शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय
समाचार

जीतपुर सिमरा उपमहानगर : १० महिनामा ११ करोड राजस्व संकलन

मङ्गलबार, १६ जेठ २०८०, ०७ : २१
मङ्गलबार, १६ जेठ २०८०

बारा । जीतपुर सिमरा उपमहानगरले चालु आर्थिक वर्षको १० महिनामा ११ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो राजस्व रकम गत आर्थिक वर्षको १२ महिनाको तुलनामा करिब ४ करोड बढी रहेको राजस्व शाखाले जनाएको छ ।

उपमहानगरले चालु आर्थिक वर्षको १० महिनामा सम्पत्ति करबापत १ करोड ७३ लाख, कवाडी कर २ करोड ५६ लाख, नदीजन्य पदार्थ उत्खनन् बापत १ करोड, जग्गा तथा घरबहाल कर ७७ लाख, सिफारिस शुल्क ८२ लाख, पटके सवारी कर २७ लाख, मालपोत कर ८३ लाख, नक्सा पास ७० लाख र खोलाजन्य पदार्थ जरिवाना स्वरुप ६ लाख २७ हजार लगायत केही साना शीर्षकमा राजस्व संकलन गरेको छ ।

उपमहानगरले चालु आर्थिक वर्ष करिडोरका उद्योगहरुमा सम्पत्ति कर असुलीमा कडाई गरेको थियो । साथै विगत ३ वर्षदेखि उठ्न नसकेको उपमहानगरको सार्वजनिक सटर भाडाबापतको २३ लाख रकम यसपटक व्यवसायीहरुले भुक्तान गरेको कारण पनि अघिल्लो वर्षको तुलनामा राजस्व बढेको उपमहानगरका राजस्व शाखा प्रमुख राम शर्माले जनाए ।

उपमहानगर प्रमुख राजन पौडेलले राजस्व संकलन पहिलो वर्ष सन्तोषजनक नभए पनि अगामी वर्षदेखि व्यवस्थित र कडाई गरिने बताए । ‘राजस्वलाई अलिकति व्यवस्थित मात्रै गर्न सके आगामी वर्ष १ अर्बसम्म राजस्व संकलन गर्न सकिन्छ, अहिले हाम्रो कुल बजेटमा १० देखि १५ प्रतिशतमात्रै आन्तरिक राजस्वको योगदान छ,’ उनले भने, ‘यसलाई अझै व्यवस्थित गरेर लैजाने योजना छ ।’

n1

उपमहानगरले आगामी आर्थिक वर्षका लागि कवाडी करबापत २ करोड ५७ लाख, सहायक सडक मर्मत तथा सडक उपयोग कर १ करोड १० लाख, जीतपुर पाडा–भैंसी बजार शुल्क १२ लाख ११ हजार, जीतपुर गुदरी हाट बजार ११ लाख ८ हजार, डुमरवाना हाट बजार ६० हजार, फत्तेपुर हाट बजार शुल्क र इनर्वासिरा हाट बजार शुल्क बापत ५०÷५० हजारको ठेक्का बन्दोबस्ती गर्ने सम्बन्धी सूचना निकालेको छ ।

उपमहानगरको वार्षिक १२ देखि १४ करोड राजस्व संकलन हुने खोलाजन्य पदार्थको ठेक्का भने चालु आवमा लाग्न सकेन । नगरप्रमुख पौडेलले आगामी आर्थिक वर्ष नदीजन्य पदार्थको ठेक्का समयमै लगाउने बताए । २४ वटा वडासहित उपमहानगरको वार्षिक कुल बजेट करिब २ अर्बको हाराहारीमा छ ।

पुरानो राजस्व ५ करोड रुपैयाँभन्दा बढी उठाउन बाँकी

जीतपुर सिमरा उपमहानगरपालिकाले गत वर्षको पुरानो बक्यौता राजस्व ५ करोड ८२ लाख ६८ हजार ८१३ रुपैयाँ उठाउन बाँकी छ । उपमहानगरले २०७७ सालमा दुधौरा, बालगंगा र पसाहा खोला उत्खनन् ठेक्का बापत करिव ३ करोड ५० लाख राजस्व उठाउन बाँकी छ ।

जसमध्ये न्यू पाथीभरा सप्लायर्स हेटौंडाले बालगंगा खोला उत्खनन् बापत १ करोड २० लाख २८ हजार ९० रुपैयाँ, श्रेष्ठ विल्डर्स प्रालि (दुधौरा खोला) ले १ करोड २७ लाख ३० हजार २२१ रुपैयाँ, ओम सप्लायर्स (पसाहा खोला) ले ९९ लाख ९९ हजार ९९९ रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

उपमहानगरले ३ वटै खोलाको ठेक्कामा विनोद साह निर्माण सेवा कलैयाबाट ७४ लाख १६ हजार ८५९, सडक उपयोग करबापत न्यू गुप्ता सप्लायर्स जीतपुर सिमराले २१ लाख २५ हजार, कवाडी कर बापत सिमरा कन्स्ट्रक्सनले १ करोड २१ लाख ५३ हजार ६९३ रकम उपमहानगरलाई तिर्न बाँकी रहेको जनाइएको छ ।

पाडाभैंसी बजारको ठेक्का बापत जितेन्द्र प्रसाद यादवबाट १५ लाख र रुट्स एडभटाईजिङ तिनकुने काठमाडौको विज्ञापन कर बापत ३ लाख १४ हजार ९५१ रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको उपमहानगरको राजस्व शाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप