जेठा दाइ : जसले तीन बट्टा चुरोटमा गर्छन् फिल्म एग्रिमेन्ट
अभिनेता शिव श्रेष्ठ, भुवन केसी, राजेश हमालदेखि आर्यन सिग्देल होस् वा अभिनेत्री कृष्टिदेखि करिश्मा मानन्धर, रेखा थापादेखि केकी अधिकारीसम्म । अधिकांश कलाकारको खानाको रुचि र स्वाद थाहा छ उनलाई ।
कुन कलाकारलाई कस्तो समय, के खान रुचाउँछन् । सबै पक्षमा जानकार छन् उनी । उनले पकाएको खाना नखाने फिल्मकर्मी सायदै होलान् । किनभने उनी विगत ४२ वर्षदेखि फिल्म क्षेत्रको भान्सा सम्हाल्दै आएका छन् ।
उनी अर्थात् कुलबहादुर महत ‘जेठा दाइ’ ।
फिल्म क्षेत्रमा उनलाई कुलबहादुर महत भन्दा कम र ‘जेठा दाइ’ भन्दा धेरैले चिन्छन् । फिल्ममा भान्साको नाम आउँदा पनि उनको नाम ‘जेठा दाइ’ नै भनेर आउँछ ।
विसं २०११ सालमा जन्मिएका उनी उमेरले ७० टेक्न लागे । तर, उनी अहिले पनि भान्सेका रूपमा उत्तिकै सक्रिय छन् । उनको सक्रियता लोभलाग्दो छ ।
मिजासिलो र हँसिलो स्वभाव भएकोले होला, प्रायः फिल्मकर्मी उनलाई भान्सा जिम्मा लगाउन पाउँदा आधा बोझ घटेको महसुस गर्छन् ।
कुलबहादुरको मिहिनेतको कदर गर्दै कतिपयले उनलाई टिप्स र लत्ताकपडा उपहारमा दिन खोज्छन् । तर कामका लागि निर्मातासँग डिल भएको पारिश्रमिकबाहेक कसैसँग केही पनि लिँदैनन् उनी । सहयोग गर्न खोज्नेलाई भन्छन्, ‘पैसा, लत्ताकपडा, गिफ्ट हैन, इज्जत र माया दिनुस् ।’
‘आज सहयोग लिएँ भने भान्सामा आएर चिया छ दाइ भन्नेले टाढाबाट चिया छ, ले रा भन्छन् । पुर्याउन नगए हिजो त्यस्तो सहयोग गरेको टेरेन भन्लान्’, कुलबहादुरले थपे, ‘कसैसँग केही नलिए झुक्नु पर्दैन ।’
फिल्म यात्रा सुरु
कुलबहादुर फिल्म क्षेत्रमा ‘बाँसुरी’बाट जोडिएका हुन् । उनलाई यसमा जोड्ने श्रेय निर्देशक तुलसी घिमिरेलाई जान्छ । घिमिरे फिल्म ‘बाँसुरी’को सुटिङ कालिम्पोङ गर्दै थिए । उनी सो समय दोलखाबाट आमाबुबासहित सपरिवार त्यहाँ सरेका थिए ।
उनी जहाँ बस्थे, त्यही नजिक फिल्मको सुटिङ थियो । उनी दिनभर सुटिङ हेर्थे । १७/१८ वर्षका युवा उनी दर्शक भए पनि सबैको नोटिसमा पर्थे । कारण थियो उनको गेटअप र हेयर स्टायल । जो सामान्य भन्दा विशेष हुन्थ्यो ।
एकदिन सुटिङ हेरेर उनी घर फर्किदै थिए । एक ब्यक्तिले बोलाउदै उनी भएको ठाउँमा आए । निर्देशक घिमिरेले बोलाएको सन्देश सुनाए ।
‘निर्देशक घिमिरेले मलाई फिल्म खेल्न बोलाउनु भएको रहेछ । एक सिन दिनुभयो । मैले १५ टेकमा पनि गर्न सकिन’, कुलबहादुर ती दिनमा फर्किए, ‘घिमिरे प्रयास गर्दै थिए, म खेल्दिन भनेर कराएँ ।’
पहिलेको दृश्यमा अभिनय गर्न नसकेपछि घिमिरेले उनलाई फेरि अर्को भरियाको रोल दिए । त्यो अभिनय भने उनले मेकअपम्यानको सहायताले गरे ।
‘अभिनयको पहिलो सिन ओके हुँदा अरू भए खुसी हुन्थे, मलाई त लागेन’, उनले भने ‘आफूले जान्दै नजानेको अभिनय गरे । भोलि के हो कसो हो, केही भरोसा थिएन ।’
यसरी एक सिनको अभिनयले उनी ‘बाँसुरी’ युनिटमा जोडिए । त्यसपछि सुटिङमा दैनिक जान्थे, आवश्यक पर्दा कलाकारलाई खाना बोक्नेदेखि सबै काम गर्थे ।
केही समयपछि निर्देशक घिमिरेले ‘कुसुमे रुमाल’ सुटिङ कालिम्पोङमै गरे । त्यो समय उनी अर्को काममा अल्झिएकोले समय दिन भ्याएनन् ।
घिमिरेको ‘लाहुरे’मा उनी फेरि जोडिए । यो फिल्मको सुटिङ पनि कालिम्पोङमै भएको थियो । त्यो समयदेखि अहिले चार दशकसम्म उनी फिल्म क्षेत्रमै छन् ।
‘लाहुरे’मा उनी पहिलो पटक भान्से भएका थिए । ‘त्यो समय मैले अभिनय गर्न सकेको भए अहिले राम्रै हिरो हुन्थे होला’, कुलबहादुरले भने, ‘भान्से भए, यसमै स्थापित पनि ।’ अहिलेसम्म उनी कति फिल्मको काममा जोडिए, त्यसको लेखाजोखा छैन उनीसँग ।
अनि भए ‘जेठा दाइ’
कुलबहादुरका आमाबुबाका ४ छोरा र ३ छोरी गरेर ७ सन्तान । उनी छोरामा जेठो । परिवारको जेठो भएको कारणले उनको नाम ‘जेठा दाइ’ राखिएको भने होइन । यसको बेग्लै कथा छ ।
‘लाहुरे’ फिल्मको सुटिङ हुँदै थियो । एकदिन सुटिङमा रञ्जित गजमेरले छोरा सत्यजित लिएर आए । उनी बच्चै थिए ।
‘त्यो समय भान्सामा काम गर्ने हामी ३/४ जना एकै ठाउँमा थकान मार्दै थियौ । सत्यजितले हामीलाई पालैपालो देखाउँदै त्यो का, त्यो को भनेर सोधे । रञ्जित दाइले कोहीलाई माइलो, कोहीलाई साइँलो गर्दै मलाई जेठा दाइ भनेर चिनाए । त्यो समयदेखि म ‘जेठा दाइ’ भएँ ।’ कुलबहादुरले यसरी नामको कथा सुनाए ।
‘घरको पनि जेठो छोरा थिए । बाहिरको पनि जेठा दाइ भएँ’, उनले भने, ‘फिल्डमा मात्र हो र फिल्मको पर्दामै भान्छे ‘जेठा दाइ’ भनेर राख्न थालियो ।’
फिल्ममा भान्सेको जिम्मेवारी सम्हाल्न त्यति सजिलो छैन । फिल्म युनिट त घटीमा पनि ५०/६० जनाको हुन्थ्यो । तर उनलाई काम कठिन लागेन ।
अहिलेसम्मको यात्रामा उनले यो कलाकार सजिलो र यो कठिन भन्ने अनुभव गरेको छैनन् । किनभने उनको भान्सामा डिमान्ड चल्दैन थियो । जे पाक्थ्यो, त्यही सबैलाई खुवाउँथे । हिरो होस् कि लाइट ब्वाई, कसैलाई पनि खानामा भेदभाव गर्दैन थिए । त्यसो गर्दा कतिले उनलाई गाली पनि गर्थे ।
एक्ला उनी
२०७३ सालदेखि जेठा दाइ काठमाडौँ, असनको एउटा पुरानो घरको साँगुरो कोठामा बस्दै आएका छन् । काठको भर्याङ भएको अहिले नै भत्किन्छ कि जस्तो घरको पहिलो तलामा बस्छन् उनी । यसको मासिक भाडा ३५ सय तिर्छन् ।
उनी बस्ने फ्ल्याटमा एउटा सानो र अर्को केही ठुलो कोठा छ । त्यहाँ सामान्य खाट छ । पकाउने केही भाँडाकुँडा र लुगाफाटा छन् । एउटा पुरानो दराजबाहेक उनीसँग टिभीलगायत केही सुविधा छैन ।
फिल्म सुटिङको क्रममा फाइभ स्टारसम्मको बसाइँ अवसर पाएका कुलबहादुर भिआइपी बसाइँ भन्दा सामान्य कोठामा बस्नुमा आनन्द भएको बताए । भन्छन्, ‘अर्को ठाउँमा होहल्ला होला, के होला । सधैँभरि सुतेको ठाउँमा आनन्दले सुत्न पाइन्छ ।’
काठमाडौँमा एक्लै रहँदै आएका उनको कालिम्पोङमा भाइबुहारी र भतिज छन् । ‘बाँसुरी’ फिल्म सुटिङ समय उनको कालिम्पोङकै क्षेत्री थरकी एक युवतीसँग विवाह पनि भएको थियो । तर त्यो विवाह ३/४ महिनामै टुट्यो । विवाह टुट्नुको कारण फिल्म क्षेत्र नै थियो ।
फिल्म क्षेत्रमा महिला, पुरुष जो भेटेपनि पहिलो भेटमा एकअर्काेसँग अँगालो हालेर खुसी साट्ने चलन छ । उनी पनि त्यही गर्थे । एकदिन उनको यस्तो क्रियाकलाप उनकी सासुआमाले देखिछिन् ।
‘अर्काको छोरी विवाह गरेपछि त्यस्तो गर्दै हिँड्न कहाँ पाइन्छ र ?’, सासुआमाको शब्द उनले सुनाए । ‘अहिले छुटौँ, पछि मन लाग्यो भने फेरि मिलौला भनेर सल्लाहमै छुटेको । त्यसपछि उनीसँग कहिल्यै भेट भएन,’ कुलबहादुर दुःखी देखिए । भने, ‘त्यसपछि अर्को बिहे गरिएन ।’
त्यसो त फिल्ममा काम गर्ने सिलसिलामा उनलाई धेरैले विवाहको प्रस्ताव नराखेका होइनन् । प्रस्ताव राख्नेमा फिल्मका महिला कलाकारसम्म पनि थिए । तर किन किन विवाहका लागि उनको मनै मानेन रे ।
‘सुटिङको सिलसिलामा ठाउँ ठाउँ हिँड्दा बुबाआमा, छोरो र अन्य एक्लै एक्लै बसेको देखे । थोरै सम्पत्तिका लागि दाजुभाइबीच हानाहान देखे । त्यो देखेर विवाह गर्ने मनै मर्यो,’ उनले कारण खोले ।
फिल्म क्षेत्रबाट नाम, इज्जत र अवार्ड पाए पनि पैसा भने कमाउन सकेनन् । तैपनि खुसी छन् उनी । भन्छन्, एक्लो जिउ, खाला घिउ ।
केही दिन अगाडि उपराष्ट्रपतिबाट उनले नगद ५५ हजारसहित एक सम्मान थापेका थिए । त्यसले देश विदेशमा चर्चा दिलाएकोमा मक्ख छन् । यसलाई कर्मको फल मान्छन् उनी ।
कामसँग चुरोट
कुनै फिल्म एग्रिमेन्ट गर्दा उनको पहिलो डिमान्ड चुरोट त्यसपछि मात्र पारिश्रमिकको कुरो गर्छन् ।
निर्मातासँग उनी दिनमा तीन बट्टा चुरोट माग्छन् । त्यो हुने भयो भने मात्र पारिश्रमिक टुङ्ग्याउँछन् । चुरोटमा कुरो नमिले काम गर्दैनन् । भन्छन्, ‘मलाई चुरोट धेरै खानुपर्छ । त्यो दिन नसक्नेले फिल्म कसरी पुरा गर्ला र ?’
अपवादबाहेक काममा उनको कतै उधारो छैन । ‘मैले अहिलेसम्म काम गरेको फिल्म ‘कान्छा’मा १८ हजार लिन बाँकी थियो । निर्माताले फिल्म चलाएर दिने भन्थे । बिहान रिलिज भएको फिल्म बेलुकै उत्रियो’, कुलबहादुरले भने, ‘फिल्मको त्यो हालतले पैसा माग्न सकिन ।’
उमेर बढेसँगै अहिले उनले आफ्नो काम पनि कम गर्दै लगेका छन् । चलचित्र विकास बोर्डबाट वरिष्ठ प्राविधिक सुरक्षा भत्ताको रूपमा मासिक ५ हजार बुझ्छन् । यसलाई पनि सम्मान ठान्छन् उनी ।
एक्लो जीवन हिँडडुल गर्दासम्म ठिक छ । थला परेपछि के गर्ने त ? जेठा दाइ खोक्दै भन्छन्, ‘चिन्ताको क्यै बात छैन, भोलिको दिन कसले देख्या छ र ।’