आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
बैंकको रकम घोटाला प्रकरण

वान एक्सबेटको ‘लत’ र ठगी धन्दाको नालीबेली

बैंकका प्रबन्धक नीरज प्रधानद्वारा ठगी धन्दामा संलग्नताको स्वीकारोक्ति
आइतबार, २१ जेठ २०८०, १५ : २७
आइतबार, २१ जेठ २०८०

विराटनगर । ‘नखेल्नु जुवा र तास, धनको नाश जीवनको वनवास’ बोलको लोकगीतले जुवा नखेल्न सचेत गराउँछ । तर जुवाको लत लागेपछि व्यक्ति नराम्ररी फस्छ । जुवाको लत लागेपछि अहिले नीरज प्रधान, शङ्कर भुजेल र अजय खिउँजूको बास प्रहरीको हिरासतमा भएको छ । उनीहरू हिरासतमा जानुको कारण हो, अनलाइनबाट जुवाजन्य खेलमा सहभागी हुन प्रयोग गरेको वान एक्सबेट नामक अनलाइन एप । 

के भन्छन् आरोपी ?

केही समय पहिले इटहरीको एभरेस्ट बैंकको शाखा कार्यालयबाट पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको खुलासा भयो । अनुसन्धानका क्रममा  ३ जना समातिए । 

प्रहरीलाई दिएको बयानमा पक्राउ परेका प्रधान, भुजेल र खिउँजू यी ३ जनाले फिफा वर्ल्डकप २०२२ को क्रममा उक्त जुवाजन्य खेल खेल्ने गरेको र त्यही क्रममा एक अर्काबिच चिनजान हुँदै रकम लेनदेन चलेको भनेका छन् ।

मुख्य आरोपी नीरज प्रधान हाल एभरेस्ट बैङ्क, उदयपुर शाखाका म्यानेजर हुन् । उनका अनुसार उनी एभरेस्ट बैंकको इटहरी शाखामा कार्यरत छँदा फिफा वर्ल्डकप २०२२ सुरु भयो । सो क्रममा विश्वकपको विभिन्न खेल तथा गतिविधिहरूमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेशन वान एक्सबेटमार्फत् सट्टेबाजी खेल्ने उनलाई लत लाग्यो । उनले विभिन्न कम्पनीको शेयर बिक्री गरेर खेले । 

आफूसँग रहेको मौज्दात सकिँदै गएपछि उनले आफू कार्यरत बैंकको ग्राहकहरूको खाताबाट कनेक्ट आइपिएसको दुरुपयोग गरे । अनि, एजेन्ट शङ्कर भुजेलले उपलब्ध गराएको विभिन्न व्यक्तिहरूको अन्य बैंकको विभिन्न खातामा रकमान्तर गरे ।

उनले आफू एक्लैले कनेक्ट आइपिएसको दुरुपयोग गरी ग्राहकहरूको खातामा रहेको मौज्दात रकमान्तर गर्न सम्भव नभएपछि आफूले मार्कर/चेकर दुई वटा युजरको पासवर्ड कम्प्युटरमा अटो सेभ गरेर त्यो कार्य गरेको बयान दिएका छन् । 

साथै, उनले आफूले  कति रकम निकाले भन्नेसम्म जानकारी नभएको बयान दिएका छन् । त्यसबेला बैंकका अन्य कर्मचारीले पनि सट्टेबाजी खेल्ने गरेको उल्लेख गरेका छन् । 

यस्तै, प्रतिवादी शङ्कर भुजेलले काठमाडौँको कीर्तिपुर डेरा गरी बस्ने सञ्जय मोक्तान (लामा) मार्फत अजय खिउँजुसँग चिनजान भएको बताएका छन् । उनका अनुसार कुराकानीका क्रममा १५ प्रतिशत कमिसन दिने प्रलोभनपछि नीरज प्रधानसँग वान एक्सबिइटी खेल्ने क्रममै चिनजान भयो । 

भुजेलले खिउजुसँग पैसा हाल्नको लागि बैङ्क एकाउन्ट मागेर नीरज प्रधानलाई पठाई दिन्थे । नीरज प्रधानले सो बैङ्क एकाउन्टमा अनलाइनमार्फत रकमान्तर गरेको स्क्रिन सट भुजेललाई म्यासेन्जरमा पठाई दिएपछि सो म्यासेज उनले खिउँजुलाई पठाई दिने गरेका थिए । 

शङ्कर भुजेल यसमा आफू पनि पीडित भएको बताएका छन् । ‘नीरज प्रधानले मेरो कृषि विकास बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, मेघा बैङ्क र माछापुच्छ्रे बैंकमा आठ लाख पैंतालीस हजार चौबिस रुपैयाँ निकाली घर खर्च गरी खाई मासे,’ उनले भनेका छन् । 

उता प्रतिवादी अजय खिउँजुले भने अवैध रकम क्यास बनाइदिने प्रलोभनमा पारी निरजहरुले खेल्न उक्साउने गरेको बयान दिएका छन् । उनका अनुसार विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा गतिविधिहरूमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेशन वान एक्सबिइटीमा उनको पनि लत बसेको थियो । तर खेल्ने क्रममा जितेको पैसा एजेन्टले मोबाइल क्यास निकालेर खाइदिन्थे । त्यसैले, आफैले वान एक्सबिइटीको वेबसाइट प्रयोग गरी एलिना रिटेलमार्फत् त्यसको एपमा रकम जम्मा गरी खेल्ने, जित्दा आफैँले क्यास निकाल्न मिल्ने (मोबाइल क्यास) बनाई खेल्दै आएका थिए । 

खिउँजुका अनुसार शङ्कर भुजेल र सञ्जय मोक्तानले पार्टनरसिपमा पहिलेदेखि नै वान एक्सबिइटी एजेन्ट (मोबाइल क्यास) को काम गर्दै आएका थिए । दुबैबिच मनमुटाब भएपछि शङ्कर भुजेलले खिउँजुसँग मोबाइल क्यास बनाई दिन आग्रह गरे । उनले कुरा काट्न नसकेर आफ्नोमा भएको मौज्दात वान एक्सबिइटी खेल्ने व्यक्तिको गेमिङ एकाउन्टमा रकमान्तर गरिदिन्थे । यसबापत एलिना रिटेलबाट ५ प्रतिशत कमिसन पाउँथे । उनले जम्मा सत्र लाख पचासी हजार बत्तिस रुपैयाँ रकमान्तर गर्न लगाएको बताएका छन् । 

उक्त ठगी प्रकरणका अन्य आरोपीले भने इन्कारी बयान दिएका छन् । उनीहरुले एभरेस्ट बैङ्क, उदयपुरका हालका म्यानेजर प्रधान नै यसको मुख्य दोषी रहेको उल्लेख गरका छन् । त्यसबाट आफूहरूले कुनै लाभ नलिएको उनीहरूको जिकिर छ । 

के थियो ठगी काण्ड ?

बैंकमा जम्मा गरेको सर्वसाधारणको पैसा ठगी गरेको आरोपमा पक्राउ परेका एभरेस्ट बैंकका प्रबन्धकसहित ९ जना आरोपीको बयान आज आइतवरदेखि सुरु भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीका अनुसार पक्राउ परेका ९ जना र फरार रहेको ४ जनालाई प्रतिवादी बनाएर उच्च अदालत विराटनगरमा गत शुक्रवार बैंकिङ कसुरमा मुद्दा दर्ता गरेको थियो । 

यसमा ७ जना एभरेस्ट बैंकका कर्मचारी छन् भने अन्य ६ जना पैसा झिक्ने व्यक्ति रहेका छन् । बैंकका उदयपुरका अपरेसन मेनेजर विराटनगर–८ का ३४ वर्षीय प्रधान, इटहरी शाखा प्रबन्धक तथा सिन्धुपाल्चोक बाह्रविसे–८ का ४२ वर्षीय विश्वराज शाक्य, बैङ्क इटहरी शाखाका सुपरभाईजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरू २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रञ्जित पण्डित, बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाललाई प्रतिवादी बनाएर अभियोग दर्ता भएको छ । 

बैंकको रकम अपचलन गर्ने गिरोहका मुख्य योजना प्रधान रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस्तै धनुषाको मिथिला नगरपालिका–११ का ३४ वर्षीय शंकर भुजेल, भक्तपुरको सूर्य विनायक नगरपालिका–२ का २७ वर्षीय अजय खिउँजूलाई पनि प्रतिवादी बनाइएको छ । पक्राउ पर्ने खिउँजू र भुजेल पैसा झिक्ने व्यक्ति हुन् । 

फरार प्रतिवादी बनाएर बाँकेको बैजनाथ गाउँपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–७ का अर्जुन थारू, सप्तरीको सुरुङ्गा नगरपालिका–६ का जय कुमार साह, उर्लाबारी नगरपालिका–३ अशोक थापा र अर्जुन महतरा उपर मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीका जिल्ला महान्यायाधिवक्ता एकराज अधिकारीले जानकारी दिए । 

अनुसन्धानका क्रममा प्रहरीले यसअघि २०७९ चैत १२ गते एभरेस्ट बैङ्क गाईघाट शाखाका अपरेसन इन्चार्ज प्रधानलाई पक्राउ गरेको थियो । प्रधानमाथि केरकार गर्दा बैंकभित्रको संगठित जालो पत्ता लागेको सुनसरी प्रहरीको डिएसपी राजकुमार राईले बताए ।

पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट ५९ पटक कनेक्ट आईपिएस र नक्कली चेकबुक प्रयोग गरेर १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ । 

तत्कालीन इटहरी शाखामा कार्यरत प्रधानको गत मार्च १२ तारिखमा गाईघाट सरुवा भएको थियो । उनको योजनामा गत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसबाट एक करोड १४ लाख ७५ हजार २८४ रुपैयाँ निकालिएको छ । त्यस्तै नक्कली चेकमार्फत् ३५ लाख ४८ हजार १५० रुपैयाँ निकालिएको प्रहरीले बताएको छ ।

३३ जना ग्राहकको खाताबाट अधिकतम ७ लाखसम्म निकालिएको पाइएको प्रहरीले बताएको छ । आफ्नो खाताबाट रकम हराएपछि ग्राहकले बैंकमा जानकारी गराएका थिए । त्यसपछि बैंकले प्रहरीलाई अनुसन्धानका लागि निवेदन दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप