‘थारु योद्धा’ हरूको इतिहास पल्टाउँदा
म पुस्तकप्रेमी हुँ । तर, हतपत्त पुस्तक पढिहाल्ने साहित्यप्रेमी चाहिँ होइन । कसैले कुनै पुस्तकको बारेमा अधिक चर्चा गरेको सुने भने बल्ल उक्त पुस्तक पढ्ने इच्छा जाग्दछ ।
यसपटक पनि मलाई त्यस्तै भयो । शेखर दहितले लेख्नु भएको पुस्तक ‘थारु जोधा’ अर्थात् थारु योद्धाको बारेमा धेरै चर्चा सुने । त्यसैले, पुस्तक खोजेर सर्रर पाना पल्टाएँ, ७ जना थारु योद्धाहरुको जीवनी रहेछ । इतिहास रचेका योद्धा सगुनलाल चौधरी, राधाकृष्ण चौधरी, रेशम बहादुर चौधरी र गुम्रा थारु यी चारजना थाहा भएकै व्यक्तिको कथा समेटिएको रहेछ । बाँकी ३ जना शिवरतन थारु, सोमप्रसाद कठरिया, बैजनाथ थारुको नाम मैले सुनेको थिइन ।
बाँकेमा बैजनाथ गाँउपालिकाको नाम थाहा छ । त्यहाँका पालिका अध्यक्ष उपाध्यक्ष, कर्मचारी सबैसँग राम्रै चिनजान पनि छ । तर पनि बैजनाथ थारुको नामबाटै पालिकाको नाम राखिएको मेरो कल्पना बाहिरको कुरा थियो । जब थाहा पाएँ, तब सबैभन्दा पहिले मैले बैजनाथ थारुकै कथा पढें । किनभने एकजना थारुको नामबाट पालिकाको नाम नामकरण भएकोमा म त्यसै त्यसै प्रफुल्लित थिएँ ।
बैजनाथले गरेको तमाम कामको फेहरिस्त पढ्दा गर्वले छाती ढक्क फुल्यो । जति बाठो उनको जिम्दार मोहनबाबु थियो, त्यो भन्दा पनि बाठो बैजनाथ थिए जस्तो लाग्यो । अनेक जालझेल गरे बैजनाथलाई फसाउन खोजेका मोहन बाबुको हरेक पटक फेल हुन्थे । अन्तिम उपाय नलागेर अरु ४÷५ जना जिम्दार मिलेर भारतीय सेनाबाट वैजनाथको हत्या गराइन्छ ।
उहाँको दाहसंस्कार गरेको दिन, सारा देशको झण्डा आधा झुकाइएको थियो भन्ने जानकारी पाउँदा त साँच्चिकै मन भावुक भयो । उनले त्यति वेला गरेको संघर्ष, गरिब दुःखीको आवाज भएर निस्केका बैजनाथको कथाले आममानिसलाई धेरै नै हौसला दिन्छ जस्तो लाग्छ ।
मलाई बैजनाथको त्यो पुरानो गाउँ जान निकै मन लागेको छ, जहाँ उहाँको ५ सय भन्दा बढी परिवार संख्या भएको घर थियो । उहाँको परिवारका कोही सदस्य अझै हुनुहुन्छ कि ? भनेर भेट्न मन लागेको छ ।
यस पुस्तकमा समेटिएको अर्को जीवनगाथा छ शिक्षक सगुनलाल चौधरीको । सगुनलाल वेपत्ता हुनु भएको पहिलादेखि नै मलाई थाहा थियो । सगुनको कथा पढ्दै गर्दा मलाई पुरानो कुरा सम्झना आयो । म रेडक्रसमा काम गर्दा पनि उहाँको घर बर्दिया, सेमरहवामा धेरै पटक गएँ हुँला । सायद २०५४÷०५५ सालतिरको कुरा हो । गोचाली अभियानको क्रममा मगरागाडीको जंगल, धोविया, बानियाभारलगायत केही कार्यक्रममा पनि सहभागी भएको थिएँ । त्यति वेलादेखि नै हो मैले पनि थोरै थोरै लेख्न सिकेको ।
अन्याय र अत्याचारको आवाज उठाउनु छ, शोषक र सामन्तीको अन्त्य गर्नु छ भन्ने जस्ता नारा जुलुस लगाएको सम्झना आयो । त्यतिवेला नै मैले जंगलमा गाईबस्तु चराउन जाँदा चेलिवेटीको पीडा कथा, कवितामा पनि लेख्थेँ । क्रान्तिकारी गीत लेख्ने बाँदरभरियाका शिक्षक कविराम थारु हुनुहुन्थ्यो । ‘सुनिदेव चेलिन्के व्यथा, कहटु मै दुखिन्के कथा । काँटा लगाइल रठा हमार स्कुल जैना डगरिम, आँख मिस्टी ग्वाबर काह्र जाइपर्ठा बगरिम ।” यस्तो खालको गीतमा मैले धेरै अभिनय गरेको पनि सम्झना आयो ।
सगुनको आफ्नै दर्दनाक संघर्षशील कथा छ । धेरै पटक जेलजीवन भोगेर पनि हिम्मत कहिल्यै हार्नु भएन । कसैसँग डराउनु भएन । उहाँले गाउँका गरिब कमैयाहरुका बालबच्चालाई अक्षर चिनाउन निरन्तर लागि पर्नुभयो ।
म भने गोचाली अभियान बाट सिकेको कुरा मेरो लागि भए पनि म लड्नु पर्छ भनेर निरन्तर आफ्नो घरमा लागि परिरहें । मेरो बुवा हुदा अरुको खेत जोतेर बटैया लगाउथ्यौं । र, पनि समय निकाले राति पढ्ने भनेर बुवाले निकै जोड् गर्नु हुन्थ्यो ।
२०५२ साल माघ ५ गते बुवाको स्वर्गवास पछि मेरो पढाइमा ब्रेक लाग्न थाल्यो । अरुको घर जाने जात के पढाउनु भन्न थालियो । कहिलेकाँही आमालाई डर देखाउँथे कि यदि घरका मान्छे यस्तै गरे भने म पनि माओबादीमा जान्छु अनि बल्ल थाहा पाउँछन् ।
२०५८ साल मंसिरमा संकटकाल घोषणा भयो । मैले डरले लेखेको डायरी, कथा, कविता सबै प्लास्टिकमा पोको पारेर माटोमुनि गाडे । शान्ति सम्झौता भएपछि खोतल्दा नामोनिसान भेटिएन । सायद सबै माटो बनिसकेको थियो क्यारे ।
सगुनलालको पूर्वी नेपाल र विहार भ्रमणको डायरीले मलाई आफ्नो डायरीको याद दिलायो । उहाँको डायरीले विहार भ्रमण गरेर आएको जस्तो महसुस भयो । म धेरै पटक जनकपुर गए पनि त्यो सहरबारे यति गहिरो ज्ञान भने सगुनको डायरी पढेर पाएँ । मलाई लाग्छ, चार दशक पहिले सगुनलालको डायरीमा लेखिएको कथाजस्तै अझै पनि जनकपुर त्यस्तै फोहरी छ । बाटो पनि खाल्टा खुल्टी, जताततै पानी जम्ने ।
सगुन र उहाँका छोराले आर्मी ब्यारेकमा निकै यातना पाएका थिए । यसले कुनैबेला म पनि माओवादी आरोपमा प्रहरी हिरासतमा बस्नु परेको याद दिलायो । २०५८ पुस १२ गते वेपत्ता पारिएका सगुन अहिले पनि वेपत्ता छन् । थारु पत्रिका गोचालीे प्रकाशन तथा गोचाली आन्दोलनको अगुवाइ गरेका कारण नै उहाँलाई गायब पारिएको घामझैं छर्लंग छ ।
२०१६ सालमा बेलवा बन्जारी किसान आन्दोलनमा प्रहरीबाट मारिएका गुम्रा थारुको सहादतको कथा त झन् कति दर्दनाक रहेछ । वास्तवमा हिजोको हाम्रा पुर्खाले गरेको यो योगदानलाई अहिलेका युवापुस्ताले बुझ्नै पर्छ । अध्ययन अनुसन्धान गर्नैपर्छ । कि आज हामी यो स्थानमा पुगेको कारण उहाँहरुको बलिदानीले हो ।
जुन तरिकाले जमिन्दारहरु सोझासाझा थारु पुर्खाहरुलाई सताए, दुःख दिए, चेलीवेटी बचाउन गाह्रो बनाए, अबको पुस्ता चनाखो हुन जरुरी छ । शिर ठाडो गरेर बोल्न सक्नु पर्छ, अन्यायविरुद्ध आवाज उठाउन सक्नुपर्छ । अनि बल्ल पुर्खाले गरेको बलिदानीको कदर हुनेछ, सम्मान हुनेछ ।
मेरो बाबुबाजे २०३६ सालमा त्यतिवेलाको दाङ्ग, ढिकपुर गाउँपञ्चायतबाट रातारात भागेर आएका थिए । एकपटक मैले बुवालाई सोधेको थिएँ, किन त्यसरी भाग्नु परेको थियो त ?
उहाँले भन्नु भएको थियो, जमिन्दारहरुले निकै सताए । कहिले उब्जाउ गरेको अन्न खोसिदिने, कहिले सानो निहुँमा कुटपिट गरी निकै दुःख दिएका थिए । अरु भन्दा पनि आफ्ना जवानजहान छोरी बुहारीलाई बचाउन धौ भएको थियो ।
यसरी शेखर दहितको पुस्तक “थारु जोधा” भित्रको गुम्रा थारुको बारे पढ्दा आफ्नै बाउबाजेको कथा झलझली याद आयो । दाङबाट बर्दियामा झर्दा हाम्रो आफ्नो के नै थियो र ? यहाँ पनि त्यस्तै मालिकको जग्गामा झुपडी बनाउनु परेको थियो । हाम्रा बाहरु कसरी दुःख पाएर विस्थापित हुनु परेको रहेछ । आफ्नो सन्तानको लागि यति धेरै दुःख झेल्नु भएको रहेछ । उहाँहरुलाई धेरै सम्झिरहें । अहिले बल्ल पो बुझ्दै छु, पुर्खाहरुले गरेको वर्णन गर्न नसकिने योगदानको ।
बेलवा बन्जारीको किसान आन्दोलनमा महिलाहरुको साहासिक बलिदानीलाई उच्च सम्मान गर्नुपर्छ । यदि त्यहाँका थारु महिलाहरु कमाण्ड नसम्हालेको भए गुम्रा थारुमात्र हैन, धेरै थारुहरु सहिद हुने थिए । गीत पनि त्यसै बनेन होला, गाउँ गाउँबाट उठ, बस्ति बस्तिबाट उठ । साथमा जे छ त्यही लिएर उठ । बेलवा गाउँका महिलाहरुसँग जे थियो, त्यही लिएर उठे, सबै पुलिस प्रशासन अनि गुन्डा जिम्दारहरुलाई गाउँबाट लखेटेका थिए ।
त्यस्तै, पुस्तकमा समेटिएको राधाकिसुन थारुको जीवनी पढ्दा पनि उनको अभियान कम्ता संघर्षपूर्ण थिएन । आफू हुनेखाने जिम्दारको घरमा जन्मे पनि सधँै गरिब, कमैया, निम्नवर्गीय किसानहरुको आवाज बनेर अगाडि बढिरहे । राणा शासनकालमा कहिले साधुहरुको भेला गर्ने बहानामा त कहिले आफै साधु भएर प्रशासनको नजरबाट बच्दै गरिब, किसान, कमैयाहरुलाई एकजुट बनाइ रहे । उनीहरुलाई गाँस, बास र कपासको व्यवस्थाको लागि आवाज उठाइरहे । फलस्वरुप २०१५ सालको चुनावमा उनी काँगे्रस पार्टीबाट बर्दियाबाट विजयी भए । राजा महेन्द्रले २०१७ साल पुस १ मा कु गर्दा प्रवासमा जीवन विताउन बाध्य भए । प्रवासमा रहे पनि राज्यसँग लड्न छोड्नन् ।
शिवरतन थारु जो थारु जोधाका अर्का योद्धा हुन् । उनी नेपाली भाषा बोल्न नजानेर राजासँग गरेको सम्बाद सम्झिदा टिठ लाग्छ । उनले थारु मिश्रित बोलीमा तात्कालीन राजासँग बर्दियामा पुल र सिँचाइका लागि कुलोको आवश्यता व्यक्त गर्नु नै ठुलो साहस हो ।
राजासँग बर्दियाको भादा पुल र मानखोलाको पुलको माग गर्ने शिवरतन सायद थारुको छोरो भएर होला उनको नाम अगाडि आउन सकेन । यो पुस्तक पढ्दा बबई सिँचाइ नहर आयोजना शिवरतनले ल्याएका हुन् भन्ने कुरा थाहा भयो । तर उनको नाम कहिल्यै सुन्न पाइएन । बरु यसमा अझै पनि एमालेका नेता बामदेव गौतमको नाम अगाडि आउँछ ।
थारुका छोरा शिवरतन आफ्नै जिम्दारसँग चुनाव लडेका थिए । चुनाब जितेर मालिक र कमैया एउटै बैठकमा सहभागी हुन्थे ।
रेशम चौधरी भन्ने वित्तिकै टीकापुरको प्रसंग आइपुग्छ । तर, बर्दियाको कन्द्रा आन्दोलनका अगुवाको नाम पनि रेशम चौधरी नै थियो । उनले कमैया मुक्तिको लडाईमा अगुवाई गर्दा धेरै किसानहरुले राहत पाए । रेशमले बसालेको गाउँलाई रेशमपुर गाउँको नामले चिनिन्छ ।
एउटा कन्द्रा बस्तीबाट सुरु भएको आन्दोलनले देशभर नै हलचल मच्चायो । खास गरी पश्चिम नेपालमा रहेका प्रायः थारु समुदायकेन्द्रीत सबै कमैयाहरुलाई नेपाल सरकारले २०५७ साउन २ मा मुक्त गर्यो ।
रेशमको कमैया आन्दोलनबारे पढ्दा कचहरी नाटक समूहको याद आयो । म समेत संग्लग्न यो समूहले देशमा मात्र होइन, विदेशमा पनि गएर कमैया कमलरी, बँधुवा मजदुरहरुको बारेमा नाटक प्रदर्शन गरेको थियो । मलाई अहिले पनि सम्झना छ । २०५७ सालमा काठमाडौमा नाटकको तालिममा जाँदा मेरो भूमिका कमलरीको थियो । सुशील चौधरी दाइ मालिक र सुमित्रा मालिक्नी भएर मलाई जुन व्यवहार गरे, नाटकमा म भावुक भएर करिब एक घण्टासम्म रोएँ । १० जिल्लाका नाटकको तालिमका प्रशिक्षार्थीहरु सम्झाउन आउँदा म झन् भक्कानिन्थें । अन्ततः नाटक देखाउन डेनमार्क जानेमा पनि म छनौटमा परेको थिएँ ।
पुस्तकमा समेटिएका सोम प्रसाद कठरियाको कथा फरक खालको छ । कठरियाहरु पानीको देवतालाई पूजा नगरेको भए आज बर्दियाको राजापुर क्षेत्र अन्नको भण्डार भनेर चिनिने थिएन होला । पशुहरुले बाटो देखाएको स्थानमा सोमप्रसादका बुवाहरु गएर बस्ती बसाले । त्यो बस्तिलाई चाहिने कुलो पानीको व्यवस्था मिलाए । गरिब कमैयाहरुलाई बस्ने ठाउँ दिए ।
सोम प्रसाद कठरियाका पुर्खाहरुले सञ्चालन गरेको बूढी कुलो अझै चलिरहेको छ । स्थानीय गाउँलेहरु प्रत्येक वर्ष सिँचाईका लागि डेसाहुर जान्छन् । संकटकालमा सोमप्रसाद सदरमुकाम बसाइँ सर्दा सिँचाइ प्रणाली भातभुंग भयो । उनी गाउँ फर्किएसँगै फेरि कुलो पानीको नेतृत्व लिए ।
यति लेख्दै गर्दा थारु जोधा पुस्तकमा खड्केको कुरा यसमा महिला योद्धालाई किन समेटिएन भन्ने प्रश्न मनमा आइरह्यो । गुम्रा थारुको किसान आन्दोलनदेखि कन्द्रा आन्दोलनमा पनि महिलाहरु प्रहरीसँग भिडेर आन्दोलन जित्न सफल भएका थिए ।
त्यसैले, केही कथा महिलाको पनि लेखिएको भए यो किताब अझ सुनमा सुगन्ध हुने थियो । कमैया आन्दोलनका महिला योद्धाहरु लौटी थारु, स्व. मोतीदेवी थारु, कृष्णी थारु अझै यस्ता कति महिला योद्धाहरु छन्, तिनका बारेमा पनि लेखकले स्थान दिनु भएको भए सन्तुलन हुने थियो ।
यो पुस्तक सरसरती पढ्दै गर्दा मलाई पहिला पहिला इतिहास किताबको पाठजस्तै लाग्यो । जतिवेला हामीले हाम्रो पाठ्यक्रममा राजा रजौटाहरुको इतिहास पढ्थ्यौं । लाग्यो कि, यो थारु जोधा किताब खास गरी थरुहट क्षेत्रका विद्यालयमा पढाउन निकै जरुरी छ । हाम्रा पुर्खाहरुले गरेको वलिदान, संघर्ष, योगदानलाई अहिलेका युवा पुस्ताले पनि थाहा पाउनै पर्छ । अनि पो त थाहा हुन्छ, हाम्रा पुर्खाले पनि इतिहास रचेका थिए भनेर ।
हार्नेहरुको इतिहास ‘थारु जोधा’ (२०७८) पुस्तकमार्फत् दस्तावेजीकरण गरेर शेखर दहितले उदाहरणीय काम गरेका छन् । तर यो पुस्तक थारु भाषामा रहेको छ । यसको नेपालीलगायत अन्य भाषामा पनि अनुवाद जरुरी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’