शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
नाटक

कर्मयोग

शुक्रबार, १९ जेठ २०८०, १३ : ४४
शुक्रबार, १९ जेठ २०८०

स्थान : महाभारतको युद्धमैदान
समय : दिउँसो ३ बजे
पात्रहरू :
१. धृतराष्ट्र (हस्तिनापुर नरेश)
२. सञ्जय (धृतराष्ट्रको सचिव)
३. वासुदेव (अर्जुनका सारथि बनेका देवकी नन्दन कृष्ण)
४. अर्जुन (महाभारत युद्धका मुख्य योद्धा)

नेपथ्यमा दुवैतर्फका सेनाहरू आआफूले जित्ने मनसायका साथ एकले अर्कोलाई लल्कारिरहेका हुन्छन् । हस्ती, घोडसवार र रथिहरू परेड खेल्नमा व्यस्थ छन् । त्यसकै छेउमा सञ्जय धृतराष्ट्रलाई युद्धको स्थिति बताइरहेका अवस्थामा देखा पर्छन् ।  

धृतराष्ट्र : (अर्जुन युद्ध गर्दिनँ भन्दै रथको छेउमा बसेर रुन लागेको कुरा सुनेपछि) सञ्जय ! भन त यति बेला वासुदेव कृष्ण अर्जुनलाई के भनेर उक्साइरहेका छन् ?

सञ्जय : महाराज ! उनी अर्जुनलाई यही भनिरहेका छन् कि अर्जुन ! यो कायरको भाषा हो । अहिले आएर यस्तो कुरा गर्न लाज लाग्दैन ? पहिले कहाँ गएको थियो बुद्धि तिम्रो र युद्धस्थलमा आएपछि यस्तो कुरा गर्दै छौ ? यो लाभ, हानि, जय र पराजयबारे सोच्ने बेला होइन । अहिलेको अवस्था भनेकोे युद्धको हो । यसैका लागि आएका हौ । अहिले आएर युद्ध गर्दिनँ भन्न तिमीलाई सुहाउँदैन । यसले तिम्रो यस लोक र परलोक दुवै लोक बिग्रन्छ । सबैले अर्जुन युद्धबाट डराएर भागेका हुन् भन्ने छन्, जुन तिमीलाई सहन गाह्रो पर्ने छ ।  

धृतराष्ट्र : एऽऽ त्यसो पो भने ? अनि अर्जुनले के भने नि ?

सञ्जय : अर्जुन यही भनिरहेका छन् कि जेसुकै भन्नुस् वासुदेव ! युद्ध गर्दिनँ भनेपछि गर्दिनँ । आफ्नै गुरुजनमाथि कसरी वाण चलाऊँ ? जसले औँला समातेर हिँड्न सिकाए, काँधमा बोकेर आँगन देखाए तिनै पितामह भीष्मलाई मारौँ ? जसले शिक्षाको ज्योति जगाएर आँखा खोलिदिए तिनै गुरु द्रोणाचार्यलाई समाप्त पारौँ ? अहँ यस्तो पाप मबाट हुँदैन । मेरा निम्ति उहाँहरूलाई मारेर राजकीय सुख भोग्नुभन्दा मागेर खानु वेश । फेरि युद्धमा हाम्रै विजय हुन्छ भन्ने पनि त छैन । दुर्योधनकै हुन पनि त सक्छ । त्यसैले अरू नै कुनै कल्याणकारी मार्ग बताउन आग्रह गर्छु ताकि जलेको मनमा शान्ति मिलोस् । 

धृतराष्ट : कति राम्रो कुरा ग¥यो अर्जुनले । सबैले यस्तै कुरा गरे कस्तो हुन्थ्यो । वासुदेव कृष्ण छन् नि कहीँ नभाका । उनले के भने नि ? राम्रो कुरा त पक्कै गरेनन् होला ?

सञ्जय : त्यस्तै बुझ्नुस् महाराज ! तपाईंका निम्ति सुखद छैनन् । उनी भनिरहेका छन्–

‘हरे शिव ! कसरी सम्झाऊँ तिमीलाई ? विद्वान्जस्तो लागेको थियो तर मूर्खै रहेछौ । कुरा सुने ज्ञानीको व्यवहार हे¥यो मूर्खको  । अनावश्यक कुरामा शोक गर्ने काम मूर्खले मात्र गर्छन् । ज्ञानीले होइन बुझ्यौ ? ज्ञानीहरू काम सुरु गर्नुपूर्व तीन पटक सोच्छन्, सुरु गरिसकेपछि निरन्तर लागिरहन्छन् । संसारमा कसैको पनि स्थायित्व छैन । जसलाई देखिरहेका छौँ ती सबै न पहिले थिए न पछि रहने छन् । जसको सत्ता स्थायी हुन्छ ऊ सधैँ रहन्छ, जसको छैन उसको छँदैछैन ।  

अर्जुन : यस्तो वेदान्ती भाषा तपाईंले मात्र बुझ्ने कुरा हो वासुदेव !  मैले बुझेको त यही हो कि मृत्युभन्दा ठूलो दुःख अर्को हुन्न । हो बुझ्छु मृत्यु अन्तिम सत्य हो । जसले पनि एक पटक मर्नुपर्छ, जुन कसैको पनि हातमा छैन तर कम्तीमा त्यसको कारक नबन्न त सकिन्छ नि ? 

वासुदेव : ठीक भन्यौ मृत्यु अन्तिम सत्य हो । तर त्यो शरीरको धर्म हो, आत्माको होइन । शरीर मर्छ, आत्मा मर्दैन । मात्र सर्ने भएकाले उसलाई न आगोले डडाउन सक्छ, न पानीले भिजाउन सक्छ, न वायुले सुकाउन सक्छ न हात हतियारलेको काट्न सक्छ । उसका लागि मृत्यु भनेको त पुरानो लुगा छाडेर नयाँ लुगा लगाए जस्तै हो । सारमा यति बुझ न कोही मर्छ न कसैले कसैलाई मार्न सक्छ । 

अर्जुन : जे भए पनि पाप त लाग्छ नि । यस्तो कामको भागीदार म किन बनौँ ?   

वासुदेव : कसले भन्यो तिमीलाई पाप लाग्छ भनेर ? यो त तिम्रो स्वधर्म हो । तिमी युद्धकै लागि आएका हौ । यति बेला तिम्रो धर्म भनेकै यही हो । स्वधर्म पूरा गर्दा पाप लाग्दैन । बरु त्यसबाट पन्छिन खोज्दा भने लाग्छ । स्वतः प्राप्त भएको स्वर्गको ढोकालाई किन बन्द गर्न चाहन्छौ ? यति बेला तिम्रो दुवै हातमा लड्डु छ । जिते पृथ्वीको भोग गर्ने छौँ, मरे स्वर्ग जाने छौँ । त्यसैले भन्छै छु स्थितप्रज्ञ बनेर युद्ध गर ।

अर्जुन : के हो त्यो स्थितप्रज्ञ भनेको वासुदेव ! यसको परिभाषा के हो ? अनि त्यस्ता मानिसको व्यवहार कस्तो हुन्छ ? 

वासुदेव : सबै कामना त्यागेर निष्काम भावले काममा लागिरहनेलाई स्थितप्रज्ञ भनिन्छ भने सुख, दुःखलाई समान ठानी डर, त्रास, रिस, रागबाट मुक्त हुनुलाई स्थितधि भनिन्छ । लाभ र हानिको पछि लाग्दा त्यसप्रति राग बड्छ, रागले आशक्ति बढाउँछ, आशक्तिबाट कामना उत्पत्ति हुन्छ, कामनाले क्रोध बढाउँछ, क्रोधबाट स्मृतिभ्रम हुन्छ, स्मृतिभ्रम भएपछि बुद्धिनाश हुन्छ र बुद्धिनाश भएपछि सर्वनाश हुन पुग्छ । त्यसैले यस्ता कुराको पछि नलागी जुन काममा लागि आएका हौ, त्यतैतर्फ ध्यान केन्द्रित गर । 

यत्तिकैमा पर्दा खस्छ, नाटक समाप्त हुन्छ ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप