हिन्दू र मुस्लिमलाई एकताबद्ध गर्ने पहिलो सन्त
आज जेष्ठ शुक्ल पूर्णिमा ! अर्थात् मष्टो पूर्णिमा ! मष्टो पूर्णिमाको अलाबा आज सन्त कबिर जयन्ती पनि हो ।
सन् १४४० आजकै दिन (जेष्ठ शुक्ल पूर्णिमा) भारतको वाराणसीमा सन्त कबिर दासको जन्म भएको थियो । यो मे र जुनमा पर्छ । सन्त–कबिरदासको प्रारम्भिक वर्षका कथाको थोरै मात्र संस्करण पाइन्छन् ।
सन्त कबिरदासकी आमा एक ब्राह्मणी थिइन् । ब्राह्मणीलाई तपस्वीले भनेका थिए– चाँडै तिम्रो एक बच्चालाई जन्म दिनेछौ । तपस्वीले भने अनुसार उनले एक छोराको जन्म दिइन्, जसलाई उनले जन्मेलगत्तै झाडीमा फालिदिइन् । किनकि उनी अविवाहिता थिइन् । निमा गरेकी मुस्लिम महिलाले बच्चालाई धर्मपुत्रीका रूपमा ग्रहण गरिन्, उनी एक जुलाहाकी पत्नी थिइन् ।
अर्को कथा अनुसार, तान बुन्ने परिवार निरु र उनकी श्रीमती निमाले कबिरदासलाई लहरतारा तालमा भेटाएर हुर्काए । अर्को कथा छ– एक तपस्वीले कबिरको जन्म असामान्य हुनेछ भनेर वर्णन गरेका थिए । त्यसैले उनी आमाको हत्केलाबाट जन्मन पुगे । यसरी सन्त कबिरदासका बारेमा उपलब्ध जानकारीमा विभिन्नता देखिएका छन् ।
उनको नाम एक काजीद्वारा छनोट गरिएको थियो । उनले कुरानमा उपयुक्त नाम खोज्दा ‘कबिर’ फेला प¥यो, जसको अर्थ इस्लाम अनुसार ‘महान्’ हो र प्रायः यो नाम ‘ईश्वर’को वर्णन गर्न प्रयोग गरिन्छ ।
जीवनी खोज्दै जाँदा केही संस्करणले सन्त कबिरलाई अविवाहित देखाएका छन् भने केहीले दुईपटक विवाह गरेको बताउँछन् । केहीले सन्त कबिरले लोईसँग विवाह गरेको मानिन्छ । पछि उनीहरूबाट कमल र कमली नामका दुई सन्तान भए । यी दुवै भनाइको कुनै प्रामाणिक स्रोत भेटिँदैन । हामीले उनको आध्यात्मिक ज्ञानको स्वाद मात्र लिन सक्छौँ, जुन उनले आफ्ना कविताद्वारा व्यक्त गरेका छन् ।
कबिरभित्र थुप्रै आध्यात्मिक जिज्ञासा थिए । उनी ती जिज्ञासाको तृप्ति चाहन्थे । मन्त्र जान्ने हो भने शिष्य बन्न सजिलो हुन्छ भन्ने उनको विचार थियो । उनले स्वामी रामानन्दको नाम सुनेका थिए । वाराणसीका घाटहरूमा जाँदा उनले स्वामी रामानन्दलाई भेटे र मन्त्र लिए– ‘राम’ । उनी स्वामी रामानन्दको मनपर्ने शिष्य थिए । उनले अन्य धेरै सन्त (जस्तै ः सुफी पीर र शेख तककी)बाट पनि अध्यात्मिक ज्ञान लिएका थिए । त्यसैले उनको दर्शनमा सुफीको प्रभाव पनि देखिन्छ ।
कबिर दास एक महान् साधु थिए, किनभने रीतिरिवाज र संस्कृतिमा उनको प्रभाव विश्वभर छ । उनीमा आध्यात्मिकता गहिरो थियो, ‘राम’मा उनी दृढविश्वास गर्थे । समय र स्थानभन्दा पर र कुनै पनि गुणबिना निराकार एक परमात्मा छन् भन्ने उनको विश्वास थियो । उनका अनुसार ईश्वर ज्ञान हो र शब्द शब्दमा ईश्वर पाउन सकिन्छ । उनी वैष्णव भक्ति परम्पराबाट पनि प्रभावित थिए । वैष्णव भक्ति परम्पराले पूर्ण समर्पणलाई जोड दिन्छ ।
उनका सबै आस्था र विचार उनका कवितामा पाइन्छन् । उनका कविता उनका विचार र ज्ञानका दर्पण हुन् । उनको लेखमा हिन्दीमै लेखिएका छन्, तर त्यसमा भोजपुरी, खरी बोली, मारवाडी, फारसी, पन्जाबी र उर्दू आदिको मिश्रण पाइन्छ ।
सरल भाषा र गहिरो अर्थका कारण उनका कविता लोकप्रिय छन् । उनले ‘दोहा’ (जोडी) र लामो गीत पनि लेखेका छन् । उनका यी ‘दोहा’ संगीतसँग संयोजन गर्दा अझ लोकप्रिय भएको छ ।
उनका कविताले हिन्दू र इस्लाम दुवैलाई आकर्षित गर्छ, यद्यपि उनी दुवै धर्मका केही पक्षको आलोचना गर्थे । उनका लेख मुख्यतया पुनर्जन्म र कर्मको अवधारणामा आधारित छन् । लोकगीतका रूपका अतिरिक्त, सन्त कबिरका शब्द मुख्यतया दुई साहित्यिक विधामा देखिएका छन् ः
–लयबद्ध दोहा (दोहा, सखी वा शलोक)
–गीत/कविता (शब्द, पद, वा भजन) ।
दोहा कविताको धेरै पुरानो ‘पद–ढाँचा’ हो । यो एक स्वतन्त्र पद हो । दोहा, जसको अर्थ आफैँमा पूर्ण छ । यसको उत्पत्तिको सन्दर्भमा हर्मन जेकोबीले भनेका छन्– दोहाको उत्पत्ति ग्रीक हेक्सामिटरमा पत्ता लगाउन सकिन्छ, यो एक लाइनमा दुई हेक्सामिटरको मिश्रण हो ।
त्यो समय वाराणसीका मानिसमा ब्राह्मण सनातनी र १५औँ शताब्दीका अधिकारीको बाहुल्य थियो । उनी जातका आधारमा हुने जातीय विभेदमा विश्वास गर्दैनथे । यसैले उनले जातीय भेदभावका विरुद्ध आवाज उठाए, मूर्ति पूजाको पनि उनी आलोचक थिए । व्यक्ति व्यक्तिबीच कुनै भेद हुँदैन, तल्लो जात माथिल्लो जात हुँदैन भनी उनले प्रवचन दिन्थे । उनको प्रचारका लागि ब्राह्मणले खिल्ली उडाए । आममानिसले भने उनको राम्रो प्रशंसा गरे । आफ्ना दोहाद्वारा उनले मानिसका आँखा खोलिदिए र तिनीहरूलाई मानवता, नैतिकता र आध्यात्मिकताको सही अर्थ सिकाए ।
धार्मिक भावनाले सन्त कबिरलाई प्रभाव पारेको थियो, जसलाई उनले सुफीवाद र इस्लाममा विलय गराए । हिन्दू र मुस्लिम दुवैले अनुसरण गर्न सक्ने विश्वव्यापी मार्ग स्थापना गरेर दुवैलाई एकताबद्ध गर्ने उनी पहिलो सन्त हुन् । प्रत्येक जीवन दुई आध्यात्मिक सत्य (जीवात्मा र परमात्मा) बाट प्रभावित हुन्छ भन्ने कुरामा उनी सबैभन्दा बढी विश्वास गर्थे । मोक्षका बारेमा उनको बुझाइ थियो कि मोक्ष यी दुई स्वर्गीय सत्य (जीवात्मा र परमात्मा) लाई मिलाउने प्रक्रिया हो । जीवनका विशेषताले सन्त कबिरलाई असाधारण मानव बनायो ।
उनी मुक्तिका लागि औपचारिक र कठोर दृष्टिकोणका विपरीत थिए । उनका अनुसार सभ्य हृदयले संसारको सबै भाग्यलाई समेट्छ । दया भएको व्यक्तिसँग शक्ति हुन्छ, क्षमाशील व्यक्तिसँग वास्तविक अस्तित्व हुन्छ र सद्गुण भएको व्यक्तिले सजिलै अनन्त जीवन प्राप्त गर्न सक्छ । भगवान सबैको हृदयमा छन् भन्ने उनको विश्वास थियो । उनी भन्थे– ‘यात्रुले हिँड्न नमान्ने हो भने बाटोले साथ दिन सक्दैन ।’
एक प्रसिद्ध रहस्यवादी कवि सन्त कबिरदासले आफ्ना दार्शनिक विचार मानिसको जीवन सुधार्न प्रयोग गरे । उनको शिक्षाबाट अनुयायीहरू प्रेरित हुँदै आए । उनीबाट प्रतिपादित ईश्वर र कर्मसँगको एकताको सिद्धान्तले मानिसको मनोवृत्तिलाई प्रभाव पारेको छ । भगवानप्रतिको उनको प्रेम र भक्तिले हिन्दु भक्ति र मुस्लिम सुफी विश्वासको सम्झना दिलाउँछ । उनलाई सुफी र ब्राह्मण सन्त दुवै मानिन्छ । उनको प्रारम्भिक जीवन मुस्लिमको रूपमा सुरु भएकोमा थोरै शंका छ, तर पछि उनी हिन्दू तपस्वी रामानन्दबाट धेरै प्रभावित भए । जीवनका बारेमा सन्त कबिरको दर्शन एकदमै प्रस्ट थियो । सरल ढंगले जीवन बाँच्नुपर्छ भन्ने उनको विश्वास थियो ।
कबिरबाट गुरु नानक समेत प्रभावित थिए । गुरु नानकले पनि कविताका रूपमा आफ्नो विचार व्यक्त गरे, जुन शिक्षाको प्रचार गर्ने प्रभावकारी माध्यम थियो । कबिर र गुरु नानकलाई थाहा थियो कि मानिसको हृदय कविता र संगीतसँग जोडिएको हुन्छ ।
विक्रम संवत् १५७५ मा हिन्दू क्यालेन्डर अनुसार सन् १५१८ जनवरी (माघ शुक्ल एकादशी)मा मगरमा उनले संसार छाडे । उनले आफ्नो मृत्युस्थल मगर रोजेका थिए भन्ने किम्बदन्ती छ । यो अनुमान गरिएको छ कि उनले मानिसको सम्झनाबाट परी कथा (किम्बदन्ती) मेटाउन मर्नका लागि यो स्थान रोजेका हुन् । त्यसबेला मगर क्षेत्रमा अन्तिम सास लिने मानिस कहिल्यै स्वर्गमा प्रवेश गर्दैन र अर्को जन्ममा गधा बनेर जन्मिने जनविश्वास थियो ।
मानिसले उनलाई यति धेरै विश्वास गरे कि उनको मृत्युपछि हिन्दू र मुस्लिमबीच झगडा भयो । हिन्दू उनको दाहसंस्कार गर्न चाहन्थे भने मुस्लिम गाड्न ।
हरेक व्यक्ति चाहे ऊ शिक्षित होस् या अशिक्षित, सन्त कबिरले भनेको बाटोबाट हिँड्यौँ भने हामीभित्रको परमात्मालाई प्राप्त गर्न सकिन्छ ।
जब मैं था तब हरि नहीं, अब हरि हैं मैं नहीं ।
सब अँधियारा मिटि गया, जब दीपक देख्या माँहि ।।
सन्त कबिरलाई शान्तिमय जीवन प्रिय थियो । सरलता, साधु स्वभाव तथा सन्त प्रवृत्तिका कारण उनको आज पनि समादर भइरहेको छ । उनी केवल मानव धर्ममा मात्र विश्वास राख्थे । अतः आजको दिन उनीप्रति अहोभावले समर्पित भई उनीजस्तै सरल, साधु स्वभाव र सन्त प्रवृत्तिको कामनासँगै अभ्यास पनि गरौँ ! अनि मात्र कबिर जयन्ती मनाएको सार्थकता हुनेछ !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्ल्ड लिङ्कको लाइसेन्स नवीकरण प्रक्रिया अघि बढ्यो, प्राधिकरणलाई बुझायो २ अर्ब १५ करोड
-
स्थानीयको विरोधका बिच महानगरले चलायो गौशालामा डोजर, तस्बिरहरू
-
सामाचकेवा : पिताबाट श्रापित दिदीलाई श्रापमुक्त गराउन भाइको कठोर तपस्या
-
अभिषेकलाई आफ्नो ‘शो’ मा बोलाएर पछुताए अमिताभ बच्चन
-
अख्तियारको संशोधन विधेयकमाथि राज्य व्यवस्था समितिमा छलफल
-
लन्डनमा भएको बिजनेस समिटमा नेपाली कम्पनीलाई तृतीय स्थान