‘ए’ डिभिजन लिग : विदेशी खेलाडी चम्किए, नेपाली खेलाडीलाई सकस
काठमाडौँ । घरेलु फुटबलको सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता हो, ‘ए’ डिभिजन लिग । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी तयार पार्ने महत्त्वपूर्ण माध्यम पनि हो, ‘ए’ डिभिजन लिग । अनि घरेलु फुटबललाई चलायमान बनाउने आधार पनि हो, ‘ए’ डिभिजन लिग ।
अहिले काठमाडौँमा ‘ए’ डिभिजन लिगको ४५औँ संस्करण चलिरहेको छ । विभिन्न कारणले निर्धारित समयभन्दा निकै ढिलो सुरु भएको ‘ए’ डिभिजन लिग उत्तरार्धतिर पुगेको छ । लिगमा सहभागी १४ वटै टोलीले अब तीन/तीन खेल खेल्न बाँकी छ ।
प्रतियोगिता उत्तरार्धतिर पुग्दा विदेशी खेलाडीहरूको प्रदर्शन उत्कृष्ट देखिएको छ । लामो समयपछि दोहोरो (डबल राउन्ड रोविन लिग) लिग खेल्नु पर्दा नेपाली खेलाडीहरू भने दबाबमा देखिएका छन् । खासगरी दोहोरो लिग खेल्ने गतिलो अनुभव नभएकाले पनि नेपाली खेलाडी केही सकसमा परेका हुन् ।
यसअघि नेपालमा एक पटकमात्र दोहोरो लिग खेलाइएको थियो । ‘दोहोरो लिग प्रणालीमा ए डिभिजन खेलाइएको यो दोस्रो पटक हो । त्यसैले हाम्रा खेलाडीलाई दोहोरो लिगको खासै अनुभव छैन । लगातार खेल्नु पर्दा खेलाडीले राम्ररी आराम गर्न पनि पाएका छैनन् । त्यसैले केही अप्ठ्यारो भएको हो,’ प्रतियोगिता निर्देशक सञ्जीव मिश्र भन्छन् ।
मिश्रका अनुसार, २०६७/६८ सिजनमा पहिलो पटक दोहोरो लिग प्रणालीमा ‘ए’ डिभिजन खेलाइएको थियो । त्यतिबेला विभागीय टोली नेपाल पुलिस क्लबले उपाधि जितेको थियो । निर्धारित समयभन्दा ढिलो लिग सुरु भएकाले पनि लगातार खेल खेलाउनु परेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी सिजनको लिग २०७९ साल पुस २६ गतेदेखि सञ्चालन गर्ने योजना बनाएको थियो । तर, एन्फा र सहभागी क्लबहरुबीचको विवादका कारण निर्धारित समयमा लिग सञ्चालन हुन सकेन । आफूहरूले पाउनु पर्ने रकम एन्फाले उपलब्ध नगराएको आरोप क्लबहरूले लगाएका थिए । सोही कारणले लामो समय लिग प्रभावित भयो ।
त्यसपछि २०७९ साल फागुन १९ गतेबाट मात्र लिग सुरु भएको थियो । यसका अतिरिक्त एन्फाको निर्वाचन र कतारमा आयोजित विश्वकप फुटबलले पनि लिग सुरु हुन ढिलाइ भएको थियो । यसअघि जुन/जुलाईमा आयोजना हुने विश्वकप नोभेम्बर/डिसेम्बरमा आयोजना भएको थियो ।
सुरु भइसकेपछि पनि बीचमा लिग केही समय स्थगित भएको थियो । ‘एन्फा र क्लबबीचको विवाद, एन्फा निर्वाचन र फिफा विन्डोका कारण लिगको सेड्यूल बिग्रियो,’ प्रतियोगिता निर्देशक मिश्र भन्छन्, ‘सुरु भइसकेपछि पनि गत चैतमा थ्री नेसन्स कपका कारण केही समय लिग रोकियो । यी सबै कारणको प्रत्यक्ष प्रभाव लिगमा परेको हो ।’
त्यसैको प्रतिफल हो, जारी लिगमा तीन महिनाको अवधिमा एक सय ८२ खेल सञ्चालन गर्नुपर्ने अवस्था सृजना भयो । अनि त्यसको प्रत्यक्ष असर दोहोरो लिगको अनुभव नबटुलेका नेपाली खेलाडीको प्रदर्शनमा परेको हो । लगातार खेल्नु पर्दा खेलाडीहरू घाइते हुने समस्या पनि बढी देखिएको छ ।
‘खेलाडीले दबाबमा खेल्नु परेको पक्कै हो । प्रत्येक दुई वा तीन दिनमा खेल पर्ने भएकाले खेलाडीलाई धपेडी भयो । तर, बाहिर आएजस्तो धेरै खेलाडी घाइते भएका भने छैनन् । यति ठुलो प्रतियोगितामा केही इन्जुरीका समस्या देखिनु स्वाभाविक नै हो,’ मिश्र भन्छन् ।
००००
पुरानालाई नयाँ क्लबको चुनौती
यस पटकको लिगमा अब सहभागी टोलीले तीन/तीन खेल खेल्न बाँकी छ । एन्फाले जेठ २७ गते लिग टुङ्ग्याउने तयारी गरेको छ । हालसम्मको लिग तालिकालाई हेर्दा चर्च ब्वाइज युनाइटेड क्लबले आफ्नो अग्रता कायमै राखेको छ ।
चर्च ब्वाइज भर्खरै ‘बी’ डिभिजनबाट ‘ए’ डिभिजनमा उक्लिएको क्लब हो । अघिल्लो सिजन भएको ‘बी’ डिभिजन लिगमा १३ खेलबाट २९ अङ्क बटुल्दै चर्च ब्वाइज माथिल्लो डिभिजनमा उक्लिएको थियो । त्यतिबेला चर्च ब्वाइजसँगै खुमलटार युथ क्लब पनि ‘बी’बाट ‘ए’ डिभिजनमा उक्लिएको थियो ।
जारी ‘ए’ डिभिजन लिगमा आफ्नो तीन खेल खेल्न बाँकी रहँदा चर्च ब्वाइजले २३ खेलबाट ४१ अङ्क बटुलेको छ । चर्च ब्वाइजले हालसम्म ११ जित, आठ बराबरी र चार हारको नतिजा निकालेको छ । आफ्नो निकटतम प्रतिद्वन्द्वी मच्छिन्द्र क्लबभन्दा चर्च ब्वाइज दुई अंकले अगाडि छ ।
मच्छिन्द्रले भने समान खेलबाट ३९ अङ्क जोडेको छ । हालसम्म मच्छिन्द्रले १० जित, नौ बराबरी र चार हारको नतिजा निकालेको छ । यसका अतिरिक्त तालिकाको तेस्रो स्थानमा आसिन, जाउलाखेल युथ क्लब र चौथो स्थानमा आसिन नेपाल पुलिस क्लब पनि उपाधिको होडमा कायमै छन् । जाउलाखेलले ३७ र पुलिस क्लबले ३४ अङ्क जोडेका छन् ।
अन्य क्लब भने उपाधि होडबाट बाहिरिइसकेका छन् । तालिकाको पाँचौँ स्थानमा आसिन मनाङ मर्स्याङ्दी क्लबले ३१ अङ्क जोडेको छ । बाँकी तीनवटै खेलमा विजयी भए पनि मनाङ मर्स्याङ्दीले लिग जित्ने सम्भावना छैन । पुरानो र स्थापित क्लब मनाङ मर्स्याङ्दी ‘ए’ डिभिजन लिगको उपाधि सबैभन्दा बढी जित्ने क्लब हो । मनाङ मर्स्याङ्दीले हालसम्म आठपटक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ । तर, २०७५ सालपछि मनाङ मर्स्याङ्दी ‘ए’ डिभिजन लिगको उपाधि जित्न सकेको छैन ।
‘भर्खरै ‘बी’ डिभिजनबाट उक्लिएको क्लबले पुराना र स्थापित क्लबहरूलाई चुनौती दिनु जारी सिजनको लिगको सबैभन्दा राम्रो पक्ष हो । लिग तालिकाको शीर्ष स्थानमा रहेको चर्च ब्वाइजले प्रभावशाली क्लबहरूलाई आच्छुआच्छु पारेको देखिन्छ,’ प्रतियोगिता निर्देशक मिश्र भन्छन् ।
अहिले चर्च ब्वाइज क्लबसँग ‘ए’ डिभिजन लिगसँग जोडिएको ३७ वर्ष पुरानो कीर्तिमान भेट्टाउने सुनौलो अवसर छ । २०४३ सालपछि कुनै पनि क्लबले ‘बी’ डिभिजनबाट उक्लिए लगत्तै ‘ए’ डिभिजन लिगको उपाधि जित्न सकेको छैन । २०४३ सालमा मनाङ मर्स्याङ्दी क्लबले ‘बी’ डिभिजनबाट माथि उक्लिए लगत्तै भएको ‘ए’ डिभिजन लिगको उपाधि चुमेको थियो । ‘ए’ डिभिजन लिग जित्ने क्लबले सन् २०२३/२४ को एएफसी कपको प्रारम्भिक चरण खेल्न पाउने प्रावधान पनि छ ।
जारी सिजनको लिगमा उपाधि जित्ने दौडमा रहेका टोलीहरुबीच जति घम्साघम्सी छ त्यति नै गहिरो प्रतिस्पर्धा रेलिगेसनबाट जोगिन सङ्घर्षरत क्लबहरुबीच पनि छ । तालिकाको पाँचौँ स्थानदेखि १४औँ स्थानसम्म रहेका क्लबहरूमध्ये जुनसुकै पनि रेलिगेसनमा पर्न सक्ने सम्भावना छ ।
कूल १४ क्लब सहभागी जारी ‘ए’ डिभिजन लिगबाट दुईवटा टोली रेलिगेसनमा परी ‘बी’ डिभिजनमा घटुवा हुनेछन् । हाल मनाङ मर्स्याङ्दी (३१ अङ्क) पाँचौँ, त्रिभुवन आर्मी क्लब (३० अङ्क) छैटौँ, हिमालयन शेर्पा क्लब (३० अङ्क) सातौँ, एपीएफ क्लब (२९ अङ्क) आठौँ, सातदोबाटो युथ क्लब (२९ अङ्क) नवौँ, न्यु रोड टिम (२९ अङ्क) १०औँ, थ्रिस्टार क्लब (२७ अङ्क) ११औँ, संकटा क्लब (२७ अङ्क) १२औँ, फ्रेन्ड्स क्लब (२५ अङ्क) १३औँ र खुमलटार (२४ अङ्क) १४औँ स्थानमा छन् ।
००००
लिगमा खेलाडी पलायनको असर
पछिल्लो समय नेपाली फुटबल खेलाडी पलायनको समस्याबाट सबैभन्दा बढी प्रभावित छ । खेलकुदमा भविष्य नदेखेपछि सैयौँको सङ्ख्यामा नेपाली फुटबल खेलाडी विदेश पलायन भएका छन् । फुटबल खेलाडीहरू सुखद भविष्यको खोजीमा अमेरिका, अस्ट्रेलियालगायतका मुलुक पुगेका छन् ।
लिगअघि ठुलो सङ्ख्यामा नाम चलेका प्रभावशाली खेलाडीहरू विदेश पलायन भएपछि त्यसको प्रत्यक्ष असर ‘ए’ डिभिजन लिगमा पनि देखिएको छ । कलात्मक फुटबल र मैदानमा खेलाडीबीच चर्को घम्साघम्सी हेर्ने दर्शकको चाहना खासै पूरा भएको देखिँदैन ।
अहिलेसम्म एक सय जनाभन्दा बढी फुटबल खेलाडी विदेश पलायन भइसकेका छन् । ‘हो, हामीले पनि खेलाडी पलायनको प्रभाव लिगमा पर्ने अनुमान गरेका थियौँ । लिग खल्लो हुने हो कि भन्ने डर पनि थियो,’ प्रतियोगिता निर्देशक मिश्र भन्छन्, ‘तर, हाम्रो अनुमान विपरीत यो सिजनको लिग निकै रोचक र प्रतिस्पर्धात्मक देखिएको छ ।’
उनी खेलाडी पलायनको अवसर लिगमा खासै नपरेको दाबी गर्छन् । ‘मैले लिग हेर्न थालेकै तीन दशकभन्दा लामो समय भइसकेको छ तर, यतिको प्रतिस्पर्धात्मक लिग मैले देखेको थिइन । यसपटक चर्को प्रतिस्पर्धा देखिन्छ,’ उनी भन्छन्, ‘यो लिगमा तालिकाको अन्तिमतिर रहेका क्लबहरूले पनि माथिल्लो स्थानमा रहेका टोलीलाई हराइरहेका छन् ।’ जारी लिगबाट नेपाली फुटबलले केही प्रतिभाशाली खेलाडी पाउने दाबी पनि उनले गरे ।
००००
विदेशी खेलाडीको दबदबा
जारी लिगमा सहभागी १४ मध्ये १३ वटा क्लबले विदेशी खेलाडीलाई मैदानमा उतारेका छन् । विभागीय टोली त्रिभुवन आर्मी क्लबले मात्र विदेशी खेलाडीलाई टोलीमा सहभागी गराएको छैन । बाँकी दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले भने विदेशी खेलाडीलाई टोलीमा समेटेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसपटकको लिगमा प्रत्येक क्लबले पाँचजना विदेशी खेलाडीलाई टोलीमा समावेश गर्न पाउने प्रावधान राखेको छ । तीनजना विदेशी खेलाडी विश्वको जुनसुकै देशको भए पनि हुन्छ । बाँकी दुईमध्ये एकजना विदेशी खेलाडी एसियाली र एकजना खेलाडी दक्षिण एसियाली राष्ट्रको हुनुपर्ने प्रावधान छ ।
यस पटकको लिगमा विदेशी खेलाडी नै हाबी भएको देखिन्छ । प्रतियोगिता निर्देशक मिश्र पनि यो तथ्यलाई स्वीकार्छन् । ‘हो, यसपटकको लिगमा विदेशी खेलाडीहरू बढी हाबी भएको देखिन्छ । गोल गर्नेमा पनि विदेशी खेलाडी नै अगाडि छन्,’ मिश्र भन्छन्, ‘विदेशी खेलाडी खेलाउन थालेपछि पुलिस क्लबकै प्रदर्शनमा पनि सुधार आएको देखिन्छ ।’
सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा अघिल्लो नौ स्थानभित्र एकजना मात्र नेपाली खेलाडी छन् । मच्छिन्द्र क्लबका ओलावाले हाफिजले हालसम्म सर्वाधिक १८ गोल गरेका छन् । उनी नाइजेरियाका खेलाडी हुन् । जाउलाखेल युथ क्लबका एनकोतो मासोआबी र खुमलटारका मेसोउके ओलोमोउले १६/१६ गोल गरेका छन् । मासोआबी लेसोथोका र ओलोमोउ क्यामरुनका खेलाडी हुन् ।
यसैगरी फ्रेन्ड्स क्लबका विदेशी खेलाडी रफिक अमिनु सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा चौथो स्थानमा छन् । घानाका खेलाडी अमिनुले हालसम्म १३ गोल गरेका छन् । सातदोबाटो क्लबका दिपकराज ठकुरी सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पाँचौँ स्थानमा आसिन छन् । उनले हालसम्म १२ गोल गरेका छन् ।
मनाङ मस्र्याङ्दी क्लबका विदेशी खेलाडी कोफी टिमोथी कोउडो र खुमलटारका स्टेफन बिनोडले हालसम्म नौ/नौ गोल गरेका छन् । काउडो टोगो र बिनोङ क्यामरुनका खेलाडी हुन् । एपीएफ क्लबका अर्मान्ड बेडुम र जाउलाखेलका फोडे फोफानाले पनि आठ/आठ गोल गरेका छन् ।
यसैगरी ह्याट्रिक गर्ने खेलाडीमा पनि विदेशी खेलाडी नै अगाडि देखिन्छन् । मच्छिन्द्र क्लबका नाइजेरियन खेलाडी ओलावाले हाफिजले दुईवटा ह्याट्रिक गरेका छन् । मच्छिन्द्र क्लबले खुमलटारलाई ७—३ गोलले हराउँदा उनले ह्याट्रिकसहित पाँच गोल गरेका थिए । मच्छिन्द्र क्लबले सातदोबाटोलाई ३—१ गोलले हराउँदा पनि ओलावाले हाफिजले ह्याट्रिक गरेका थिए ।
यसैगरी खुमलटारले जाउलाखेललाई ४—२ गोलले हराउँदा खुमलटारका लागि क्यामरुनका खेलाडी स्टेफन बिनोङले ह्याट्रिक गरेका थिए । नेपाली खेलाडी अञ्जन बिष्टले पनि एक खेलमा ह्याट्रिक गरेका छन् । चर्च ब्वाइज क्लबका बिष्टले न्यु रोड टिमविरुद्घको खेलमा ह्याट्रिक गरेका हुन् । उक्त खेलमा चर्च ब्वाइज ४—१ गोलले विजयी भएको थियो ।
००००
लिग सकिनै लाग्यो, छैन ‘टाइटल स्पोन्सर’
जारी सिजनको ‘ए’ डिभिजन लिग अन्त्यतिर पुगिसकेको छ । तर, हालसम्म यो सिजनको ‘ए’ डिभिजन लिगले ‘टाइटल स्पोन्सर’ (मुख्य प्रायोजक) पाउन सकेको छैन । यसअघिका लिगलाई भने विभिन्न व्यावसायिक कम्पनीहरूले प्रायोजन गर्ने गरेका थिए ।
यसअघि २०७६ सालमा आयोजना भएको लिगमा पल्सर ‘टाइटल स्पोन्सर’ बनेको थियो । २०७७ साल र २०७८ सालको ‘ए’ डिभिजन लिगलाई भने कतार एयरवेजले ‘टाइटल स्पोन्सर’ गरेको थियो । २०७८ सालको लिगलाई ‘टाइटल स्पोन्सर’ गरेवापत कतार एयरवेजले एन्फालाई एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
तर, यसपटक भने ‘टाइटल स्पोन्सर’ बिना नै लिग अन्त्यतिर पुगिसेको छ । एन्फाका एक पदाधिकारीका अनुसार, यसपटक पनि एन्फाले कतार एयरवेजलाई प्रस्ताव गरेको थियो । यसपटक विगतको भन्दा रकम बढाएर एन्फाले कतार एयरवेजलाई प्रस्ताव पठाएको थियो । एन्फाले कतार एयरवेजसँग विभिन्न चरणमा छलफल पनि गरेको थियो । तर, कतार एयरवेजबाट स्पष्ट जवाफ नआएपछि ‘टाइटल स्पोन्सर’ बिना नै लिग उत्तरार्धसम्म आइपुगेको हो ।
एन्फाले ‘टाइटल स्पोन्सर’ का लागि दुई करोड रुपैयाँको टेन्डर पनि आह्वान गरेको थियो । एन्फाले टेन्डर आह्वान गर्दा पनि कुनै ब्यापारिक प्रतिष्ठान ‘ए’ डिभिजन लिगको ‘टाइटल स्पोन्सर’ गर्न इच्छुक देखिएका थिएनन् ।
००००
तीन रंगशालामा खेल, दर्शक सङ्ख्या न्यून
यस पटक ‘ए’ डिभिजन लिग तीनवटा रंगशालामा खेलाइँदै छ । प्रतियोगिता निर्देशक मिश्रका अनुसार, ‘ए’ डिभिजन लिगको इतिहासमा पहिलो पटक प्रतियोगिताका खेलहरू काठमाडौँ उपत्यकाका तीनवटा रंगशालामा खेलाइएको हो ।
छोटो समयमा धेरै खेल खेलाउनु पर्ने भएकाले पनि खेल तीनवटा रंगशाला प्रयोग गरिएको हो । हाल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, ललितपुरको च्यासलस्थित च्यासल फुटबल मैदान र ललितपुरको सातदोबाटोस्थित एन्फा एकेडेमीको मैदानमा ‘ए’ डिभिजन लिग खेलाइँदैछ ।
यसपटक ‘ए’ डिभिजन लिगप्रति दर्शकको पनि खासै उत्साह देखिएको छैन । लिग अन्त्यतिर छ । उपाधि होड र रेलिगेसन पनि उत्तिकै रोमाञ्चक मोडमा छ । तर, फुटबल हेर्न रंगशाला धाउने दर्शकको सङ्ख्या भने निकै न्यून देखिन्छ ।
प्रतियोगिता निर्देशक मिश्र भने लिगप्रति दर्शकको उत्साह अझै नघटेको दाबी गर्छन् । ‘गत वर्षदेखि लिगका खेलहरू एन्फा टीभीमार्फत प्रत्यक्ष प्रशारण गरिँदै आएको छ । त्यसैले रंगशाला आउने दर्शकको सङ्ख्या घटेको हो । अधिकांश फुटबलप्रेमीले एन्फा टीभीमै प्रत्यक्ष प्रशारण हेर्ने गरेका छन्,’ उनी भन्छन्, ‘अहिले पनि ए डिभिजन लिगप्रति फुटबलप्रेमीको उत्तिकै चासो छ ।’
दर्शकलाई रंगशालासम्म तान्न एन्फाको भन्दा पनि क्लबहरूको भूमिका महत्त्वपूर्ण हुने प्रतियोगिता निर्देशक मिश्र बताउँछन् । यसका लागि क्लबहरूले देशभर आफ्ना समर्थक बढाउनु पर्ने उनको धारणा छ । ‘एन्फाले भन्दा पनि क्लबहरूले दर्शकलाई रंगशालासम्म तान्ने हो । क्लबको समर्थक बढे भने उनीहरू आफ्नो क्लबको खेल हुँदा खेलाडीको हौसला बढाउन रंगशालासम्म आउँछन्,’ मिश्र भन्छन् ।
उनको विचारमा क्लबहरूले देशव्यापी रूपमा आफ्ना समर्थक बढाउन देशका विभिन्न भागमा ‘प्रि—सिजन टुर’ गर्नु आवश्यक छ । ‘क्लबहरूले देशका विभिन्न सहरमा प्रि—सिजन टुर गर्दा फुटबलको लोकप्रियता पनि अझ बढ्छ । सम्बन्धित क्लबका समर्थक पनि बढ्छन् । त्यसैले यसतर्फ क्लबहरूले आफ्नो ध्यान पुर्याउनु आवश्यक छ ।’
००००
६९ वर्षदेखि काठमाडौँ केन्द्रित लिग !
नेपालमा ‘ए’ डिभिजन लिग सुरु भएको ६९ वर्ष पुगिसकेको छ । तर, ‘ए’ डिभिजन लिगका खेलहरू अहिले पनि काठमाडौँ उपत्यका केन्द्रित नै देखिन्छ । लिगले अझै काठमाडौँ उपत्यकाको आकाश छिचोल्न सकेको छैन ।
अखिल नेपाल फुटबल संघ (एन्फा) पनि घरेलु फुटबलको मेरुदण्ड मानिने लिगलाई काठमाडौँ बाहिर विस्तार गर्न खासै गम्भीर देखिँदैन । लिगका खेलहरू काठमाडौँ उपत्यकामै खेलाइन्छ भने सहभागी अधिकांश क्लबहरू पनि काठमाडौँ केन्द्रित नै छन् ।
अझै पनि एन्फाका लागि ‘ए’ डिभिजन लिगका खेलहरू ‘होम एन्ड अवे’का आधारमा खेलाउनु एकादेशको कथाजस्तै छ । खासगरी भौतिक पूर्वाधारको अभावका कारण लिगका खेलहरू काठमाडौँमै खेलाउनु पर्ने बाध्यता देखिन्छ । तर, पूर्वाधार विकासका लागि पनि एन्फा गम्भीर देखिँदैन ।
प्रतियोगिता निर्देशक मिश्र भन्छन्, ‘लिग सधैँ काठमाडौँ केन्द्रित हुनु दुःखद पक्ष हो । यसपटक पनि लिगका केही खेलहरू काठमाडौँ बाहिर खेलाउने विषयमा छलफल भएको थियो । तर, भौतिक पूर्वाधार सबैभन्दा ठुलो समस्या हो,’ उनी भन्छन्, ‘आगामी सिजनमा भने लिगका केही खेल काठमाडौँ बाहिर पनि खेलाउने कुरा उठेको छ ।’
उनी काठमाडौँ बाहिर लिगका खेलहरू खेलाउँदा सुविधा सम्पन्न रंगशाला, रंगशालामा फ्लड लाइटको व्यवस्था, स्थायी प्रकृतिको प्यारापिट, शौचालय, लकर रुम, यातायात, स्वास्थ्य सेवा, यातायात, होटेलजस्ता न्यूनतम सुविधा उपलब्ध हुनुपर्ने बताउँछन् ।
‘उपत्यका बाहिर लिगका खेलहरू खेलाउँदा न्यूनतम सुविधा उपलब्ध हुनैपर्छ । तर विराटनगर, पोखराजस्ता स्थानमा लिगका खेलहरू खेलाउन सकिन्छ । होम एन्ड अवेका आधारमा लिग खेलाउन क्लबहरू पनि सक्षम हुनुपर्छ,’ प्रतियोगिता निर्देशक मिश्र भन्छन् । ‘ए’ डिभिजन लिगको पहिलो संस्करण २०११ सालमा भएको थियो । पहिलो संस्करणको उपाधि महावीर—११ ले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
-
बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय
-
विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस समिति गठन
-
एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
-
बीआरआई ऋणमा स्विकार्न सकिँदैन : प्रधानमन्त्री
-
श्रीलंकाका लागि राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय