कछुवा गतिमा खेलकुदको पूर्वाधार निर्माण
काठमाडौँ । पछिल्लो समय खेलकुद क्षेत्रको पूर्वाधार विकासमा सरकारले चासो बढाउँदै लगेको छ । खासगरी नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय खेलवृत्तमा एकपछि अर्को सफलता हासिल गर्दै गएपछि खेलकुदको पूर्वाधारमा सरकार संवेदनशील बनेको हो ।
अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली टोलीले सफलता हात पारेपछि हरेक पटक भौतिक पूर्वाधारको विषय चर्को रूपमा उठ्ने गरेको छ । खेलाडी, समर्थकदेखि लिएर सञ्चारमाध्यमले समेत कमजोर भौतिक पूर्वाधारको विषयलाई प्राथमिकताका साथ उठाउने गर्छन् ।
त्यसैको प्रतिफल हो, विगत केही वर्षयता सरकार खेलकुद क्षेत्रको पूर्वाधार विकासमा संवेदनशील देखिएको छ । तर सरकारले खेलकुद क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि विनियोजन गरेको सीमित रकम पनि प्रभावकारी रूपमा खर्च हुन सकेको देखिँदैन ।
चालु आर्थिक वर्षमा सरकारले खेलकुद क्षेत्रको भौतिक पूर्वाधार निर्माणका लागि करिब ८८ करोड रूपैयाँ छुट्याएको थियो । उक्त रकमबाट देशका विभिन्न स्थानमा रङ्गशाला, खेल मैदान र कभर्डहल निर्माणको काम अघि बढाइएको छ ।
तर आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा पनि खेलकुदका भौतिक पूर्वाधार निर्माणको काममा खासै प्रगति भएको पाइँदैन । युवा तथा खेलकुद मन्त्रालयका सहसचिव इमनारायण श्रेष्ठका अनुसार हालसम्म खेलकुदको भौतिक पूर्वाधार निर्माणमा ९ प्रतिशत मात्र प्रगति भएको देखिन्छ ।
नेपाली खेलकुदमा यो विगतदेखिकै समस्या हो । चालु आर्थिक वर्षको बजेटमा सरकारले खासगरी विभिन्न स्थानमा क्रिकेट रङ्गशाला निर्माणका लागि बजेट विनियोजन गरेको थियो । ती स्थानमा क्रिकेट पूर्वाधार विकासको काम पनि सुरु भइसकेको छ । तर कामको गति भने कछुवा गतिमा अगाडि बढिरहेको छ ।
‘चालु आर्थिक वर्षमा राष्ट्रिय खेलकुद परिषद्मार्फत खेलकुदको पूर्वाधार निर्माणका लागि ८७ करोड ६६ लाख रूपैयाँ विनियोजन गरिएको छ । तर हालसम्म खेलकुदको पूर्वाधार निर्माणको प्रगतिको अवस्था भने ९ प्रतिशतमा रहेको देखिन्छ,’ मन्त्रालयको खेलकुद महाशाखा हेर्ने सहसचिव श्रेष्ठ भन्छन् ।
चालु आर्थिक वर्षमा खेलकुद पूर्वाधारका लागि छुट्याइएको करिब ८८ करोड रूपैयाँमध्ये आधा रकम क्रिकेटकै पूर्वाधार निर्माणका लागि विनियोजन गरिएको छ । क्रिकेटको पूर्वाधार विकासका लागि चालू आर्थिक वर्षको बजेटमा करिब ४८ करोड रूपैयाँ विनियोजन भएको छ ।
उक्त रकम कीर्तिपुर क्रिकेट मैदान, मुलपानी क्रिकेट मैदान, कैलालीको फाप्ला क्रिकेट मैदान, चितवनको भरतपुर क्रिकेट मैदान, कोहलपुर क्रिकेट मैदान र मोरङको बिपी कोइराला क्रिकेट मैदान निर्माणमा खर्च गरिने छ । यसदेखि बाहेक अन्य केही स्थानमा क्रिकेटको पूर्वाधार निर्माणमा पनि उक्त रकम खर्च गरिने छ ।
हाल क्रिकेट खेलका लागि नेपालको एक मात्र सुविधा सम्पन्न रङ्गशाला हो– कीर्तिपुर क्रिकेट रङ्गशाला । तर कीर्तिपुर रङ्गशालामा पनि अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार छैन । न रात्रिकालीन क्रिकेट खेल्न मिल्ने फ्लडलाइटको व्यवस्था छ न त दर्शकका लागि खेल हेर्न प्यारापिटको व्यवस्था नै छ । खेल हुँदै गर्दा वर्षा भयो भने दर्शकका लागि सामान्य ओत लाग्ने ठाउँसम्म छैन ।
तर सरकारले कीर्तिपुर मैदानमा राति पनि खेल खेल्न मिल्ने गरी ‘फ्लडलाइट’ जडानको काम अगाडि बढाएको छ । चालु आर्थिक वर्षकै बजेटमा रमक विनियोजन भए पनि हालसम्म ‘फ्लडलाइट’ जडानको काम भने सुरु हुन सकेको छैन ।
सरकारले कीर्तिपुर मैदानमा ‘फ्लडलाइट’ जडानका लागि १० करोड रूपैयाँ विनियोजन गरेको छ । ‘फ्लडलाइट’ जडान भएपछि कीर्तिपुर मैदानमा दिवा–रात्रि प्रतियोगिता पनि सञ्चालन गर्न सकिने छ । आगामी आर्थिक वर्षको बजेटमा पनि कीर्तिपुर मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आवश्यक बजेट विनियोजन गरिएको छ ।
आर्थिक वर्ष २०८०–८१ को सरकारको नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्र काठमाडौँको कीर्तिपुर र मुलपानी क्रिकेट रङ्गशालालाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ । आगामी आर्थिक वर्षको बजेटमा समेत यसका लागि रकम विनियोजन गरिएको छ । तर खेलकुदको भौतिक पूर्वाधार निर्माणको गति हेर्दा निर्धारित समयमै सरकारको लक्ष्य पूरा हुने सम्भावना देखिँदैन ।
००००
बजेट छर्ने प्रवृत्ति
खेलकुदको भौतिक पूर्वाधारमा सरकारले लिएको नीति पनि विरोधाभाषपूर्ण देखिन्छ । सरकारले खेलकुदको पूर्वाधार निर्माणमा थोरै बजेट छुट्याउने गरेको छ । छुट्याइएको बजेट पनि कनिका छरे जस्तो थोरै थोरै गरेर थुप्रै स्थानमा वितरण गर्ने गरिन्छ ।
मन्त्रालयका सहसचिव श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा विनियोजन गरिएको ८७ करोड ६६ लाखमध्ये पनि १० करोड रूपैयाँ साना योजनाहरूमा खर्च गरिँदैछ । बाँकी रहेको ७७ करोड ६६ लाख रूपैयाँ ठुला रङ्गशाला निर्माणका लागि खर्च गरिँदैछ ।
ठुला रङ्गशालाहरू निर्माणका लागि पनि थोरै रकम मात्र छुट्याएको पाइन्छ । चालु आर्थिक वर्षमा भरतपुर क्रिकेट रङ्गशालालाई २२ करोड ५० लाख, मुलपानी क्रिकेट रङ्गशालालाई सात करोड, कोहलपुर क्रिकेट रङ्गशालालाई तीन करोड, पोखरा क्रिकेट रङ्गशालालाई दुई करोड, फाप्ला क्रिकेट रङ्गशालाका लागि एक करोड, भैरहवा क्रिकेट रङ्गशालालाई एक करोड ५० लाख र महेन्द्रनगर क्रिकेट रङ्गशालालाई ५० लाख रूपैयाँ विनियोजन गरिएको छ ।
ठुला रङ्गशालाहरू निर्माण गर्न यो रकम अत्यन्तै न्यून हो । प्रत्येक वर्ष थोरै रकम विनियोजन गर्दा ठुला रङ्गशालाहरू तयार हुन निकै लामो समय लाग्ने निश्चित छ । त्यसैले धेरै स्थानमा थोरै थोरै रकम छुट्याउनुभन्दा केही निश्चित स्थानमा अन्तर्राष्ट्रिय स्तरका सुविधा सम्पन्न रङ्गशाला बनाउन ठुलो रकम खर्च गर्नु उपयुक्त देखिन्छ ।
‘हामी खेलकुदको पूर्वाधारमा निकै पछाडि छौँ । सरकारले पनि ठुलो रकम खर्चिएर एकै पटक सबै स्थानमा पूर्वाधार बनाउन सक्दैन । यसका लागि लामो समय लाग्छ । त्यसैले थोरै थोरै रकम धेरै स्थानमा विनियोजन गर्नुभन्दा सबैभन्दा ठुलो रकम खर्च गरेर केही स्थानमा सुविधा सम्पन्न पूर्वाधार तयार पार्नु उपयुक्त हुन्छ,’ सहसचिव श्रेष्ठ भन्छन् ।
०००
अन्य खेलका पूर्वाधारको अवस्था पनि उस्तै
क्रिकेटका अतिरिक्त सरकारले प्रादेशिक रङ्गशाला र खेलकुदका अन्य पूर्वाधार निर्माणमा पनि चासो देखाएको छ । तर प्रादेशिक रङ्गशाला र अन्य पूर्वाधार निर्माणको कामले पनि खासै गति लिन सकेको पाइँदैन । रङ्गशाला निर्माण तथा स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा करिब १६ करोड रूपैयाँ विनियोजन गरिएको छ ।
चालु आर्थिक वर्षमा नेपालगन्ज रङ्गशालामा सेन्थेटिक ट्र्याक निर्माण गर्न तीन करोड, फिदिम रङ्गशाला निर्माण गर्न दुई करोड ५० लाख र धनगढी प्रादेशिक रङ्गशाला निर्माणका लागि एक करोड ५० लाख रूपैयाँ विनियोजन गरेको छ । कर्णालीमा खेलकुदको पूर्वाधार निर्माण गर्न एक करोड रूपैयाँ विनियोजन गरिएको छ । १०औँ बृहत् राष्ट्रिय खेलकुद पनि कर्णालीमै आयोजना हुँदैछ ।
यसैगरी धरान रङ्गशाला, सिमरा रङ्गशाला, वीरगन्जको नारायणी रङ्गशाला र अन्तर्राष्ट्रिय रग्बी रङ्गशाला निर्माणका लागि पनि चालु आर्थिक वर्षमा एक–एक करोड रूपैयाँ विनियोजन गरिएको छ । पोखरा रङ्गशालाका लागि ५० लाख छुट्याएको छ भने पोखरा रङ्गशालामै बोरिङ र पानीट्याङ्की व्यवस्थाका लागि थप एक करोड रूपैयाँ विनियोजन गरेको छ ।
यसका अतिरिक्त पनि अन्य थुप्रै स्थानमा रङ्गशाला निर्माणका लागि सरकारले थोरैथोरै रकम विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा देशका विभिन्न स्थानमा कभर्डहल निर्माण र स्तरोन्नतिका लागि पनि सरकारले करिब साढे सात करोड रूपैयाँ विनियोजन गरेको छ । तर यी स्थानहरूमा पनि पूर्वाधार निर्माणको काममा खासै प्रगति हुन नसकेको सहसचिव श्रेष्ठ बताउँछन् ।
००००
निर्माणमा प्रगति नभएपछि छुट्टै संयन्त्रको तयारी
खेलकुदका पूर्वाधार निर्माण गर्न सरकारले बजेट विनियोजन गर्ने तर काम भने प्रभावकारी रूपमा अगाडि नबढ्ने भएपछि मन्त्रालय पनि चिन्तित देखिएको छ । चालु आर्थिक वर्षमा पूर्वाधार निर्माणको कामको प्रगति समीक्षा हुँदा जम्मा नौ प्रतिशत काम भएको पाइएको सहसचिव श्रेष्ठले बताए ।
त्यसैले मन्त्रालयले विकल्पका रूपपमा विज्ञ इन्जिनियरहरू राखेर छुट्टै एकाइ बनाउने विषयमा छलफल अगाडि बढाएको छ । ‘पूर्वाधार निर्माणमा भएको प्रगतिको अवस्था निकै निराशाजनक छ । यो चिन्ताको विषय हो,’ श्रेष्ठ भन्छन्, ‘त्यसैले छुट्टै एकाइ बनाएर पूर्वाधार निर्माणको काम अघि बढाउने तयारी भइरहेको छ ।’
यसरी बन्न छुट्टै एकाइलाई विशेष अधिकारीहरू पनि दिइने सहसचिव श्रेष्ठले बताए । ‘बजेट भएर पनि काम नहुने प्रवृत्ति बढ्दै गएपछि यो विकल्प अघि सारिएको हो । यसरी बनाइनेको एकाइ भनेको अधिकार सम्पन्न हुनेछ,’ सहसचिव श्रेष्ठले भने, ‘यसरी बन्ने एकाइमा कम्तीमा एक जना सिनियर इन्जिनियर राखिने छ र एकाइले एउटा स्पष्ट योजना बनाएर पूर्वाधार निर्माणको कामलाई अगाडि बढाउने छ ।’
०००
कति लाग्छ क्रिकेट रङ्गशाला बनाउन ?
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले भारतको वणारसीमा नयाँ क्रिकेट रङ्गशाला बनाउने योजना अघि सारेको छ । करिब दुई सय ३८ रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको हो । उक्त क्रिकेट रङ्गशालाका लागि बिसिसिआईले तीन अर्ब भारतीय रूपैयाँ (चार अर्ब ८० करोड नेपाली) खर्च गर्दैछ । यसका जग्गा खरिदको रकम जोडिएको छैन ।
बिसिसिआईले उत्तर प्रदेश क्रिकेट सङ्घसँगको सहकार्यमा उक्त रङ्गशाला बनाउन लागेको हो । उक्त रङ्गशाला ३० हजार दर्शक क्षमताको हुने बताइएको छ । उक्त रङ्गशालाको निर्माणकार्य जुनमा सुरु गरेर सन् २०२४ को अन्त्यसम्ममा पूरा गर्ने लक्ष्य राखिएको छ ।
यसैगरी भारतले अहमादाबादको सरदार बल्लभभाई पटेल स्पोटर््स कम्प्लेक्सभित्र सन् २०२० मा नरेन्द्र मोदी क्रिकेट रङ्गशाला निर्माण गरेको थियो । सन् १९८३ मा निर्माण भएको उक्त रङ्गशाला पूर्णरूपमा भत्काएर पुनः नयाँ रङ्गशाला बनाइएको हो ।
उक्त रङ्गशाला बनाउनका लागि आठ अर्ब भारतीय रूपैयाँ (१२ अर्ब ८० करोड नेपाली) खर्च भएको थियो । उक्त क्रिकेट रङ्गशाला एक लाख ३२ हजार दर्शक क्षमताको रहेको छ । दर्शक क्षमताका आधारमा यो विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशाला पनि हो ।
यसैगरी सन् २०१५ मा भारतको केरलामा ‘ग्रिनफिल्ड इन्टरनेसनल स्टेडेयिम’ निर्माण गरिएको थियो । उक्त रङ्गशाला ५५ हजार दर्शक क्षमताको रहेको छ । उक्त रङ्गशाला निर्माणका लागि त्यतिबेला करिब ६ अर्ब ५० करोड नेपाली रूपैयाँ खर्च भएको थियो ।
यसैगरी भारतको राजपुरमा सन् २००८ मा ‘सहिद वीर नारायण सिंह अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’को निर्माण सम्पन्न भएको थियो । करिब ६५ हजार दर्शक क्षमताको उक्त रङ्गशाला निर्माण गर्न त्यतिबेला करिब ६ अर्ब ६० करोड नेपाली रूपैयाँ खर्च भएको थियो ।
यसैगरी सन् २००३ मा भारतको हैदराबादमा ‘हैदराबाद क्रिकेट रङ्गशाला’को निर्माण सम्पन्न भएको थियो । उक्त रङ्गशाला ५५ हजार दर्शक क्षमताको रहेको छ । त्यतिबेला उक्त क्रिकेट रङ्गशालाको निर्माण सम्पन्न गर्न करिब चार अर्ब नेपाली रूपैयाँ खर्च भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी ठगी : पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याएर दिनभर लिइयो बयान, अब पालो रविको
-
पिठो तथा इन्धनको अभावले गाजामा बेकरीसमेत बन्द हुने अवस्थामा : राष्ट्रसङ्घ
-
नेतन्याहू, ग्यालेन्ट र डिफविरुद्ध आइसिसीको पक्राउ पुर्जी जारी
-
चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
-
बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय
-
विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस समिति गठन