गण्डकी गाउँपालिकाको बजेटका लागि काठमाडौँमा सुझाव सङ्कलन
काठमाडौँ । गोरखाको गण्डकी गाउँपालिकाको आयोजनामा एक दिने सल्लाह सुझाव सङ्कलन तथा अन्तरक्रिया कार्यक्रम शनिबार राजधानीमा सम्पन्न भएको छ।आर्थिक वर्ष २०८०-८१को बजेटको प्रभावकारी कार्यान्वयन कसरी गर्ने र पालिकाको विकास समृद्धिमा पालिकावासीहरूको भूमिकालाई कसरी समेट्ने भन्नेबारेमा छलफल भएको थियो।
साथै अन्य सङ्घ सस्ताहरूसँग कस्तो सहकार्य गर्न सकिन्छ भन्ने उद्देश्यका लागि गण्डकी गाउँपालिका गोरखाले काठमाडौँमा अन्तरक्रिया तथा सुझाव सङ्कलन कार्यक्रमको आयोजना गरिएको पालिकाले जनाएको छ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले पालिकाले काठमाडौँमै आएर सङ्घसंस्था तथा पालिकावासीहरूसँग सल्लाह सुझाव तथा अन्तरक्रिया आयोजना गरेकोमा पालिकाको प्रशंसा गर्दै कार्यक्रमबाट आएका सुझावहरूको उचित कार्यान्वयन गर्न समेत पालिकालाई आग्रह गरे। साथै उनले जनप्रतिनिधिहरूको ध्यान बजेटमा मात्रै केन्द्रित भएकोमा असन्तुष्टि व्यक्त गरे।
स्थानीय सरकारको ध्यान निरन्तरता भन्दा पनि क्रमभंगता तिर जानुपर्ने उनले बताए ।स्थानीय सरकारले अब बजेट विनियोजन गर्दा मेघा प्रोजेक्टमा लगानी गर्नुपर्नेमा धितालले जोड दिए।
साथै बढ्दै गएको बसाइसराइलाई रोक्ने गरी नीति तथा बजेट आउनुपर्ने उनको भनाइ थियो ।पालिकाभित्र भएको प्राकृतिक स्रोतहरूको उचित व्यवस्थापन र बजारीकरण गरी त्यसबाट लाभ लिन सकिने गरी कार्यक्रमहरू अघि सार्न पालिकालाई धितालले सुझाव दिए ।
यसैगरी उक्त कार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्य कमला पन्तले उपयुक्त समयमा कार्यक्रम राखेकोमा धन्यवाद दिइन। साथै पन्तले आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनसमेत आग्रह गरिन। पन्तले स्थानीय सरकारको पालिकाभित्र उत्पादन भएका वस्तुहरूको बजारीकरणमा ध्यान दिए उत्पादनमा वृद्धि हुने जिकिर गर्दै पालिकाको अबको त्यसतर्फ ध्यान जानुपर्ने बताइन।
यता प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाँईले नेपालमा सबैभन्दा ठुलो चुनौती भनेको स्थानीय उत्पादनको बजारीकरण र आयात प्रतिस्थापन गर्नु रहेको बताए।गाउँघरमा बढ्दै गएको बसाइसराइ रोक्नु स्थानीय सरकारहरूको चुनौती रहेकोसमेत उनले बताए।
कार्यक्रमका सभापति तथा गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले गाउँपालिकाले पालिकाको समग्र विकासमा सहयोग पुग्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको र कार्यक्रमबाट आएको सल्लाह सुझावलाई पालीकाले गम्भीरताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै पालिकाकी उपाध्यक्ष ललिता अधिकारीले पालिकाको समृद्धिका लागि सम्पूर्ण जनप्रतिनिधिहरूको ध्यान केन्द्रित रहेको निर्वाचित भएको एक वर्षभित्रमा अपेक्षाकृत कामहरू गरिएको र यो कार्यक्रमले पालिकाको समृद्धिका लागि कोशेढुंगा सावित हुने बताइन्।
कार्यक्रममा विविध संघसंस्थाहरुले पालिका भित्र संचालन गर्न सकिने शैक्षिक, पुर्वाधार, सामाजिक विकास, पर्यटन पूर्वाधार कृषिको उत्पादन तथा बजारीकरण लगायतका कार्यक्रम तथा योजनाहरू प्रस्तुत गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी