बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

ए डिभिजन : एनआरटीमाथि पुलिस विजयी

बिहीबार, १८ जेठ २०८०, १९ : ५१
बिहीबार, १८ जेठ २०८०

काठमाडौँ । विदेशी खेलाडी मोसेस ग्याबाले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्दा विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) माथि १–० को रोमाञ्चक जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा मोसेसले खेलको ७९ औं मिनेटमा गरेको गोल निर्णायक बन्दा पुलिसले एनआरटीमाथि रोमाञ्चक जित निकाल्न सफल भएको हो । निकै रोमाञ्चक बनेको खेलमा रवी पासवानले उपलब्ध गराएको पासलाई मोसेसले हेडरमार्फत जाली चुमाउन सफल भएका थिए । 

यसअघि दुवै टोलीले पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न चुकेका थिए । २०औं मिनेटमा कृतिशरत्न छुन्जूको प्रहारलाई पुलिसका गोलकिपर शत्रुधन चौधरीले बचाए । ३०औं मिनेटमा निकोलस सङ्गको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा एनआरटीले अग्रता लिने सुनौलो अवसर गुमायो ।

दोस्रो हाफमा फरक रणनीति सहित आक्रामक खेल देखाएको पुलिसले अग्रता लिएसँगै एनआरटीलाई दबाबमा राख्दै खेलेको थियो । ७९औं मिनेटको अग्रता पछि १० मिनेट पछि सौजन राईको कर्नरमा अन्जन राईको हेडरबल बारमा लागेर बाहिरिँदा पुलिसको अग्रता अवसर खेर गएको थियो । इज्जुरी समयमा कप्तान विक्रम धिमालले दोहोरो पहेँलो कार्ड व्यहोर्दै मैदान छाडेपछि एनआरटी १० खेलाडीमा समेटिए पनि बाँकी समयमा थप गोल हुन सकेन र पुलिसले स्पष्ट तीन अंक तालिकामा जोड्न सफल भयो । यससँगै पुलिस लिगमा एनआरटीबिरुद्ध अपराजित रह्यो । 

यी दुईबीचको पहिलो भेट १–१ को बराबरीमा सकिएको थियो । बिहीवारको जितसँगै पुलिसले २३ खेलमा ३४ अकं जोड्न सफल भएको छ ।  पुलिस चौथो स्थानमा कायमै छ । पराजय व्यहोरेको एनआरटी २३ खेलमा २९ अंकका साथ नवौं स्थानमा छ ।

लिग अन्तर्गत बिहीवार नै च्यासल मैदानमा सम्पन्न खेलमा  फ्रेण्ड्स क्लब र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीले स्पष्ट अंकका लागि आक्रामक खेल खेल खेले पनि अवसरलाई सदुपयोग गर्न चुकेका थिए ।

यससँगै जारी लिगमा २३औं चरणका खेल सम्पन्न भएका छन् । २३औं चरणको खेल सम्पन्न हुँदा यसै सिजन बढुवा भएको चर्च ब्वाईजले ४१ अंक जोड्दै शीर्षता राखेको छ । साविक विजेता मच्छिन्द्र ३९ अंकका साथ तालिकाको दोस्रो स्थानमा अटाउँदा जावलाखेल ३७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । यस्तै पुलिस चौथो स्थानमा अटाउँदा विभागीय टोली त्रिभुवन आर्मी पाँचौ स्थानमा छ । यस्तै खुमलटार र फ्रेण्ड्स रेलिगेशन क्षेत्रमा बच्नका लागि संघर्ष गरिरहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप