शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अन्तर्राष्ट्रिय सगरमाथा दिवस

सगरमाथा चुचुरोलाई पहिलो मानव अभिनन्दन

सोमबार, १५ जेठ २०८०, १४ : ५५
सोमबार, १५ जेठ २०८०

हिमालको सर्वोच्च शिखर, नेपालीको भौगोलिक गौरवको प्रतीक–  सगरमाथा । यो नाम नेपालीले आफ्ना मूर्धन्य इतिहासकार बाबुराम आचार्यबाट पाएका हुन् । चिनियाँहरू यसलाई चोमोलोङ्मा भन्छन् र यसमा आफ्नो दाबी पनि जनाउँछन् ।

चंगेज खाँको घोडाका टापहरू जहाँजहाँ पुगेका थिए त्यो भाग चीनको हो भन्ने दाबी सन् १९७० को दशको ‘सांस्कृतिक क्रान्ति’ कालमा चिनियाँ नेता माओत्से–तुङले आफ्ना लालरक्षकबाट गराएका थिए । त्यस चुचुरोसम्म चंगेज खाँ पुगेका त थिएनन्, तर नेपालसहित बर्मा आदि देशलाई अंग्रेजले चीनबाट खोसेर त्यहाँ आधिपत्य जमाएकाले त्यो पनि चीनका ‘पाँच औँलाहरू’मध्ये नै पर्छन् भन्ने दाबी अपवादविना कम्युनिस्ट वा कुओमिङताङ चिनियाँ इतिहासकार र राजनीतिज्ञहरूको पनि रहेको थियो ।

सगरमाथाको चर्चा गर्दा किन र कसरी यो विचार प्रकट हुन आयो म आफैं जान्दिनँ । यो प्रसंगवश आउनुपर्ने कुरा होइन भन्ने झ्वाट्ट देखिए पनि माथिको भनाइचाहिँ सत्य हो । अनि अंग्रेजहरू र तिनीहरूको प्रचारको प्रभाव क्षेत्रमा पर्ने विश्वको भूभागचाहिँ सगरमाथालाई ‘माउन्ट एभरेष्ट’ भन्छन् । तिनको दृष्टिमा यो ठीकै छ, किनभने प्रायः विश्वभरि नै अंग्रेजहरूको दबदबा भएका बेला विशाल भारत पनि ब्रिटिस साम्राज्यभित्र रहेको थियो । त्यस समयमा ‘एभरेस्ट’ नाम गरेको भूगर्भविद्ले हिमालयको त्यस भागको भौगोलिक सर्वेक्षण गर्दा विश्वको उक्त सर्वोच्च शिखरलाई पत्ता लगाएका थिए । यसको फलस्वरूप अंग्रेज सरकारले यस खोजका लागि उनलाई ‘सर’ भन्ने सर्वोच्च निजामति मानपदवीले सुशोभित गर्दै त्यो चुचुरालाई पनि उनैको नाम दिएको थियो ।

यो रोमाञ्चकारी स्थलमा बेलायती झन्डा फहराउन अंग्रेज सरकार त्यसपछि पर्वतारोही दलहरू पठाउने जमर्कोमा लाग्यो । यस कार्यमा सन् १९३६ मा इर्भिङ तथा म्यालोरी नाम गरेका दुईजना साहसिक अंग्रेज पर्वतारोहीहरूले आफ्नो ज्यानसम्म पनि गुमाए । विश्वमा अंग्रेज साम्राज्य रहुन्जेल सगरमाथाको पनि अंग्रेजहरूको अभियानलाई अनुमति नदिने प्रण रहेछ भन्नुपर्‍यो । पछि, आफूभित्र रहेका विश्व पर्वतविज्ञानका अनेक रहस्यहरू आफूमाथि मानव–उपस्थिति नभई नउघ्रिनेहुँदा र त्यहाँ मानव–आगमनबाट वैज्ञानिक प्रगतिमा सघाउ पुग्ने ठानेर होला सगरमाथाले पनि सन् १९५३ मे २९ तारिखका दिन नेपाली पर्वतारोही शेर्पाहरूसहितको सहभागितामा अंग्रेज–न्यूजील्याण्ड संयुक्त अभियान दलको स्वागत स्वीकार गर्‍यो । अनि यो विश्व ऐतिहासिक घटनाको अभिवादन एवं अभिनन्दन सारा भूमण्डलले गर्‍यो ।

