घाँटी दुखेको बच्चालाई डाक्टरले आइसक्रिम खान, भिडियो गेम हेर्न भनेपछि...

९ वर्षका एक बालकलाई घाँटी दुखिरहेको थियो, फ्लुको लक्षण पनि थियो तर डाक्टरले उनलाई परीक्षण नै नगरी आइसक्रिम चकलेट खान दिनु र भिडियो गेम खेल्न दिनु भन्दै प्रेस्क्रिप्सन लेखिदिए ।
अचम्म लाग्यो नि ? हो, गत मे १८ तारिखमा आफ्नो ९ वर्षको बच्चाले बान्ता गर्न थालेपछि प्रिसिला डा सिल्भा रामोसले सरकारी क्लिनिकमा लिएर गइन् । उनको बच्चालाई ज्वरो पनि आइरहेको थियो । ३७ वर्षकी उनले त्यहाँका डाक्टर अव्यवसायी भएको आरोप लगाउँदै डाक्टरले आफैँले बच्चालाई परीक्षण गर्नुको साटो उनलाई ‘बच्चाको घाँटी हेरेको हो’ भनेर प्रश्न सोधेको बताइन् ।
उनका अनुसार परीक्षण नगरीकनै नाम नखुलाइएका ती डाक्टरले एमोक्सिसिलिन, आइबुप्रोफेन, डिपीरोन, प्रेडनिसोलोन र एन–एसिटिल्सिस्टेनजस्ता औषधी प्रेस्क्राइब गरे । अचम्मको कुरा त के भने उनले बच्चालाई आइसक्रिम दिनु र दैनिक गेम खेल्न दिनु भनेर पनि औषधीसँगै लेखिदिए ।
‘उनले मेरो बच्चालाई परीक्षण नै नगरी प्रेस्क्रिप्सन लेख्न सुरु गरे । डाक्टरले न त उनको घाँटी परीक्षण गरे न छाती । केही पनि गरेनन्,’ रुष्ट आमाले भनिन् । ‘त्यसपछि उनले मेरो छोरालाई आइसक्रिम मनपर्छ भनेर सोधे । मेरो छोराले मनपर्छ भने । डाक्टरले चकलेट कि स्ट्रबेरी भनेर पुनः सोधे । छोराले पहिलो फ्लेभर रोज्यो । तर मैले कहिल्यै नसोचेको कुरा, उनले प्रेसक्रिप्सनमा आइसक्रिम भनेर लेखिदिए । साथै, उनले मोबाइलमा फ्रि फायर खेल्न देऊ भनेर पनि लेखिदिए ।’
रामोसले ब्राजिलका पत्रकारसँगको कुराकानीमा भनिन्, ‘प्रेस्क्रिप्सनमा आइसक्रिम र भिडियो गेम लेखिएको कुरा त मैले याद नै गरेको थिइनँ । भोलिपल्ट मेरी बहिनीले प्रेस्क्रिप्सन हेरेपछि उनी अन्तिम दुई लाइन देखेर चकित परिन् । त्यसपछि हामीले यो अचम्मको प्रेस्क्रिप्सन सोसल मिडियामा हाल्ने निर्णय गर्यौँ ।’
सोसल मिडियामा यस्तो प्रेस्क्रिप्सन देखेपछि मानिसहरू दुई समूहमा बाँडिए । कोहीले ती डाक्टरलाई अव्यवसायी बताए भने कोहीले डाक्टरले यस्तो प्रेस्क्रिप्सन ठट्टाको रूपमा लेखिदिएको भन्दै बचाउ गरे ।
ती डाक्टरको दुर्भाग्य भनौँ, यो विवादले उनको जागिर नै खोसिदियो । अब उनले ब्राजिलको सार्वजनिक स्वास्थ्य नेटवर्क भित्र कतै पनि काम गर्न पाउने छैनन् । ती बालककी आमाले भने यस्तो निर्णयले ब्राजिलको स्वास्थ्य क्षेत्रमा सुधार आउने अपेक्षा राखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलीको शतक, पाकिस्तान पराजित
-
नयाँ बसपार्कबाट खैरो हेरोइन सहित भारतीय दम्पती पक्राउ
-
१० बजे १० समाचार : प्रधानमन्त्रीको राजीनामा मागदेखि नयाँ सुरक्षा चुनौतीबारे रणनीतिमा सेनासम्म
-
काठमाडौँ महानगरका मेयर र उपमेयरसँगको छलफलपछि प्रधानाध्यापकहरू उत्साहित
-
अमेरिकाबाट ‘डिपोर्ट’ भएका १२ भारतीय बोकेर दिल्ली आइपुग्यो विमान
-
३३७२ जोर जुत्ता भन्सार छलेर ल्याएको आरोपमा तीन जनाविरुद्ध १० करोडको मुद्दा