि किशोरीलाई पुतलीबजारबाट एक घण्टाको दुरीमा रहेको स्याङ्जाकै हेलु भन्ने स्थानमा रहेको फूपुको घरमा लगियो । किशोरीसँग रहेको मोबाइल पनि खोसेर विपिन र किशोरीको सम्पर्क पनि विच्छेद गराइयो । विपिन दलित परिवार र किशोरी क्षेत्री परिवारको भएको कारण विवाह गर्न नहुने भन्दै किशोरीलाई बारम्बार धम्की दिएर विपिनसँग सम्बन्ध विच्छेद गर्न दबाब दिइयो ।
करिब एक महिना विपिनको सम्पर्कबाट विच्छेद बनाइएकी किशोरीले फूपुकै घरमा बन्धक बनाइएको अवस्थामा कसैको मोबाइलबाट विपिनलाई सम्पर्क गरी भागौं भनिन् । किशोरीले भागौं भनेर फोन गर्नेबित्तिकै विपिन २०७६ कात्तिक १७ गते किशोरीलाई लिएर नवलपरासीस्थित फूपुको घरमा गए । त्यहाँ करिब एक साता बसेपछि उनीहरु काठमाडौं गएर बस्न थाले । सोही समयमा शारीरिक सम्पर्क भएपछि किशोरी गर्भवतीसमेत बनिन्, जतिबेला उनको उमेर १६ वर्षको थियो । उमेरले १६ वर्ष पुगेकी भए पनि कागजातमा किशोरीको उमेर भने वारदात अर्थात् बलात्कार भयो भनिएको समयमा जम्मा १४ वर्ष ९ महिना मात्रै देखाइएको थियो ।
केही समयको काठमाडौं बसाईपछि विपिन र किशोरी पोखरामा आएर बस्न थाले । विपिन एक होटलमा काम गर्थे भने गर्भवती किशोरी कोठामै बस्थिन् । यता विपिनविरुद्ध स्याङ्जा जिल्ला अदालतबाट बलात्कारको कसुरमा पक्राउ पुर्जी जारी भइसकेको थियो ।
विपिन र किशोरी पोखरामै बसेर दैनिकी चलाइरहेकै समयमा किशोरीले २०७७ भदौ ९ गते गण्डकी अस्पतालमा छोरीलाई जन्म दिइन् । विपिनले ‘श्रीमती’ र छोरीको राम्रो हेरविचार गरे ।
फोटो : पक्राउ पर्नुअघि छोरीसँग रमाउँदै बिपिन सुनार
अदालतमा विपिनलाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता भएपछि त्यसको पत्र विपिनको घरमा पनि पुग्यो । घरबाट आमाले आत्तिएर फोन गरेपछि विपिन र किशोरी दुवैजना अदालत जाने र आफूहरुले प्रेम विवाह गरेको कुरा बताउने सल्लाह गरे । अनि ६ महिनाको छोरीको साथमा अदालतमा उपस्थित हुने तयारी गरे । त्यसपछि वकिलसँग सल्लाह गर्न विपिनको परिवारले सुझाएपछि विपिनले स्याङ्जा जिल्लामा वकालत गरिरहेका अधिवक्ता टंकप्रसाद न्यौपानेसँग भेट गरेर आफ्नो सबै कुरा बताए ।
तर अधिवक्ता न्यौपानेले अदालतमा सबै साँचो कुरा बताउनुभन्दा दुवैजनाले एक अर्कालाई चिन्दिन भनेमा दुवैजना छुट्छौ भनेर त्यही भन्न सुझाए । छोरी जन्मिसकेको अवस्थामा पनि विपिन र किशोरीलाई बच्चा उसको होइन र म उसलाई चिन्दिनँ र उसले (विपिन)ले बलात्कार गरेको होइन भन्न सिकाए । विपिनलाई पनि किशोरीलाई आफूले नचिनेको भन्न लगाए र घटना भएको भनिएको समयमा आफू स्याङ्जामा नभएर पोखरामै रहेको भन्दै बयान गर्न लगाए ।
फोटो : २०७७ दशैंमा बिपिन आफ्नी श्रमिती र एक महिनाकी छोरीको साथमा ।
वकिलकै योजना अनुसार विपिन र किशोरीले एक अर्कालाई नचिन्ने बयान दिए । तर किशोरीले जन्म दिइसकेकी बालिका को हुन् त भन्ने विषयमा पनि खोजी भएन । दुवैले एक अर्कालाई चिन्दिनँ भने पनि अदालतले विपिनलाई पुर्पक्षका लागि थुनामा पठाइदियो । विपिनलाई थुनामा पठाएपछि किशोरी रुँदै ६ महिनाकी छोरी च्यापेर विपिनकै घरमा गइन् । श्रीमान् जेल पुगेपछि किशोरी भने उनकै घरमा बुहारी बनेर बस्न थालिन् ।
स्याङ्जा जिल्ला अदालतमा चलेको मुद्दामा २०७८ कात्तिक ३० गते न्यायाधीश बसन्तराज पौडेलले कसुर ठहर हुने फैसला सुनाउँदै सजाय निर्धारणका लागि २०७८ मंसिर १० गतेको पेसी तोके । त्यसपछि २०७८ मंसिर १० गते सजाय निर्धारणका क्रममा विपिनलाई बलात्कारको कसुरमा १२ वर्षको कैद सजाय र पीडित राहत कोषमा १८०० रुपैयाँ जम्मा गर्ने फैसला सुनाइयो ।
पीडित भनिएकी किशोरीले अदालतमा प्रतिकुल बकपत्र गरेको कारण क्षतिपूर्ति नपाउने समेत ठहर गरियो । वकिलले गलत बकपत्र गर्न सिकाएकै कारण बालविवाह भएको घटनामा एक पति र ६ महिनाकी बालिकाका बुबा ‘बलात्कारी’ ठहर हुँदै जेल पुगे ।
जेलमै रहँदा विपिनले गलत बकपत्र गरेकै कारण आफू जेल जानु परेकोबारे थाहा पाए । त्यसपछि उनले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदनको निवेदन दिए ।
उच्च अदालत पोखरामा पुनरावेदन गर्ने क्रममा भने विपिनले वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगर र अधिवक्ता कृष्णकुमार श्रेष्ठलाई साथमा लिए । घटना विवरण र सत्य तथ्य थाहा पाउनेबित्तिकै वरिष्ठ अधिवक्ता थापाले घटना बलात्कार नभएर बालविवाह भएको र सुरु अदालतले पर्याप्त प्रमाण नै नबुझेको थाहा पाए । त्यसपछि न्युनतम शुल्क लिएर विपिनको तर्फबाट मुद्दा लडिदिने वचन दिए ।
उच्च अदालत पोखरामा पुनरावेदन दर्ता भएसँगै अधिवक्ता सुरेन्द्र थापा मगरले पीडित भनिएकी किशोरी र पीडक भनिएका व्यक्तिहरु श्रीमान् र श्रीमती भएको, जेल जानुभन्दा पहिलेदेखि नै श्रीमान् र श्रीमतीको रुपमा रहेको, जायजन्म भएको बच्चाको बुबाको नाम विपिन नै रहेको र जन्मदर्तासमेत भइसकेको प्रमाण पेस गरे । अनि सुरु अदालतले बाल विवाहलाई बलात्कारमा परिणत गरिएको र जायजन्म भएको बालिकाको सम्बन्धमा कुनै कुरा नबोलेको तथा पीडक भनिएका व्यक्तिकै घरमा किशोरी बसिरहेको इजलासलाई जानकारी गराए ।
त्यसपछि उच्च अदालतले ‘झझी’ अर्थात् झगडिया झिकाउने आदेश दियो । २०७९ भदौ २१ गते प्रत्यर्थी झिकाउने आदेश भएपछि २०७९ असोज ३१ गतेको इजलासले प्रमाण बुझ्ने आदेश दियो । त्यसपछि २०७९ चैत १४ गतेको सुनुवाइका क्रममा पीडितलाई झिकाई बुझ्ने आदेश भयो । २०७९ चैत ३० गते पीडितलाई झिकाई बकपत्र गर्ने क्रममा किशोरीले आफूहरु श्रीमान् र श्रीमती भएको र प्रेमपछि विवाह गरेको तर आफ्नो परिवारले आफूलाई थाहै नदिई जबरजस्ती करणीको जाहेरी दिएको बयान दिइन् । साथै आफू श्रीमानकै घरमा बसिरहेको र साथमा छोरीसमेत रहेको बताइन् ।
किशोरीले उच्च अदालत पोखरामा दिएको बयानमा भनिएको छ,
‘यी प्रतिवादी र म विवाह गरेपश्चात २ दिन प्रतिवादीको माईली फूपुको घरमा बसी २०७६।०६।११ मा मेरो श्रीमानको साईली फूपुको घर बिरुवामा ७ दिनसम्म पति पत्नीको रुपमा सँगै बस्ने क्रममा मेरो माइती तर्फबाट मेरो खोजी गर्न प्रहरीमा रिपोर्ट गर्नुभएको रहेछ । प्रहरीबाट विपिनको घरमा केटाकेटी झिकाउने भन्ने पत्र गएको रहेछ । हामीले फूपुको घरमा बस्ने क्रममा सो कुराको जानकारी पाएपछि हामी दुई श्रीमान श्रीमती, विपिनको २ जना फूपुहरु र अर्जुनचौपारीबाट विपिनको माइलो र साहिलो बुबा भई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा गएकोमा २०७६।०६।१७ मा हामी दुवैलाई उमेर नपुगेकोले विवाह गर्न नमिल्ने भनी आ–आफ्नो परिवारको जिम्मा लगाईदिनु भएको हो । सोही दिनको भोलिपल्ट २०७६।०६।१८ गते मलाई मेरो काकाले एउटा कागजमा सही गर्न भनेर सही गरिदिएकी थिएँ । सो कागजमा के लेखेको थियो भन्ने मलाई थाहा थिएन । घरमा रहँदा बस्दा मलाई मानसिक रुपमा तनाब दिइएकोमा विपिनलाई प्रतिवादी बनाई जबरजस्ती करणीको मुद्दा दर्ता भएको भन्ने मैले थाहा जानकारी पाएपछि यस्तो गर्नुहुन्न, मुद्दा झिकौँ भन्दा घरका बुबा काकाहरुले मान्नु भएन । सो पश्चात मैले निजसँग अरुकै मोबाइलबाट फोन गरी भागौँ भन्ने सल्लाह भई मिति २०७६।०७।१७ गते नवलपरासी फूपुका घरमा गई १ हप्ता सँगै बसी काठमाडौं गई बस्ने क्रममा हामी बीचमा सहमतिमा शारीरिक सम्पर्क भई गर्भ रहन गएको र २०७७ भाद्र ९ गते छोरीको जन्म भएको हो । सुरु जिल्ला अदालतमा विपिन तर्फका वकिलले विपिनलाई चिन्दिनँ भनेमा निज छुट्छन् भनेका हुनाले सो बकपत्र गरेको हो ।’
किशोरीले उच्च अदालत पोखरामा यस्तो बयान दिई आफू श्रीमान् विपिन सुनारकै घरमा बसिरहेको बकपत्र गरिन् । साथै आफू क्षेत्री परिवारको र विपिन दलित परिवारको भएको र अन्तरजातीय विवाह गरेको कारण परिवारले स्वीकार नगरी बलात्कारको जाहेरी दिएको उनले बताइन् ।
आफू विपिनसँग भागेपछि परिवारका कोहीसँग पनि बोलचाल नभएको र आफूलाई माइती पक्षबाट हेलाहोचो भएको पनि उनले बताइन् ।
त्यसपछि २०८० वैशाख १० गते उच्च अदालत पोखरामा उक्त मुद्दाको अन्तिम सुनुवाइ भयो । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले स्याङ्जा जिल्ला अदालतको फैसला उल्टाउँदै बाल विवाह भएको ठहर गर्यो । दुई जना प्रेममा परी विवाह गरेको घटनालाई अन्य प्रमाण लुकाएको तथा सुरु जिल्ला अदालतले प्रमाणको खोजी वा मूल्यांकन नगरेको भन्दै बाल विवाह भएको ठहर गर्यो । उक्त घटनालाई बाल विवाह भएको ठहर गर्दै प्रतिवादी विपिनलाई १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइयो । विपिन २६ महिना कैदमा बसिसकेको कारण जरिवाना समेत कट्टा भई फैसला भएकै भोलिपल्ट थुनामुक्त भए ।
उच्च अदालत पोखराले गरेको फैसलामा सुरु स्याङ्जा जिल्ला अदालतले गरेको प्रमाणको मूल्यांकन र प्रमाण बुझ्ने क्रममा भएको गल्तीलाई समेत औंल्याएको छ ।
फैसलाको प्रकरण २८ मा भनिएको छ,
‘न्याय भनेको अधिकार प्राप्त न्यायाधीश वा न्यायाधिकारीले विवादको विषयको निष्कर्षमा कानुन र प्रमाणमा आधारित भएर विवेकसम्मत रुपमा निकाल्ने निष्कर्ष हो । वास्तविकताको द्योतक अर्थात यथार्थता हो । विवादित विषयको सत्य नै न्याय हो । कागजी रुपमा मात्र देखिने न्याय वास्तविक न्याय हुन सक्दैन ।’
त्यसैगरी सुरु जिल्ला अदालतले प्रमाण खोज्ने क्रममा गरेको गल्तीलाई पनि उच्च अदालतले औंल्याएको छ ।
फैसलाको प्रकरण २९ मा भनिएको छ,
‘प्रस्तुत मुद्दामा मौकामा संकलित प्रमाणहरुलाई पीडित स्वयंले अस्वीकार गरेकी, जाहेरवाली जेठाजु एवं पीडितकै पिताको बकपत्रबाट मात्र बच्चा जन्मेको तथ्य खुल्न आएको, तर अनुसन्धान तथा अभियोजन पक्षका अतिरिक्त सुरु अदालतले बच्चाको बाबु र त्यसको वास्तविकताको पहिचानका सम्बन्धमा प्रमाण बुझ्ने कार्य वा थप आदेश नगरी तत् सम्बन्धमा कुनै निष्कर्षका आधारहरु खोजी नगरेको स्थितिले पीडित र प्रतिवादीबीच आपसमा प्रेम भई प्रेमपछिको यौनसम्बन्ध र गर्भधारण तथा छोरीको जन्म भएको तथ्यको वास्तविकता एकातिर तर सम्बद्ध प्रमाणको संकलन एवं मूल्यांकन बिना भएको सुरु अदालतको फैसलाले विपिन भन्ने पोतबहादुर सुनारले १२ वर्षको कारागार जीवन बिताउनु पर्ने बाध्यात्मक परिस्थिति अर्कोतिर हुन गई उल्लिखित तथ्यका जानकारहरुका आँखामा र पीडित र प्रतिवादीको हृदयमा न्याय मर्ने वा मरेको देखिने अवस्था हुने गम्भीर अवस्था विचारणीय रुपमा हेर्नुपर्ने भई माथि उल्लिखित तथ्यहरुले पीडित भनिएकी पुतलीबजार (क), प्रतिवादीको काम वा व्यवहारबाट पीडित भएको भन्ने नभई अनुसन्धान एवं अभियोजन पद्धति तथा न्याय प्रणालीको प्रकृया भित्रको प्रमाण संकलन र प्रमाण परीक्षणमा हुनुपर्ने आवश्यक सहजता समेतको अभावका कारणले पीडित बन्न पुगेको भन्ने देखिन आयो ।’
फैसलाको प्रकरण ३० मा अनुसन्धान वा अभियोजनका क्रममा भएको गल्ती वा कमजोरीकै कारण कुनै व्यक्तिलाई बिनाकारण नगरेको कसुरमा सजाय गर्न नमिल्ने उल्लेख गरिएको छ । फैसलामा भनिएको छ,
‘अनुसन्धान एवं अभियोजन तहको त्रुटी वा सुरु न्यायिक तह वा निकायको त्रुटी सुधार गरी वास्तविक न्याय दिने कार्य भनेको पुनरावेदन तहकै कार्य हो । सुरु तहले वा तल्लो निकायले बुझ्नुपर्ने प्रमाण नबुझी फैसला गरेको वा नबुझ्नु पर्ने प्रमाण बुझी फैसला गरेको कारण र अवस्थाबाट वास्तविक न्याय हुन नसकेको अवस्था देखिन सक्छ । यस्तो अवस्थामा पुनरावेदन तहले थप प्रमाण बुझी न्याय निरोपण गर्नुपर्दछ । न्यायको सर्वमान्य सिद्धान्त छ कि न्याय गरेर मात्र हुँदैन न्याय परेको देखिनु पर्छ । न्याय पार्नका लागि र न्याय गरेको प्रमाणित हुनका लागि यस अदालतबाट भएका उल्लिखित आदेशहरु र तत् सम्बन्धी काम कारवाहीहरुले न्याय पार्नमा भरपुर मद्दत मिलेको छ । अर्थात् यस अदालतबाट बुझिएका प्रमाणहरुको रोहबाट हेर्दा सुरु तहले अभियोग दाबी बमोजिम जबरजस्ती करणीको कसुरदार ठहर गरी प्रतिवादीलाई गरेको १२ वर्ष कैद सजायले प्रतिवादी अन्यायमा परेको र स्वयं पीडितलाई थप पीडामा पारेको भन्ने देखिन आएको छ । यसर्थ प्रस्तुत मुद्दाको वारदात अभियोग दावी बमोजिम जबरजस्ती करणीको वारदात कायम गर्न मिल्ने देखिएन ।’
यसरी उमेर नपुगै भएको विवाह र छोरीको जन्मसमेत भइसकेको अवस्थामा एक पति र पिता बलात्कारको कसुरमा जेल पुगे र २६ महिना कारागारमा बस्नुपर्यो । प्रेम र विवाह गरेकै कारण एक किशोरी ६ महिनाको छोरी च्यापेर बलात्कारको कसुरमा जेल पुगेका श्रीमानकै घरमा बस्नुपर्यो ।
उच्च अदालतबाट बलात्कारको कसुरबाट सफाई पाएलगत्तै यतिबेला ती किशोरी र विपिन आफ्नै घरमा बसिरहेका छन् । रातोपाटीसँगको कुराकानीमा विपिनले अदालतबाट न्याय मिलेको भन्दै अब काम गरेर परिवारसँग खुसीसाथ बस्ने बताए । आफ्नो तस्बिर पठाउँदै विपिनले भने ‘म जेलबाट निस्किएपछि औपचारिक रुपमा विवाह गरेँ । पहिले त भाग्दाभाग्दै समय बित्यो, बल्ल औपचारिक रुपमा विवाह गर्न पायौँ ।’
फोटो : बिपिन जेलमुक्त भएपछि भएको औपचारिक विवाहको तस्वीर
रातोपाटीसँगको कुराकानीमा किशोरीले भनिन्, ‘मलाई त डर लागेको थियो । श्रीमान जेलमा, म यता घरमा । छोरीको बिजोग हुन्छ कि भन्ने चिन्ता थियो । श्रीमान् आउनुभयो । अहिले त एकदमै खुसी लागेको छ नि ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय
-
विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस समिति गठन
-
एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
-
बीआरआई ऋणमा स्विकार्न सकिँदैन : प्रधानमन्त्री
-
श्रीलंकाका लागि राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
-
बैकुण्ठ अर्यालको राजीनामा स्वीकृत