राप्रपाले आन्दोलन गर्नुपर्छ, चार मन्त्री लक्ष्य होइन
नेपालमा राष्ट्रिय चरित्र भएको संस्था भनेकै राजसंस्था हो । मुलुक स्थापना र निर्माणमा यसको उल्लेख्य योगदान रहेको छ । हिमाल, पहाड तराई सबै भेगका जनतालाई आपसमा जोड्न सक्ने राजसंस्थालाई संवैधानिक रूपमा स्थापना गरेर राष्ट्रिय एकतालाई अझ बलियो बनाउनु पर्ने आवश्यकता देखिएको छ ।
नेपाली राष्ट्रियताको संरक्षणको लागि चलेको सङ्घर्षमा एकीकरणको शक्ति र एकतालाई बल पुर्याउन अनि प्रजातन्त्रलाई थप मजबुत बनाउन संविधान भित्रको राजसंस्थाको पक्षमा राप्रपा रहेको छ । यो परिणाम प्राप्त गर्न ध्रुवीकृत राजनीतिमा राप्रपाले तत्काल निर्वाचनमार्फत सफलता प्राप्त गर्न सकेन अब यसको लागि सङ्घर्ष र आन्दोलनको विकल्प छैन ।
सबै धर्मलाई सम्मान गर्दै नेपालीको पहिचान हिन्दु राष्ट्र कायम हुनुपर्छ भन्ने दरिलो अडान र दृष्टिकोणका साथ हिन्दु र बौद्ध सभ्यताका साथै मौलिक पहिचान रहेको संस्कृति समेतलाई सुरक्षित राख्न मन, वचन र कर्मले यसलाई अपनाएर हिँड्ने दल राप्रपा मात्र हो । धर्मभिरुको रूपमा प्रवेश गरेका पश्चिमाहरूको खतरनाक चाललाई राप्रपाले बुझेको छ । तसर्थ हिन्दु, किराँत, बौद्ध, मुसलमान सबै एकमतका साथ नेपालको पहिचान हिन्दु राष्ट्र हुनुपर्छ भन्ने भनाइको नेतृत्व राप्रपाले गर्नुपर्छ ।
लक्ष्य प्राप्त गर्न संसदमात्र अपर्याप्त
मुलुकमा स्थापित शक्तिशाली दलहरू यसको विपक्षमा छन् । दलहरूको कारण जनतासमेत ध्रुवीकृत रहेको वर्तमान परिवेशको विश्लेषण गर्दै राप्रपाले आन्दोलनको ज्वारभाटा उठाउनु पर्छ । राप्रपा संसदमा जोडतोडका साथ प्रस्तुत भइरहेको छ तर संसदबाट समाधान प्राप्त हुने प्रायः असम्भव छ । तसर्थ मूल नीति प्राप्त गर्न राप्रपा आन्दोलित हुनु जरुरी छ ।
शोषण र भ्रष्टाचारलाई मूलधारमा रहेका दलहरूले एकमतका साथ स्वीकार गरेका छन् । खाने ठाउँ आएपछि काले काले मिलेर खाउँ भाले भनेझैँ हालैको मानव तस्करको घटना हेरौँ राप्रपाबाहेक कुनै ठुला दल चोखा छैनन् । सत्ताधारीहरूको यस्ता गलत विषयलाई समेत मानेर जनता हिँड्नुपर्ने अवस्थाको सृजना गरिएको छ ।
विश्व बैङ्क वा अन्यत्रबाट ऋणसमेत उपलब्ध नभएको अवस्थामा राजा महेन्द्रको सफल र प्रभावकारी कुटनीतिमार्फत् अमेरिका, चीन, भारत, रुस, बेलायतजस्ता देशहरूबाट सहयोग लिएर बनेको मुलुकको मुख्य आधारशीलाको रूपमा रहेको बाँसबारी छाला जुत्ता कारखाना, जचुकाली, वीरगंज चिनी कारखाना, लुम्बिनी चीनि कारखाना लगायतका दर्जनौँ कारखानाहरु व्यवस्था परिवर्तनको नाममा खलास गरिएको छ । यो चंगुलबाट मुलुकलाई जोगाउन फरकधारमा रहेको राप्रपाबाहेक अरूले सक्दैन ।
राप्रपाले आन्दोलन गर्नुपर्छ, चार मन्त्री लक्ष्य होइन
जनतालाई जगाउँदै व्यापक आन्दोलनमार्फत यो व्यवस्था फाल्न राप्रपाले नेतृत्व गर्नुपर्छ । जनता परिवर्तनको पक्षमा छन् । यसको नेतृत्व राप्रपाले किन गर्न सकिरहेको छैन, आश्चर्य यहाँ छ । संविधानमा अभिव्यक्त भावनाअनुरूप जनताको हित र अधिकार संरक्षणको लागि सरकारकेन्द्रीत हुनुपर्छ भन्ने चिन्तनबाट शासकहरू च्युत भएका छन् ।
कुरा अग्रगमन, व्यवहारमा लुट आजको यथार्थ हो । सत्तालाई अधिकारको दुरुपयोग गरी संस्थागत कुत असुल्ने अखडा बनाइदैछ । फलस्वरूप सत्तामा जान दलहरू जस्तोसुकै हतकन्डा गर्न तयार छन् । केवल सत्ताको लागि पैसा, पैसाको लागि भ्रष्टाचार । यहि गोल चक्कर भित्र आज मुलुक फसेको छ ।
राप्रपा किन सुस्त ?
यो सबै परिवेशबाट मुलुकलाई निकास दिइनुपर्छ । तर राप्रपा किन सुस्त छ ? राप्रपा किन सधैँ कमजोर छ ? यो चिन्तनको परिवेशमा देशभरिका कार्यकर्ताले राप्रपाको उन्नतिको बाधक पुरानो पुस्तालाई ठानेर नयाँ नेतृत्वसमेत स्थापित गरे । राप्रपाको लोकप्रियता दिनानुदिन बढ्दो छ । यसमा गोलबद्ध हुनेको सङ्ख्या बढिरहेको छ, अझ बढ्नेछ । तर नयाँ नेतृत्व पनि सुस्त देखिन थालेको छ । आन्तरिक व्यवस्थापनमा चुस्तता छैन । आन्तरिक व्यवस्थापनमा चुस्तता ल्याउन सकिएन भने हाम्रो लोकप्रियता कमजोर नहोला भन्न सकिन्न ।
राजा, धर्म, संस्कृति, कुल परम्परा मान्ने यत्रो वर्गको साथ हामीलाई छ । पञ्चायत व्यवस्थामा काम गरेका बहुदलीय व्यवस्थालाई समेत नेतृत्व दिएका क्षमतावान, दक्ष र निष्कलङ्क नेताहरू एक भएर उभिएका छन् तर पनि किन राप्रपा उठ्न नसक्ने ? संसदमा १५, २० सिट प्राप्त गर्ने र चार जना मन्त्री बन्ने राप्रपाको लक्ष्य हो र ?
आफूभन्दा फरक मत राख्नेलाई निषेधको राजनीतिले व्यवस्थामाथि नै आक्रोश बढ्दो छ । यो परिवेशमा राष्ट्रियताको जगलाई सुदृढ तुल्याउन, राष्ट्रको मौलिक पहिचानको पर्याय रहिआएको धर्म संस्कृतिको जगलाई मजबुत बनाउन, राष्ट्र निर्माणमा उल्लेख योगदान दिँदै आएको राजसंस्था पुनर्स्थापना गर्न विलम्ब नगरी राप्रपाको नेतृत्वमा आन्दोलन गर्नुपर्छ ।
नेतृत्वको छाती कुखुरे हुनु हुँदैन । चौडा र विशाल छाती लिएर तेरो–मेरो नभनी मन खोलेर अगाडि बढ्नुपर्छ । घर घुमेर कानभित्र छिर्ने गणेशप्रति नेतृत्व चनाखो हुनुपर्छ । जसले नेतृत्वलाई देवत्वकरण गर्छ त्यसले विनाश निम्ताउँछ । यो विगतको उदाहरण हो यसलाई नेतृत्वले बुझ्नुपर्छ ।
नेतृत्वमा जालझेल रहनुहुन्न
नेतृत्वमा छलकपट, जालझेल रहनुहुन्न । यो इतिहासले दिएको अन्तिम अवसर पनि हो । यसको सदुपयोग गरी राप्रपालाई आन्दोलनमार्फत राष्ट्रिय राजनीतिमा नेतृत्वदायी दलको रूपमा स्थापित गराउन नसके भावी पुस्ताले माफी गर्ने छैन । नवीन राप्रपा भित्र सबैको राजनीतिक भविष्य सुरक्षित हुनुपर्छ, यो नयाँ पुस्ताको नेतृत्वको दायित्व हो । यसतर्फ नेतृत्वको ध्यान जानुपर्छ । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, गौरवशाली इतिहास, राष्ट्रिय चरित्र, कला, संस्कृति, भाषा र भेष
संरक्षणको लागि शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात, आवास, पिउने पानी, जिउधनको सुरक्षा, महँगी नियन्त्रण र भ्रष्टाचारको विरुद्ध अबको आन्दोलनको नेतृत्व राप्रपाले गर्नुपर्छ । खुट्टा किञ्चित कमाउनु हुन्न यसको विकल्प देख्नै हुन्न, हेर्नै हुन्न, सुन्नै हुन्न ।
उच्च मनोबल र आन्दोलनको बाटो
आन्दोलनको पृष्ठभूमिमा उभिएको राप्रपाले जति जति आफ्ना आन्दोलित विचार अगाडि बढाउँछ, उति उति जनसमर्थन पाउने निश्चित छ । यो कामको निमित्त कार्यकर्ताको मनोबल उँचो हुनु जरुरी छ । अलोकप्रिय व्यक्तिहरूको समूह वा झुन्डलाई लिएर गन्तव्यमा पुग्न सकिँदैन । यो नेतृत्वले ख्याल गर्नुपर्छ । यसरी अगाडि बढ्दा आउँदो दिन राप्रपाको नै हो । यसमा शङ्का छैन । ३४औँ पार्टी स्थापना दिवसको पुनः सबैमा शुभकामना ।
पाठक राप्रपाका निर्वाचित केन्द्रीय सदस्य हुन् । यो लेखकको निजी विचार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार महिनामा १४२ देशसँग पौने ६ खर्बको व्यापार
-
बीआरआई लक्षित प्रधानमन्त्रीको टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा
-
दुर्गा प्रसाईंको ढाँटवादलाई लोकप्रियतावाद भन्न मिल्दैन : ओली
-
रवि, दुर्गा र कुलमानप्रति ओलीको कटाक्ष : भ्रष्टाचार र ठगी सह्य छैन
-
बीवाईडीको १०० विद्युतीय गाडी डेलिभरी