भौतिक पूर्वाधारका लागि १ खर्ब ३१ अर्ब ५९ करोड बजेट : फ्लाईओभर, सुरुङ, पुलका लागि यस्तो व्यवस्था
काठमाडौँ । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रकम विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमा नागढुंगा सुरुङमार्गको निर्माण कार्य सम्पन्न गर्न ५ अर्ब १३ करोड विनियोजन गरेको बताएका छन् । नागढुंगा–नौविसे सडकखण्डको स्तरोन्नति कार्य सम्पन्न गर्ने, नौबिसे–मुग्लिङ्ग खण्डको २५ किलोमिटर सडक निर्माण तथा स्तरोन्नतिका लागि २ अर्ब १६ करोड रुपैयाँ छुट्टयाएको उनले जानकारी दिए ।
यस्तै मुग्लिङ्ग–पोखरा सडक खण्डको ५० किलोमिटर सडक विस्तार कार्य सम्पन्न गर्न ५ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री महतले जानकारी दिए ।
यस्तै चन्द्रपुर–गौर सडक स्तरोन्नति र विस्तार गर्न ७६ करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए ।
अन्तरदेशीय व्यापारिक मार्गको रूपमा रहेको गल्छी–त्रिशुली–बेत्रावती–मैलुङ्ग रसुवागढी सडक स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइनेछ। यसका लागि ५१ करोड विनियोजन गरेको बताए ।
राजमार्ग र रणनीतिक सडक अन्तर्गत १ सय ५० वटा पुल निर्माणका लागि २ अर्ब ८ करोड विनियोजन गरिएको छ ।
काठमाडौँ चक्रपथको कलंकी बसुन्धरा खण्डको सडक विस्तार तथा निर्माण कार्यलाई तीव्रता दिन २ अर्ब ७ करोड, राष्ट्रिय राजमार्गमा आवश्यकतानुसार फ्लाइओभर र अन्डरपास निर्माण गर्ने, ललितपुरको ग्वार्कोमा फ्लाईओभर निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने, कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण कार्य सुरुवात गरिने बजेटमा प्रतिबद्धता व्यक्त गरिएको छ ।
यस्तै टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनको कार्य सम्पन्न भएको र विस्तृत आयोजना प्रतिवेदन वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरी निर्माण कार्य अगाडि बढाउन १ अर्ब बजेट विनियोजन गरेको अर्थमन्त्री महतले जानकारी दिए ।
यस्तै पूर्व पश्चिम रेलमार्गको बर्दिबास– निजगढ खण्डको निर्माण कार्यलाई निरन्तरता दिने, वीरगन्ज–काठमाडौँ रेलमार्ग र रसुवागढी काठमाडौँ रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने कुरा बजेटमा समेटिएको छ ।