गणतन्त्रको चीरहरण गर्दै नेताहरू
विश्वमा अभ्यास गरिएको प्रजातान्त्रिक व्यस्थाको उत्तम नमुना लोकतान्त्रिक गणतन्त्रलाई मानिन्छ । जनताले मतदानमार्फत् गर्ने फैसलालाई सर्वाधिक महत्त्व दिइने र जनतालाई नै सार्वभौम मान्ने व्यवस्था लोकतान्त्रिक गणतन्त्र हो भन्ने आम विश्वास छ । गणतन्त्रमा कोही पनि जन्मजात शासक, राजा वा विशेषाधिकार प्राप्त व्यक्ति हुँदैन । राज्यको उच्च निकायमा पुग्ने हक सबै नागरिकका लागि खुला गरिएको हुन्छ । स्वतन्त्रता, समता र मर्यादा कसैको पनि तलमाथि नहुने व्यवस्था लोकतान्त्रिक गणतन्त्र हो ।
जन्मले कोही पनि व्यक्ति प्राधिकार बन्ने परिपाटीको अन्त्य गरी योग्यता र क्षमताले जो सुकैलाई जहाँ सुकै पुग्ने मार्ग प्रशस्त गरिएको व्यवस्था गणतन्त्रमा हुन्छ । गणतन्त्र प्रगतिशील, उदार र क्षमतावान्का लागि प्रतिस्पर्धाका माध्यमबाट छानिन पाउने उचित परिपाटी भएको राज्य सञ्चालनको राजनीतिक प्रणाली हो । गणतन्त्रमा पछाडि पारिएक सीमान्तकृत नागरिक, महिला, मुस्लिम, मधेशी, दलित, अपाङ्ग, पिछडिएको भूगोललगायत राज्यको मूल प्रवाहमा जानबाट रोकिएकालाई समेत समावेशी र समानुपातिक प्रणाली अन्तर्गत प्रतिनिधित्व गराएर यो राज्य हामी सबैको हो ।
यस व्यवस्थामा सबैलाई समान अवसर छ । अवसर नहुनेको हकमा पनि अवसर आउँदैछ र आउँछ भन्ने विश्वासका साथ यो प्रणालीप्रति भरोसा प्रदान गरिन्छ । जुनसुकै विचार, वाद, सिद्धान्त, धर्म र संस्कृतिको पनि निर्वाध उपभोग गर्ने वातावरण तयार गरिन्छ । बहुमतले शासन गर्ने र अल्पमतको कदरसहित यथायोग्य स्थान विशेष उपलब्ध गराएर राज्यको शासन प्रणालीसँग सबैलाई आबद्ध गराउनुलाई गणतन्त्रको सौन्दर्य भनिन्छ । यी यावत् विशेषताका कारण गणतन्त्र आजसम्म अभ्यास गरिएको र विकास गरिएको राजनीतिक प्रणालीमा उत्तम व्यवस्था रहेको बुझिन्छ । हरेकको हरेक स्वतन्त्रताको मानक र प्रवर्तक गणतन्त्र हो ।
कुनै पनि व्यवस्था आफैँमा साध्य होइन, साधन हो । यसको पुष्टि संसारभर गरिएका विभिन्न व्यवस्था र तिनको सफलता र असफलताको माध्यमबाट मापन गर्न सकिन्छ । राम्रो मानिएका र नराम्रो भनिएका दुवै व्यवस्था संसारमा सफल र असफल छन् ।
१० वर्षे जनयुद्ध र १९ दिने जनान्दोलन २०६२–२०६३ को महान उपलब्धिका रूपमा विद्यमान गणतन्त्रलाई लिइन्छ । गणतन्त्र सामान्य राजनीतिक उपलब्धि होइन ।
कतै राजतन्त्र सफल छ कतै गणतन्त्र ? कतै धर्मतन्त्र सफल छ कतै असफल ? कतै उदारवाद त कतै पुँजीवाद ? कतै साम्यवाद सफल छ कतै, समाजवाद । कतै साम्यवादको महाबिजोग छ, कतै प्रजातान्त्रिक भनिने मुलुकमा प्रजातन्त्रको चीरहरण भइरहेको छ । यसर्थ व्यवस्था आफैँ केही होइन । यद्यपि विश्वका प्रायः मुलुकमा देश बन्ने प्रारम्भिक समयदेखि अभ्यास गरिएको राजतन्त्र आज करिब तीन दर्जन मुलुकमा मात्रै रहेको र आफ्नो मूलभूत चरित्र गुमाएर परिष्कृत रूपमा चलेको छ । कुनै पनि प्रणालीको अभ्यास, व्यवस्था सञ्चालन गर्ने सञ्चालक राजनीति चलाउने नेतागणको क्षमतामा पनि व्यवस्था उत्कृष्ट र निकृष्ट हुन्छ भन्ने संसारका थुप्रै अनुभव, उदाहरण र प्रमाणहरू छन् ।
१० वर्षे जनयुद्ध र १९ दिने जनान्दोलन २०६२–२०६३ को महान उपलब्धिका रूपमा विद्यमान गणतन्त्रलाई लिइन्छ । गणतन्त्र सामान्य राजनीतिक उपलब्धि होइन । विश्वमा चलेको पाँच हजार वर्षदेखिको राजतन्त्रको अन्त्य र नेपालमा पृथ्वीनारायण शाहको वंशको २३७ वर्षको विरासत र एकाधिकारलाई समाप्त गरेको जनताका छोराछोरी देशको सर्वाेच्च पदमा पुग्ने र जनताबाट चुनिएका जनप्रतिनिधिमार्फत देशको शासन व्यवस्था सञ्चालन हुने प्रणाली भनेर २०६४ जेठ १५ गते जनताको सार्वभौम संसद्ले घोषणा गरेर आजपर्यन्त चलेको राजनीतिक प्रणाली हो ।
गणतन्त्र सामान्य प्रयास र थोरै मेहनतले प्राप्त व्यवस्था होइन । हजारौँको बलिदान, त्याग, सङ्घर्ष र हजारौँ वर्षको मेहनतबाट प्राप्त मान्छेको जीवनसँग साटेर ल्याएको व्यवस्था हो । गणतन्त्र ल्याउन हजारौँ मान्छे सङ्घर्षको बलिवेदीमा होमिएका छन् । हजार वर्षको प्रयत्न छ । आँशु, पसिना, रगत, निष्ठा र त्यागको थुप्रै पहाड, सागर र खोला बगेको छ ।
इतिहासको गति परिवर्तन गरी नयाँ इतिहासको निर्माण भएको छ । हजारौँ राजनीतिक नेताकार्यकर्ता छातीमा आज पनि गणतन्त्रका लागि लडाइँ गर्दा बिझेको सुल छ । हजारौँ घाइते योद्धाहरू जीवितै छन् । हजारौँ बेपत्ता छन् । हजारौँ अङ्गभङ्ग भएर बसेका छन् । त्यसैले गणतन्त्र ख्याल ख्यालको विषय नभएर जीवन बलिदानीको लगानीमा प्राप्त राजनीतिक प्रणाली हो । विशाल दुई छिमेकी देश भारत र चीनमा लगभग एकै समय एक वर्षको अन्तरमा (भारतमा सन् १९५० र चीनमा सन् १९४९ मा) गणतन्त्रको आगमन भए पनि नेपालमा २०६४ मा मात्रै प्राप्त भएको हो । गणतन्त्रका लागि लाखौँ पाइलाले सडकलाई लाखौँ पटक कुल्चिएर गणतन्त्रको माग भएको थियो । ती पाइला, ती जीवन बलिदानीको इतिहास अमूल्य छ ।
१६ वर्षको गणतन्त्र अभ्यासका क्रममा गणतन्त्रलाई नेताको कठपुतली बनाउने प्रयासले भने गणतन्त्रको मूल्यको अवमूल्यन भएको देखिन्छ । गणतन्त्रसँगै अभ्यास गरिएको सङ्घीयता, समावेशी, समानुपातिक प्रणालीको मर्म र उद्देश्यप्रति घात पनि भएको छ । कुनै पनि समुदाय र तिनको प्रतिनिधित्व अनुहारमा मात्रै होइन व्यवहार, मुद्दा र विषयमा हुनुपर्ने हो तर गणतन्त्रमा अनुहार देखाएर विषय र मुद्दालाई ओझेलमा राखिएका कारण गणतन्त्र अस्वाभाविक रूपमा बदनाम भएको छ ।
जुनसुकै व्यवस्थामा पनि कमजोरी हुन्छन् । कमजोरीरहित कुनै पनि व्यवस्था रहन्न । नेताको कमजोरी स्वार्थ र सिद्धान्तका कारण गणतन्त्रको सौन्दर्यमा धब्बा लाग्नु निश्चय नै व्यक्तिको असफलता हो ।
अनुपस्थितिमा पनि उपस्थिति बोध गराउने व्यवस्था गणतन्त्रको मर्म र उद्देश्य हो । तर उपस्थितिमा मुद्दाको अनुपस्थिति गराएर गणतन्त्रको स्वाभाविक सौन्दर्यमाथि नेताहरूले घात गरेका छन् । राजनीतिक बेइमानीका कारण गणतन्त्रमा ३२ नेताका जोडी देशको संसद्, मन्त्री र राष्ट्रपतिसम्म बनेका छन् । आफन्त व्यवस्थापन, बुढा नेताको व्यवस्थापनमा राज्यका निकायले भार बोक्नुपरेको छ भने किनारमा धकेलिएका वर्ग र समुदायको भाग मिचिएको छ, खोसिएको छ । दलको सिन्डिकेट र नेताको ब्रह्मा, विष्णु र महेश्वर हामी नै हौँ भन्ने स्वभाव र परिणामले व्यवस्थाप्रति प्रश्नहरू उब्जिएका छन् । पूर्वराजा पनि सलबलाएर राजनीति गर्दै सडकमा निस्किएका छन् । यति नै बेला संसद्मा प्रतिपक्षी नेताविरुद्ध बोलिएको बोलीलाई निषेध गर्ने सहमति बनेको छ, जसले प्रजातन्त्र बलियो होइन निर्बल पार्न मदत गर्छ । आफू, पार्टी र व्यवस्थाको भविष्य खतरामा पार्ने काम गरेर नेताहरूले क्रमशः गणतन्त्रको चीरहरण गरिरहेका छन् । गणतन्त्रमा अप्रश्नीय कोही हुँदैन । प्रश्नहरू उठ्छन् र तिनको यथोचित जवाफ गणतन्त्रको मूल्य हो । निषेध र बन्देज गणतन्त्रमा सोच्न सकिन्न । प्रश्न सोध्नेमा पनि आवश्यक उत्तरदायित्व गणतन्त्रमा निहित हुन्छ । आराजक आरोप र फत्तुर अशोभनीय हर्कत हो । प्रश्न गर्ने र प्रश्न गरिएका दुवैमा उत्तरदायी बन्ने व्यवस्था नै सुन्दर वाक मर्यादाको विषय हो ।
जुनसुकै व्यवस्थामा पनि कमजोरी हुन्छन् । कमजोरीरहित कुनै पनि व्यवस्था रहन्न । नेताको कमजोरी स्वार्थ र सिद्धान्तका कारण गणतन्त्रको सौन्दर्यमा धब्बा लाग्नु निश्चय नै व्यक्तिको असफलता हो । पार्टीको असफलता हो । व्यवस्थाको असफलता होइन । गणतन्त्रको विकल्प सुन्दर गणतन्त्र हो । उन्नत र सुसंस्कृत गणतन्त्र हो । पार्टीहरूको विकल्प अन्य पार्टी बन्छन् । बन्दैछन्, नेताहरूको विकल्प दोस्रो र तेस्रो पुस्ताका नेता हुन्छन् तर गणतन्त्रको विकल्प अहिलेलाई सोच्ने बेला भएको छैन । कुनै पनि तन्त्र र प्रणालीको प्रयोगभूमि मात्रै बनिरहने कि गणतन्त्रलाई मजबुत पारदर्शी समतामूलक बनाएर लैजाने ? आजको पुस्तालाई आएको चुनौती यही हो ।
गणतान्त्रिक व्यवस्थाको कुशल व्यवस्थापनमा बेस्सरी खट्दा पनि प्रतिफल निस्कन सकेन भने प्रतिस्थापन ? प्रतिस्थापन पनि कुन व्यवस्था र कुन प्रणाली गर्ने ? अरू व्यवस्था अवगुणरहित नहुने कुनै विश्वसनीय आधार पनि त छैन ? दलको विकल्प हुन सक्छ, सक्ला तर गणतन्त्रको विकल्प सोच्न थालियो भने हतारो हुनेछ ।
गणतन्त्र कुनै व्यक्ति विशेष र पार्टी विशेषको निजी पेवा, दान दातव्य होइन, आम नेपालीको जीवन रगत, पसिना र समर्पणको साझा प्रतिफल हो । गणतन्त्रप्रति गर्व गरौँ । यसका खराबी केलाऊ । नेता खराब भए फेरौँ । पार्टी खराब भए छनोटका थुप्रै विकल्प छन् । नेता फेर्न पार्टी छोड्न सबै स्वतन्त्र छौँ । नेता र पार्टीहरूको असफलता व्यवस्थाको असफलता किमार्थ होइन । गणतन्त्र आम जीवन पद्धति बनिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरुण धवनको 'बेबी जोन' को अग्रिम बुकिङ सुरु, सलमान खानको क्यामियो
-
पुष्पा २ लाई टक्कर देला विजय सेतुपतिको विदुथलई २ ले ?
-
कुलपतिको अग्रसरतामा त्रिवि सभाको अनौपचारिक बैठक
-
कांग्रेस नेता साहको निधन
-
१३.५३ अंकले घट्यो नेप्से, परिसूचक २५८३ बिन्दुमा
-
सुरक्षित कारोबार ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल