रातोपाटी ब्रिफिङ : नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको आदेश, संसदमा विपक्षीको अवरोध
आज २०८० जेठ २१ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा नागरिकता विधेयक प्रमाणीकरण लगायतका मुद्दामा विपक्षीले संसद चल्न दिएनन्, नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सुरु, राष्ट्रपतिबाट हालै प्रमाणीकरण भएको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश, कर्णालीको नीति तथा कार्यक्रम : अर्ग्यानिक प्रदेश बनाउनेदेखि सुर्खेत विमानस्थल विस्तारसम्म, प्रधानमन्त्रीको भारत भ्रमण : आर्थिक मुद्दाको प्रस्थानबिन्दु, नेप्सेमा उल्लेखनीय वृद्धि, सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने लगायत छन् ।
१. नागरिकता विधेयक प्रमाणीकरण लगायतका मुद्दामा विपक्षीले संसद चल्न दिएनन्
विपक्षी ३ राजनीतिक दलले आइतबार संघीय संसदका दुवै सदनमा बैठक सञ्चालन हुन दिएनन् । विपक्षी दलहरू एमाले, रास्वपा र राप्रपाका सांसदहरूले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम गरेको, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको र अदालतको फैसलाको पूर्ण पाठ नआउँदै कैदीलाई आममाफी दिएको विषयमा विरोध जनाउँदै संसद बैठक अवरुद्ध गरेका थिए ।
२. नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सुरु
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरुको बयान सकिएपछि आइतबारदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमालेका निलम्बित सचिवसमेत रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी लगायतका प्रतिवादीहरुको थुनछेक बहस सुरु भएको हो ।
३. राष्ट्रपतिबाट हालै प्रमाणीकरण भएको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
राष्ट्रपति रामचन्द्र पौडेलबाट दुई दिनअघि प्रमाणीकरण भएको नागरिकता विधेयक (ऐन) तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आइबतार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
४. कर्णालीको नीति तथा कार्यक्रम : अर्ग्यानिक प्रदेश बनाउनेदेखि सुर्खेत विमानस्थल विस्तारसम्म
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा अर्ग्यानिक प्रदेश बनाउनेदेखि लिएर सुर्खेत विमानस्थल विस्तारसम्मको योजना समेटेको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । यसैबीच गण्डकी सरकारको नीति तथा कार्यक्रम पनि आइतबार नै प्रदेशसभामा प्रस्तुत गरिएको छ ।
५. प्रधानमन्त्रीको भारत भ्रमण : आर्थिक मुद्दाको प्रस्थानबिन्दु
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै सम्पन्न भारत भ्रमण राजनीतिक मुद्दा थाँती राखेर आर्थिक मुद्दाको प्रस्थानबिन्दुका रुपमा लिइएको छ । यस पटक भ्रमणमा मुलुकको आर्थिक हितसँग सम्बन्धित केही महत्त्वपूर्ण विषयमा सहमति भएको हो । यद्यपि, कार्यान्वयन पक्ष कस्तो रहन्छ भन्ने हेर्न बाँकी नै छ ।
६. एमालेमा किन खोसियो खगराज र पृथ्वी सुब्बा गुरुङको जिम्मेवारी ?
नेकपा एमालेले ३३ विभागमध्ये २ वटा विभागको प्रमुख परिवर्तन गरेको छ । एमालेमा प्रदेश इन्चार्ज समेत फेरिएका छन् । परिवर्तन गरिएका विभाग प्रमुखद्वयमा संगठन विभाग प्रमुख खगराज अधिकरी र प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ छन् । सचिवालय बैठकमार्फत खगराजको ठाउँमा काशीनाथ अधिकारी र गुरुङको ठाउँमा राजेन्द्र गौतमले विभागीय प्रमुखको जिम्मेवारी पाएका हुन् ।
७. नेप्सेमा उल्लेखनीय वृद्धि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.०३ अंक बढेर बन्द भएको छ । कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको नेप्से परिसूचक ५३ अंकले बढेर १९१९ अंकमा पुगेर रोकिएको हो ।
८. नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रदर्शन
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा आइतबार राजधानीमा जुलुस र धर्ना भएको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले जुलुस र धर्ना कार्यक्रम गरेको हो ।
९. सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने
नेपाली टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछानेले जिम्बाबेमा आयोजना हुने आईसीसी विश्वकपको क्यवालिफायर खेल्ने भएका छन् । विश्वकप क्यालिफायरका लागि अभ्यास खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली यसअघि नै दक्षिण अफ्रिका प्रस्थान गरिसकेको छ । लामिछाने पनि दक्षिण अफ्रिका जाने भएका छन् । उनीविरुद्धको मुद्दा एक महिनाभन्दा बढी समयका लागि पेसीमा नपर्ने भएसँगै उनी विदेश जान पाउने भएका हुन् ।
१०. गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा
रौतहटको गौर हत्याकाण्ड विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । आइतबार त्रिभुवन साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपहरणमा संलग्न दुई आरोपी पक्राउ
-
नेपाल-जापान व्यापार सम्बन्ध सुधार्न निप्पोन चेम्बर एण्ड इन्डस्ट्रीज स्थापना
-
बेलबारीमा कुमारी बैंकले गर्यो उद्यमी प्रशिक्षण कार्यक्रम
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार
-
इटालीयन ‘सिरी-ए’मा लेस्सी जित्यो, एम्पोली र यूडिनिजको खेल बराबरी