सीमाबारे प्रश्न उठेपछि प्रचण्डको स्पष्टीकरण : संसद्मा के भने ?
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सीमाबारे कहीँ पनि विकल्प नदिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सीमाबारे विकल्प यो हुन्छ र यसमा जाऊँ भनेर प्रस्तावित नगरेको स्पष्ट पारेका हुन् ।
‘मैले कहीँ पनि विकल्प यो हुन्छ र यसमा जाऊँ भनेर प्रस्तावित गरेको छैन । प्रस्ट होस्’, प्रचण्डले भने, ‘कहीँ कोही कन्फ्युजन नहोस् । हामीले भनेका छौँ कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमिका हो । नेपालको भूमि हो भन्ने कुरा स्थापित कुरा सबैभन्दा ठुलो कुरा हो भन्नेमा म स्पष्ट छु ।’ आफूले सोहीअनुसार भूमिका खेलेको पनि प्रचण्डले बताए ।
उनले सिधा तथ्य भएको कुरालाई नघुमाउन पनि अनुरोध गरे । तुलनात्मक रूपमा आफ्नो भारत भ्रमण सफल मात्रै नभई ऐतिहासिक भएको पनि प्रचण्डले बताए । उनले अगाडि भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत समस्याको विषयमा पुरै गम्भीरता र जिम्मेवारीपूर्वक भन्न चाहन्छु । यो समस्या समाधान गर्नै पर्छ । जबसम्म दीर्घकालीन समाधान हुँदैन, नेपाल–भारत बीचको समस्या समाधान हुन सक्दैन ।’
उनले सिमानाको विषय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले प्रस्टसँग राखेको पनि बताए । सिमानाको समस्या हल गर्नुपर्छ भनिएको प्रधानमन्त्री स्तरबाट पहिलोपटक भएको दाबी गर्दै प्रचण्डले भने, ‘सीमा समस्या हाल गर्नुपर्छ । प्रधानमन्त्री स्तरबाट बोलिएको पनि यो पहिलो पटक हो । हामीले यो समस्या स्थायी रूपमा समस्या समाधान होस् भन्ने चाहेका छौँ ।’
उनले पहिलोपटक भारतीय प्रधानमन्त्रीले सीमा समस्या हल गर्ने विषयमा बोलेको भन्दै खुसी पनि व्यक्त गरे । ‘२०१४ मा यही संसद्मा नेपाल–भारतबीचको सम्बन्ध हिट भएको थियो, अब सुपर हिट हुन्छ भन्नु भएको छ । यसमा खुसी मनाउने कि दुःख मनाउने हो ?’, प्रचण्डले भने, ‘यो खुसीको कुरा हो ।’
यस्तो छ प्रधानमन्त्रीको भनाई छ :
अहिले प्रतिपक्ष दलको तर्फबाट माननीय सदस्यले र हिजो पनि उठेका कुराहरूको बारेमा मैले स्पष्ट पार्नुपर्ने आवश्यकता महसुस गरेको छु । मुख्य कुरा सीमा सम्बन्धी विषयमा । कालापानी, लिपुलेक, लिम्पियाधुरासँग सम्बन्धित विषय र सीमामा जहाँतहाँ समस्या छन् । ती सम्बन्धी विषयमा । म यो सम्मानित सदनलाई पूरै गम्भीरताका साथ, पूरै जिम्मेवारीका साथ भन्न चाहन्छु–मैले बडो प्रस्टसँग यी समस्यालाई हामीले समाधान गर्नुपर्छ । जबसम्म सीमा सम्बन्धी यो समस्याको स्थायी र दीर्घकालीन समाधान गरिँदैन, नेपाल–भारत सम्बन्ध सहज हुन सक्दैन भनेर बडो प्रस्टसँग अन्य नेताहरूको अतिरिक्त भारतीय प्रधानमन्त्रीसँग समेत प्रस्टसँग राखेँ । मलाई लाग्छ–यति प्रस्टसँग सिमानाको समस्या हल गर्नुपर्छ भनेर खुलस्त राखिएको मेरो बुझाइमा यो पहिलो पटक नै हो । र, भारतको प्रधानमन्त्रीको हैसियतले सीमा समस्या हल गरिन्छ । र, नेपाल–भारत सम्बन्ध हिमालको उचाइमा पुर्याइन्छ भनेर प्रधानमन्त्रीबाट बोलिएको पनि यो पहिलो पटक नै हो । यसमा हामी सबै नेपालीहरू, जसले स्थायी रुपमा सीमा समस्या समाधान होस् भन्ने चाहेका छौँ । हामी सबैले गर्व गर्नुपर्छ । हामीले सबैले सुनेका छौँ, देखेका छौँ । मैले होइन ।
मैले त आन्तरिक छलफलमा कुरा राखेँ । तर, भारतीय प्रधानमन्त्रीले मैले बोल्नु भन्दा अगाडि नै सीमा समस्या पनि अव हल गरिन्छ, हिमालयको उचाइमा दुई देशको सम्बन्ध पुर्याइन्छ । २०१४ मा यसै मञ्चबाट हाम्रो सम्मानित सदनलाई उहाँले गरेको सम्बोधन स्मरण गर्दै अव हाम्रो सम्बन्धमा सुपरहिट हो भनेर भन्नु भएको पनि यो पहिलो पटक हो । यसमा हामी खुसी हुने, खुसी मनाउने कि दुःख मनाउने ? मलाई लाग्छ–यो हामी सबै नेपालीका लागि, सबै राजनीतिक दलको लागि, नागरिक समाज, बुद्धिजीवी सबैको लागि पनि खुसीको कुरा हो कि भारत सरकार र भारत सरकारका शक्तिशाली प्रधानमन्त्रीले सीमालगायतका समस्या हल गरिन्छ भनेर घोषणा गरेको मलाई लाग्छ यो हामी सबैले खुसी मान्ने कुरा हो । दोस्रो माननीय सदस्यहरूलाई म बडो प्रस्ट ढङ्गले भन्न चाहन्छु–मैले कहीँ पनि विकल्प यो हुन्छ र यसमा जाऊ भनेर प्रस्तावित गरेको छैन । प्रस्ट होस् । कहीँ कोही कन्फ्युजन नहोस् । हामीले भनेका छौँ–कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमि हो । नेपालको भूमि हो भन्ने कुरा स्थापित गर्ने कुरा सबभन्दा ठुलो कुरा हो भन्ने कुरामा म प्रस्ट छु । र, मैले त्यही अनुसार आफ्नो भूमिका खेलेको छु । माननीय सदस्यहरूले तथ्य र तर्कलाई सहज र सिधा देखिएको कुरालाई हामी कसैले पनि घुमाउन कोसिस नगरौँ भन्ने मेरो अनुरोध छ । मैले तुलनात्मक रूपमा यो पटकको भारत भ्रमण सफल मात्रै भएन । परिणाममुखी पनि भयो । यो भ्रमण एक अर्कालाई घोचपेच गर्ने र एक अर्कालाई कमजोर देखाउने उद्देश्यद्वारा भन्दा कामकाजी विषयमा आर्थिक, ऊर्जा, पर्यटन, सीमा, ट्रेड ट्रान्जिट सम्बन्धी सन्धिजस्ता विषयमा बढी गयो । मैले सुरुमै यहाँहरूको अगाडि राखे । राजनीतिक मामिलामा पनि कुराकानी भयो । राजनीति भएन भन्ने होइन । राजनीतिक मामिलामा पनि कुरा भयो । तर, राजनीतिक मामिलामा कुरा यसरी भयो कि राम्रो वातावरण बनाएर आउने दिनमा राजनीतिक विषयहरू पनि सम्बोधन गर्ने गरी भयो । यस अर्थमा यो भ्रमण नेपालको लागि, हामी सबै नेपालीको लागि आर्थिक क्रियाकलापलाई नयाँ गति दिनका लागि, उद्योग व्यवसायको वृद्धिको लागि, दीर्घकालीन हामीले विद्युत् व्यापार सम्झौता १० हजार मेगावाट दश वर्षमा लिने भारत सरकारको कमिटमेन्ट सबैले सुन्यौँ । हामी सबैले देख्यौँ । यो सानो कुरा होइन । भारत, नेपाल र बंगलादेशको बीचमा त्रिपक्षीय साझेदारी गरेर नेपालको विद्युत् सम्बन्धी काम अगाडि बढाउने भन्ने कुरा सामान्य कुरा होइन ।
माननीय सदस्यहरू, मैले ग्लोबल टेन्डरबाट कुनै एक देशको निर्माण कम्पनीले प्राप्त गरेको र त्यसबाट उत्पादित विद्युत् नलिने भन्ने जस्ता कुराको बारेमा मैले द्विपक्षीय वार्ताको क्रममा पनि तपाईंहरूले सुन्न भयो । प्रेस मिट पनि मैले प्रस्टसँग राखेको छु । दुधकोशी समेत भन्नु भयो । सिमानाको विषयमा यति गम्भीर रूपले कुरा गरिएको र एउटा सकारात्मक वातावरणसहित दुवै देशको सरकार एकै ठाउँमा उभिएर समाधान गरिन्छ भनिएको यो पहिलो चोटीमा मैले मैले नेपालको भूमि यताउता गर्यो कि भनेर भनेर माननीयजीहरूले राखेको देख्दा म असाध्यै चिन्तित र पीडित पनि भएको छु । मलाई के लागेको थियो भने यो पटकको मेरो भ्रमण चाहिँ अव के सत्तापक्ष, के प्रतिपक्ष, के नेपाली बुद्धिजीवी, के नागरिक समाज सबैले स्वागत गर्नेछन् । र, मलाई बधाई दिनेछन् भन्ने सोच्दै आएको थिएँ । यहाँ त बडो विचित्रका तर्क, कुतर्क हुन थाले । मैले प्रस्ट पार्न चाहन्छु–ती कुरा प्रस्ट राखिएको छ । र, नेपालको भूमि नेपालको हो भनेर स्थापित गर्ने पहिलो कुरा हो । र, मैले कुनै पनि विकल्प कुरा गरेको छैन । माननीय सदस्यलाई प्रस्ट होस् । मैले बोलेका भिडियो छन्, सबै प्रमाणहरू छँदैछन् हामीसँग । मैले बोलेको कुरा के हो भने नेपालका केही विज्ञहरू, बुद्धिजीवीहरू, विभिन्न रूपमा गरेका उनीहरूको अध्ययनको आधारमा उहाँहरूले भनेको कुरा यस्ता पनि छन् भनेर मात्रै भनेको छु । मैले यो गर्नुपर्छ भनेकै छैन । मैले त नेपालको भूमि नेपालको हो भनेर पहिला स्थापित हुनुपर्छ भनेको मात्रै छु । तर केही बुद्धिजीवीहरूले भनेको बंगलादेश मोडेलको कुरा मेरो कुरा होइन । मैले भनेको कुरा होइन । तपाईंहरुलाई पनि थाहा छ । अझ भन्ने हो भने प्रतिपक्ष दलका जुन नेताले यो विषय उठाउनु भएको छ । तपाईंले तपाईंहरूकै नजिक भएका बुद्धिजीवीहरूले भनेका छन् मलाई । बंगलादेश जाने बाटो पाउने हो भने हुन्छ भनेर । मैले त्यसै भएर विज्ञहरूको कुरा भनेको छु मैले । मैले विज्ञहरूको कुरा भनेको छु । विज्ञहरूले यो पनि भन्ने गरेका छन् । तर मुख्य कुरा त सीमा समस्या हल गर्ने कुरा हो बाहेक मैले केही पनि भनेको छैन ।
अनि, ममाथि आरोप लगाएर अझ बढी राष्ट्रहित विपरीत अव नाम भन्न नै लगाउनु हुन्छ भने त मलाई केही अप्ठ्यारो छैन । तपाईंलाई नै थाहा छ । विज्ञहरूले बोली राख्नु भएकै छ नि । तर, मेरो त्यो प्रस्ताव होइन । यस्ता पनि तर्क छन् । समस्यालाई स्थायी र दिगो रूपले समाधान गर्न विकल्पहरू बारे पनि छलफल हुन सक्छन् मात्रै भनिएको कुरालाई अतिरञ्जित ढङ्गले लिन र जनसमुदायमा कन्फ्युजन क्रियट नगर्न म माननीय सदस्यहरूलाई आग्रह गर्न चाहन्छु । साँच्चै भन्ने हो भने यो पटकको भ्रमण साँच्चै कामकाजी भ्रमण भएको छ । नेपालको राष्ट्रिय हित प्रवर्द्धनको सन्दर्भमा । माननीयले भन्नु भयो–यो भनेपछि परिस्थिति बिग्रिन्छ, ऊ भनेपछि परिस्थिति बिग्रिन्छ । सबै भने–पञ्चेश्वर पनि आएकै छ, बाढी डुबान पनि आएकै छ । अर्को पनि आएकै छ । अर्को पनि आएको छ अनि । सबै परिस्थिति बिग्रन्छ भनेर छोड्यो भन्न मिल्छ र ? केही पनि छोडिएको छैन । म खोली केमा मात्रै गम्भीर भएको छु । म यो सम्मानित सदनलाई भन्न चाहन्छु–केही कुरा हामीले समय भन्दा अगाडि धेरै हल्ला गर्यो भने समाधान नहोला कि भन्ने चिन्ता छ । मैले कुरा चाहिँ सबै गरेको छु । मैले सबै गरेको छु । समाधान गर्ने हेतुले गरेको छु । बिगार्ने हेतुले होइन । नेपालको राष्ट्रिय हित प्रवर्द्धन गर्ने हेतुले गरेको छु, बिगार्ने हेतुले होइन । यस कारण माननीय सदस्यहरूलाई यथार्थ जे हो, तथ्य जे हो, त्यसलाई त्यही रूपमा बुझिदिन अनुरोध गर्दछु । राम्रो भएकोमा राम्रो भयो भन्ने आँट गर्नु पनि त ठुलो कुरा हो । राम्रो भएकोलाई पनि नराम्रै भन्न पर्ने । त्यसरी चाहिँ हाम्रो देशलाई फाइदा गर्दैन भन्ने मेरो भनाई छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन–पोखरा सडक : पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार
-
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
-
थोरै फिल्म होस्, तर राम्रो छान्छु : वर्षा राउत
-
मेलामा कुटपिट गर्ने ५ जनामाथि मुद्दा दायर
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)