मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

सोमबार, २२ जेठ २०८०, २१ : १८
सोमबार, २२ जेठ २०८०

आज २०८० जेठ २२ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा नागरिकता विधेयक र भारत भ्रमणका उपलब्धिबारे संसदमा प्रधानमन्त्रीको ब्रिफिङ, सभामुखको भूमिकामा प्रश्न, प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयकबारे बोले ओली, नक्कली भुटानी शरणार्थी प्रकरण : आईजीपी कुँवरमाथि पनि अदालतमा उठ्यो प्रश्न, सिंगापुर पठाउने भन्दै ठगी, नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध एमाले जनवर्गीय संगठनको प्रदर्शन, नागरिकता विधेयकबारे सर्वोच्चको अन्तरिम आदेशपछि मधेसमा विरोध प्रदर्शन, कोशी प्रदेश सरकारमा बस्ने कि बाहिरिने भन्नेबारे माओवादी अनिर्णित लगायत छन् ।

१.नागरिकता विधेयक र भारत भ्रमणका उपलब्धिबारे संसदमा प्रधानमन्त्रीको ब्रिफिङ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक र आफ्नो भारत भ्रमणबारे प्रतिनिधिसभाको बैठकमा ब्रिफिङ गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले यी विषयमा आफ्नो भनाइ राखेका हुन् ।

२. सभामुखको भूमिकामा प्रश्न
सोमबार प्रतिनिधिसभा बैठक सञ्चालनका क्रममा सभामुखले निर्वाह गरेको भूमिकाप्रति प्रश्न उब्जिएको छ । प्रधानमन्त्रीले सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा सभामुखले बीचमै अन्य सांसदलाई बोल्न समय दिँदा संसदीय अभ्यासको धमिलो रुप सतहमा आएको हो । संसदीय अभ्यासमा ‘नियमापत्ति’ बाहेकको अवस्थामा सामान्यतया एउटा सदस्यले बोलेको समयमा अर्को सदस्यलाई बोल्न समय दिइँदैन । तर सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई सांसदहरुको प्रश्नको जवाफ दिइरहेको अवस्थामा रोष्ट्रममै रोकेर अन्य चार सांसदलाई बोल्न समय दिए ।

३. प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयकबारे बोले ओली
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिबाट हालै प्रमाणीकरण गरिएको नागरिकता विधेयकबारे आफ्नो धारणा राखेका छन् । प्रधानमन्त्रीले यी दुवै विषयका बारेमा संसदलाई जानकारी गराइसकेको र यस सम्बन्धमा सांसदले उठाएका प्रश्नबारे प्रधानमन्त्रीले जवाफ दिइसकेपछि विशेष समय लिएर ओलीले आफ्ना धारणा राखेका हुन् ।

४. नक्कली भुटानी शरणार्थी प्रकरण : आईजीपी कुँवरमाथि पनि अदालतमा उठ्यो प्रश्न
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतको इजलासमा तत्कालीन एसएसपी वसन्त कुँवर (हाल आईजीपी)ले सानु भण्डारीलाई भेटेको बारेमा प्रश्न उठेको छ । थुनछेक बहसका क्रममा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता महेश खत्रीले केशव दुलाल र सचिव टेकनारायण पाण्डेको बीचमा भएको ‘म्यासेज’बारे कुरा उठाएका हुन् ।

५. सिंगापुर पठाउने भन्दै ठगी
आफूलाई कान्छा पत्रकार भन्दै कुनैबेला एकाएक भाइरल बनेका सुजन आचार्यले सिंगापुर पठाउने भन्दै आफूहरुसँग करोडौं ठगी गरेको पीडितहरुले बताएका छन् । अछामका अनिल अधिकारी, कैलालीका पारस अधिकारी, काठमाडौँका सुमन दंगाल लगायतका ३९ जना पीडितले आइतबार पत्रकार सम्मेलन गर्दै आचार्यले आफूहरूसँग ४ करोड ३० लाख रुपैयाँभन्दा बढी ठगी गरेको बताए ।

६. नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध एमाले जनवर्गीय संगठनको प्रदर्शन
नेकपा एमाले निकट २३ वटा जनवर्गीय संगठनले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रदर्शन गरेका छन् । सोमबार उनीहरुले माइतीघर मण्डलादेखि नयाँ वानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।

७. नागरिकता विधेयकबारे सर्वोच्चको अन्तरिम आदेशपछि मधेसमा विरोध प्रदर्शन
सर्वाेच्च अदालतले नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश दिएको विरोधमा मधेसमा सोमबार प्रदर्शन भएको छ । नागरिकताविहीन सर्वसाधारणहरुले सर्वोच्च अदालतको सो आदेशविरुद्ध विरुद्ध प्रदर्शन गरेका हुन् ।

८. कोशी प्रदेश सरकारमा बस्ने कि बाहिरिने भन्नेबारे माओवादी अनिर्णित
कोशी प्रदेश सरकारबाट बाहिरिने या नबाहिरिने भन्ने विषयमा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक अनिर्णित बनेको छ । प्रदेशसभा सचिवालयमा सोमबार बसेको बैठकमा सरकारको समर्थनबारे निर्णय लिने तयारी थियो । माओवादी प्रदेशसभा सदस्य गणेश उप्रेतीले दिएको जानकारी अनुसार दलको बैठकले मंगलबार प्रदेशका नेताहरूसँग आवश्यक छलफल गरेर मात्रै निर्णयमा पुगिने भएको छ ।

९. सामान्य प्रशासन मन्त्रालयको परिपत्रलाई सरकारी निकायको बेवास्ता
सरकारी कर्मचारीको सम्पूर्ण अभिलेख भद्रगोल देखिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गर्दै कर्मचारीको विवरण उपलब्ध गराउन सबै सरकारी कार्यालयलाई परिपत्र ग¥यो । तर, परिपत्र गरेको एक महिना बित्नलाग्दा पनि अधिकांशले कर्मचारी विवरण पठाएका छैनन् ।

१०. ‘कंक्रिटको सहर’लाई पाठ बन्न सक्छ दिल्लीको हरियाली
काठमाडौं उपत्यकालाई ‘कंक्रिटको सहर’ भनेर पनि व्याख्या गर्न थालिएको छ । खुला स्थान र हरियालीको अभावका कारण काठमाडौं ‘कंक्रिटको सहर’ का रुपमा चिनिने गरेको छ । तर राजधानीजस्तो सहरमा कसरी हरियाली प्रवर्द्धन गर्न सकिन्छ र सहरलाई कसरी पर्यावरणीय हिसाबले सजाउन सकिन्छ भन्ने उदाहरण भारतको राजधानी नयाँ दिल्ली सहरबाट सिक्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप