बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

नेपालको हितविपरीत कुनै सम्झौता नगर्न प्रधानमन्त्रीलाई नेकपा मालेको आग्रह

मङ्गलबार, १६ जेठ २०८०, १७ : ४१
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । नेकपा मालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बुधबारबाट हुने भारत भ्रमणका क्रममा नेपाल राष्ट्र तथा नेपाली जनताका हित विपरीत कुनै पनि सहमति वा सम्झौता नगर्न ध्यानाकर्षण गराएको छ । 

सो पार्टीको स्थायी कमिटी बैठकपछि जारी विज्ञप्तिमा प्रधानमन्त्री प्रचण्डको जेठ १७–२० गते हुने औपचारिक भारत–भ्रमण देशको स्वतन्त्रता, साम्प्रभूता एवम् भूअखण्डता र राष्ट्रिय हितमा थप आँच नआउने गरी सम्पन्न भएको खण्डमा त्यो अहिलेको निम्ति उपलब्धि हुने ठहर समेत गरेको छ ।

प्रधानमन्त्रीले कम्तीमा पनि नेपाल–भारत सिमानाको पश्चिमोत्तरमा अवस्थित भारतको कब्जामा पुगेको करिब ४०० वर्ग कि.मी.क्षेत्रफल भएको नेपालको पश्चिमी ब्यास क्षेत्रलाई वार्ताद्वारा नेपालको सम्प्रभुता अन्तर्गत ल्याउने सम्पूर्ण नेपालीहरूको विचारलाई भारतीय समकक्षी समक्ष राख्न पनि मालेले सुझाव दिएको छ ।

‘दुवै देशका सरकारद्वारा सहमतिमा गठित “प्रबुद्ध समूह”ले तयार गरेको प्रतिवेदनलाई भारतीय प्रधानमन्त्रीले अविलम्ब ग्रहण गरून् र त्यसको सार्वजनिककीकरण तथा कार्यान्वयन गर्ने बाटो खोलुन्; रुपन्देही तथा कञ्चनपुरको आकाश हुँदै नेपालभित्र पस्ने र बाहिर निस्कने हवाई मार्गबारे भारतीय पक्षलाई सहमत बनाउने काम गरून्; डिजिटल भुक्तानीको कारोबार गर्ने दुवै देशका कम्पनिबीच अन्तर्देशीय कारोबार गर्ने सहमति गरून् र नेपाल राष्ट्र तथा नेपाली जनताका हित विपरीत कुनै पनि सहमति वा सम्झौता नगरून् भनी बैठकले सार्वजनिक रूपमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप