‘महाकालेश्वरमा गेरुवस्त्र लगाएँ, लुकाउनुपर्ने कुरा छैन’
माननीय सदस्यहरूले तँ आस्तिक होस् कि नास्तिक होस ? भनेर पनि कुरा उठाउनुभयो । म सिद्धान्त त प्रस्ट धर्मनिरपेक्षवादी हुँ । सबै धर्मलाई समान मान्यता दिनुपर्छ, राज्यले कुनै धर्मलाई नजिक र कुनैलाई टाढा बनाउनुहुँदैन भन्ने पक्षको हुँ म । यो कुरा प्रस्ट होस् । त्यस कारण मैले भनेको छु –जनताको धार्मिक आस्थालाई सम्मान गर्नुपर्छ । जुनसुकै धर्म सम्प्रदायको जनतामा पनि उनीहरूको आस्थालाई अपमान हुने काम पार्टी र नेताहरू र राजनीतिज्ञहरूले गर्नुहुँदैन भन्ने मान्यतामा पनि म दृढ छु ।
अहिले उज्जैनमा गएर महाकालेश्वरमा पूजा गरेको त माननीय सदस्यहरूले पनि देख्नुभयो, दुनियाँले देख्यो । तर म बुद्धिस्टकोमा गएर बुद्धप्रति आफ्नोतर्फबाट प्रस्तुत गरेका आस्था, सम्मान र गतिविधिहरू पनि देख्नुभएकै छ । मुस्लिमहरूले आयोजना गर्ने कार्यक्रममा मुस्लिम टोपी लगाएर मुस्लिम समुदायप्रति व्यक्त गरेको सम्मान पनि यहाँहरूले देख्नुभएकै छ । अन्य धर्म सम्प्रदायको जनताको आस्थालाई सम्मान गरेको छु । अव उज्जैन गइयो, महाकालेश्वर त्यहाँको साँच्चै ऐतिहासिक, धार्मिक स्थल रहेछ । एकै दिनमा एक डेढलासम्म पर्यटक जाने र भव्य संरचना रहेछ । मैले त ठानेँ एकपटक हेर्नुपर्ने रहेछ, हाम्रो पशुपतिजस्तै । अरु हाम्रा पाथीभरादेखि बडिमालिकासम्म धार्मिक पर्यटनका लागि हामी सबैले कोसिस गर्दैछौँ नि ! रामायण सर्किट, बुद्धिस्ट सर्किट अनि बडिमालिका मानसखण्ड सर्किट, के–के हामी भन्दै छौँ । र, सरकार हुनुको नाता र प्रधानमन्त्रीको नाताले मैले फेरि धार्मिक पर्यटन प्रवर्द्धनका निम्ति आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ भन्ने बुझाइबाट गएको हो । म पुरै बदलिएर, के के भयो ? अर्कै भन्ने पनि होइन । म पहिला पनि गएको छु ।
नेपालकै महाकालेश्वरमा पनि गएको छु । त्यहाँ पनि गएर पूजा गरेको छु मैले । त्यस कारण भ्रम नपरोस् । त्यहाँ मेरो प्राथमिकता त्यहाँको सोलिट म्यानेजमेन्ट नै थियो । फोहोर व्यवस्थापन गरेको इण्डिायाकै सबैभन्दा सफल उदाहरण भएकाले त्यो हेर्नु थियो मलाई । अनि आइटीको सेक्टरमा पनि त्यो टाटा कन्सल्टेन्सी भनेको इन्डियाको टपमध्येकै रहेछ । त्यसलाई पनि हेर्नु थियो । त्यहाँ गैसकेपछि उज्जैनजस्तो ऐतिहासिक, धार्मिकस्थलमा पनि जाने, गइदिए हुन्थ्यो भन्ने चाहाना भारतको पनि थियो । त्यो लुकेको कुरा होइन, मैले लुकाउने कुरा पनि होइन ।
मलाई पनि फेरि महाकालेश्वर निकै ऐतिहासिक ठाउँ भनेपछि जाउँजाउँ पनि लागेको थियो । म गएँ आएँ, यो भन्दा बढी भन्नुपर्ने केही छैन मैले यत्ति भनेँ । म त्यहाँ गइसकेपछि भित्र पस्दिनँ भन्ने र गेरुचाहिँ लाउँदिन भन्ने कुराको केही अर्थ थिएन ।
प्रोटोकलको कुरा, २०२२ सम्म प्रोटोकल रहेनछ । कसले भन्नुभयो म त्यसै गएको थिएँ । मलाई मेरो एडीसीले पनि दौरा, सुरुवाल कोटमै मलाई लान बल गरे । २०२२ देखि प्रोटोकल लागू भएको रहेछ ।
त्यो प्रोटोकलअनुसार गेरुवस्त्र लगाएर मात्रै जान पाउने भनेपछि अब म त प्रोटोकल मान्दिनँ भन्दा पनि त्यो राम्रो हुने भएन । यसलाई स्वाभाविक लिनु नै उचित छ । र, हामी स्वाभाविक रूपमा गयौँ, पूजा गर्यौँ, दर्शन गर्यौँ र आयौँ । यसले धार्मिक पर्यटन प्रवर्द्धनमा मद्दतै गरेको छ ।
कतिपय मान्य सदस्यले भारत भ्रमणमा जाँदा कस्तो हेपेको पनि भन्नु भयो, मलाई भने त्यस्तो लाग्दैन । पूर्वप्रधानमन्त्रीहरु धेरैजसो जाँदा राज्यमन्त्री नै आएका छन् एयरपोर्टमा । अझ कतिपय जाँदा त सचिवहरू पनि आएका छन्, हेक्का रहोस् । खासखास क्षणमा मात्रै प्रधानमन्त्री नै आउने विरलै हुने रहेछ । मैले त के महसुस गरेँ भने दिल्लीमा पनि हाम्रा जुनसुकै प्रधानमन्त्री जाँदाखेरीको जस्तै स्वागत, सम्मान, प्रसार प्रसार थियो । इन्दौरमा अलि विशिष्ट थियो । इन्दौरमा नेपाली र भारतीय ठूलो संख्यमा जुटेर दुबैतिरका झण्डा हल्लाउँदै नाच्दै बाजा बजाउँदै अलि विशिष्ट खालको स्वागत थियो एयरपोर्टमा । इन्दोरबाट उज्जैनसम्म जाँदा अभूतपूर्व बाजागाजा, नाचगान थियो । हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीले पनि र भारतीय नेताहरूले पनि यस्तो स्वागत र सम्मान अमेरिकी राष्ट्रपति आउँदा एकचोटी देखिएको थियो । त्यसपछि कहिल्यै देखिएको थिएन अहिले नेपालको प्रधानमन्त्री आउँदा देखियो भन्थे उनीहरुले नै । त्यस कारण हामीलाई, हाम्रो टिम –माननीय मन्त्रीहरु, मुख्यसचिव, सचिव जो थियौँ सबै उत्साहित भएर आएको स्थिति हो । धेरै पो राम्रो गर्यौँ भन्ने भावसहित हामी आएका छौँ । अपमानित भएको महसुस हामीले गरेनौँ । त्यस कारण यसमा पनि हामीले चिन्ता लिनुपर्ने कुरा छैन।
प्रधानमन्त्री प्रचण्डले महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएको बारे संसदलाई दिएको जवाफको सम्पादित उतार