विदेशी फौजहरूका लागि ‘गोर्खा’ नाउँ गरेका भाडाका सैनिक जवानहरू बेच्ने भनेर कुख्याति पाएको देश अचानक अर्कै प्रकाशमा देखिनपुग्यो, तर यत्रो अपूर्व साहसिक घटना सुरुबाटै विवादमा पनि नपरिरहन सकेन । सगरमाथामा टेक्ने पहिलो मानव को त ? कुन जातिको ? नेपाली र पछि हिन्दस्तानले आफ्नो नागरिक भनेर दाबी गरेको तेन्जिङ शेर्पा कि न्युजिल्यान्डका एडमन्ड हिलारी ?

नेपाली पनि त्यो प्रचारबाट रनभूल्लमा नपिरहन सकेनन् । विदेशी पत्रकारहरू माम्लालाई अरु शनशनीदार बनाउनमा लागिरहे । त्यतिबेलाको न्युरोडकोे हिमालयन होटल प्रत्रकारहरूको प्रचार कूटनीतिक युद्धको थलो बन्यो । त्यस्ता पत्रकारसँग म पनि नेपाली प्रवक्ताजस्तै भएर मुछिन पुगेँ ।

मलाई ती दिनका घटनाको झलझली सम्झना हुन्छ– आफ्ना अन्य राजनीतिक मित्रहरूसहित आफू पूरै संलग्न भएको ।

आश्चर्यको कुरा, काठमाडौंमा नागरिकहरूको तर्फबाट पर्वतारोहीहरूको भव्य अभिनन्दन गर्ने कार्यक्रम बनाउनका लागि पहिला त कम्युनिस्टविना, मूलधारका छात्र संगठनहरूविना ‘प्रतिनिधित्वपूर्ण समिति’ बनाउने जमर्को भएको रहेछ । यस्तो सकीर्ण विचार कसरी र कसकहाँबाट आयो त्यो त म जान्दिनँ तर त्यस्तो भएको थियो । नागरिक अभिनन्दन गरिने कार्यक्रममा जनसहभागिता जुटाउन कम्युनिष्ट पार्टीअन्तर्गत काम गर्ने युवक, विद्यार्थी, महिला, किसान मजदुर आदि संगठनहरू बाहेक अरु कसले गर्न सक्नेथ्यो होला ? राजधानीका धेरैजसो भद्रभलादमीहरू यस्तो भ्रममा कसरी फसे, त्यो बुझ्न नसकिने कुरा थियो । यस्तो भनेर मैले त्यतिबेलाको सामाजिक– राजनीतिक पूर्वाग्रही मनोवृत्तिको स्यानो तस्बिर खिच्न मात्र खोजेको हुँ । जेहोस्, नाम चलेका व्यापारी गोपालराज राजभण्डारीको न्युरोडमै रहेको मरकन्टाइल कर्पोरेसनको भवनमा त्यस्तो नागरिक स्वागत समारोह समिति गठन गर्नेबारे बैठक भइरहेको खबर नेपाल कम्युनिस्ट पार्टीको काठमाडौं जिल्ला समिति सदस्य मकबूल शाहबाट मैले पाउनासाथ म बिहान करिब ९ बजेतिर पार्टी जिल्ला सचिव पीएन राणा र नेपाल छात्र संघका वासु रिसाललाई लिएर एक्कासी उक्त बैठक कोठामा पसेँ ।

हाम्रो त्यो अनिमन्त्रित हठात प्रवेशले वातावरणलाई सन्न गरायो नै, सबै आत्तिएको जस्तो गरेर एकअर्कोको मुख पनि हेर्न थाले । हामीचाहिँ मानौँ केही पनि नभएको जस्तो गरी, आफू आमन्त्रितै नहुँदा पनि ‘प्यारो आमन्त्रित’ हौँ कि जस्तो गरी सभा सञ्चालन गर्न सघाउने हेतुले मर्यादापूर्वक बस्यौँ । ‘मिटिङ भाँड्न आएका ‘कम्युनिस्टहरू’ भन्ठानेका भद्रजनहरूको मनस्थिति हामी त त्यहाँ आफ्नो सहयोग पुर्‍याउन आएको भन्ने थाहा पाएपछि शान्त भए ।

आखिर समितिमा माथिल्ला विभिन्न पद जजसले ओगटे पनि संगठन र प्रचार हामी नभई अरुले गर्न सक्ने भन्ने कुरा थिएन । त्यसपछि बैठकमा सबै अग्रसरता हाम्रै हुन थाल्यो, हाम्रै सुझाउअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष चुनिए । यसरी लोकनाथ जोशी अध्यक्ष, पूर्णबहादुर ‘एम.ए’ उपाध्यक्ष, गोपालराज राजभण्डारी महासचिव, गोवर्धना मास्के कोषाध्यक्ष, त्रेलोक्य नाथ उप्रेती तथा पुुुुण्य प्रभादेवी ढुंगाना उपसचिव चुनिए । पीएन राणा, वासु रिसाल र म सहायक सचिव भयौँ ।

हामी स्वागतको तयारीको सिलसिलामा बाहिर निस्किँदा सगरमाथा चढ्ने पहिला को ? भन्ने विवाद झन् चर्को भइसकेको रहेछ । बेलायतका र अंग्रेज समर्थित भारतीय अखबारहरू पहिलो आरोहणकर्ता हिलारी भन्दारहेछन् भने अमेरिकीले तेन्जिङ शेर्पा भनी प्रचार गरेका रहेछन् । हिमालयन होटलमा बसेका विदेशी पत्रकार हामीकहाँ झुम्मिए । हामीलाई यो विवादमा पर्नु थिएन, र हामी कुनै टीका–टिप्पणी नगरी हिँड्यौँ, तर माम्लो त बिस्तारैबिस्तारै कति बढिसकेको रहेछ भन्ने कुरा भोलिपल्ट हामी तीनैजना बनेपा पुग्दा पूरै स्थिति तनावपूर्ण भएकोबाट बुझियो ।

नाम मात्रको यातायात व्यवस्था भएको त्यसबेलाको काठमाडौंमा कुनै जादुगरको कार्य जस्तै यो समस्या पनि हल हुँदै गयो । पर्वतारोही पाहुनाहरू आधार शिविरबाट तल ओर्लेर बनेपा शहरमा आउँदा को पहिला ? भन्ने विवादले गर्दा कुनै अप्रिय घटना नहोस् भन्नाका लागि काठमाडौंबाट फौजी घोडा चढाएर पीएन राणालाई पठाएका थियौँ । उनी घोडा चढ्न जान्दथे, जान्दैनथे थाहा छैन, तर उनी बनेपामा समयमै पुगेर त्यहाँ आवेशमा आएका पार्टी सदस्य र कार्यकर्ताहरू तथा अरु शुभचिन्तकहरूलाई सम्झाउने काममा लागे । हामीहरू स्थिति शान्त गर्नपट्टि लाग्यौँ । यति हुँदाहुँदै पनि बनेपा बजार हुँदै विजयी आरोहणकर्ता गुज्रिँदा कतैकतै कसैले हिलारी र जोन हन्ट तथा अरु अंग्रेजहरूलाई यसो हातले धकेलेको देख्यौँ । उनीहरूलाई पनि स्थितिको पूर्व जानकारी दिइएकाले होला उनीहरू आफ्नो चेहरामा त्यत्रो विजयबाट उत्पन्न हुनुपर्ने उल्लास समेत नल्याई बडो गम्भीर मुद्रामा हिँडेको म आज पनि झलझली सम्झिन्छु ।

हुन पनि, हामीहरू क्यै गरी त्यहाँ नभएको भए ‘राष्ट्रियतावाद’को गलत अहंको फलस्वरूप कुनै साह्रै अप्रिय र दुखदायी घटना अवश्य हुनजाने रहेछ । खाली एउटा ‘निर्णय’ गर्न बाँकी रहेछ र स्थिति पनि निकै तनावपूर्ण रहेर थमौतीमा राखिएको रहेछ । त्यसैले सबै मित्रहरू मेरो प्रतीक्षा गरिरहेका रहेछन् । मलाई र बासुलाई झट्टै एउटा ठाउँमा लगियो । दृश्य यस्तो पो थियो– दुइटा अलि ठूलै खाल्डो खनिएका थिए, केही युवकको अनुहारमा प्रचण्ड क्रोधको भाव देखिन्थ्यो र तिनीहरू एकटक लगाएर दुईजना भारतीय जस्ता देखिने मानिसहरूतिर डरलाग्दोसँग हेरिरहेका थिए । पार्टी कमरेड रामहरिकृष्ण मानन्धर तिनीहरूलाई सम्झाइबुझाइ रहेका थिए । मलाई देख्नासाथ उनले ‘ल अरविन्ददाइ, तपाईं नआउला भनेर कत्रो बित्यास परेको थियो । यहाँ माम्ला गम्भीर छ, सुल्झाइदिनु पर्‍यो’ भने । कुरा बुझ्दा के थाहा पाइयो भने ती दुईजना भारतीय पत्रकार रहेछन् तर हाम्रा साथीहरूले जासुस भनेर शंका गरेका । तिनीहरूले सगरमाथा पहिला चढ्ने तेन्जिङ होइन, हिलारी हो भनेर त्यहाँ केही मानिससामु जिरह गरेका रहेछन् । अनि त के चाहियो, ‘भारतीय जासुस’ भन्ने पक्का भएर तिनीहरूलाई त्यही खाल्डो खनेर पुर्नुपर्छ भन्ने ‘ठहर’ पनि भएछ र तत्कालै खाल्डो पनि तयार भएछ ।

विदेशी पत्रकारहरूसँग सम्बन्धको जिम्मेवारी ममाथि भएको कुरालाई मानेर नै ती युवकहरूले पनि म नआएसम्म अरु केही नगर्ने भनेर पर्खिबस्न मानेका रहेछन् । उता ती भारतीय ‘जासुसहरू’को अनुहार हेरिनसक्नु भएर तर्सिएको थियो । तिनीहरू मलाई म नै तिनीहरूको ‘रक्षक’ हुँ भनेको जस्तो गरी हेरिरहेका थिए । मैल भनेँ, ‘हामी राजनीतिक कार्यकर्ता हौंँ र आज यहाँ हामी धेरै ठूलो महत्त्वको घटनालाई हेर्न र त्यसमा भाग लिन आएका हौँ । जासुसको ठेगान लगाउने काम हाम्रो होइन, पुलिसको हो ।’ अनि त्यहीँ तमासेझैँ बसेका दुईजना पुलिस अफिसरहरूलाई बोलाएर मैले ‘ल, अहिले यिनीहरूलाई कतै थुनुवामा राखिराख्नोस्, पछि बुझौंला’ भनेँ । पुलिसहरूले मेरो ‘आदेश’लाई ‘जय नेपाल सर’ भन्दै ती दुईजनालाई लगे । एकछिनमा तनावपूर्ण वातावरण होलो भयो । सबैको अनुहारमा मुस्कान छायो– सबभन्दा बढी दंग पर्नेमा रामहरिकृष्ण मानन्धर थिए । त्यसपछि हामी स्वागतको व्यवस्था गर्नमा जुट्यौँ ।

स्वागत–कार्य सरकारी पक्षको सहयोगले गर्दा पनि सूचारु रूपले चल्यो । पूरै बनेपा बजार उत्सवमा जस्तै सिंगारिएको र वातावरण पनि ठूलो चाडबाडको जस्तै थियो । बिस्तारैबिस्तारै मान्यवर अतिथिहरू सरकारी पक्षका सवारीसाधनहरूमा बसेर काठमाडौँ प्रस्थान गरे । पीएन राणाको त घोडा छँदैथ्यो, उनी त्यही चढेर फर्के । फेरि मेरो र बासुको बिचल्ली । हामी एउटा भरिभराउ लहरीमा जसोतसो चढेर बानेश्वर पुलिस चौकी चोकमा आइपुग्दा मुख्य

अतिथिहरू पर्वतारोहण दलका सर जोन हन्ट, एडमन्ड हिलारी तथा तेन्जिङ शेर्पालाई ६ घोडेबग्गीमा सवारी चलाई गद्दी बैठकमा आयोजित स्वागत–समारोहका लागि प्रस्थान गराइँदैथ्यो जहाँ श्री ५ त्रिभुवनबाट उनीहरू र दलका अन्य सदस्यलाई तक्मा र मानपदवी प्रदान गरिने कार्यक्रम थियो ।

त्यसदिन महत्त्वपूर्ण घटनाक्रममा आफूहरू एकाकार हुनका लागि नागरिक स्वागत समितिका पदाधिकारीहरू पनि चुकिरहेका थिएनन्–  गोवद्र्धनलाल मास्के बग्गी सवारसँगै माथि बसेका थिए भने उपसचिवद्वय त्रैलोक्यनाथ उप्रेती तथा पुण्यप्रभा देवी पछिल्तिर सइस बस्ने ठाउँमा । हामी पनि गद्दीबैठकतिर लाग्यौं । त्यसपछि अर्को रमाइलो घटना गद्दीबैठकमा भयो ।

पीएन राणा घोडा बुझाएर गद्दी बैठकको समारोहमा भाग लिन बाहिरै मलाई कुरेर बसिरहेका रहेछन् । यसबीच वासु कहाँ गए त्यो मलाई सम्झना भएन । गद्दी बैठक पुगिने भर्‍याङको तल्लो सिँढीतिर पुलिसका केही अफिसरसँगै हाम्रो समितिका एकजना सदस्य उभिका थिए । उनले हाम्रो परिचय गराएपछि हामी भर्‍याङ उक्ल्यौँ । हाम्रो लाएको लुगा दिनभरिको दौडधूप र धुलोमाटो आदिले गर्दा मैलो भएकोले हामी त्यत्रो रवाफिलो स्वागत–समारोहका लागि योग्य सहभागी देखिने खालका थिएनौँ । त्यसकारण पीएन र म गद्दी बैठकको लामो कोठामा हिड्दै इन्द्रजात्राको दिन राजाले उत्सव हेर्ने, कुमारीबाट टीका थापेर रुपैयाँ छर्ने गरेको कौसी नपस्दैको ढोकातिर राखिएको एउटा लामो गद्दावाल बेन्चमा बस्यौँ । हामी दुवैजना थाकेको भए तापनि दिनभरिको दायित्व सम्मानजनक तवरले पूरा गरेकामा बडो रमाइलो मूडमा थियौँ । यत्तिकैमा अलि टाढाबाट एकजना पुड्कोपुड्को पुलिस अफिसर हामीतिर आइरहेको देखिए । चिनिहालेँ– आईजीपी याकथुम्वा भनेर । मैले पीएनलाई बिस्तारै ठट्टा गर्दै भनेँ, ‘ए, पीएन हामीलाई हनुमानढोकाको खोरमा जाक्ने वारेन्ट लिएर आएका त होइनन्, कतै यिनी ?’ पीएनले भने, ‘होइन होला, त्यस्तो त कसरी हुन्छ होला र ?’ मैले भनेँ, ‘किन त आई.जी.पी. नै आइरहेका । जेहोस्, हेरौं न के होला ।’

आईजीपी याकथुम्बाले हाम्रो अघिल्तिर आइपुगेपछि टडाकसँग बुटजुत्ता बजाएर सलाम गर्दै सोधे, ‘हजुरहरूमध्ये अरविन्द रिमाल को हुनुहुन्छ ?’ अब पक्का भएन त वारेन्ट लिएर आएको ? मैले उत्तर दिएँ, ‘किन र ? म हुँ ।’ उनले भने, ‘अँ त, हजुरले बनेपामा थुनुवामा राखिराख्नु भन्नुभएको ती दुईजना भारतीय पत्रकारहरूलाई के गर्ने ?’ मैले पनि के सनक चढेर होला ‘अहिलेलाई थुनुवा मै राख्नुपर्ला, आईजीपीसाहेब’ भनेँ । फेरि उही पाराले सलाम गर्दै उनी फर्के ।

