बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री बोल्दा विपक्षी सांसदले होहल्ला गरेपछि विश्वप्रकाशले यसरी सम्झाए

सोमबार, २२ जेठ २०८०, १६ : ५८
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपक्षी सांसदलाई आवेग नआउन आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले बोल्ने क्रममा विपक्षी सांसदहरूले होहल्ला मच्चाएपछि झापा– १ बाट निर्वाचित सांसद शर्मा आवेगलाई तिलाञ्जली दिन आग्रह गरे ।

प्रधानमन्त्री बोल्दा एमाले सांसदले होहल्ला मच्चाएपछि शर्माको नियमावली र संविधानको केन्द्रमा रहेर बोल्न सुझाएका थिए ।

विश्वप्रकाश शर्माको भनाइ जस्ताको त्यस्तै

सम्माननीय सभामुख महोदय, 

अहिले हामीले छलफल गरिरहेको विषय एकदमै गम्भीर विषय छ । सबैभन्दा पहिला अपिल र आग्रह के गर्न चाहन्छु भने – कुनै पनि विधेयकका सन्दर्भमा वा कुनै पनि सांसदले लिने निर्णयका सन्दर्भमा हामीले गर्ने विषय नियमावलीको केन्द्रमा रहेर, संविधानको केन्द्रमा रहेर बोल्नुपर्छ ।

हामी आवेगमा आएर हुँदैन । म एउटा पक्षको मात्र आलोचना गर्न चाहन्नँ । यहाँ सम्माननीय पूर्वप्रधानमन्त्री पनि हुनहुन्छ । यहाँ सम्माननीय, आदरणीय नेता पनि हुनुहुन्छ । विषयमा गम्भीर वस्तुगत भएर छलफल गरौँ । आवेगलाई तिलाञ्जली दिने कोसिस गरौँ ।

यस (संसद)मा माननीय प्रतिपक्षी दलका सदस्यले बोल्दै गर्दा यता (सत्ता पक्ष) बाट साथीहरूले आवाज उठाउनुभयो । उहाँले बोल्दै गर्दा डिस्टर्वको अनुभूति भयो । यता (सत्तापक्ष) बाट साथीहरूले सही गर्नुभयो बिलकुलै भन्दिनँ । तर सँगैमा के नविर्सिऔं भने एक जना माननीय सदस्यले बोल्दै गर्दा यता (सत्ता पक्ष) बाट आवाज उठाएर डिस्टर्व गर्नुभयो भने  त्यो डिस्टर्व भयो सही भएन भन्न सुक्छु ।

तर, यो देशको सम्माननीय प्रधानमन्त्रीले संसदको रोष्टमा उभिएर बोल्दै गर्दा त्यता (प्रतिपक्ष) बाट सही भएको छ, तपाईंहरु कसैले पनि भन्न सक्नुहुन्न । त्यसैले हामी माननीयहरूले बोल्न जति संविधानले अधिकार दिएको छ, त्यतिकै यो देशको सम्माननीय प्रधानमन्त्रीले आफ्नो कुरा राख्ने कुरा र धैर्यतापूर्वक सुन्नुपर्ने विषय हामीले आत्मासाथ गरौँ ।

म आग्रह गर्न चाहन्छु - अब यो नियमापत्ति गर्दै गर्दा यो संविधानको १११ आदरणीय मित्रले पल्लो पट्टी (प्रतिपक्षी बेन्च) बाट पढ्दै गर्दा मैले पहिलो पटक यो धारालाई पढेँ सम्माननीय सभामुख महोदय । धारा १११ बमोजिम प्रमाणीकरण गर्नका लागि राष्ट्रपति समक्ष पेस गरिने विधेयकको उत्पत्ति भएको सभामुख वा अध्यक्षले प्रमाणीकरण गरी पेस गर्नुपर्ने छ भन्छ ।

बिलकुलै सही कुरा उठाउनुभएको छ । तर, त्यसले के भन्दैन भने त्यो विधेयकमा सही श्री अग्निप्रसाद सापकोटा गर्नुपर्छ या त्यो विधेयकमा सही श्री देवराज घिमिरेले गर्नुपर्छ भन्ने हुँदैन । त्यसले सदनको सभामुखलाई चिन्छ ।

यसले राष्ट्रियसभाको अध्यक्षलाई चिन्छ, व्यक्तिलाई चिन्दैन । अब रह्यो यो (नागरिकता विधेयक) निष्क्रिय भयो भएन भन्ने कुरो । सरकारले यसरी सम्माननीय राष्ट्रपतिबाट ल्याउनुपर्थ्यो या सदनमा ल्याउनुपर्थ्यो या सङ्कल्प प्रस्तावमा ल्याउनुपर्थ्यो ।  हाम्रो बीचमा प्रक्रियाबारे विवाद हुन सक्दथ्यो । साथीहरूले उठाउनु भएको कुरामा यो नेपालको संविधान हो । यो हामीले बनाएको हो । सबैको हस्ताक्षर छ । यसको धारा १११ ले विधेयक पारित गर्ने विधि भन्छ । 

विधेयक पारित गर्ने विधिको १० नम्बरमा आइसकेपछि कुनै पनि विधेयक विचाराधीन रहेको अवस्थामा संसद अधिवेशन अन्त्य भएपनि त्यस्तो विधेयकमाथि आगामी अधिवेशनमा कारबाही हुन सक्नेछ भन्छ अर्थात अघिल्लो सदनको चिज यसले बेहोर गर्न सक्थ्यो । अघिल्लो सदनमा उत्पत्ति भएको नागरिकता विधेयक यो सदनमा पनि आउन सक्थ्यो । यो सदनमा त्यो ल्याउनु हुँदैन भनेर यसले कहीँ पनि भन्दैन । यदि सरकारले चाहेको भए त्यो विधेयकलाई यहाँ ल्याउन सक्थ्यो । तर, योसँगैमा १११ को १० ले निष्क्रिय हो कि होइन भन्ने धारा र स्प्रीडमै बहस गरौँ न ।

त्यसमा कुनै विधेयक प्रतिनिधिसभामा प्रस्तुत भई विचाराधीन रहेको वा प्रतिनिधिसभामा पारित भई राष्ट्रियसभामा विधाराधिन विधेयक रहेको अवस्थामा प्रतिनिधिसभा विघटन भएमा वा त्यसको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ भन्छ । तर नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभामा विचाराधीन थिएन । माफ गर्नुहोला ।

प्रतिपक्षी दलको नेता तथा आदरणीय साथीहरू यो विधेयकका सन्दर्भमा हाम्रा विमति हुन सक्छन् । प्रक्रियाका सम्बन्धमा अझै पनि प्रश्न उठाउन पाइन्छ । तपाईँले प्रश्न उठाउँदै गर्दा त्यहाँ (रोष्टम)बाट जवाफ दिँदै गर्दा मात्र एउटा सांसद उभिएर तपाईँलाई के भन्दै छ भन्दा प्रतिनिधिसभा र राष्ट्रियसभामा विचाराधीन भन्नु र प्रतिनिधिसभा र राष्ट्रियसभाले दुई दुई चोटि पारित गरेर पठाएको भन्नुको बीचमा फरक हुन्छ ।

फरक मैले यो विधेयकका रुपमा देखाएँ । माफ गर्नुहोला । मैले यो मेरो पार्टी नेपाली कांग्रेसको केन्द्रीय कार्यालयबाट बोकेर ल्याएको बुकलेट होइन । यो नेपाल देशको संविधान हो । यो निर्माण गर्दै गर्दा म यो देशको जनता मात्र थिएँ । हस्ताक्षर तपाईँहरूले गर्नुभएको छ । हस्त धन्यवाद । जय नेपाल ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप