सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
विप्लवसँग अन्तर्वार्ता

‘कर्णालीमा अझै पनि क्रान्तिकारी आधार बाँकी छ’

कम्युनिस्ट ‘मुभमेन्ट’को रक्षा गर्नुपर्ने आजको आवश्यकता हो : विप्लव
बिहीबार, १८ जेठ २०८०, ०९ : १२
बिहीबार, १८ जेठ २०८०

सुर्खेत । माओवादीले थालेको १० वर्षे सशस्त्र जनयुद्धको विषयलाई लिएर पछिल्लो समय सडकदेखि सदनसम्म विभिन्न कुरा उठिरहेका छन् । विशेषगरी नेकपा एमालेका नेताहरूले माओवादी जनयुद्धलाई लिएर विभिन्न खालका टीका टिप्पणी गरिरहेका छन् । माओवादी अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ माथि द्वन्द्वकालीन मुद्दा लगाउनेदेखि माओवादी आन्दोलन जनताका पक्षमा नरहेको भन्ने भन्ने खालका तर्क पनि आइरहेका छन् । माओवादी आन्दोलनलाई अपराधीकरण गर्न खोजेको भन्दै पूर्वमाओवादी नेताहरू भने यतिबेला एक ठाउँका उभिएर प्रतिवाद गरिरहेका छन् ।

पूर्वमाओवादी नेता एवं नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ भने जनताको मुक्तिको आन्दोलनलाई अपराधीकरण गर्नु जायज नभएको बताउँछन् । यदि कसैले त्यसो गर्न खोजे त्यसको प्रतिरोधमा आफूहरू अडिग भएर लाग्ने उद्घोष उनको छ । सोमबार सुर्खेतको दशरथपुरको एउटा कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत आइपुगेका विप्लवसँग रातोपाटीले समसामयिक विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ नेकपा महासचिव विप्लवसँगको सङ्क्षिप्त कुराकानी :

तपाईं जनयुद्धका बेलामा धेरै समय कर्णालीमा बस्नुभयो, पैदल कर्णाली चहार्नुभएको थियो, धेरै समयपछि कर्णालीमा आउनुभएको छ । जनयुद्धको कर्णाली र अहिलेको कर्णालीमा के फरक पाउनुभयो ? 

हो, १० वर्षे जनयुद्धमा कर्णालीको भूमिका अग्र स्थानमा रहेको थियो । जनयुद्ध संसारकै एउटा प्रतीकका रूपमा स्थापित भएको थियो र त्यसको आफ्नो छुट्टै स्थान छ । जसलाई सफल पार्नका लागि भेरी र कर्णालीले पनि आफ्नो भूमिका गौरवपूर्ण तरिकाले पुरा गरेका थिए । परिवर्तनका लागि युद्धमा कर्णालीले धेरै सङ्घर्ष गरेको छ । त्यसको उच्चतम परिणाम हासिल नभए पनि त्यसकै जगमा रहेर आज हामी यहाँसम्म आइपुगेका छौँ भन्ने लाग्छ । आजको कर्णाली अलिकति आदर्शको कर्णाली बन्न पुगेको छ । कर्णालीले सामाजिक रूपान्तरणमा केही फड्को मारेकै छ । आजको कर्णाली भनेको अलिकति आदर्शमा प्रश्न उठिरहेको कर्णाली बनेको छ । विचार र आन्दोलनमा प्रश्नहरू उठिरहेका जस्ता देखिन्छन् किनकि कर्णालीवासीले युद्धमा जसरी सङ्घर्ष गरेका थिए । त्यो अनुसारको परिणाम केही रूपमा पाउन सकिरहेको अवस्था छैन । कर्णालीवासीले जुन तहमा रहेर युद्धलाई साथ दिएका थिए, बलिदानी गरेका थिए र आशा गरिहेका थिए, त्यो अनुसारको परिणाम पाएका छैनन् । अहिले त्यो के थियो ? भन्ने जस्तो भइरहेको छ । तथापि बृहत् छलफल गर्ने हो भने कर्णालीमा अझै पनि क्रान्तिकारी आधार चाहिँ बाँकी रहेको मैले देखेको छु । 

पछिल्लो समय माओवादी आन्दोलनमाथि विभिन्न प्रश्न उठ्दा क. प्रचण्डको पक्षमा रहेर तपाईंहरूले संरक्षण गरिरहेको जस्तो देखिन्छ । माओवादीमाथि प्रश्न उठ्दा त्यसको हिलो आफूसम्म पनि आएर छापिन्छ भन्ने त्रास बढेर हो कि माओवादी एकताको सन्देश हो ?

यो व्यक्तिको भन्दा पनि आन्दोलनको कुरा हो । क. प्रचण्डलाई रक्षा गरिरहेको कुरा प्रचण्ड व्यक्ति विशेषको कुरा नभई १० वर्षे जनयुद्धको कुरा हो । जनयुद्ध भनेको नेपाली श्रमिक वर्ग, सर्वहारा वर्गका जनताको मुक्ति युद्ध अर्थात् विद्रोह थियो, जसको नेतृत्व त्यो बेला क. प्रचण्डले गर्नुभएको हो । त्यस कारण एउटा क्रान्ति, आन्दोलनलाई अपराधीकरण गराएर जुन खालका प्रश्न उठाउने प्रयत्न भइरहेको छ, त्यो कदापि राम्रो होइन । आन्दोलन र त्यसको नेतृत्वहरूलाई अपराधी बनाई दण्डित गर्ने जुन खालको एउटा गलत सोच अगाडि आइरहेको छ, त्यसको हामीले प्रतिरोध गरेको मात्र हो । गलत प्रवृत्तिको प्रतिरोध गरेको र आन्दोलनको बेलामा नेतृत्व क. प्रचण्डले गरेका कारण स्वाभाविक ढङ्गले क. प्रचण्डको संरक्षणको कुरा हुने नै भइहाल्यो । 

पूर्वमाओवादीहरू एक ठाउँमा आउँदैछन् भनेर पनि चर्चा भयो । पार्टी एकताको चर्चा अहिले आएर पुनः सेलाएको जस्तो पनि देखिन्छ । समाजवादी मोर्चा बनाउने कुरा पनि अहिले कोमामा परिरहेको छ । यो विषय चर्चामै सीमित हो कि व्यावहारिक रूपमा पनि अघि बढिरहेको छ ? 

यो विषयमा दलहरूका बिचमा बृहत् तरिकाले छलफल भइरहेको नै छ । यसमा केही २, ३ वटा फ्याक्टर छन् । वर्तमान नेपालको परिस्थिति एकदमै नयाँ बन्न आइपुगेको हाम्रो निष्कर्ष छ । त्यसमा पनि कम्युनिस्ट मुभमेन्टको रक्षा गर्नुपर्ने कुरा प्रमुख कुरा देखिएको छ । कम्युनिस्ट आन्दोलनको उद्देश्यलाई पुरा गर्ने कुरालगायतका यावत् विषयलाई अगाडि लैजानका लागि नयाँ तरिकाले सोच्नुपर्ने देखिन्छ र आवाश्यकता पनि हो । यसअघि २०७५ सालसम्म हामीले जुन तरिकाले सोचिरहेका थियौँ, त्यो तरिकाले अब हुँदैन भन्ने हाम्रो बुझाइ हो । त्यसमा पनि हामी एक्लै नभई सबैलाई लिएर अघि बढ्नुपर्ने र नयाँ तरिकाले सोच्नुपर्ने हुन्छ । सिङ्गै कम्युनिस्ट आन्दोलनमा छलफल गर्नुपर्छ र एक भएर अघि बढ्नुपर्छ भन्ने कुरामा बृहत् छलफल भइरहेको छ । त्यहीभित्र समाजवादी मोर्चाको कुरा हो । प्रचण्ड कमरेडले समाजवादी मोर्चा बनाउनुपर्छ भनेर अलि पहिल्यैदेखि नै भन्दै आउनुभएको थियो । यद्यपि हामीले यसलाई अग्रगामी समाजवादी मोर्चाका रूपमा लैजानुपर्ने कुरा राखेको हो, जुन देशको रूपान्तरणका लागि हुनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो । त्यसमा आवश्यक छलफल भइरहेको छ, सायद त्यो बन्छ र बन्ने दिशामा गइरहेको छ भनेर बुझ्नुहोस् ।

यो कहिलेसम्म बनिसक्छ, त्यसको लक्ष्य नि ? 

हैन छिट्टै बन्छ, उहाँ (क. प्रचण्ड) पनि आज भारत जाँदै हुनुहुन्छ, यतापट्टि हाम्रा पनि केही प्रशिक्षण कार्यक्रमहरू रहेका छन् । उहाँ भारतबाट आइसकेपछि हामीहरूबीच भेटघाट हुन्छ । त्यसपछि केही निष्कर्ष निस्किएला ।

अर्को कुरा कुनै समय तपाईंहरू यो संसदीय व्यवस्था दलाल संसदीय व्यवस्था हो, अब वैज्ञानिक समाजवाद लागु गर्नुपर्छ भनेर कस्सिएर लाग्नुभएको थियो, त्यो कता हरायो नि आजभोलि ? 

हैन, त्यो त चलिरहेकै छ नि ! नेपालमा दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था असफल भयो भन्ने कुरामा सबै सहमत नै छन् । यसले निकास दिएन । १५ वर्षको अभ्यासमा यो व्यवस्थाले फेल खाइसक्यो । अब देशलाई कहाँबाट निकास दिने भन्ने कुरा नै हो । अहिले जताततै मान्छेका असन्तुष्टि छन्, आक्रोश, आवेग छ, विद्रोह फैलिरहेको छ । त्यसलाई कता लैजाने भन्ने कुरामा तीन वटा प्रवृत्ति अगाडि आइरहेका छन्– एउटा प्रवृत्ति पछाडि फर्काउन चाहन्छ, त्यो भनेको राप्रपा हो । २०४७ सालको संविधानतिर फर्काउने उसले पश्चगामी वकालत गरिरहेको छ । पूर्वराजावादी मान्छेहरूले अहिले यो कुरा भनिरहेको अवस्था छ, त्यो पश्चगामी प्रवृत्ति हो । अर्को राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, गगन थापाहरूको कुरा आइरहेको छ । उनीहरूले यही व्यवस्था ठिक हो, अवस्थ मात्र फेर्न हो भन्ने खालको कुरा छ । यो एक खालको भ्रमित चेतना हो । हाम्रो भनेको यसको समाधान भनेको वैज्ञानिक समाजवाद हो । अग्रगमनको यात्रा हो । अगाडिका विकल्पहरू ज्युउँदैछन्, सकिएका छैनन् । हामीलाई त्यहाँसम्म जान नदिएको मात्र हो, माओवादीलाई बिचमा अवरोध गरेको कुरा मात्र हो । हामीलाई एउटा लक्ष्यसम्म पुग्न दिएको खण्डमा सफल गर्छौं भन्ने हाम्रो कुरा छ । त्यही विकल्प र त्यही समाधनका लागि अहिले प्रयत्न भइरहेको छ । 

अहिले देशमा शरणार्थी प्रकरणले चर्चा पाइरहेको छ, प्रचण्डले ठुल्ठुला भ्रष्टाचारका फाइल खोल्छु, जनयुद्धमा साथ दिए जसरी सबैले दिनुहोस् भनिरहनुभएको छ, तपाईंहरूको के छ यो विषयमा धारणा ? 

हामीले पहिले नै के भनेका छौँ भने राज्य भनेको जनताकै सेवा गर्ने साधन हो अथवा हाम्रो भाषमा क्रान्तिकै साथ हो । त्योभन्दा अलग होइन, त्यहाँबाट गलत प्रवृत्तिको विरुद्धमा सङ्घर्ष हुँदाखेरि नागरिकले पनि साथ दिन्छन्, राजनीतिक आन्दोलनले पनि साथ दिन्छ । यो कुरा हामीले भन्दै आएको पनि हो । अहिले सहिद, बेपत्ता योद्धाहरूलाई सार्वजनिक गर्नुपर्ने कुरामा तपाईंहरू निर्णय गर्नुस् हामी साथ दिन्छौँ भनेकै छौँ । भ्रष्टाचार साझा समस्या हो । यसको विरुद्धमा कदम अगाडि चलाउनुहुन्छ भने हामी साथ दिन्छौँ नि !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप