शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

इजलासमा इन्द्रजितको इन्कारी बयान : कुनै कसुरमा मेरो संलग्नता छैन, सीसीटीभीबाट चेक गरे भो ! (पूर्णपाठ)

प्रेम कुमार राईलाई पैसा दिनुपर्दछ भनी भनेकै छैन
शुक्रबार, १९ जेठ २०८०, १६ : ३०
शुक्रबार, १९ जेठ २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार मध्येका एक मानिएका इन्द्रजित राईले काठमाडौं जिल्ला अदालतमा इन्कारी बयान दिएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जेठ १६ गते दिएको बयानमा राईले आफूमाथि लगाएका सबै आरोप गलत रहेको भन्दै आफू नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै प्रकारले संलग्न नभएको बताएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणका अन्य केही प्रतिवादीले राईलाई नेपाली नागरिकलाई भुटानी शरणार्थीका रुपमा अमेरिका पठाइदिने बापत नगद रकम दिएको बयान दिएका छन् । तर राईले उनीहरुको बयानसमेत झुटा रहेको भन्दै आफूले यसबारे कसैसँग पैसा नलिएको दाबी गरेका छन् ।

यस्तो छ, बयानको सम्पादित अंश–

सवाल– तपाई आज अदालतमा किन आउनु भएको हो ?

जवाफ– गजेन्द्र बुढाथोकी समेतको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी म समेत भएको ठगी, लिखत किर्ते, राज्य विरुद्ध र संगठित अपराध मुद्दामा अभियोगपत्रसाथ बयानको लागि उपस्थित भएको हुँ ।

सवाल– तपाईलाई तपाई उपर लागेको अभियोग सुनाइन्छ, सो अभियोग उपर बयान दिन कर छैन, तपाईले दिएको बयानले तपाईको बिरुद्धमा प्रमाण लाग्न सक्छ, तपाई बयान दिन तयार हुनुहुन्छ ?

जवाफ– म बयान दिन तयार छु । मेरो बयान गरी पाउँ ।

सवाल– तपाईले यो भन्दा अगाडि कुनै फौजदारी अभियोगमा सजाय पाउनुभएको छ, छैन ? खुलाइदिनुहोस् ।

जवाफ– मैले योभन्दा अगाडि कुनै फौजदारी कसुरमा सजाय पाएको छैन । हाल कुनै म मुद्दा विचाराधीन समेत छैन ।

सवाल– तपाईको शारीरिक तथा मानसिक स्वास्थ्य अवस्था कस्तो छ ? तपाईलाई सोधिएको प्रश्नको जवाफ दिन सक्नु हुन्छ/हुन्न ? तपाईले कानुन व्यवसायी राख्नु भएको छ/छैन ? कानुन व्यवसायी राख्न सक्नु हुन्छ/हुन्न ?

जवाफ– म सुगर र प्रेसरको रोगी हुँ । अरु शारीरिक अवस्था ठीकै छ । हाल मेरो शारीरिक र मानसिक अवस्था ठीक भएकाले सोधिएका प्रश्नहरुको जवाफ दिन सक्छु ।

सवाल– प्रतिवादीहरुमध्ये क–कसलाई चिन्नुहुन्छ ? निजहरुसँग लेनदन रिसइवी, झगडा छ/छैन ?

जवाफ– प्रतिवादीहरुमध्ये केशव प्रसाद दुलाल, सानु भण्डारी, टोप बहादुर रायमाझी, शमशेर मियाँ, टेकनाथ रिजाल, निरज राई र प्रतिक थापालाई चिन्दछु । अरु कुनै प्रतिवादीलाई म चिन्दिनँ । निरज राई मेरो छोरा हो, ऊसँग बाहेक अरु कसैसँग मेरो लेनदेन, रिसइवी र झगडा छैन ।

सवाल– जाहेरवाला गजेन्द्र बुढाथोकी समेत विभिन्न जाहेरवालाहरुले तपाई समेतको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भनी रकम लिई अमेरिका नपठाई रकम फिर्तासमेत नगरी ठगी गरेको भन्ने जाहेरी दरखास्तहरु छन्, सो सम्बन्धमा तपाईलाई के थाहा छ ? को–को भई के कसरी जाहेरी दरखास्तमा उल्लेख गरे अनुसारको कसुर गर्नुभएको हो ? खुलाइदिनुहोस् ।

जवाफ– जाहेरवाला गजेन्द्र बुढाथोकी लगायतका जाहेरवालाहरु कसैलाई पनि म चिन्दिनँ । मेरो नाममा कुनै किटानी जाहेरी छैन । जाहेरीमा उल्लेख भए बमोजिमको कुनै कसुर गरेको छैन । मेरो पद सुरक्षा सल्लाहकारको भएकोले कार्यकारिणी अधिकार नभएकोले मेरो कुनै काममा सहयोग गर्ने प्रश्नै उठ्दैन । म सुरक्षा सल्लाहकार भएको समयमा नक्कली भुटानी शरणार्थी सम्बन्धमा कुनै जानकारी मलाई थिएन । कसुर सम्बन्धमा तत्कालीन गृहमन्त्री तथा तत्कालीन गृहसचिवद्वयहरुलाई यस विषयमा जानकारी हुनसक्छ तर म सल्लाहकार भएको कारणले मलाई यस विषयमा केही जानकारी थिएन ।

सवाल– तपाईलाई सह–प्रतिवादीहरु सानु भण्डारी, केशव प्रसाद दुलाल, शमशेर मियाँ, टोप बहादुर रायमाझी, टेकनाथ रिजाल समेतका प्रतिवादीहरुले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान तथा थप बयानसमेत पढी बाची सुनाइन्छ निजहरुले गरेको उक्त बयानहरुको सम्बन्धमा तपाईको के भनाई छ ? खुलाई दिनुहोस् ।

जवाफ– सह–प्रतिवादी सानु भण्डारीद्वारा अमेरिका पठाइदिने भनी ममाथि लगाइएको आरोप सरासर गलत र असत्य हो । मैले उहाँबाट कुनै रकम प्राप्त गरेको छैन । सानु भण्डारीद्वारा उक्त मितिमा सानु भण्डारीसँग उहाँले बताए बमोजिमको आँगन होटलमा भेट भएको छैन । मेरा छोरा निरज राई र म सँगै कहिल्यै पनि उक्त होटलमा गएका छैनौं । उक्त रकम लिने कुनै प्रश्नै उठ्दैन । उक्त होटल मेरो घरबाट नजिक भएको कारणले म आफ्नो ड्राईभरसँग खाजा खान जाने गर्दथे । यो जानकारी आरोपी सानु भण्डारीलाई थाहा थियो । यो मनगढन्ते कहानी उसले बनाएको हुनसक्छ । पैसा लिएको नलिएको जानकारी मलाई केही थाहा भएन भनी मौकामा कागज समेत गरिदिएका छन् । आरोपी सानु भण्डारीद्वारा मेरो ठेचोमा किनेको घर बारेमा उहाँले स्वयं आफैंले घरबेटी सुमिरा कार्कीलाई रु एक करोड बुझाएको जानकारी एकदम असत्य हो जसको प्रमाण स्वयं सुमिरा कार्कीले आफ्नो घर कागजमा लेखिसक्नु भएको छ ।

घरको बाँकी रकम मेरो र मेरो छोराको आम्दानीबाट दिएको हो । सोको प्रमाण समेत म मेरो थुनछेक बहसका क्रममा मेरो कानुन व्यवसायीद्वारा पेस गर्नेछु ।

आरोपित सानु भण्डारीद्वारा नैनकला थापालाई मन्त्री निवासमा गएर रु एक करोड दिएको मलाई कुनै जानकारी छैन । म कहिल्यै पनि सानु भण्डारीसँग मन्त्री निवास गएको छैन । सो बारेमा मलाई जानकारी हुने प्रश्नै उठ्दैन । सानु भण्डारी र म एकसाथ मिति २०७६।०५।१० का दिन सिंहदरबार परिसर वा गृहमन्त्रालयमा गएको छैन । सो कुरा उक्त मितिको सिंहदरबार र गृहमन्त्रालयको सीसीटीभी फुटेजबाट पनि देखिनुपर्ने हो । सचिवको गाडीमा बिना ड्राइभरको सहमतिमा कसरी पैसा राखिदिन सक्छ ? पैसा राखिदिएको भए सोको जानकारी ड्राइभरलाई समेत हुनुपर्ने हो । गृह सचिवको कार्यकक्षमा प्रवेश हुनुभन्दा पहिला सीसीटीभी तथा सुरक्षा गार्डको समेत अनुमति भएको हुनुपर्दछ । सो समेत रेकर्डमा चेक होस् । तसर्थ गृह सचिवको गाडीमा पैसा पठाएको र गृह सचिवको कार्यकक्षमा भेटिएको भन्ने कुरा काल्पनिक हो । नाम मुछ्नु उहाँको गलत मनसाय हो । प्रतिवादी सानु भण्डारीले डायरीमा मलाई र मेरो छोरा निरजलाई मिति २०७६। ०३।२६ मा रु पैसठ्ठी लाख दिएको भनी खुलाएको सम्बन्धमा मलाई कुनै जानकारी छैन । उक्त रकम म र मेरो छोराले लिएको छैन । प्रतिवादी सानु भण्डारीले हिमालयन होटलमा भेटी रु दुई करोड दिएको भन्ने सम्बन्धमा मेरो कार्यकालमा सल्लाहकारको पदको निर्वाह गर्दा विभिन्न समयमा विभिन्न होटलहरुमा सेमिनार तथा गोष्ठिहरुमा उपस्थिति हुनपर्दथ्यो । जहाँसम्म हिमालयन होटल कुपण्डोल पनि म समय समयमा गइरहन्थेँ, तर सानु भण्डारीसँग उक्त होटलमा कहिल्यै पनि मेरो भेट भएकै छैन भने मैले सानु भण्डारीले भनेको मितिमा म हिमालयन होटल गएको छैन । जहाँसम्म मलाई याद छ, त्यो दिन उक्त होटलमा कुनै सेमिनार पनि थिएन र मेरो त्यहाँ उपस्थिति पनि थिएन । उक्त आरोप तथ्यहीन छ । उक्त होटलको रेकर्ड र सीसीटीभीबाट चेक गर्न समेत सकिन्छ । सानु भण्डारीले भने बमोजिम सानु भण्डारी र रामशरण केसीसँग मेरो कुनै चेक र कागजको सम्बन्धमा कुनै कारोबार मलाई थाहा छैन । निज सानु भण्डारीको नाउँबाट मेरो कुनै बैंकको खातामा रकम जम्मा भएको छैन । केशव दुलालले सानु भण्डारीले मलाई रकम दिएको भनी भोलिपल्ट भनेको भनी आफ्नो अनुसन्धानको बयानमा खुलाएको सम्बन्धमा यो केशव प्रसाद दुलाल र सानु भण्डारीको मेरो विरुद्धमा षडयन्त्र गर्ने मिलिभगत हो । शमशेर मियाँले अनुसन्धानमा लेखाउनु भएको व्यहोरा गलत हो । उहाँले खुलाए बमोजिमको निकटता सानु भण्डारी, केशव दुलाल र मबीच त्यति नजिकको सम्बन्ध छैन । एकपटक मेरो कार्यालयमा आएको समयमा यी दुईसँग मेरो वादविवाद भएको भनी प्रतिवादी टोप बहादुर रायमाझीले अनुसन्धानमा खुलाएको सम्बन्धमा वादविवाद भएको सत्य हो तर हामीहरु बीच लेनदेनको विषयमा नभई बारम्बार मलाई भुटानी शरणार्थी सम्बन्धी जानकारी लिने प्रयास गर्दथे । यो विषयमा मसँग कुरा नगर्नुहोस् भन्दा वादविवाद भएको कुरा सत्य हो । प्रतिवादी टेकनाथ रिजालसँग भुटानी

शरणार्थीहरुको कार्ड बनाउने विषय मेरो कार्यकालमा नभएको तथा उहाँसँग र टोप बहादुरसँग यस विषयमा कुनै चर्चा कुनै पनि स्थानमा नभएको जानकारी सम्मानित न्यायालयमा गराउन चाहान्छु ।

सवाल– तपाईले अधिकार प्राप्त अधिकारी समक्ष गर्नुभएको सबै बयानहरु व्यहोरा पढी बाची सुनाइन्छ । सो बयानहरुको व्यहोरा तपाईको हो वा होइन ? र उक्त बयानहरुमा भएका सहीछापहरु तपाईका हुन् वा होइनन् ?

जवाफ– मैले अनुसन्धान अधिकारी समक्ष गरेको बयान व्यहोरा साँचो हो र सोमा भएको सहीछाप समेत मेरो नै हो ।

सवाल– अनुसन्धानका क्रममा बुझिएका मानिसहरु बालकृष्ण पन्थी, गणेश बहादुर केसी र डोलराज पाण्डे समेतका व्यक्तिहरुले अनुसन्धानको क्रममा गरेको कागज व्यहोरा पढी बाची सुनाइन्छ । निजहरुको भनाइ व्यहोरा के कसो हो ? खुलाइदिनुहोस् ।

जवाफ– म सल्लाहकारको पदमा रही कुनै पनि सरकारी कागजमा हस्ताक्षर नचल्ने सिर्फ गृहमन्त्रीज्यूलाई मागेको कुरामा आफ्नो सुझाव मौखिकरुपमा दिने कार्य गर्दथे । निज गणेश केसीलाई उहाँले भने बमोजिम आफ्नो फोनद्वारा उहाँको नियुक्तिको सूचना दिने कार्य म आफूबाट गरेको होइन । किनभने आजको मितिमा पनि उहाँलाई चिन्दिन । उहाँको फोन नं मेरो पास हुने प्रश्नै हुँदैन किनभने उक्त समितिको कुनै पनि मिटिङ मेरो कार्यालयमा र गृह मन्त्रालय परिसरमा नभएको जानकारी गराउन चाहन्छु । भएको भए पनि त्यसमा मेरो उपस्थिति थिएन । डोलराज पाण्डेले मौकामा गरिदिएको कागज व्यहोरा सही सत्य हो ।

सवाल– तपाईलाई मिति २०८०।०१।२१ मा ललितपुर महानगरपालिका वडा नं १२ तपाईको घरमा खडा गरिएको बरामदी मुचुल्काको व्यहोरा पढी बाची सुनाइन्छ । बरामदी मुचुल्कामा भएको व्यहोरा के कसो हो ? खुलाई दिनुहोस् ।

जवाफ– बरामदी मुचुल्काको व्यहोरा पढीबाची सुनाउँदा सुनी पाएँ । बरामदी मुचुल्कामा भएको व्यहोरा साँचो हो ।

सवाल– तपाईले सह–प्रतिवादीहरु सानु भण्डारी र रामशरण केसीलाई रामशरण केसीको आमाको नाउँमा रहेको घर र जग्गा तथा सानु भण्डारीको नाममा रहेको काठमाडौंको फुकुलाछीमा रहेको आठ आना जग्गा बैना गरिसकेपछि काम भइसकेपछि मेरो घर कागज गरिदिन्छु भनी कागज गर्नुभएको र घरजग्गा दिन्छु भनी पाँच करोडको कागज र तीन करोडको चेक दिनुभएको छ । उक्त कागज मसँग सुरक्षित छ भनी सानु भण्डारीले अनुसन्धानको बयानमा खुलाउनु भएको छ के कसो हो ? सो सम्बन्धमा विस्तृत विवरण खुलाइदिनुहोस् ।

जवाफ– कागज र चेक सम्बन्धमा मलाई कुनै जानकारी भएन । मैले कागज पनि गरिदिएको छैन । मेरो नामबाट चेक समेत मैले दिएको पनि छैन । मेरो छोरासँग उहाँहरुको लेनदेन भएको भए मलाई कुनै जानकारी भएन, उहाँले मसँग भएको कागज पेस गर्छु भन्नुभएकोले पेस गरेपछि नै थाहा होला ।

सवाल– नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउनको लागि तपाईले गृह सचिव प्रेम कुमार राईलाई समेत रकम दिनुपर्दछ भनी सह–प्रतिवादी सानु भण्डारीलाई भन्नु भएकोले प्रेम कुमार राईलाई तपाई र सानु भण्डारी गई सानु भण्डारीले रु एक करोड दिनुभएको र उक्त रकम बुझाएपछि तपाईको काम हुन्छ भन्नुभएको भनी सानु भण्डारीले अनुसन्धानको बयानमा भन्नुभएको रहेछ, प्रेम कुमार राईलाई के कति रकम दिनुभएको र के–कुन काम हुन्छ भनी सानु भण्डारीलाई भन्नुभएको हो खुलाइदिनुहोस् ।

जवाफ–‍ सानु भण्डारीलाई सचिव प्रेम कुमार राईलाई पैसा दिनुपर्दछ भनी भनेकै छैन । यो सम्पूर्णरुपले असत्य हो । प्रेम कुमार राई आफैँमा एक प्रतिष्ठित र इमानदार सचिवहरुमा राष्ट्रिय लेवलमा गनिनुभएको व्यक्ति हो । उहाँको विषयमा त्यस्तो कुरा म सोच्न पनि सक्दिनँ । मैले माथि उल्लेख गरे अनुसार उहाँ आरोपी सानु भण्डारी मसँग सिंहदरबार परिसरको भित्र गृहमन्त्रालयको करिडोरमा हिँडेको वा कुनै कक्षमा प्रवेश गरेको प्रमाण मेरो कार्यकाल अवधिभित्र छैन । रु एक करोड सम्बन्धमा कहिले गाडीमा राखेको र कहिले उहाँको कार्यालयमा नै दिएको भनाइले उहाँको आफ्नै बयान बाझिएको छ ।

सवाल– तपाई उपर मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) अन्तर्गतको कसुरमा सोही संहिताको दफा २४९ को उपदफा (३) को खण्ड (ग) बमोजिम सजाय हुन, मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा (१) र (२) बमोजिमको कसुरमा सोही संहिताको दफा २७६ को उपदफा (३) (ग) बमोजिम सजाय हुन, मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ को उपदफा (१) र (२) को खण्ड (क) बमोजिम राज्य विरुद्धको कसुरमा सोही संहिताको दफा ५१ को उपदफा (क) को देहाय (क) बमोजिम सजाय हुन र संगठित अपराध निवारण ऐन, २०७० को दफा (३) को उपदफा (१) (२) र (३) को खण्ड (क) तथा दफा (५) बमोजिमको कसुरमा सोही ऐनको दफा (९) को खण्ड (क) र (ग) बमोजिम सजाय हुन र मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को उपदफा (१) बमोजिमको कसुरमा सोही संहिताको दफा ४३ को उपदफा (२) बमोजिम सजाय हुन समेतको अभियोग माग दाबी लिइएको छ र जाहेरवालाहरुको अठ्ठाइस करोड एकासी लाख चौहत्तर हजार रकम समेत तपाई समेतबाट दिलाई भराई दिन समेतको अभियोग माग दाबी लिइएको अभियोगपत्र छ । सो अभियोग माग दाबी बमोजिम तपाईलाई सजाय हुनुपर्ने हो होइन ? र जाहेरवालाहरुको रकम तपाई समेतले फिर्ता दिनुपर्ने हो वा होइन ? सम्पूर्ण व्यहोरा खुलाइदिनुहोस् ।

जवाफ– मैले अभियोगपत्रमा उल्लेख भए बमोजिमको कुनै कसुरमा मेरो कुनै संलग्नता नै छैन । कुनै कसुर नै नगरेकाले मलाई कसरी सजाय हुन सक्छ ? म निर्दाेष भएकाले आरोपित कसुरबाट सफाई पाउँ भन्ने मेरो विनम्र अनुरोध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप