बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
नागरिकता विद्येयक प्रकरण

नागरिकता विधेयकबारे रास्वपा : सडक र सदनबाट विरोध गर्ने चेतावनी

बिहीबार, १८ जेठ २०८०, १८ : २४
बिहीबार, १८ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वभौम संसद गठन भएको झन्डै ७ महिना भइसक्दा पनि संसदमा छलफल नगराई राष्ट्रपतिबाट विवादास्पद नागरिकता विधेयक प्रमाणिकरण गरिएकोप्रति घो आपत्ति जनाएको छ ।  साथै लोकतान्त्रिक पद्धति नाघेर प्रमाणिकरण भएको नागरिकता विधेयकको सदन र आवश्यक परे सडकबाट समेत सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ । 

सो पार्टीका महामन्त्री मुकुल ढकालले बिहीबार विज्ञप्ति जारी गर्दै संविधानको धारा ११३ अनुसार १५ दिनभित्र राष्ट्रपतिबाट विधेयक प्रमाणिकरण नभएपछि पनि उक्त विधेयक जीवित रहने भन्ने कुनै संवैधानिक व्यवस्था नभएको अवस्था र चुनावबाट नयाँ जनप्रतिनिधिहरु संसदमा आइसकेको सन्दर्भमा सोही विधेयकलाई पुनः प्रमाणीकरणका लागि राष्ट्रपतिलाई सिफारिश गर्ने मन्त्रिपरिषद्को निर्णय गैर संवैधानिक मात्र नभई नवगठित प्रतिनिधिसभाको कानुन निर्माण गर्ने कार्यक्षेत्रमा समेत ठाडो हस्तक्षेप भएको जनाएका छन् । 

‘लोकतन्त्रमा परिणाम मात्र होइन, प्रक्रिया पनि प्रधान हुन्छ । नागरिकता पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो । योग्य हुँदा हुँदै पनि अनागरिक हुन बाध्य पारिएका कैयन पीडित नेपालीले आफ्नो नागरिकताको अधिकार प्राप्त गर्नुपर्छ भन्ने कुरामा हाम्रो कहिल्यै कुनै विमति थिएन, छैन’, रास्वपाले भनेको छ,‘नागरिकता विधेयक प्रक्रियागत रूपमा समयमा नआएका कारणले कैयन नेपाली नागरिकले नागरिकताबाट बञ्चित हुनु परेको थियो, जसलाई सम्बोधन गर्न आवश्यक थियो तर प्रक्रिया मिचेर होइन ।’

नयाँ जनादेश प्राप्त भएको ७ महिनामा संसदमा नै छलफल गराई, प्रक्रिया पुर्याई, संविधानले परिकल्पना गरेअनुसार राष्ट्रहित विरूद्ध नहुने गरी नागरिकता विधेयक जारी गर्न सकिने भएपनि गृह मन्त्रालयसहित सरकारमा रास्वपा उपस्थित हुँदा, संसदको पहिलो अधिवेशनमा नै नागरिकता विधेयक टुङ्ग्याउने सहमति भएको र त्यतिबेलाको न्यूनतम साझा नीति कार्यक्रममा पनि समावेश भएको प्रवक्ता समेत रहेका ढकालले जनाएका छन् ।

विधेयकमा नेपाली नागरिकसँग विवाह गरी आएका विदेशी नागरिकका लागि स्थायी बसोबास अनुमति पत्र जारी गर्ने र स्थायी बसोबास अनुमति पत्र प्रदान गरेको न्युनतम ७ वर्षमा मात्र नागरिकता दिने प्रावधान हुनुपर्ने पार्टीको स्पष्ट मत रहेको छ ।  ‘यसका केही प्रावधान हेर्दा विधेयक लैंगिक विभेदयुक्त देखिन्छ । अतः लोकतान्त्रिक पद्धति नाघेर प्रमाणिकरण भएको यो नागरिकता विधेयकको हामी सदन र आवश्यक परे सडकबाट समेत सशक्त प्रतिवाद गर्ने चेतावनी दिन चाहन्छौं’, विधेयकका प्रावधानबारे असहमति जनाउँदै रास्वपाले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप