काठमाडौँ । अधिक गर्मीका कारण यो साता तराई क्षेत्रका कतिपय विद्यालय बन्द गरिएको छ । तराईका विभिन्न सहरमा तापक्रम बढेर ४० देखि ४२ सेन्टिग्रेडसम्म पुगेको छ । विशेष गरी तराई क्षेत्रमा तातो हावाका कारण प्रत्येक वर्ष ‘लू’ को समस्या देखिने गर्छ । ‘लू’ लाग्नुलाई गर्मी मौसमको रोग पनि भनिन्छ ।
‘लू’ लाग्दा के हुन सक्छ ?
हिट स्ट्रोक अर्थात् ‘लू’ ३८ डिग्री सेन्टिग्रेड भन्दा धेरै तापमान भएमा शारीरिक रूपमा अनेक समस्या देखिन सुरु हुने फिजिसियन डा रोशनकुमार झाले बताए ।
यसबाट बालबालिका र बुढापाका बढी प्रभावित हुन्छन् । डा झा का अनुसार अधिक गर्मीका कारण रक्तनलीहरू फराकिलो भएर रक्तसञ्चार प्रक्रिया बढ्नाले शरीरको पानी बाहिर आउँछ । जसले गर्दा शरीरमा अनेक खालका स्वास्थ्य समस्या देखिन्छ । यसले पिँडौलादेखि हातको मासुसम्म फर्किने, टाउको भारी हुने, आँखा पोल्नेसम्म हुन्छ । यसो भएमा तत्काल सावधानी अपनाउन आवश्यक छ । यो अवस्थामा शीतलमा बसेर पानी पिउनुपर्छ ।
हिट स्ट्रोक बढी भएमा चक्कर आएर बेहोस हुने अवस्था आउन सक्छ । यसरी बेहोस भएपछि शरीरका अंगहरू मिर्गौला, कलेजो, मष्तिस्कमा पानी, नुन, सोडियम लगायतका तत्त्वहरू कम भई मुटुको धड्कन बिग्रिन सक्छ । यसवेला शरीरले तापक्रमलाई मेन्टेन गर्न खोज्दा तापमान बढेर ज्वरो आउन सक्छ । त्यस्तो अवस्थामा तत्काल ‘इमरजेन्सी केयर’ आकस्मिक उपचार गरिएन ज्यान पनि सक्छ ।
तातो हावाले शरीरमा तापमान बढ्छ, जसलाई ‘लू’ लाग्नु भन्दा अगाडिको समय भनेर चिनिन्छ । निरन्तर घाममा काम गरिरहने अनि पानी पनि नपिएमा ‘लू’ लाग्न सक्छ ।
किन लाग्छ कडा परिश्रम गर्नेलाई ‘लू’ ?
डा झाका अनुसार ‘लू’ हिट स्ट्रोक २ प्रकारका हुन्छन् । एउटा एक्जर्शनल हिट स्ट्रोक, जुन बयस्क व्यक्तिमा, शारीरिक तवरबाट बढी परिश्रम गरिने सेना, प्रहरी, सशस्त्रलाई दिइने तालिम, परिश्रम हुने काम, व्यायाम, खेलकुद गर्नेहरूमा देखिन्छ ।
यसरी परिश्रम गर्दा गर्मीका कारण शरीरबाट लगातार पसिना आउँछ । र, शरीरमा पानी–नुनको कमी गराउँछ, जस कारण डिहाइड्रेसन हुन सक्छ । हिट स्ट्रोकले कारणले शरीरमा पोटासियम र सोडियमको कमी भई यस्ता समस्या देखिने डा झा ले बताए । उनले भने, ‘जति सक्दो चाँडो शरीरको तापक्रम घटाउने विभिन्न उपायतर्फ लाग्नु पर्छ ।’
‘लू’ अर्थात् हिट स्ट्रोकका लक्षण यी हुन्:
–चक्कर लागेको जस्तो हुने
–एकदम खलखली पसिना आउने
–मुटुको चाल बढ्ने
–पसिनाले सबै शरीर भिजेजस्तो हुने
–मुख प्याक प्याक हुने, तिर्खा लागि रहने
–शरीर कमजोर हुने
–ढल्ने, छटपटाउने
–मासुहरू बाउँडिने
–१०३ डिग्रीसम्म ज्वरो आउने
–छाला सुख्खा हुने
–बान्ता हुने
–पिसाब आउँदै नआउने
–कतिपय मानिस मुर्छा पर्ने
तापमान बढ्दा कसरी सावधानी अपनाउने ?
–बाहिर तापमान बढ्दा घरभित्रै काम गर्ने
–बाहिर ननिस्कने
–दिउँसोमा गर्ने काम बिहान बेलुका गर्ने
–बजार जानुपर्ने भएमा बिहान या साँझ जाने
–गर्मीमा बालबालिकालाई स्कुल नपठाएर अनलाइन कक्षा पढाउने व्यवस्था गर्ने
–पातलो कटन अनि सूतीको लुगा लगाउने
–बजारमा पाइने चिसो पेय पदार्थ कोल्ड ड्रिङ्क नपिउने
–चिया, कफी कम मात्रामा पिउने
–पानीको मात्रा बढी भएका फलफूल खाने
–गर्मी याममा रक्सीले दोहोरो हानी गर्ने भएकाले नपिउने
– तालिम केन्द्रमा शीतल ठाउँ हुनुपर्ने ।
प्रतिक्रिया