यता ती दुई पत्रकारहरूको प्रधानकार्यालय, भारतीय परराष्ट्र मन्त्रालय र यहाँको भारतीय दूतावास आफ्ना दुई नागरिकहरू यसरी अचानक बेपत्ता भएकामा कति अन्योलमा परिरहेका थिए होलान् ? भारतीय दूतावासले पत्ता लगायो होला बल्लतल्ल  तिनीहरू त पुलिस थानामा थुनुवामा थिए भनेर । फेरि हाम्रो परराष्ट्र मन्त्रालयबाट आईजीपी अफिसलाई बुझ्न लगाइयो होला र त स्वयं आईजीपी आएका रहेछन् !

349271440_1295992187998092_5102106455900033746_nयो नाटक पनि केही चिन्ता पार्ने र केही उट्पट्याङ जस्तो थिएन त ?

राजाबाट गद्दीबैठकमा पर्वतारोहीलाई मानसम्मान गर्ने एवं तक्मा सुशोभन गर्ने समारोह म त्यही हलमा भएर पनि हेर्न आफ्नो चरम थकाइले गर्दा चुकेकोले गर्दा त्यहाँका भाषणहरू सुन्न पाएको थिइनँ । उक्त अवसरमा भाषण गर्ने एडमन्ड हिलारीले ‘तेन्जिङ नोर्के हाम्रो दलका सदस्य होेइनन् । उनी त भरिया मात्र हुन्’ भने भनी पछि मलाई ‘समाज’ दैनिकका सम्पादक मणिराज उपाध्यायले सुनाए । तथापि जनकवि धर्मराज थापाले आफ्नै रचनाको गीत ‘हाम्रो तेन्जिंग शेर्पाले चढे हिमाल चुचुरा, तेन्जिङ तिमी संसारभरि अमर हुनेछौ । सुनौला नाम तिमीले राख्यौ, महान हुनेछौ’ गाएर नेपाली जनमानसमा तेन्जिङको उपलब्धिलाई चिरस्थायी मात्र नभएर अमर नै बनाइदिएको विवरण चाहिँ यहाँ उल्लेख हुनैपर्छ ।

यो घटनापछि केशरशमशेरले नेतृत्व गरेका परामर्शदातृ सरकार विघटन भई मातृकाप्रसाद कोइरालाले अध्यक्षता गरेको राष्ट्रिय प्रजा पार्टीको एकलौटी सरकार उनकै प्रधानमन्त्रीत्वमा गठन भएको खबर आयो ।

पर्वतारोहीको सम्मानमा काठमाडौंका नागरिकको तर्फबाट तेन्जिङ–हिलारी नागरिक स्वागत समितिले ठूलो टँुडिखेलको विशाल चौरमा भव्य समारोह आयोजना गर्‍यो । त्यसमा कम्युनिस्ट पार्टीको प्रभावमा भएका विद्यार्थी, महिला, मजदुर, किसान तथा युवक संघहरूको सक्रियता उल्लेखनीय थियो । तेन्जिङ शेर्पाका लागि घरको प्रतीकका रूपमा एउटा इँट प्रदान गरियो र साथै पचास हजार रुपैयाँ नगद पनि प्रदान गरिने घोषणा भयो । यता तेनजिंग नेपाली नागरिक नभएर भारतीय नागरिक भएको खबर भारतीय अखबारहरूमा फैलियो । पत्रकारहरू पनि अवश्य छुटे होलान् ।

यसरी सारा राष्ट्रिय चाडसरहको र अन्तर्राष्ट्रिय महत्त्वको ऐतिहासिक घटना कताकता सानो दायरामा खुम्चिन गएको थियो ।

(अरविन्द रिमालकृत २०६३ माघ वसन्त पञ्चमीमा प्रकाशित ‘१९९७ सालदेखि २०१७ साल एक अवलोकन’ पुस्तकबाट ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अरविन्द रिमाल
अरविन्द रिमाल
लेखकबाट थप